संयमित बन, राम्रो नेता छान
नजाने कतिलाई थाहा छ, देशको सर्वाधिक लोकप्रिय, शक्तिशाली र ठूलो विद्यार्थी संगठन अनेरास्ववियु(अखिल)को २२औं राष्ट्रिय महाधिवेशन यही माघ २७ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ र जति–जति महाधिवेशनको दिन नजिक आउँदैछ, उति–उति यसको चर्चा र यसप्रतिको चासो बढ्दैछ । मुलुकको विषम र गरम राजनीतिक परिस्थितिले पनि यस्तो चर्चा र चासोलाई सम्पूर्ण रूपले ओझेलमा पार्न सकिरहेको छैन । त्यसो हुनु सम्भव पनि छैन, किनकि, अखिल यस्तो विद्यार्थी संगठन हो जसले मुलुकको लोकतान्त्रिक, गणतान्त्रिक आन्दोलन, जनजीविका प्राप्ति, सामाजिक न्याय स्थापना, राष्ट्रियताको रक्षाका लागि अति नै प्रशंसनीय, निर्णायक र गर्विलो भूमिका खेलेको मात्र होइन, अझै पनि अखिलले त्यस्तो भूमिका खेल्न सक्छ भन्ने विश्वास र खेल्नुपर्छ भन्ने भावना धेरैको मनमा छ ।
स्मरणीय छ, अखिलको आसन्न महाधिवेशन नेतृत्व छनोट महाधिवेशन हो । यसको मतलब, अखिलले आफ्नो विधान, प्रतिवेदन यसभन्दा अघि पारित गरिसकेको हुनाले यस महाधिवेशनले मूलत: नेतृत्व छनोट मात्र गर्ने छ । त्यसै भएकाले महाधिवेशन नजिकै आइसक्दा पनि अखिलको विधान, नीति, सिद्धान्त, कार्यक्रम जस्ता वैचारिक पक्षमा चर्चा नभएर केवल नेतृत्वको विषयमा मात्र चर्चा र छलफल भइरहेको छ ।
एउटा महाधिवेशन सकिएको भोलिपल्टदेखि नै अर्को महाधिवेशनबाट नेता बन्ने, बनाउने अभियानमा सुरु गर्ने अथवा नेतृत्व छनोटसहित विधान, प्रतिवेदन, प्रस्तावहरू पारित गर्ने महाधिवेशनमा त अरू काम छाडेर केबल नेता बन्ने, बनाउने ‘महा’ अभियानमा केन्द्रित हुने प्रवृत्ति विकास भइसकेको अखिलमा जब नेतृत्व छनोट मुख्य प्रयोजन बनाएर महाधिवेशन घोषणा हुन्छ भने आरम्भदेखि नै सबै नेता, कार्यकर्ता बन्ने/बनाउने ‘महा समर’मा होमिनु स्वाभाविकै हो । उनीहरूले त्यसै गरिराखेका छन् ।
सर्वजनिन छ, अखिलको नेता अखिलले छान्छ, तर यदि कसैले अखिललाई माया र विश्वास गर्छ अथवा अखिलको औचित्य अझै बाँकी छ अथवा देश, जनता, शैक्षिक समुदायका लागि अखिलले अझै पनि धेरै गर्न बाँकी छ, गर्न सक्छ भन्ने विश्वास गर्छ भने उसले राम्रो अखिल बनाउन, अखिलको राम्रो नेतृत्व निर्माण गर्न, नेतृत्व निर्माण कार्य स्वच्छ, स्वस्थ बनाउन कामयावी सुझाव दिनु, सकेको योगदान गर्नु वाञ्छनीय हुनेछ, पुनित कर्तव्य हुनेछ । यसै कुरालाई आत्मसात् गर्दै यहाँ केही कुरा राख्ने कोसिस गरिएको छ ।
अन्य कुरा छाडेर अहिले अखिलभित्र नेता बन्ने/बनाउने अभियानमा भए/गरिएका काम, अभिव्यक्तिलाई र विगतको पनि अनुभवलाई हेर्ने हो भने दुई वटा खतरनाक प्रवृत्ति बलशाली रूपमा आउने सम्भावना छ र तिनीहरूलाई परास्त नगर्ने हो भने न अखिलको नेतृत्व स्वस्थ ढंगले छनोट हुन सक्छ न राम्रो नेतृत्व नै । ती दुई प्रवृत्ति हुन् : जसरी पनि नेता हुन खोज्ने र जो पनि नेता हुन खोज्ने प्रवृत्ति ।
जसरी पनि नेता हुन खोज्ने प्रवृत्ति भनेको राम्रो, नराम्रो जस्तो तरिका अपनाएर भए पनि नेता हुन खोज्ने प्रवृत्ति हो । राम्रो तरिकाको यहाँ चर्चा गर्न जरुरी छैन । नराम्रो तरिकालाई पनि सम्पूर्ण रूपले राख्न उचित हुने छैन । केवल सांकेतिक रूपमा राख्ने हो भने प्रतिद्वन्द्वीलाई सीमा नाघेर सार्वजनिक रूपमा गालीगलौज गर्ने, लाञ्छना लगाउने, अति भद्दा र खर्चिलो प्रचारमा उत्रने, मत तान्नका लागि अनेकन गलत तरिका प्रयोग गर्नेदेखि लिएर पार्टी नेतालाई समेत गलत सूचना दिएर, चाकरी गरेर पद लिने, एउटा समूहबाट चुनाव लडेर अर्को समूहसँग मिलीभगत गर्ने, पद नपाए वा पद पाउनका लागि समूह छाड्ने जस्ता तरिका अपनाएर नेता हुने कोसिस यसपटक पनि हुने सम्भावना छ । यस्ता कतिपय गलत तरिकालाई आचारसंहिता बनाएर रोकिनुपर्छ भने कतिपयलाई यथोचित स्थान मात्र दिएर र कतिपयलाई मतदानमा परास्त गरेर ठेगान लगाउनुपर्छ ।
जो पनि नेता हुन खोज्ने प्रवृत्तिको सन्दर्भमा केही भन्नुपूर्व नेतृत्व र संगठनको बारेमा केही सैद्धान्तिक मान्यता राख्नु उचित हुन्छ । कुनै पनि संगठनमा कसैलाई रहरको भरमा नेता बनाइँदैन बरु कुनै महत्त्वपूर्ण लक्ष्य, उद्देश्य, दायित्व पूरा गर्नका लागि बन्ने गर्छ/बनाइने गरिन्छ र नेतृत्वको काम परिस्थिति अनुसार लक्ष्य, उद्देश्य, दायित्व निर्धारण गर्ने, त्यसका आधारमा संगठन बनाउने, परिचालन गर्ने र आमजनता, समुदायलाई परिचालन गरेर लक्ष्य, उद्देश्य, दायित्व प्राप्त र पूरा गर्ने हो । यसर्थ यो काम गर्ने क्षमता र कुशलता जसमा छ त्यो नै नेता हो, हुन सक्छ ।
उक्त सैद्धान्तिक मान्यताका आधारमा सहजै भन्न सकिन्छ, रहर गर्नेलाई बनाइदिउँ न त भनेर कसैलाई वा जो पायो उसैलाई नेता बनाउन मिल्दैन, हुँदैन । न त जो पायो उही नेता हुन सक्छ वा हुन मिल्छ । त्यसैगरी, पालो पुर्याउनका लागि वा पालो आयो भनेर सेना, प्रहरीको क्रमागत बढुवा गरे जस्तो गरी, न त धेरै लामो समयसम्म काम गर्यो भनेर निजामती कर्मचारीमा जस्तो २४ घ को प्रावधान अनुसार बढुवा गरे जस्तो गरी नेता बनाउन सकिन्छ, मिल्छ ।
माथिको तर्कको आधारमा सहजै भन्न सकिन्छ, संगठन, नेतृत्व निकै महत्त्वपूर्ण कुरा हो । त्यसैले अखिलले आसन्न महाधिवेशनबाट नेता छनोट गर्दा निम्न पक्ष वा आधारलाई ध्यानमा राख्न जरुरी छ ।
वैचारिक र बौद्धिक स्तर : राम्रो वैचारिक र बौद्धिक स्तर भएको नेताले नै परिस्थिति, घटना, विषयको विश्लेषण गर्न सक्छ, त्यसै अनुसारको दृष्टिकोण, कार्यक्रम बनाउन सक्छ, संगठनको नीति, सिद्धान्त, लक्ष्य, कार्यक्रम आदि बनाउन सक्छ, संगठन परिचालनका योजनाहरू बनाउन सक्छ, संगठनभित्रका समस्या, चुनौतीलाई चिन्न र हल गर्न सक्छ । विभिन्न विद्यार्थी संगठन, सरकार र शिक्षा क्षेत्रका जिम्मेवार पदाधिकारीहरूसँग गरिने, हुने वार्ताहरूमा राम्रोसँग कुरा राख्न सक्छ ।
लेखन, वाक कला : लेखन र वाक कला राम्रो भएको नेताले नै आफ्नो, सही नीति, सिद्धान्त, कार्यक्रमलाई राम्रोसँग जनता, शैक्षिक समुदाय, आफ्नै कार्यकर्ताको बीचमा पुर्याउन, स्थापित गर्न र संगठनको पक्षमा उनीहरूलाई उभ्याउन वा संगठनको साथमा हिँडाउन सक्छ । यदि त्यसो गर्न नसक्ने हो भने संगठन ठूलो र बलियो हुँदैन र आन्दोलन पनि गर्न सक्दैन ।
आन्दोलनप्रतिको इमान्दारिता र काम गर्ने इच्छा शक्ति : कहिलेकाहीँ विद्यार्थी नेताहरूले पैसा खाएर आन्दोलन तुहाएको, विद्यार्थी, शैक्षिक समुदायमारा नीति, कार्यक्रमको विरोध नगरेको, म नेता भइहालें, अब फेरि भइने होइन भनेर काम गर्न नखोजेको, संगठनलाई नै निष्क्रिय बनाएको जस्ता आरोप र टिप्पणीहरू सुन्नमा आइरहेको सन्दर्भमा आन्दोलनप्रतिको इमान्दार र काम गर्ने इच्छा शक्ति भएको व्यक्तिलाई नेता छान्नुपर्छ ।
विद्यार्थी चरित्र : अनेरास्ववियुको मुख्य कामको थलो भनेको विद्यार्थी समुदाय नै हो र मुख्य काम विद्यार्थी परिचालन नै हो चाहे आन्दोलनको दौरानमा होस् चाहे अन्य कार्यक्रमको क्रममा होस् । यसका लागि विद्यार्थीको भावना बुझ्ने र उनीहरूसँग घुलमेल हुन सक्ने क्षमता भएन भने उनीहरूको अगुवाइ गर्न सकिँदैन । यसखालको चरित्र सम्बन्धमा प्राकृतिक स्वभावदेखि लिएर पढाइको निरन्तरता अथवा नियमित विद्यार्थी हो वा होइन, उमेरको अवस्था जस्ता कुराले अर्थ राख्न सक्छ ।
व्यवस्थापकीय क्षमता : अनेक कारणले लामो समयदेखि अखिलमा झन्नै हाराहारीको दुई गुटमा विभाजित बन्दै आएको छ र गुटहरूको बीचमा हुने अस्वस्थ प्रतिस्पर्धा छ, अराजकता छ, परिणामत: विभिन्न समयमा बैठकसमेत चल्न नसक्ने, हातापाइको अवस्था आउने समेत हुने गरेको छ र यो अवस्था अझै पनि लामो समयसम्म कायमै रहने निश्चित छ । यस्तो अवस्थामा राम्रो व्यवस्थापकीय, संयोजनकारी क्षमता देखाउन सकिएन भने संगठनले ठूला काम र आन्दोलनको कुरै छाडौं आफ्नै बैठक, भेला जस्ता नियमित काम पनि गर्न सक्दैन ।
उच्च नैतिक बल : अनुशासनहीनता र अराजकताका कारण अखिल नै समाप्त होला कि भन्ने प्रश्न र चिन्ता जोडदार ढंगले उठिरहेको सन्दर्भमा अबको नेतृत्वको मुख्य काम र चुनौती संगठनलाई अनुशासनको दायरामा ल्याउनु पनि हो । यो काम आफैंमा अनुशासित, अनुशासनसम्बन्धी कुनै दाग नलागेको अथवा उच्च नैतिक बल भएको नेतृत्वले मात्र अघि बढाउन सक्छ । त्यसैगरी, शैक्षिक समुदायको नेतृत्व गर्ने हो भने अन्य अनुशासनका अतिरिक्त शैक्षिक अध्ययन, योग्यताको पाटो पनि ठीक हुनु जरुरी छ ।
अखिलको जय होस् ।
सम्बन्धित समाचार
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply