गजलमा थप उपलब्धि
केही दशकयता गजल विधा नवीन आयामहरू सँगाल्दै नेपाली साहित्यवृत्तमा मौलाउँदै गइरहेको छ । राष्ट्रिय स्तरमा सीमित गजल–सर्जकहरूले बेलाबेलामा गजल लेखिरहे पनि नयाँ पुस्ताले भने यो विधालाई धेरै नै माया–मोह दर्साएको प्रतीत हुन्छ । खासगरी, मोफसलका प्रतिभाहरूले गजल लेखनमा आफूलाई समर्पित तुल्याएका छन् र यो विधाको गुणस्तरीयता, नवीनता र फैलावटमा विशिष्ट योगदानसमेत दिँदै आएका छन् ।
सिन्धुली जिल्लामा जन्मिएका र कर्मभूमि बनाएका करिब ६ दर्जनजति गजल–सर्जकहरूको गजल–सिर्जनाहरूले भरिएको कृति ‘सिन्धुलीयन चौतारी’ले मोफसलमा स्तरीय गजल लेख्नेहरू पर्याप्त रहेछन् भन्ने पक्षको सहजै उद्घाटन हुन्छ । हुन पनि पुराना पुस्ताका डा. कृष्णहरि बरालदेखि नयाँ पुस्ताका सानुबाबु मल्लसम्मका प्रतिभाहरूले यो विधालाई पछ्याएका छन् र दुवै पुस्ताले सजग र क्रियाशील रूपमा आफूलाई उभ्याइरहेका छन् । अत: हरेक सर्जकका पाँच थान गजल समेटिएको उक्त कृतिले नेपाली गजल साहित्यको भण्डारलाई थप समृद्ध बनाउन मद्दत पुग्ने देखिन्छ ।
अहिले गजल लेखनको विषयवस्तु धेरै नै फराकिलो भएको छ । आफ्ना अनुभूतिहरूलाई सिागार्न जुनसुकै विषय वा सन्दर्भलाई कोट्याए पनि हुन्छ । राजनीति, सामाजिक विसंगति, प्राकृतिक सौन्दर्य, मानवीय समस्या र पीडा, प्रेम, सबै पक्षलाई अब गजलले समेट्न थालेको छ । सिन्धुलीका ६९ जना गजल–सर्जकहरूले राष्ट्रिय मुद्दादेखि आफ्नो जिल्लाको गौरव झल्काउने विषयमा पनि गजल कोर्न भ्याएका छन् । सिन्धुलीप्रति अगाध माया दर्साउँदै सिन्धुलीयन युनिकले लेखेका छन्–
‘जन्मिएँ म सिन्धुलीमा मर्न पाऊँ सिन्धुलीमै
एउटा सुन्दर सपना पूरा गर्न पाउँ सिन्धुलीमै
तारेभिर, चिसापानी, मरिण खोला तरेजस्तै
जिन्दगीको समुद्र नि तर्न पाऊँ सिन्धुलीमै ।’
अर्का स्रष्टा कुशल विरहीले पनि जिल्लालाई चिनाउने आशयका गजल लेखेका छन् । उनी लेख्छन्–
‘कृष्णविक्रम बनी गीत गाउनुस् हाम्रो सिन्धुलीमा
गढी दरबार हेर्न भनी आउनुस् हाम्रो सिन्धुलीमा
कमला, मरिण, वाक्सुफाँट, तीनपाटन, तर्किनीमा
असारको हिलोसँगै छाउनुस् हाम्रो सिन्धुलीमा ।’
सिन्धुलीलाई विषय बनाएर खडानन्द तिमिल्सिना, आकृति पौडेल ‘सिन्धुलीयन’, केशव समीर, लक्ष्मी थापा, दुर्गाप्रसाद ग्वालटारे, कृष्ण कुसुम, दीपक हमाल, जीके मगर, नीरा श्रेष्ठ, दिनेश काफ्ले, कृष्णराज थिङ तामाङले एक–एक वटा गजल लेखेका छन् भने निश्चल तामाङले चाहिँ सिन्धुलीको प्राकृतिक थलोहरूको वर्णन गर्दै घुम्न आउन आव्हान गरेका छन्–
‘रमणीय छ हाम्रो सिन्धुली भ्रमण गर्न आउनू
तामाकोसी हुँदै डुंगामा सुनकोसी तर्न आउनू
शक्तिशाली छन् जुरेडाँडा साथमा कमलामाई
रक्षा गर्नेछन् पक्कै हजुरको फूलपाती छर्न आउनू ।’
सिन्धुलीको माटोको सुवासबीच हुर्किएका डा. कृष्णहरि बराल, अञ्जुल, विवश वस्ती, प्रोल्लास सिन्धुलीय, अमला अधिकारी, गोविन्दराज शिवाकोटी, शारदाप्रसाद पहाडी, जानुका अञ्जान, सानुबाबु मल्ल, बलराम तिमल्सिना, लीलानाथ घिमिरे, अविनाश थापा, अस्मी थापा, आँचल विरही राना, आकृति पौडेल, एसपी बराल, कपिल श्रेष्ठ, गीता कार्की, गोले केआर, गोविन्द लामिछाने, जनक अधिकारी, तारा मल्ल ठकुरी, थापा थकित, धु्रवचन्द्र खड्का, नन्दलाल श्रेष्ठ, नवीन संघर्ष, निरस दिप्ती, निशा खड्का, पुष्कर थापाका उम्दा गजलले सो कृतिलाई स्तरीय बनाएको छ । साथै, बजरंग पजियार, बज्रसिंह लामा, बरुण लामिछाने, बेगराज मगर, भरत थापा, रवीन्द्र भट्टराई, रामकाजी राना, लघुराम पाख्रिन, लक्ष्मी थापा, लालबहादुर बुढाथोकी, विन्दा लामा, विराट बुढाथोकी, विलीन मल्ल, विष्णु गौतम, सन्देश अधिकारी, सागर ठकुरी, सावित्रा उमारा, सिजन लामा, सीता श्रेष्ठ, सुदर्शन आचार्य, सुनील जलन, सुनुवार मोहन, स्वप्निल बराल, स्वीकृति बराल, शैलेन्द्रप्रसाद सिग्देल, हरिकिशोर कार्की र हीराकाजी श्रेष्ठका गजलले कृतिलाई सिंगार्न यथेष्ट मद्दत पुर्याएको छ ।
नयाँ र पुराना पुस्ताको सक्रिय उपस्थिति रहेको ‘सिन्धुलीयन चौतारी’को प्रकाशनमा प्रख्यात गजलकार मनु ब्राजाकी, ज्ञानुवाकर पौडेल, डा. कृष्णहरि बराल र डा. घनश्याम परिश्रमीको शुभेच्छाका शब्दहरू पनि समेटिएका छन् । सानुबाबु मल्लले संयोजन गरेको यो कृतिमा पौडेल लेख्छन्– ‘नेपालमा केही खासखास सहरहरूमा मात्र गजल राम्रोसित फस्टाएको छ भन्ने लागिरहन्थ्यो, होइन रहेछ । आज यो संग्रह ‘सिन्धुलीयन चौतारी’भित्र समेटिएका गजलहरू आद्योपान्त पढेपछि दुर्लभ प्रकारको खुसी र आश्चर्य लागिरहेछ मलाई ।’
कृति : सिन्धुलीयन चौतारी
विधा : संयुक्त गजलसंग्रह
प्रकाशक : सिन्धुलीयन चौतारी समूह
संयोजन : सानुबाबु मल्ल
पृष्ठ : २२०
मूल्य : रु. ५००।–
सम्बन्धित समाचार
-
एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
-
एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
-
पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
-
पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
-
झपक्कै फुल्यो आँप
- Golanjor
-
चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
-
खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
-
ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
-
राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
-
जिन्दगीसँग सवालजवाफ
-
संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply