नक्कली चिकित्सकको भागाभाग थप १५ सयजना छानबिनको घेरामा
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नक्कली प्रमाणपत्र पेस गरेर चिकित्सक भएका ३६ जनाको नाम सार्वजनिक गरेको छ । यही असार ३ गते पक्राउ परेका उनीहरूलाई गत आइतबार जिल्ला अदालतमा थुनामा राखेर अनुसन्धान गर्न म्याद थप्न लैजाँदा नाम सार्वजनिक गरिएको हो । ब्युरोले नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषद्को सहयोगमा यो अनुसन्धान गरेको हो । सीआईबी स्रोतका अनुसार १ हजार ५ सय चिकित्सकको शैक्षिक प्रमाणपत्र अध्ययन थालेको छ । त्यसमध्ये सयभन्दा बढी नक्कली चिकित्सक रहेको प्रहरीको निष्कर्ष छ । नाम चलेका अस्पतालमा कार्यरत चिकित्सक समेत अनुसन्धानको दायरामा रहेको प्रहरीले जनाएको छ ।
ब्युरोका प्रमुख डीआईजी नवराज सिलवालले १ हजार ५ सय चिकित्सकको शैक्षिक प्रमाणपत्र छानबिन गरिरहेको बताए । ‘अहिले १५ सयजति डाक्टरको फाइल हेर्दै छौं,’ सिलवालले भने, ‘त्यसमध्ये सयभन्दा बढी शंकास्पद भेटिएको छ । थप अनुसन्धानपछि उनीहरूलाई पक्राउ गरिनेछ । त्यसका लागि विशेष प्रहरी परिचालन गरिएको छ ।’ स्रोतका अनुसार मेडिकल काउन्सिलले नै शंकास्पद डाक्टरको नामावली प्रहरीलाई दिएको छ । काउन्सिल स्रोतका अनुसार त्यस्ता चिकित्सकको संख्या १ सय ५० भन्दा बढी रहेको हुन सक्छ । प्रहरीले अहिलेसम्म पटकपटक गरी ५३ जना नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टर पक्राउ गरिसकेको छ ।
नाम चलेका अस्पतालहरू नर्भिक, वीर अस्पताल ट्रमा सेन्टर, बीएन्डबी, कान्तिपुर डेन्टल कलेज, किस्ट मेडिकल कलेज, नेसनल मेडिकल कलेजलगायत अस्पतालमा कार्यरत चिकित्सक पक्राउ परेका हुन् । केही नाम चलेका अस्पतालमा कार्यरत अझै पनि केही चिकित्सक अनुसन्धानको दायरामा रहेकाले केही दिनभित्रै उनीहरू समेत पक्राउ हुन सक्ने बताइएको छ ।
यसैबीच, दुई दिनअघि पक्राउ परेका ३६ चिकित्सकलाई अनुसन्धानका लागि पाँच दिन म्याद थप गरिएको छ । प्रहरीले ठगीमा मुद्दा चलाएको ब्युरोका प्रवक्ता एसपी दीपेश लोहनीले जानकारी दिए ।ब्युरोको (अपरेसन क्वाक)मार्फत ३६ जना चिकित्सकलाई पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट ठगी मुद्दामा पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरेको सीआईबीका प्रवक्ता लोहनीले जानकारी दिए । ब्युरोका अनुसार काठमाडौंबाट १३ नक्कली चिकित्सक पक्राउ परेका छन् । जसमा आठ पुरुष र पाँच महिला छन् ।
यसैगरी, ललितपुरबाट दुईजना छन् । चितवनबाट तीन, धनुषाबाट दुई, सुनसरीबाट एक, झापाबाट एक र कास्कीबाट एकजना पक्राउ परेको सीआईबीले जनाएको छ । यसअघि ब्युरोले १७ जना नक्कली शैक्षिक प्रमाणपत्रधारी चिकित्सक पक्राउ गरेको थियो । उनीहरूलाई जिल्ला अदालत काठमाडौंबाट ठगी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरेको सीआईबीले जनाएको छ । ब्युरोका अनुसार पक्राउ पर्नेमा पर्सा दोस्रो स्थानमा रहेको छ ।
गत शुक्रबार र शनिबार दुई दिनमा पक्राउ परेका सबैलाई नक्कली शैक्षिक प्रमाणपत्र लिएर चिकित्सक बनेको अभियोगमा पाँच दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आइतबार अनुमति दिएको छ । ब्युरोका अनुसार कतिपय सक्कली चिकित्सक पुरूषका श्रीमतीले नक्कली प्रमाणपत्र लिएको भेटियो भने सक्कली चिकित्सक श्रीमतीका पतिसमेत प्रमाणपत्रधारी भेटिए । यो कुरासमेत उनीहरूको पक्राउपछि मात्र परिवारका बीचमा खुलेको छ । ब्युरो प्रमुख सिलवालका अनुसार जसरी पनि चिकित्सक बन्ने मनोकांक्षा बोक्दा अहिले धमाधम नक्कली ‘डाक्टर’ पक्राउ परेका हुन् । यसको सञ्जाल निकै लामो रहेको सूचना प्रहरीले पाएको उनी दाबी गर्छन् । यस्तो सञ्जाल तोडेरै छोड्ने उनको भनाइ छ ।
पक्राउ परेकाहरूमध्ये अधिकांशको आईएस्सी प्रमाणपत्र नक्कली छ भने कतिपयले एमबीबीएस पढ्न आवश्यक अंक नपुगेपछि प्रमाणपत्र खरिद गरेको पत्ता लागेको छ । उनीहरूले भारतको पश्चिम बंगाल र उत्तर प्रदेशका विभिन्न कलेजबाट नक्कली प्रमाणपत्र ल्याएर एमबीबीएस पढेको पत्ता लागेको बताइन्छ । ब्युरोका अनुसार नक्कली आईएस्सी प्रमाणपत्र लिएर एमबीबीएस पढिसकेका विद्यार्थी चिकित्सा सेवाको लाइसेन्स लिन नेपाल मेडिकल काउन्सिल पुग्ने र काउन्सिलमा एउटाको नामको सेटिङमा अर्कैले जाँच पनि दिने गरेको पत्ता लागेको छ । नक्कली प्रमाणपत्र बोकेर चिकित्सा सेवा गरिरहेको यस्तो रहस्य प्रहरीले काउन्सिलका अधिकारीबाटै थाहा पाएको हो । त्यसपछि प्रहरीले ‘क्वाक अप्रेसन’को अभियानलाई पूर्णता दिँदै नक्कली चिकित्सक पक्राउ गर्न थालेको हो । यसअघि पनि १७ जना नक्कली चिकित्सक पक्राउ परिसकेकामा उनीहरूमध्ये एक जना पुर्पक्षका लागि कारागारमा छन् भने बाँकी धरौटीमा रिहा भएका छन् । पक्राउ परेकाहरूको एमबीबीएस प्रमाणपत्र पनि छानबिन भइरहेको सिलवालले बताए । चीन तथा अन्य मुलुकबाट एमबीबीएस उत्तीर्ण भएको प्रमाणपत्र फेला परेकाले यसको अनुसन्धान केही जटिलता देखिएको बताइन्छ ।
नेपालमा धेरै नै यस्ता चिकित्सक रहेको ब्युरोले दाबी गरेको छ । मुलुकी ऐन ठगीअनुसार पक्राउ परेकाहरूलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ । ठगी अभियोग पुष्टि भए बिगोबराबरको जरिवाना, ५ हजार रुपैयाँ जरिवाना, पाँच वर्ष जेल वा तीनवटै सजाय हुने कानुनी व्यवस्था छ । ब्युरोले यसअघि नक्कली प्रमाणपत्रधारी हवाई चालक समात्ने अभियान चलाएको थियो । उक्त अभियान चलाएपछि नक्कली प्रमाणपत्रधारी कतिपय चालक पेसा छोडेर भागेका छन् ।
यसैगरी, सीआईबीको टोलीले गत शुक्रबार बिहान चिकित्सकहरूलाई नियन्त्रणमा लिएलगत्तै अस्पताल, नर्सिङ होम र क्लिनिक बन्द गरेर चिकित्सकहरू जिल्ला प्रहरी कार्यालय पर्सामा भेला भएका थिए । एमबीबीएस पढ्दा आईएस्सीको नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा सीआईबीले उनीहरूलाई पक्रेर लगेको जिल्ला प्रहरी कार्यालय पर्सा स्रोतले जनाएको छ । पक्राउ पर्नेहरूमा नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत रौतहट तेजापाकड घर भएका सरोज सिंह, पर्सा बगही घर भएका कुशराज गिरी र पर्सा भवानीपुर घर भएका पन्नालाल पटेल, नेसनल मेडिकल कलेज वीरगन्जमा कार्यरत रौतहट तेजापाकड घर भएका मोहम्मद रहुल्ला खान, रौतहट सखुअवा घर भएका निमिषपाल राम, बारा कलैया घर भएका रामकुमार प्रधान, वीरगन्ज छपकैया घर भएका श्रादुल हक तथा वीरगन्ज छपकैया घर भएका दिनेश साह र अरुणकुमार गुप्ता छन् ।
नेपाल मेडिकल काउन्सिलले स्वास्थ्य सेवामा नक्कली चिकित्सक देखिएकाले छानबिनका लागि पत्र नै पठाएपछि सीआईबीको टोलीले देशभरिका सबै चिकित्सकको शैक्षिक प्रमाणपत्र छानबिन कार्य अघि बढाएको बताइन्छ । सीआईबी टोलीले विराटनगरबाट लाइफगार्ड अस्पतालका वरिष्ठ फिजिसियन जावेद अन्सारी, वरिष्ठ बालरोग विशेषज्ञ सञ्जयकुमार दास र ट्रमा सेन्टरका महमुद अब्दुल आलमलाई पक्राउ गरेको हो । त्यस्तै, सीआईबीले चितवनबाट पनि गत शुक्रबार तीन नक्कली चिकित्सक पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनिल आचार्य, रजनी अग्रवाल र राजन पुरी छन् । सीआईबीको यो कदमपछि अधिकांश चिकित्सकहरू सम्पर्कविहीन हुन थालेको बताइन्छ ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
- दिल्लीमा देउवाको दौडधुप
- भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
- नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- ३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
- तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
Leave a Reply