सम्भावना बोकेका कविता
कवि रञ्जन घिमिरेको कवितासंग्रह मूर्छित स्वरहरूको समग्र अध्ययन गरिसकेपछि म एउटा निष्कर्षमा पुगेको छु– उनीमा कवित्व शक्तिको सम्भावना छ । कतिपय उनका कविताहरू औसत तहभन्दा माथिका देखिन्छन् भने कतिपय औसत किसिमका छन् । तर, कसैको पनि उचाइ र योग्यताको मापन गर्दा उसको उच्चतालाई नै आधार बनाउनुपर्छ । यस कविता संग्रहको पहिलो कविताले आफ्नो पिता र माताप्रतिको भावहरू प्रकट भएका छन् । यसप्रकारको सम्मान प्रकट गर्नुका पछाडि रहेको कारण देखाउँदै कविले भनेका छन्–
जसले मलाई समाज रूपान्तरणको
महान् अभियानमा संलग्न गराएर
समाजमा रहेका
बेथिति, कुसंस्कारका विरुद्ध
कदम उठाउन सक्ने
एउटा जिम्मेवार नागरिक तुल्याए !
माथिका पंक्तिहरूमा रहेको अन्तर्निहित भावधाराको समग्र कविता संग्रहको अन्तर्वस्तुलाई पूर्वसंकेत गरिरहेको छ– यसमा के कस्ता विषय वस्तुहरू लक्षित गरेर कविताहरू रचित भएका रहेछन् । पहिलो कुरा ‘समाज रूपान्तरणको महान् अभियानमा संलग्न गराउने’ भन्ने यी कविताका पंक्तिले नै आफ्नो समग्र जीवनको उद्देश्य र विधेयलाई संकेत गरिरहेको देखिन्छ । कविले आगामी दिनमा के गर्न चाहन्छन् र यस प्रकारको शिक्षा दिने आफ्ना बाबुआमाप्रति नै कृतज्ञ रहेका कुराहरू आफ्ना कविभावनाबाट प्रकट गर्दछन् । आफ्नो जीवनको लक्ष्यप्रति संकेत गर्दै कविले अगाडि भनेका छन्–
समाजको विकासका निम्ति
वैचारिक युद्धमा होमिएको सिपाही हूँ
भन्छु– … सच्चा देशभक्त नागरिकको
भूमिका निर्वाह गर्नेछु (पृष्ठ ३३)
एउटा सवल र सशक्त विचार बोकेका कवि रञ्जनका उपरोक्त कविताका पंक्तिले उनको आफ्नो अठोट र संकल्पलाई व्यक्त गरिरहेको छ । यसभन्दाबाहेक पनि कविले अर्को एउटा ‘अपहरणमा परेका दिन’ नामक कविता एउटा जीवित कविता हो भन्ने ठादन्छु । विगतको दशकहरूमा कथित जनयुद्धका नाममा के कस्ता अत्याचार, ज्यादति र विद्यार्थीहरूलाई उनकै अध्ययन गर्ने स्थलहरूमा नै गएर मच्चाएको आतंकका यी पंक्तिहरूमा भनिएको छ–
खबरदार
केही निस्किने होइन
यस्तै क्रुद्धता पोखिएको छ ।
सदस्यता लिन इन्कार गरेपछि
हामी कोठाभित्र थुनिएका हौं !!
बोक्न बन्देज लगाइएको छ
एकाएक झोलामा ग्रिनेड भिरेका
युगल जोडीजस्ता
कोठाभित्र प्रवेश गरेका छन्
उनीहरू
क्रुद्धता ओकल्दै
यही पड्काइ दिउँ यो
ध्वस्त पारिदिउँ तिमीहरूलाई ? (पृष्ठ ३०)
यी पंक्तिहरूले एकप्रकारको आक्रमणको चित्र प्रस्तुत गरिरहेका छन् भने यसप्रकारका ज्यादतिहरूका विरुद्ध गरिएका सशक्त प्रतिकारको पनि त्यस्तैगरी सजीव चित्रण गर्दै अगाडि भनिएको छ–
हुन्छ पड्काउ !
तिम्रो साहस छ भने पड्काउ !!
विद्यार्थीको हत्याले
तिमीहरूको क्रान्ति सफल हुन्छ भने पड्काउ !!!
प्राण आहुति गर्न हामी तयार छौं !!! (पृ.३१)
कस्तो साहस ? मृत्युको मुखैमा पुगेर पनि त्यसको प्रतिकार गर्ने हिम्मत बोकेको छ यस कविताले । मैले पनि आफ्नो जीवनकालमा उक्त प्रकारका माओवादी ज्यादतिहरूको सामना विद्यालय परिसरमा नै गर्नुपरेको थियो र त्यहाँ मैले वैचारिक रुपले नै प्रतिकार गरेर विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिकाहरूलाई जोगाएको घटनाको पनि स्मरण भयो । कवि रञ्जन विद्यार्थी भएको अवस्था र म स्वयं विद्यालयको शिक्षक रहेको अवस्था । कस्तो संयोग !
कस्तो काकताली !! अहिले हामी दुवै एउटै प्रतिष्ठानको छत्रछायामा रहेर आफूसक्दो सामाजिक परिवर्तनको महान् अभियानमा जुटिरहेका छौं । सुन्दर नेपालको निर्माण गर्ने अन्तहृदयदेखि नै चाहना छ । समाजवादी नेपालको सपना बोकेका छौं । हरेक प्रकारका अन्याय अत्याचार र ज्यादतिका विरुद्धमा छौं । नेपालको संविधान छिटो छिटोभन्दा छिटो निर्माण भएर यो यातनापूर्ण संक्रमणकालको अन्त्य भएको देख्न चाहन्छौं र भविष्य आफू सक्दो गरी आफू आफूले रोजेको विद्या एवं विधिमार्फत् राष्ट्रको सेवा गर्न चाहन्छौं ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply