चित्रकलामा एउटा उपलब्धि
नेपालको इतिहासमा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाको बेलायत–यात्राको विशिष्ट स्थान र सान रहेको छ । ब्रिटिस साम्राज्यको विश्वव्यापी दबदबा रहेका बेला बेलायती भूमिमा पाइला टेकेका जंगबहादुरले नेपालबाट आफूसँग धेरै गन्यमान्यहरूलाई पनि लिएर गएका थिए । त्यो यात्रा दलमा उनले एकजना विख्यात नेपाली चित्रकार भाजुमान चित्रकारलाई पनि लिएर गएका थिए । तिनै भाजुमानले जंगबहादुरसँग बेलायत परिभ्रमण गर्दा युरोपको आधुनिक चित्रकलाको विकासलाई नजिकैबाट बुझ्ने मौका पाए । बेलायत पुगेका भाजुमानले युरोपेली चित्र, मूर्ति, वास्तु र हस्तकला हेरेर नेपाल फर्किएपछि ती कलालाई नेपालमा भित्र्याउन उनले प्रयत्न ैगरेका थिए ।
कला–समीक्षक ज्ञानेन्द्र विवशको कृति ‘प्रसिद्ध अग्रज नेपाली चित्रकार’मा भाजुमानजस्तै नेपाली चित्रकलालाई समृद्ध, विकसित र अग्र दिशातिर डोर्याउन अथक साधना गरेका प्रात:स्मरणीय कलाकारहरूको जीवनी समेटिएका छन् । लामो समयदेखि कला समीक्षाका साथै कला सिर्जनामा समेत क्रियाशील विवशले तेह्रौं शताब्दीमै चीनमा पुगेर आफ्नो कला–सिर्जनामार्फत विश्वकै ध्यानाकृष्ट गर्न सफल कलाकार अरनिकोदेखि पछिल्ला पुस्ताका उम्दा कला–सर्जकहरूको योगदानलाई शब्दमा ढाल्न चाहेका छन् ।
काठमाडौं उपत्यकाको इतिहास जति पुरानो र समृद्ध छ, कला क्षेत्रलाई चम्काउन काठमाडौंका नेवार समुदायका शिल्पीहरूको प्रयास पनि त्यत्तिकै पुरानो, स्तुत्य र समृद्ध रहेको छ । तेह्रौं शताब्दीमा अरनिकोले कोरेर गएको नेपाली चित्रकलाको रूपरेखालाई त्यसपछिका पुस्ताले अरू चम्काउन र शिखरमा पुर्याउन आ–आफ्नै तहबाट योगदान दिएको कुरा भुल्न सकिँदैन । अग्रज कलाकार दीर्घमान चित्रकारको कला–सिर्जनाबाट बेलायतका तत्कालीन महारानी यति प्रफुल्ल भएकी थिइन्, चन्द्रशमशेरसँग बेलायत जाँदा उनलाई महारानीले पुरस्कारस्वरूप १० हजार पाउन्ड दिएकी थिइन् । तर, उनले उक्त रकम स्वीकार नगरेपछि नेपाल फर्किएपछि तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले इनामस्वरूप केही जग्गा दिएका थिए ।
त्यसो त राणाकालीन समयमा नेपाली चित्रकलाले विकासको मार्ग पहिल्याउने अवसर पाएको थियो । काठमाडौं उपत्यकाका अधिकांश चित्रशिल्पीहरू दरबारसँग नजिक भएका हुँदा राणा–राजाहरूका मुहार चित्र बनाउने जिम्मा उनीहरूलाई सुम्पिनु स्वाभाविक मानिन्थ्यो । अहिले विभिन्न संग्रहालयहरूमा रहेका राजा–राणाहरूका मुहार चित्र तत्कालीन समयमा प्रख्यात चित्रसर्जकहरूले बनाएका थिए र ती चित्रहरू हेर्दा नेपालमा कलाको विकास माथिल्लो स्तरमै भइसकेको थियो भन्ने प्रमाण मिल्दछ । तर, केही चित्रकारहरूलाई भने तत्कालीन शासकले दु:खसमेत दिएका थिए । चित्रकार चन्द्रमानसिंह मास्केलाई राणा शासकले जेल सजायको फैसलासमेत गरेको थियो । उनले बनाएको एउटा कार्टुन–कलामा हात्तीको सुँडले श्री ३ को श्रीपेच फुकेर उडाइएको दृश्य अंकित भएपछि राणाहरूले आफूहरू अपमानित भएको ठाने र उनलाई जेल सजाय सुनाइएको थियो ।
कला–समीक्षक विवशले नेपाली साहित्यका मूर्धन्य स्रष्टा चित्तधर हृदयको कलाकारिताको चिनारी पनि दिएका छन् । हृदयका चित्रकारिताबारे लेखेका छन्– ‘उहाँका चित्रकलामा धार्मिक प्रवृत्तिका भाव सम्प्रेषणका साथै नेपाली महिलाका व्यस्तता र शृंगारिक पक्षलाई प्रकाशित गर्ने चेष्टा गर्नुभएको पाउन सकिन्छ । वास्तवमा कला भनेको सुन्दरताकै वर्णन हो । दु:खमा समेत खुसीका भाव भेट्न सकिने विधा भएकाले मूलत: दु:ख र पीडाकै प्रताडनाबाट प्रभावकारी सिर्जना प्रस्फुटन हुन्छन् ।’ लेखकले पूर्वज चित्रकारहरू राजमानसिंह चित्रकार, तेजबहादुर चित्रकार, आनन्दमुनि शाक्य, बालकृष्ण सम, माणिकमान चित्रकार, कृष्णबहादुर चित्रकार, मनोहरमान पुं, अमर चित्रकार, केशव दुवाडी, जीवरत्न शाक्य, लैनसिंह बाङ्देल, कर्णनरसिंह राणा, दिलबहादुर चित्रकार, कुलमानसिंह भण्डारी, सिद्धिमुनि शाक्य, केशवलाल चित्रकार, रामानन्द जोशी, मदनलालसिंह सुवाल, इन्द्र प्रधान, सुरेन्द्रराज भट्टराईको जीवनी, उनीहरूका सिर्जनशीलताबारे उल्लेख गरेका छन् ।
अग्रज नेपाली चित्रकारहरूलाई बुझ्ने माध्यम बनेको विवशको यो कृति अत्यन्तै व्यवस्थित रूपले प्रकाशन भएको हुँदा नेपाली चित्रकला फाँटले एउटा गहन कृति पाएको ठान्न सकिन्छ । अग्रज चित्रकारहरूको जीवनी र उनीहरूका सिर्जनाको विविध पाटो पस्किन सफल यो कृतिले नेपाली चित्रकलाको इतिहासबारे पनि सहज रूपमा बुझ्न सघाउने देखिन्छ ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply