ती तीस मिनेट जब सिक्किम भारतमा गाभियो
दिल्लीको नगरपालिकाका आयुक्त बीएस दास दिउँसोको खाना खाइरहेका थिए, त्यति नै बेला विदेश सचिव केवल सिंहको फोन आयो । त्यसपछि उनी तुरुन्तै सिंहलाई भेट्न गए । त्यो सन् १९७३ को अप्रिल ७ तारिखको कुरा थियो । जसरी दास विदेश मन्त्रालय गए, केवल सिंहले धेरै आत्मीय हिसाबले उनको स्वागत गर्दै भने–‘तपाईलाई सिक्किम सरकारको जिम्मेवारीका लागि तुरुन्तै गान्तोक पठाउने भएका छौं, तपाईसँग केवल २४ घन्टामात्रै समय छ, यही बीचमा सबै तयारी गर्नुहोला ।’
जब दास अर्को दिन सिलिगुडीबाट हेलिकोप्टरमार्फत् गान्तोकसम्म पुगे, त्यहाँ उनको स्वागतका लागि चोग्यालका विरोधी काजी लेन्डुप दोर्जी, सिक्किमका मुख्य सचिव, प्रहरी आयुक्त र भारतीय सेनाका प्रतिनिधि उपस्थित थिए । दासलाई जुलुसको आकृतिमा पैदल नै उनको निवास थलोमा लिएर गए । पछिल्लो दिन जब उनले चोग्याललाई भेट्ने समय मागे, तब उनले बहाना बनाए– उनले आफ्ना ज्योतिषीसँग सल्लाह गरेर मात्रै भेट्ने समय दिन सक्नेछन् । दास भन्छन्– ‘त्यो त एउटा बहाना थियो । वास्तवमा उनी यो देखाउन चाहिरहेका थिए कि उनले मेरो र मेरो ओहदालाई मान्यता दिने छैनन् ।’
सिक्किम गोवा होइन
भोलिपल्ट चोग्यालले दासलाई बोलाए । तर, त्यस दिनको बैठक धेरै नै कटुतापूर्ण माहोलबीच सुरु भयो । चोग्यालको पहिलो वाक्य थियो– ‘मिस्टर दास, यो धोकामा रहँदैन कि सिक्किम गोवा हो ।’
उनको पूरै कोसिस रहेको थियो कि उनलाई पनि भूटानलाई जस्तै मान्यता दिइयोस् । ‘हामी एक स्वतन्त्र र सार्वभौमसत्ता देश हौं । तपाईले हाम्रो संविधान अन्तर्गत रहेर काम गर्नुपर्दछ । भारतले तपार्इंको सेवा मेरो सरकारलाई दिएको हो । यसबारेमा कुनै गलत अर्थ नलगाइयोस् । कहिल्यै कोसिस नगर्नुस्, हामीलाईदबाउने ।’भारतमा सिक्किम गाभ्ने कार्यमा बीएस दासको महत्वपूर्ण भूमिका थियो ।
भोलिपल्ट, बीएस दास जब त्यहीँ रहेका आफ्ना साथी शंकर बाजपेयीसँग भेटघाट गर्न इन्डिया हाउस गए, तब उनको पहिलो प्रश्न थियो– उनले केवल सिंहबाट उनका लागि के निर्देशन लिएर आएका हुन् ?
दास सम्झिन्छन्– ‘मसँग कुनै स्पष्ट निर्देशन थिएन । यति मात्र कि सिक्किमका जनताको आकांक्षा पूरा गर्ने कार्यमा हामीले उनीहरूलाई मद्दत गरौं । पहिलेजस्तै इन्दिरा गान्धीले कुनै औपचारिक राजनीतिक संकल्प गरेकी थिइनन् । विलय शब्दको कहिल्यै पनि प्रयोग गरेकी थिइनन् ।’ उनका अनुसार, ‘यहाँसम्म कि हामीलाई सञ्चालन गरिरहेका केवल सिंहले पनि व्यक्तिगत कुराकानीमा उक्त शब्दको प्रयोग कहिल्यै गरेनन् । तर, कसैले केही नभने पनि म र शंकर बाजपेयी दुवैलाई थाहा थियो कि हामीले के गर्नुपर्छ ?’
१९६२ को चीन युद्ध
वरिष्ठ राजनीतिक विश्लेषक इन्दर मल्होत्रा मान्दछन्– सिक्किमलाई भारतमा विलय गराउने सोच १९६२ को भारत–चीन युद्धपछि सुरु भयो । सामरिक विशेषज्ञहरूले महसूस गरे कि चीनको चम्बी घाँटीसँगै भारतको मात्र २१ माइलको बाटो छ, जसलाई ‘सिलिगुडी नेक’ भनिन्छ ।चीनले चाह्यो भने एकै क्षणमा त्यस बाटोलाई छुट्याएर उत्तरी भारतमा घुस्न सक्छ ।
सिक्किमका चोग्यालले एक अमेरिकी युवती होप कुकसँग बिहे गरेका थिए । भारतीयहरूले ती युवतीलाई उचाल्न सुरु गरे । त्यसपछि चोग्याललाई यस्तो लाग्यो कि यदि उसले सिक्किमलाई पूर्णरूपमा स्वतन्त्र गर्ने माग गरे भने अमेरिकाले उनको समर्थन गर्नेछ । भारतले यो कुरा स्वीकार गर्नेछैन ।
अमेरिकी पत्नीले चोग्याललाई छाडिन् ।
चोग्याल पत्नी होप कुकसँगचोग्यालको अमेरिकी पत्नी होप कुकको पूरै व्यक्तित्व रहस्यमयी थियो ।
चोग्याललाई भारतविरुद्ध भड्काउनमा उनको धेरै ठूलो भूमिका थियो । उनले स्कुलको पाठ्यपुस्तक बदलिन् । युवा अफिसरलाई बोलाएर उनी हरेक हप्ता बैठक गर्दथिन् । जब उनी चोग्यालको रानीको भूमिका निभाउँथिन्, त्यतिबेला सिक्किमको कपडा पहिरेर धेरै विनम्रतासाथ विस्तारै–विस्तारै बोल्दथिन् । तर, अर्कोतिर जब उनी बेखुसी हुन्थिन्, उनलाई सम्हाल्न गाह्रो पथ्र्यो ।
चोग्यालको आवश्यकताभन्दा बढी नै रक्सी पिउने बानी थियो । त्यही बानीले उनलाई हैरान तुल्याउँथ्यो र दुवै बीच महाभारत सुरु हुन्थ्यो । एकपटक चोग्याल उनीसँग यति अप्रसन्न भए कि उनले पत्नीको रेकर्ड प्लेयर झ्यालबाट बाहिर फ्याँकिदिए । अन्तत: होप कुकले सिक्किम छाडेर अमेरिका जाने फैसला गरिन् । चोग्यालले उनीसँग अनुरोध गरे कि त्यस अप्ठेरो समयमा उनी आफैसँग बसून् । तर, उनले चोग्यालको अनुरोधलाई इन्कार गरिन् ।
दास उनलाई छाड्न गएका थिए । उनको अन्तिम शब्द थियो–‘ मिस्टर दास, मेरा पतिको हेरचाह गर्नू । अब मेरो यहाँ कुनै भूमिका रहेन ।’
दास भन्छन् कि उनलाई यो कुरा भन्न धेरै नै लाज महसुस भइरहेको छ कि जब उनले थाहा पाए होपले राजदरबारका कैयौं बहुमूल्य कलाकृतिहरू र पेन्टिङहरू चोरेर र लुकाएर अमेरिका पुर्याइसकेकी थिइन् ।
मात्र एक सिट
दास भन्छन् कि चोग्यालले ८ मेको सम्झौतामा हस्ताक्षर गरिसकेपछि पनि कहिल्यै हृदयले त्यसलाई स्वीकार गरेनन् । उनले बाहिरका कैयौं व्यक्तिसँग मद्दत मागे ।
उनले एक महिला वकिललाई यस्तो वकालत गर्न राखेका थिए कि उक्त सम्झौता गलत छ । जब चुनावको घोषणा भयो, तब चोग्यालले दक्षिण सिक्किमको भ्रमण गर्ने इच्छा व्यक्त गरे । दासले उनलाई त्यस्तो नगर्न सल्लाह दिए ।
पहिला, जब उनी उक्त इलाकामा जान्थे, त्यतिबेला लामाहरू सडकमा लस्करै उभिएर उनलाई स्वागत गर्दथे । तर, जब यसपटक उनी गए, उनको तस्बीरमा जुत्ता लगाएको देखे । चुनावमा चोग्यालको समर्थन भएको नेशनलिस्ट पार्टीलाई ३२ सिटमा मात्र १ सिट मिल्यो । जति पनि नयाँ सदस्यहरू जितेर आएका थिए, उनीहरूले भने कि आफूहरूले चोग्यालको नाममा शपथ लिने छैनन् र यदि उनी एसेम्बलीमा आए भने उसको कारबाहीमा भाग लिने छैनन् ।
दासका निम्ति यो धेरै नै धर्मसंकटको स्थिति थियो । किनकि, उनी नयाँ एसेम्बलीको सभामुख पनि थिए । ‘तब यस्तो तय भयो कि चोग्याल आफ्नो विरोध लेखेर पठाइदेओस्, त्यसलाई म एसेम्बलीमा पढेर सुनाउनेछु र उनीहरूले सिक्किमको नाममा शपथ लिन्छन् ।’
चोग्यालको नेपाल यात्रा
यही अवधिमा चोग्याल नेपालका राजाको राज्याभिषेकमा राजकीय अतिथिका रूपमा नेपाल गए, जहाँ उनले पाकिस्तानका राजदूत र चीनका उपप्रधानमन्त्री चिन सी लिउसँग कुराकानी गरे र आफ्नो हैरानी देखाउँदै उनीहरूसँग सहयोग मागे ।
बीएस दासले उनलाई एउटा लिखित दस्तावेज दिएका थिए । जसमा भनिएको थियो कि उनले बाह्य सहयोग प्राप्त गर्ने चक्करमा नलाग्दा उचित हुनेछ । ‘तपाईको राजबंश यथावत रहनेछ र तपार्इंको छोरा तपाईको उत्तराधिकारी हुनेछन् ।’ तर, चोग्याल यो कुरामा अडिग रहे– ‘मेरो त स्वतन्त्र देश हो, यसलाई म छाड्ने छैन ।’
इन्दिरा गान्धीसँग अन्तिम कुराकानी
उनले इन्दिरा गान्धीलाई आफ्नो पक्षमा पार्ने अन्तिम कोसिस ३० जून, १९७४ मा गरे ।
इन्दिरा गान्धीको सचिव रहिसकेका पीएन धरले आफ्नो पुस्तक ‘इन्दिरा गान्धी: द इमरजेन्सी एन्ड इन्डियन डेमोक्रेसी’ मा लेखेका छन्– ‘जुन हिसाबले चोग्यालले आफ्नो सबै मुद्दा इन्दिरा गान्धीका सामु राखे, त्यसबाट म धेरै नै प्रभावित भएँ । उनले भनेका थिए कि भारतले सिक्किममा जुन राजनीतिक दाउ लगाइरहेको छ, त्यो विश्वासयोग्य छैन ।’
इन्दिराले भनिन् कि उनी जुन राजनीतिज्ञको कुरा गरिरहेका छन्, तिनीहरू जनताद्वारा चुनिएका प्रतिनिधि हुन् । चोग्यालले अरु केही कुराकानी गर्न चाहेका थिए, इन्दिरा चुप लागिन् ।
उनले मौनतालाई एउटा नकारात्मक प्रतिक्रियाका रूपमा प्रयोग गर्ने कोसिस गरिरहेका थिए । गान्धी रहस्यमय ढंगले मुस्कुराइन् र आफ्ना दुवै हात जोडिन् । चोग्यालका लागि यस्तो इसारा थियो कि उनी जान सक्छन् । आश्चर्यको कुरा के थियो भने उनी त्यही चोग्याल थिए, जो १९६८ मा जवाहरलाल नेहरूको अतिथि बनेर दिल्ली आएका थिए र उनको निवासस्थान तीनमूर्ति भवनमा बसेका थिए ।
चोग्याल एउटा विलक्षण व्यक्तित्वका धनी थिए । उनले कहिल्यै पनि सिक्किमको बेग्लै पहिचानको सम्झौता गरेनन् ।
दास भन्छन् कि मात्र एकपटक उनले चोग्यालले हार स्वीकार गरेको देखे । जब उनका छोरा र उत्तराधिकारीको एउटा दुर्घटनामा मृत्यु भयो, त्यतिबेला उनले आत्महत्या गर्ने प्रयत्न गरेका थिए ।
यही समय उनकी पत्नी होप कुक पनि आफ्ना दुई सन्तान र उनलाई छाडेर हिँडेकी थिइन् । उनका लागि यी सबै स्वीकार्न धेरै नै मुस्किल थियो । १९८२ मा उनको क्यान्सरले मृत्यु भयो ।
विलयको विरोध
जब सिक्किमलाई भारतमा मिलाउने अभियान सुरु भयो, तब चीनले यसको तुलना १९६८ मा रुसले चेकोस्लोभाकियामाथि गरेको आक्रमणसँग गर्यो ।
तब इन्दिरा गान्धीले चीनले तिब्बतमाथि गरिएको आक्रमणको सम्झना दिलाइन् । भुटान निश्चय नै यस कारण खुसी देखियो कि त्यसपछि उसलाई सिक्किमसँग जोडेर हेरिने छैन । तर, सबभन्दा धेरै विरोध नेपालमा भयो । नेपाल खुसी हुनुपथ्र्यो । किनकि, सिक्किमको सबभन्दा धेरै जनसंख्या नेपाली मूलका व्यक्तिहरू थिए ।भारतभित्र भने सामान्य रूपमा विरोध भयो ।
जार्ज वर्गिजले ‘हिन्दुस्तान टाइम्स’ मा ‘अ मर्जर इज अरेन्ज्ड’ शीर्षकमा सम्पादकीय लेखे– ‘जनमतसंग्रह यति हतारमा गराइयो कि यो पूरै अभियान सन्देहको घेरामा आयो । जनमतसंग्रहमा प्रश्न गरिएको थियो– के तपाई यो कुरामा सहमत हुनुहुन्छ कि चोग्यालको पद समाप्त गरिंदैछ र सिक्किम अब भारतको अंग हुनेछ ? यी दुवै बेग्लाबेग्लै मुद्दा थिए, जसले एकअर्कासँग कुनै सम्बन्ध राख्दैनथे । अचम्मको कुरा के थियो भने यो सबै गान्धी र नेहरूको देशमा भएको थियो ।’
‘र’ को भूमिका सिक्किमलाई भारतमा मिलाउन कुटनीतिज्ञहरूसँगै भारतको गुप्तचर एजेन्सी ‘र’ ले पनि महत्वपूर्ण भूमिका निभाएको थियो ।
दास भन्छन् कि ती दिनहरूमा ‘र’ का अधिकारीहरूसँग उनको पार्टी आदिमा कुराकानी हुन्थ्यो । ‘म उनीहरूसँग सोध्दथे कि मलाई भन के भइरहेको छ ? तर, तिनीहरू मलाई केही पनि बताउँदैनथे । एक दिन उनी मेरो घरमा आए र भने– सरी सर हामी तपाईसँग केही कुराकानी गर्न सक्दैनौं । हामीलाई निर्देशन छ कि मुख्य कार्यकारी अधिकारीलाई सिक्किममा भइरहेको कुनै घटनाको बारेमा बताउन सकिँदैन । किनकि, उनी चोग्यालको कार्यकारी हुन् र उनले त्यसको बारेमा उनलाई बताउने गल्ती गर्न सक्छन् ।’
‘म तपार्इंलाई इमानदारीसँग बताइरहेको छु कि अन्तिम दिनसम्म सिक्किममा के भइरहेको थियो, त्यसको जानकारी मलाई भारतको गुप्तचर एजेन्सीबाट मिल्दै मिलेन’– दास भन्छन् ।
इन्दर मल्होत्रा मान्दछन् कि ‘र’ ले सिक्किम विलयमा निर्णायक भूमिका पक्कै पनि निभाएको थियो । तर यसबारेमा दिशानिर्देश भने राजनीतिक नेतृत्वले गरेको थियो । इन्दिरा गान्धीले ‘र’ का प्रमुख रामनाथ काव, पीएन हक्सर र पीएन धरलाई बैठकमा बोलाएकी थिइन् । जब कावलाई त्यसबारे सल्लाह दिन भनियो, तब उनले भने– ‘मेरो काम सरकारको फैसलालाई कार्यान्वयन गर्नू हो, सल्लाह दिनु होइन ।’
इन्दिरा गान्धीको भूमिका
दास भन्छन्– ‘हामीलाई अनुमान थियो कि यो पूरै प्रकरणमा इन्दिरा गान्धीलाई लगातार जानकारी भइरहेको छ । मैले इन्दिरा गान्धीसित ११ बर्ष काम गरेँ । उनको बारेमा मुख्य कुरा के थियो भने जब उनलाई आफूसँग कुनै व्यक्तिले जुध्न चाहिरहेको छ भन्ने अनुमान हुन्थ्यो, तब उनले त्यस्ता व्यक्तिलाई छाड्ने छैनन् । चोग्यालको बारेमा पनि उनलाई के लाग्यो भने यो मानिस कहिल्यै बदल्न सकिदैन । गान्धी पूरै सिक्किम प्रकरणको नायिका थिइन्, हामी उनका प्यादा मात्र थियौं ।’
सिक्किमलाई भारतको २२ औं राज्य बनाउने संविधानको संशोधन विधेयक २३ अप्रिल १९७६ को लोकसभामा पेश गरियो । त्यस दिन २९९–११ मतले पारित भयो । राज्यसभाबाट यो विधेयक २६ अप्रिलमा पारित भयो र १६ मे १९७६ मा जब राष्ट्रपति फाखरुद्दिन अलि अहमदले उक्त विधेयकमा हस्ताक्षर गरे, नाम्ग्याल राजवंशको शासन समाप्त भयो ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- दिल्लीमा देउवाको दौडधुप
- भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
Leave a Reply