भूकम्पपछि मनसुनबाट जनता बचाउने उपायहरू
आधुनिक संसारमा हुनसक्ने मानवसृजित र प्रकृतिसृजित दुई प्रकारका विपत्ति छन् र ती दुईको ब्यवस्थापन पनि फरक प्रकारले हुने गर्दछ र हुने नै भयो । तर त्यसका लागि एउटा दुरदर्शी योजनासहित सिंगो राज्य वा ठाउँ बिशेषको समूह लागिपरेको हुने गर्छ । यसको अर्थ सही ब्यवस्थापन गर्न सजिलो काम नहुन पनि सक्छ । मानवजातिको हितका लागि गर्नर्ुपर्ने हुन्छ नै । त्यस प्रकारको ब्यवस्थापन गर्न र गराउन तब जटिल हुने गर्छ जब ती दुई मानवसृजित र प्रकृतिसृजित विपत्ति एकै ठाउमा मिसिएर देखापर्दछन । अहिले हामीले भोगेको विपत्ति दुवै एकठाउँमा देखापरेको छ । त्यसमध्ये मानवसृजित प्रमुख हो भने प्रकृतिसृजित कम हो भन्ने कुरा त प्रस्ट छ नै । यो धेरै गम्भीर र हाम्रो नालायकीपनको हो र यसलाई हामीले स्वीकार गरेनौ भने आगामी दिनमा यस्ता विपत्तिहरु दोहोरिएर आउनेछन् । हामीले जब प्रकृतिसृजित विपत्तिलाई मानवीय कमजोरीमा मिसाउन बाध्य हुन्छौ तब हामीले भयकर दुर्घटना सहनुपर्ने वा दुर्घटनामा फस्न पुगिन्छ । त्यो भयंकर दुर्घटनाबाट बच्न सिंगो राज्यले वा कुनै बिशेष निकायले आफ्नो सही विवेक प्रयोग गर्नुपर्ने हुन्छ । त्यतिमात्र कहाँ हो र कहिलेकाहीँ त एउटा व्यक्तिको स्वविवेकले वा ज्ञानले ठूला ठूला दुर्घटना हुनबाट बच्ने वा फस्ने गरेको इतिहास छ । त्यस्ता ब्यक्ति धेरेजसो राज्यको कार्यकारी हुनेगर्छ र अर्थात् राज्यकै एक अभिन्न अंगको रुपमा रहेको वा रहने मान्छेहरुले नै लाखौ लाख जनताको भाग्य स्वत: निर्धारण गर्दछन् । तर उनीहरुको विवेक वा ज्ञानले सबै कुरा देख्न सक्छ भन्नु मुर्खता हो । त्यो आशा गर्ने कुरा होइन पनि । तर ती अंगहरुको संचालन गर्ने अनेक थरीका नशाहरु हुने गर्छन् । ती नशाहरुले भने राम्रोसँग काम गरेको हुनुपर्छ । अहिलेको हाम्रो अवस्था भनेको ती अंगहरुले भूकम्प आउनु भन्दा अगाडि राम्रोसँग काम नगरेको अवस्था हो । तर नहुनुपर्ने घटना भैसकेको अवस्थामा हामीले छिटोछरितो ढंगले हाम्रा ती सयौं गाउँका लाखौं जनताका लागि आउँदै गरेको मनसुनमा कसरी बचाउने भन्ने कुरा प्रमुख भएको छ । त्यो मनसुन आउँदो महिनाको शायद दोस्रो हप्तातिर हुने छ होला । तर पक्कै आउँछ अर्को महिना । यसरी आउँदै गरेको मनसुनमा वा सम्भावित विपतमा हाम्रा जनतालाई जोगाउने हाम्रो चाहना हँुदाहुँदै पनि हामीले कतै बचाउन नसकिने पो हो कि भन्ने चिन्ता गहिरो हुँदैछ । सामूहिक बिपत्तिको सन्त्रासबाट बच्न र बचाउन सिंगो राज्य चाहिने गर्दछ । राज्यभित्रका पनि विभिन्न आयामहरु हुने गर्दछन् । तिनीहरुको समन्वय गर्ने काम पनि त्यही राज्यको कुनै एउटा आयामले गर्नुपर्ने हुन्छ । त्यो नै अन्तिम र आधिकारिक वा धेरै जिम्मेवार निकाय हुन् पुग्दछ । त्यस्तो निकायले नै प्रकृति र मानव सृजित विपत्तिहरुमा आगुवाई गर्ने गर्दछ वा गर्नुपर्ने हुन्छ नै । त्यसो गरियो भने देशभित्र कहाँ के भैरहेको छ र कहाँ के गर्नु पर्ने हो त्यसको सही र छिटो निर्यण गर्न सकिन्छ । त्यही निकायले नै विभिन्न प्रकारका सहयोग लिने, दिने वा नलिने भन्ने निर्णयहरु तुरुन्त गर्ने र गराउन मद्दत गर्ने गर्छ । यसो गर्दा एकद्वार नीति लागु हुन जान्छ र पारदर्शी पनि हुने गर्छ । स्मरण गर्नुपर्ने कुरा के हो भने विपत्तिमा पारदर्शी हुन सकिएन भने सहानुभूति र अरु प्रकारको सहयोग नहुन पनि सक्छ । त्यसैले पारदर्शीता प्रमुख कुरा हो । विपत्तिमा जति बढी पारदर्शी नीति वा तरिका अपनाउन सकियो त्यति बढी उद्दारको काम छिटो र प्रभावकारी हुने गर्छ । त्यो प्रभावकारिता हामी जनताको आचरणमा पनि भर पर्ने गर्छ । तर स्मरण गर्नुपर्ने कुरा के हो भने जनताको नेतृत्व राज्यले गर्नुपर्ने हुन्छ । अझ भनांै जनताले राज्यप्रति अपनत्व महसुस गर्नुपर्ने हुन्छ । त्यसका लागि राज्य जिम्मेबार र प्रभावकारी हुनु जरुरी छ । राज्य जिम्मेबार र प्रभावकारी हुनको लागि ऊसंँग छोटो र लामो समयको योजना र त्यसको तयारी हुनुपर्ने देखिन्छ । के आज हामीसँग त्यस प्रकारको योजना र त्यसको तयारी थियो वा छ भन्ने कुरा प्रमुख देखिन आयो । तर यो समय योजना थियो वा के छ भन्ने कुरामा भन्दा अहिलेको तत्कालीन अवस्थामा के के गर्न सकिन्छ र त्यसको कसरी व्यवस्था गर्न सकिन्छ भन्ने कुरामा जोड दिनुपर्ने भएको छ । हाम्रो राज्य कमजोर थियो र कमजोर नै छ अहिले पनि र यसको खोजीनीति आउने दिनहरुमा गर्नुपर्ने नै छ । त्यसो गर्न सकियो भने मात्र हामीले आउने दिनहरुमा प्रकृतिसृजित विपत्तिलाई मानवसृजित विपत्तिमा घोलेर फस्न पर्ने छैन । त्यसको जरुरी भइसकेको छ । तर त्यो महसुस गर्ने सरकारको जरुरी हुने गर्छ । हैन भने पटक पटक हामीले अरु विपत्तिहरु भोग्न अभिषप्त हुनुपर्ने छ । अब हाम्रो नेपाल राज्यले केही दिनभित्रमा नै भिन्न थरिका अंगहरुको संयोजन गरेर विपत्ति ब्यवस्थापन गर्नुपर्ने देखियो र त्यसका लागि हामीले गर्नु पर्ने कुराहरु निम्न हुन सक्छन् : घरवारबिहीनहरुको लागि छिटो छरितो लाग्ने ठाउँहरुको निर्माण । त्यो काम अस्थायी रुपमा टेन्टहरुको निर्माण नै हो । टेन्टहरु पनि ढोका बन्द गर्न मिल्ने प्रकारका हुनु जरुरी छ । तर हामीले जान्नुपर्ने कुरा के छ भने ती टेन्टहरु केही दिनका लागि मात्र हुन सक्छन् र महिनौं धान्ने प्रकारका ती हँुदै होइनन् । एउटा टेन्टले एउटा परिवार धान्ने कुरा पनि भएन र जवान छोराछोरीहरु कता बस्ने ? कता पढ्ने ? कता सुत्ने ? अर्थात् ती टेन्टहरुले १–२ महिनामात्र काम चल्ने हो । यसरी हामीले त्यसको पनि बिकल्प सोच्नुपर्ने छ । छिटो र त्यो अर्को बिकल्प भनेको छिटोछिटो पाल वा त्रिपाल अनि सँगसँगै स्याउले छाप्राहरुको निर्माण नै हो । खुसीको कुरा के हो भने स्याउले छाप्राहरुको निर्माण निकै सजिलो र केही हजार रुपियाँमा निर्माण हुने गर्छ । किनभने हामीले ती स्याउलाहरु किन्नुपर्ने छैन र हाम्रो आफ्नै सामुदायिक जंगलहरु त्यसका लागि सक्षम छन् । हामीले गाउँ गाउँमा जनशक्ति थप गरिदिने र केही प्राविधिक सहयोग दिनुपर्ने हुन्छ । जस्तै स्याउलाहरु जोड्ने खाँबाहरुको ब्यवस्था गराउनु र तिनीहरुलाई उचित आकार दिनका लागि युवाशक्ति चाहिने हुन्छ । त्यसका लागि राज्यको जनशक्ति प्रयोग गर्न सकिन्छ । अहिले पनि युद्धस्तरमा हाम्रो शक्ति लागेको छ नै । त्यसैगरी विभिन्न ठूला पार्टीका युवाशक्ति प्रयोग गर्न सकिन्छ र यसरी टेन्ट, पाल र स्याउले छाप्राहरुको अस्थायी ब्यवस्था गर्दै हामीले दीर्घकालीन योजना अन्तर्गत तुरुन्तै बन्नेगरी बिदेशी प्रविधि प्रयोग गर्नुपर्ने देखियो । जस्तै इन्डोनेशिया, जापान र चीनतिर त्यो प्रविधिको विकास भएको छ । जुन प्रविधिले ८ रेक्टर भन्दा माथिका भूकम्प पनि सजिलै प्रतिरोध गर्ने हुन्छ । घर बनाउने सम्पूर्ण समान कारखानामा उत्पादन हुने गर्छन् । त्यसले गर्दा केही हप्तामा नै हामीले हजारौं हजार मान्छेका लागि दीर्घकालीन घरहरु निर्माण गर्न सकिन्छ । अब हामीले जनताका लागि सोच्ने मानसिकता भने बनाउनु जरुरी छ । सुरुमा त्यो जुटाउन हामीले अन्तर्राष्ट्रिय सहयोग माग्नुपर्ने छ । विभिन्न कम्पनीहरुसँग मिलेर त्यसको उत्पादन र हाम्रो गाउँसम्म पुर्याउने संयन्त्रको निर्माण हुनु जरुरी छ । ती सामानहरु जोड्ने प्राविधिकहरु समेत सुरुमा झिकाउनुपर्ने हुन्छ । तर हामीले टहरा निर्माण गर्ने हो भने त्यो कुनै जटिल बिषय होइन । अर्को बिषय अहिले पनि ओझेल परेको देखिएको छ । त्यो के हो भने कुन कुन ठाउँहरुमा बस्ती राख्ने वा नराख्ने ? अब हामीले कम्तीमा पनि पहिरो नजाने ठाउँहरु रोजेर नयाँ गाउँ बसाउनुपर्ने हुन्छ । त्यति मात्र हैन नोक्सान भैसकेका गाउँहरुलाई दुर्गम ठाउँबाट सारेर सुगम ठाउँमा राख्नु पछिको लागि राम्रो हुने छ । त्यसो गरियो भने राज्यको पहुँच राख्न सजिलो हुने छ । र, आउन सक्ने नयाँ सम्भावित विपत्तिहरुमा राज्य छिटो पुग्न सक्ने छ । त्यसैले यो महाविपत्तिको पाठ सिकेर विकासको नयाँ इतिहास कोर्न किन पछि पर्ने ? अब हामीले त्यो दिशामा किन आगाडि नबढ्ने ? अहिले नबढे कहिले बढ्ने ? हामीले सुरु नगरे कसले सुरु गर्ने ? हामी सबैको जय होस् भन्नका लागी त्यसको सुरुवात यही महाविपत्तिबाट गरौं । प्रकृतिसृजित विपत्तिलाई मानवसृजित विपत्तिमा घोलिनबाट रोकौं ।
सम्बन्धित समाचार
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply