यात्राको नालीबेली
सीमान्तकृत वर्गको आवाजलाई नेपाली काव्य–आन्दोलनमार्फत् सम्बोधन गर्ने पछिल्लो पुस्ताका कवि प्रोल्लास सिन्धुलीयको मुल परिचय कवि नै हो । तर, कविताबाहेकको विधामा पनि उनको कलम राम्रैगरी चल्ने गरेको छ । ‘कल्पना पाण्डे : दूध हालेको चिया खान्छे’ सिन्धुलीयको यात्रा–निबन्धहरुको सँगालो हो । जुन कृतिले उनको परिचयलाई कविमा मात्र सीमित तुल्याएको छैन, उनी राम्रा यात्रा–निबन्ध पनि लेख्छन् भन्ने देखाएको छ ।
०५२ सालमा माओवादी जनयुद्ध प्रारम्भ भएलगत्तै प्रहरीद्वारा गिरफ्तारीमा परेका आफूलाई पढाउने शिक्षकलाई छुटाउन एकत्रित भएका विद्यार्थीहरुसामु प्रहरीले गोली चलाउँदा मृत्युवरण गर्नेमा थिए– दिलबहादुर रम्तेल । गोरखाका ती विद्यार्थीलाई माओवादीले जनयुद्धका प्रथम सहिद मान्दै आएको छ । ‘दिलबहादुरविनाको दिलबहादुरको घरमा एक साँझ’ यात्रा–निबन्धमा काठमाडौंमा विकट ग्रामीण बस्तीमा अवस्थित तिनै रम्तेलको घरमा पुगेका साहित्यकार/पत्रकारहरु र सहिद परिवारबीचको अन्तरसम्बाद उल्लेख छ । पत्रकारहरुले सहिद रम्तेलका पिता सेते रम्तेललाई तस्बिर खिच्न आग्रह गर्दा ‘अहिलेसम्म दुई सयजतिले खिचेर लगे, के हुन्छ र फोटो खिचेर ?’ भन्दै दिएको जवाफले सहिद परिवारभित्र गुम्सिएको पीडा छरपष्ट हुन्छ । सहिद परिवारलाई राज्य र स्वयम् माओवादीले समेत उपेक्षा गरेको झलक उक्त यात्रा निबन्धमा पाइन्छ ।
‘बेतौना जाने बाटो कता हो, दाइ ?’ मा करिब दुई दशकअघि तिहारको समयमा रौतहटको बेतौना पुग्नुपर्ने लेखक र कवि मनु मञ्जिलले मध्य रातसम्मै एकजना आफन्तको घर खोज्न थुप्रै ग्रामीण टोलहरु चहारेका प्रसंगलाई रोचक ढंगले यो यात्रा विवरणमा उतारिएको छ । चन्द्रनिगाहपुरबाट बेतौना जानुपर्नेमा र बेतौना भन्नुपर्नेमा बनबोरी भन्ने थलो सोधेपछि चार घण्टासम्म साइकलमा यात्रा गर्दाको कष्टपछि मात्रै मध्य रातमा आफन्तको घरमा पुग्दाको आनन्द उक्त निबन्धमा उल्लेख छ । रात्रिकालीन समयमा सर्प र डाकाहरुको बिगबिगी हुने थाहा पाउँदा–पाउँदै पनि त्यसका पर्वाह नगरी अँध्यारो रातमा तराईका टोलहरु चहारेको वर्णनले निबन्ध पठनीय बन्न पुगेको छ ।
‘अल्लारेहरु’ मा भने सिन्धुली सदरमुकामको पूर्वी दिशातिरको अग्लो चुचुरो च्याउकोटमा जाँदा र फर्किदाका यात्रानुभूतिलाई समेटिएको छ । युवाकालीन दिनहरुमा निस्फिक्री ढंगले च्याउकोट घुम्दाको अनुभूतिलाई उनले यसरी लेखेका छन्–‘च्याउकोटबाट पश्चिमतर्फ मरिन खोला र त्यसको आसपासको लाम्चो फाँटको दृश्य हेरिरहुँ लाग्ने थियो । उत्तरतर्फ सुन्दर हिमशृंखला र त्यसलाई छेकुँलाजस्तो गरी बसेको सिन्धुलीगढीको डाँडो देखियो भने पहिरो गएर फुस्रो भएको ग्वाङ खोलाको शिरले प्रकृतिको सौन्दर्यमाथि व्यंग्य गरिरहेझैं लाग्यो । पश्चिमतर्फ चुरे पर्वतमालाभन्दा पर धनुषा, महोत्तरी र सर्लाहीको समथर जमिन देखियो भने पूर्वतर्फ ओखलढुंगा र उदयपुरका हरिया डाँडाहरुको लामबद्ध जुलुस नै थियो ।’
