एमाले कार्यालय कसरी पुग्यो धुम्बाराही ?
काठमाडौं । भूकम्पले बल्खुको भवन चर्किएपछि त्यहाँ बस्न मिल्दैन भन्ने एमाले नेता कार्यकर्तालाई लागेकै भयो । तर, त्यसको विकल्पमा छेउमै प्रिफ्याबबाट अस्थायी भवन बनाएर बस्न दबाब नपरेको होइन । उपाध्यक्ष विद्या भण्डारी, केन्द्रीय सदस्य यज्ञराज सुनुवारलगायतले बैठकमै समेत यस्तो प्रस्ताव राखेका थिए । तर पनि, एमाले कार्यालय शनिबार धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठानमा सरेको छ । आखिर यसबीचमा कार्यालय सार्न वा नसार्न के कस्ता कसरत भएका थिए ? बुधबारले केही विवरण प्राप्त गरेको छ ।
पहिलो प्रयास : बल्खुमै पुनर्निर्माण
एमाले नेताहरूले भूकम्पबाट आफ्नो भवन भत्किएपछि त्यसैलाई रेटोफिटिङ गरेर बस्नयोग्य बनाउन सकिन्छ कि भनेर कोसिस गरेका थिए । तर, आमोद अधिकारी एक जनाबाहेकका इन्जिनियरहरूले भवनमा बस्न मिल्दैन भनेर रातो चिह्न लगाइदिएपछि त्यो बाटो बन्द भएको निष्कर्ष नेताहरूले निकालेका थिए । वरिष्ठ इन्ििजनियर अधिकारीले चाहिँ बढीमा ३५ लाख रुपियाँसम्ममा जगैदेखि रेटोफिटिङ गर्न सक्ने प्रस्ताव अघि सारेका थिए । तर, अस्थायी टहरा बनाएर बस्नेबारे भने गम्भीरतापूर्वक छलफल नै भएन ।
दोस्रो प्रयास : तुल्सीलाल स्मृति भवन
ललितपुरको च्यासलमा बनिरहेको तुलसीलाल स्मृति भवन एमालेको दोस्रो रोजाइमा परेको थियो । महासचिव ईश्वर पोखरेललगायतका नेताहरूले निरीक्षण गरेर यत्तिको ठाउँ भए चल्छ भन्ने निष्कर्ष पनि निकालेका थिए । त्यही भएर केही दिन कार्यालय त्यही सर्ने चर्चा पनि भयो । तर, पछि त्यसमा केही प्रशासनिक समस्या देखिएपछि एमाले हच्किनुपरेको थियो । पहिलो, उक्त भवन भारतीय दूताबासको आर्थिक सहयोगमा बनिरहेको थियो । दोस्रो, उक्त काम नगरपालिकामार्फत भइरहेको थियो । तेस्रो, निर्माण पूरा हुन र हस्तान्तरण गर्न केही समय लाग्ने थियो । चौथो, पार्टी कार्यालय कुनै एउटा देशको दूताबासको लगानीमा बनेको घरमा बसेको टिप्पणी हुन सक्ने थियो । त्यही भएर एमालेको च्यासल सर्ने प्रयास पनि सफल हुन सकेन ।
तेस्रो प्रयास : रविन्द्रलालको घर र खेतानको जग्गा
यही बीचमा एमाले नेतृत्वसमक्ष कसैले प्रस्ताव ल्यायो, मीनभवनमा सुन व्यापारी रविन्द्रलाल श्रेष्ठको कम्पाउन्डसहितको ठूलो घर छ । सुरक्षित पनि छ । भाडामा पाइन्छ । सायद उक्त सूचनाले गृहमन्त्री वामदेव गौतमलाई बढी प्रभावित पारेको थियो । हत्त न पत्त नेताहरूले त्यो घर पनि हेरे । निरीक्षणमा पुगेका एक नेताले भने, घर राम्रै थियो । कम्पाउन्ड पनि ठीकै थियो । तर, त्यो हामीलाई पर्याप्त थिएन ।
हेर्दै जाँदा छेउमै सोतो परेको तीन चार रोपनीको एउटा खाली जग्गा पनि देखियो । त्यो जग्गा समेत पाएमा चाहिँ गजब कार्यालय हुने अनुमान नेताहरूले गरे र सोधखोज गर्दा पत्ता लाग्यो, उक्त जग्गा एमालेले पहिलो पटक सरकारमा जाँदा जोखिम मोलेर मुद्दा फिर्ता लिएर गुन लगाएका व्यापारी स्वर्गीय मोहनगोपाल खेतानको परिवारको रहेछ । उनका जेठा छोरा राजेन्द्र खेतानलाई उपाध्यक्ष विद्या भण्डारीले प्रदीप ज्ञवाली अध्यक्ष रहेको मदन भण्डारी पुरस्कार समितिमा सदस्य नै राखेकी छन् । उनको खोजी गर्दा उनी र उनका भाइ सीपी खेतान दुवै जना स्वदेशमा नरहेको पत्ता लाग्यो । एकाघरमै रहेका काकाका छोरा पीपी खेतानलाई बोलाएर महासचिव पोखरेलले मात्र कुरा गरेनन्, अध्यक्ष केपी ओलीले घरमै बोलाएर समेत कुरा गरे । तर, पारिवारिक सम्पत्ति भागबन्डाको क्रममा रहेको खेतान परिवारले जग्गा दिन नसक्ने जानकारी दियो । अध्यक्ष ओलीलाई भनियो, ‘यो जग्गा दिन नसकिने होइन । तत्काल उपयोग गर्ने योजना पनि छैन । तर, अहिले हाम्रो आन्तरिक किचलो छ । यस्तो बेलामा निर्णय गर्न सम्भव छैन ।’ त्यसपछि त्यो विकल्प पनि त्यहीँ सकियो ।
चौथो प्रयास : सोनामसँगको भेट
घर खोजिरहे पनि एमाले नेताहरूले भने जस्तो घर पाइरहेका थिएनन् । बल्खु बस्ने अवस्था थिएन । यस्तो बेलामा एक दिन महासचिव पोखरेललाई एउटा सम्मेलनका क्रममा नेपाल आएका विदेशी डाक्टरहरूको बैठकमा धुम्बाराहीमा बोलाइएको थियो । पासाङ ल्हामु प्रतिष्ठानको भवनबाट निस्किँदै गर्दा स्वर्गीय पासाङ ल्हामुका पति सोनाम छिरिङ शेर्पा आँगनमै भेटिए । महासचिव पोखरेलले कार्यालय नपाएको गुनासो सुनाउँदै गर्दा सोनामले सोधे, ‘तपाईंहरू हामीले खोजेको कार्यालयमा बस्छ ?’ महासचिव पोखरेलले जवाफ दिए, ‘बस्छौँ नि किन नबस्ने ?’ सोनामले फ्याट्ट भनिहाले, ‘लौ त्यसो भए यहीँ बस त ।’
महासचिव पोखरेलले तत्कालै आफ्ना मन मिल्ने नेता प्रदीप ज्ञवालीलाई फोन गरे र ठाउँ हेर्दा उपयुक्त ठाने । साँझ अध्यक्ष ओलीलाई सोध्दा तत्कालै जवाफ पाइयो, ‘किन नहुनु ? गजबले हुन्छ । छिटो सर्ने व्यवस्था गर्नूस् ।’
यति एअर चलाइरहेको उक्त समूह अध्यक्ष ओली र महासचिव पोखरेलसँग पहिलेदेखि नै निकट छ । झन् आफ्नै भवन कार्यालयका लागि दिएमा निर्णय गराउन सजिलो हुने अपेक्षा नगर्ने कुरा पनि भएन । त्यहीबीचमा अनेक श्रीमतीका धनी कृपासुर शेर्पालाई मन्त्री बनाउने बाटो पनि खुल्यो । एमाले नेताहरू यसभन्दा पछाडिको घटनाक्रम सुनाउन चाहिँ रुचाउँदैनन् । कृपासुर उक्त प्रतिष्ठानका अध्यक्ष बनाइएका छन् ।
भवनमा एमालेकै योगदान
संयोग नै मान्नुपर्छ, एमालेले अहिले मासिक डेढ लाख भाडा तिरेर बस्न सुरु गरेको उक्त भवनको निर्माण चाहिँ एमालेकै कारण सम्भव भएको हो । मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेला उक्त सार्वजनिक जग्गा प्रतिष्ठानलाई दिइएको थियो भने निर्माणका लागि ५५ लाख रकम पनि दिइएको थियो । नेताहरूलाई कन्भिन्स गर्न खोज्दा सोनामले भनेका थिए, ‘मनमोहन अधिकारीले हामीलाई त्यत्रो सहयोग गर्ने अनि आज त्यही मनमोहनको पाटी त्रिपालमा पुग्दा हामीले सहयोग नगर्ने हुन्छ ?’
बल्खु नफर्किने संकेत
एमालेसँग बल्खुमा आठ रोपनी जग्गा छ । भूकम्प नआउँदा पनि एमालेले त्यो कार्यालय र जग्गा बेच्ने योजना बनाएको थियो । त्यसका लागि महासचिव पोखरेलको संयोजकत्वमा कार्यदल पनि बनाएको थियो । तर, त्यसबीचमा काम नभए पनि भूकम्पका कारण अब बल्खुलाई बाइबाइ गर्न सजिलो भएको छ । स्रोतका अनुसार, पहिला बल्खुको चर्किएको घर भत्काउने, त्यसपछि त्यहाँ भएका सामग्रीहरू लिलाम गर्ने, जमिन सम्म्याउने र अन्तिममा बेच्ने गरी तयारी सुरु हुँदैछ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
-
शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
Leave a Reply