गोरखाको मनकामना मन्दिरसम्म पुग्नेहरुका लागि केबुलकार स्थापना भएपछि धेरैले केबुलकारको यात्राको आनन्द लिए । त्यही क्रममा, डेढ दशकअघि मनकामना डाँडामा केबुलकारकै संयोजनमा एउटा कविगोष्ठी गरिएको थियो । ‘ओ, नायिका †’ शीर्षकको यात्रा–निबन्धमा मनकामना डाँडामा आयोजित त्यही रमाइलो काव्य–गोष्ठीबारे उल्लेख गरिएको छ । ‘यतै कतै हुनसक्छ मेरो गाउँ’ मा भने दुई दशकअघि पनौतीमा भएको एउटा साहित्यिक कार्यक्रममा सहभागी हुन गएका स्रष्टा त्यहाँको प्राकृतिक छटा देखेर मुग्ध हुन्छन् । पनौतीको प्राकृतिक सौन्दर्यले लोभिएका स्रष्टा आफ्नो गाउँको सम्झनामा रुमल्लिन पुग्छन् र पनौतीका हरिया डाँडा काँडाहरुमा रमाउन चाहन्छन् । तर, पनौतीबाट काठमाडौं फर्किनुपर्ने उनी पाँचखालतिर एकजना आफन्तलाई भेट्न पुग्छन् । एउटा अल्लारेले यात्रा गर्दा बटुलेका रमाइला पक्षहरुले यो निबन्धमा स्थान पाएका छन् ।
‘जलचर, थलचर र उभयचर’ मा भने कालीगण्डकी र त्रिशूलीको संगमस्थल देवघाटसम्म यात्रा गर्दा बटुलिएका अनुभूतिहरुलाई समेटिएका छन् । केही सहयात्रीसहित देवघाट पुग्दा त्यहाँ उर्लिएको मानव सागर र यात्रा क्रममा भोग्नुपरेका कष्टहरुलाई समेट्न उक्त निबन्ध उद्यत देखिएको छ । ‘सायद यात्रा असफल भएन’ शीर्षकको यात्रा–निबन्धमा एउटा वैवाहिक समारोहमा विराटनगर हिँडेका लेखकसहित भ्रमण दलका सदस्यहरु समयको सदुपयोग गर्दै दार्जीलिङसम्म घुमेर आउन चाहन्छन् । तर, दार्जीलिङ बन्द भएको हुँदा उनीहरु इलामको सेरोफेरोलाई मनमस्तिष्कभरि सजाएर फर्किन्छन् ।
‘कल्पना पाण्डे : दूध हालेको चिया खान्छे’ यात्राको क्रममा मलेखुमा भेटिएकी एउटी बालिकाको मनोविज्ञानलाई केन्द्रमा राखेर लेखिएको सिर्जना हो । बाग्लुङबाट काठमाडौं फर्किने क्रममा बाटोमा भेटिएकी एउटी बालिकाले प्रदर्शन गरेको व्यवहारलाई निबन्धको केन्द्रीय विषय बनाइएको छ । र, करिब दुई दशकको अवधिमा आफूले छिचोलेका यात्राहरुमध्ये आफूभित्र गढेर बसेका स्मरणहरुलाई नै ‘कल्पना पाण्डे : दूध हालेको चिया खान्छे’भित्र उनले समेटेका छन् । यात्रा त धेरैले गर्छन्, तर सम्झिनलायक यात्रा थोरै मात्र हुन्छन् । सिन्धुलीयको यो यात्रा–निबन्धभित्रका सिर्जनाहरु पढ्दा त्यही अनुभूति हुन्छ, सिर्जनाको संसारमा रमाउन चाहनेहरुका निम्ति यात्राजति सिर्जनाको भरपर्दो स्रोत अरु हुन सक्दैन ।
सम्बन्धित समाचार
-
एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
-
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
-
पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
-
पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
-
झपक्कै फुल्यो आँप
- Golanjor
-
चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
-
खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
-
ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
-
राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
-
जिन्दगीसँग सवालजवाफ
-
संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply