प्लाष्टिक झोला बहिष्कार गर्ने कि उपयोग ?
२०७१ सालको उत्तरार्धदेखि काठमाडौंमा प्लास्टिक झोलामाथि प्रतिबन्ध लागेको हल्ला छ । त्योभन्दा पहिला देशका केही अरू सहरमा पनि प्रतिबन्धित भएको थियो, यो । पछि प्लास्टिक झोला, राष्ट्रव्यापी प्रतिबन्धित भएको घोषणाभित्र पनि परेको देखियो । तर, अहिले हेर्दा सुपरमार्केट भनिएका ठूला पसलहरूबाहेक अन्यत्र यसको प्रयोग भइरहेको देख्नुपरेको छ । निर्णयको सुरुमा उद्योगी र व्यापारीहरू केही असमञ्जसमा परेजस्तो देखिए पनि केही पछि सबै क्षेत्र पूर्ववत् सञ्चालन भएको देख्नुपरेको छ । पसलमा सामान किनेपछि प्लास्टिकको झोलैमा राखेर दिने गरेका छन् व्यापारीहरूले । ग्राहकहरू पनि खरिद गरेको सामग्री प्लास्टिककै झोलामा बोकेर बासस्थानमा फर्कने प्रक्रिया पहिलाजस्तै जारी गर्न पाएकोमा खुसी नै देखिन्छन् । सामान किन्दा आफंैले झोला निकाल्न नपरेको र दिँदा पनि प्लास्टिक झोलामै भरेर दिन पाएकोमा ग्राहक र दाता दुवै पक्षको सन्तुष्टि पूर्ववत् भएको देख्न पाइएको छ । यो क्रियाकलापले सरकारका घोषणालाई खिल्ली उडाएको छ ।
काठमाडौंको कुरा गर्ने हो भने यो प्रतिबन्धबाट भाटभटेनी सुपर स्टोर मात्र फाइदामा देखिएको छ । उसले मात्र प्लास्टिक झोलामा सामान दिन छाडेको छ । यति कुराले पनि उसले दिनमा करोडौं रुपैयाँ बढी कमाएको छ । स्टोरका कामदार भन्छन््, ‘यसका आठभन्दा बढी स्टोरबाट दिनमा करिब बिसलाखभन्दा बढी मानिसले सामान खरिद गर्ने गरेको भेटिएको छ । यी ग्राहकलाई दुईभन्दा बढी प्लास्टिक झोलामा राखेर सामान बोकाउँदा उसले दैनिक ५० लाखभन्दा बढी प्लास्टिक झोला दिनुपथ्र्याे । त्यो झोलाको मूल्य कम्तीमा २ करोड पथ्र्याे । उसका झोला गुणस्तरीय भएका हुनाले तिनको मूल्य अरूको भन्दा बढी नै हुने गर्दथ्यो भन्छन् । यसको साथमा उसले २० रुपैयाँ पर्ने कपडाको झोलालाई ४०÷५० रुपैयाँमा बेचेको छ । यसरी झोलाको प्रतिबन्धबाट जनता लुट्ने क्षेत्रमा यो मात्र सफल भएको छ । यसले न बजारबाट प्लास्टिक झोला हटाउन सम्भव भएको छ, न ग्राहकका घरमा जम्मा हुने फोहोरमा त्यसको कमी भएको छ । आपूmले गरेको घोषणाका विरोधमा दौडिरहेको यस्तो बजार र जनतालाई निरीह भएर टुलुटुलु हेरेर बसिरहेको छ सरकार । अझ प्रतिबन्धलाई व्यवस्थित गर्ने भनी करोडौं बजेट छुट्ट्याएर बसेको छ । सरकार, त्यही बजेटबाट आउने कमिसन मात्र कुरेर बसेको जस्तो देखिनु अस्वाभाविक भएन । यही विषयमा प्लास्टिक झोलाको प्रतिबन्धका पक्षमा लाखौं खर्च गरेर गरिएको प्रचार देख्दा हाँसो लाग्नुलाई अनौठो मान्नुपरेन ।
निर्णयकर्ताले निर्णय गरेर घोषणा गरिदिएपछि कर्तव्य पूरा भएको ठानेर ढुक्क हुने कुरा शोभनीय भएन । उनीहरू विदेश गएका बेलामा प्रतिबन्धको गफ गर्नुबाहेक केही पनि हुन नसक्नु स्वाभाविक भएको छ । सरकारबाट यो निर्णय लागू गर्ने प्रयत्नै गरिएको छैन । यस सम्बन्धमा पनि सरकार निकम्मा साबित भएको छ ।
सरकारले निर्णय लागू गर्न मात्र पनि किन तर्सिरहेको छ ? किनभने, निर्णय नै अनुचित थियो । विकल्पविहीन प्रतिबन्धको यस्तै बेहाल हुनुलाई सबैले स्वाभाविक परिणाम मानिरहेको देखिन्छ । बजारबाट हटाउन नसक्ने भएपछि किन प्रतिबन्ध लगाउनु ? बरु, किन प्लास्टिक झोला बजारमा यति धेरै लोकप्रिय हुन गयो भनेर अध्ययन र अनुसन्धान गर्ने व्यवस्था गर्नुपथ्र्यो । जनमत बुझ्दै नबुझी लगाएको प्रतिबन्धको यस्तै बेहाल हुनु अनौठो भएन । जनताका पार्टीहरूमाथि प्रतिबन्ध लगाउँदा आपंैm ध्वस्त भएको शाहवंशीय राजतन्त्रबाट पनि शिक्षा लिन सक्नुपर्ने हो ।
सही कुरा गर्ने हो भने यो युग ‘प्लास्टिक युग’ भएको कुरा बोल्न डराउन आवश्यक छ जस्तो लाग्दैन । जसको युग हो, उसैलाई ‘प्रतिबन्ध’ कसले लगाउने दुस्साहस गर्न सक्छ ? त्यही भएर बजारले प्रतिबन्धको खिल्ली उडाइरहेको छ । यति पनि बुझ्न सक्ने क्षमता नभएको हुनाले नेपालमा सरकारहरूले एकपछि अर्काे असफलता पाएको देख्नुलाई स्वाभाविक मान्न नसकिने कुरै भएन ।
प्लास्टिक झोलालाई फोहोर र प्रदूषित वस्तु भनेर लाञ्छित गरिएको छ । प्रतिबन्ध लगाउँदा उल्लेख गरिएको आरोप पनि यही हो । यदि यस्तो हो भने प्लास्टिकका सबै रूपहरूलाई प्रतिबन्धित गर्न सक्नुपथ्र्यो । यतिबेला प्लास्टिक सर्वसाधारण मानिसको जीवन भएको देखिएको छ । खाना, कपडा, आवास, औषधोपचार, यातायात, सञ्चार आदि मानव जीवनका सबै क्षेत्र प्लास्टिकले कब्जा गरेको छ । प्लास्टिकको झोला नदिएर मात्र होइन, कपडाको झोला बिक्रीमा पनि जनता लुट्ने सुपरस्टोरकै कुरा गरौं । त्यहाँ कुन चिज प्लास्टिकको खोलभन्दा बाहिर देख्न पाइन्छ ? चकलेटदेखि क्याटबरी र बिस्कुटसम्म, दाल र गेडागुडीदेखि आँटा, मैदा र चामलका बोरासम्म सबै प्लास्टिकका खोलभित्र बन्द गरिएका हुन्छन् । यति मात्र होइन, नुनदेखि चिनीसम्म र घिउ, तेल र जुससम्म सबैले प्लास्टिककै बासस्थान पाएर मक्ख भएका देखिन्छन् । फलफूलदेखि तरकारीसम्म मात्र होइन, पानी र सबै पेय पदार्थले प्लास्टिकका महलभित्रैबाट हामीलाई हेरिरहेका भेटिन्छन् । अरूको मात्र कति कुरा गर्नु खाने औषधि पनि क्याप्सुलका रूपमा प्लास्टिकभित्रै राखिएको हुन्छ । ट्याब्लेट औषधि पनि सबका सब प्लास्टिकभित्रै कोचारेर राखिएका भेटिन्छन् । वर्षाैंसम्म प्लास्टिकभित्र बस्नुपर्दा खानेलाउने औषधि फोहोर र प्रदूषित नहुने र एकैछिन प्लास्टिकको झोेलाभित्र राखिँदा प्रदूषित मानिने कस्तो विश्लेषण हो ? खाना, छाना, नाना, औषधि आदि क्षेत्रका प्लास्टिक सफा र प्रदूषणरहित हुने तर प्लास्टिकको झोलाले मात्र फोहोर प्रदूषण गर्छ भन्ने कुरामा सत्यता छ भनेर कसरी मान्ने ? यदि प्याकिङ गर्ने प्लास्टिकलाई गुणस्तरीयको पगरी गुथाएर उम्कन खोज्ने हो भने जनताको जीवन बनेको झोलालाई गुणस्तरीय बनाउनुमै बुद्धिमत्तापूर्ण हुने थियो, यो बाटोलाई रचनात्मक मान्न सकिने थियो । सरकारले भने ध्वंसात्मक बाटो लिनु नै उपयुक्त ठानेको देखियो ।
कुनै पनि वस्तु निरपेक्ष रूपमा फोहोर वा प्रदूषण कारक भएको देखिँदैन । हाम्रो जीवनसँग जोडिएको माटोकै कुरा गरौं । यो धेरै जसो ठाउँमा फोहोर र प्रदूणकारकका रूपमा तिरस्कृत भएको देखिन्छ । कतै कसिंगरका रूपमा, कतै धुलाका अनुहारमा र कतै हिलोका अवस्थामा यसले फोहो¥याइरहेको देखिन्छ वातावरणलाई । के कसैले यसलाई प्रतिबन्ध लगाउन सक्छ ? बरु, यसलाई जनताले फोहोर र प्रदूषणका विरोधमा प्रयोग गरेको देखिएको छ । घरका भित्ता र भुइँ माटोले नै लिपेर त्यहाँ रहेको कुरूपता, प्रदूषण र फोहोरलाई नियन्त्रण गरेको कुराबाट हामी परिचित छौं । बास निर्माण गरेर बस्न थालेका दिनदेखि आजसम्म पनि मानिसले यही काम गरिरहेको छ । के बालुवा पोख्दा फोहोर हुँदैन ? के सिमेन्ट छिरल्दा सफा देखिन्छ ? यस्तो बेलामा बालुवा र सिमेन्ट फोहोर र प्रदूषणका कारक नै बनेको देख्न सकिन्छ । कुनै सरकारले यसमाथि प्रतिबन्ध लगाउन उचित मानेको छ ? जनता बालुवा र सिमेन्टले निर्माण गरेको फोहोर प्रदूषणबाट डराएका छैनन् र तर्सेर सुइँकुच्चा ठोकेर भागेका छैनन् । त्यसको उल्टो जनताले ती दुई वस्तुको मिश्रण बनाई पानीमा झ्याँकेका छन् र निर्माणको कामलाई थप बज्रीकरण गरिरहेका छन् । यही प्रक्रियाबाट सयौं तला अग्ला गगनचुम्बी भवनहरू बनेका छन् र कैयौं किलोमिटर लामा र युगौं आयु भएका पुलहरू तयार गरिएका छन् । प्लास्टिकका झोलालाई पनि यसरी सदुपयोग गर्ने प्रयत्न गर्दा राम्रो हुँदो हो भन्ने लाग्छ ।
अर्कातिरबाट सत्य कुरा गर्ने हो भने संसारमा भएका सबै वस्तु फोहोर हुन् र सबैले प्रदूषणको सिर्जना गरिरहेका छन् । तिनलाई प्रतिबन्ध लगाउनेवाला होइन, तिनलाई मानवोपयोगी रूपमा विकास गर्नेहरू नै सफल भएका भेटिएका छन् । नेपालमा घोषणा गरिएको प्रतिबन्धको जस्तो बाटो लिँदै आएको भए दुनियाँ कस्तो हँुदो हो ? व्यवहारमा हेर्ने हो भने प्रतिबन्धको बाटो लिएकाहरू सफल भएका छैनन् । तिनलाई बेवास्ता गर्दै जनताले प्लास्टिक झोला प्रयोग गरिरहेका छन् । लाचार भएर टुलुटुलु हेरिरहेको छ प्रतिबन्धले ।
एकजना डाक्टर भन्नुहुन्छ– ‘बच्चालाई के ख्वाउने भन्ने कुरामा विशेष ध्यान दिनुपर्ने भए पनि उसको दिशाको समयसारिणी र रूप कस्तो छ भन्ने कुरामा अझ बढी ध्यान दिनुपर्छ । बच्चाको विकास खानामाथि आधारित हुने कुरा उसको पाचन प्रणालीको अवस्थामाथि निर्भर हुन्छ । बच्चाले खाना पचाउन सकेको छैन भने ख्वाउनुको के अर्थ ? यो कुरा उसको दिसाले बताउँछ । बच्चाले दिसा गर्दा थाङ्नो फोहोर हुन्छ भन्ने सबैलाई थाहा छ । के बच्चाले दिसा गर्दा थाङ्नोमा फोहोर हुन्छ भनेर आमाद्वारा उसको गुदद्वार सिलाउने गरिएको छ ? प्लास्टिक झोलामाथिको प्रतिबन्ध फोहोर र प्रदूषण हटाउने नाममा बच्चाको गुदद्वार सिलाउनेजस्तै हो भन्नुमा अतिशयोक्ति भएको लाग्दैन ।
अरू फोहोरलाई मानवोपयोगी बनाएजस्तै प्लास्टिकका झोलालाई पनि व्यवस्थित गर्दै मानवको सेवामा लगाउनेतिर ध्यान दिनु आवश्यक छ । त्यसमाथिको प्रतिबन्ध समस्याको समाधान होइन भन्ने कुरा व्यवहारले बताइरहेको कुरा बुझ्न सक्नुपर्छ । त्यसकारण, प्लास्टिक झोलालाई रिसाइल्किङ गर्दै विकास गर्ने बाटोमा अगाडि बढ्नुको विकल्प देखिँदैन । अरू फोहोरलाई मानिसको दास बनाएजस्तै प्लास्टिक झोलाको रूपान्तरण गरेर त्यसलाई मानवसेवामा लगाउन सम्भव छ । त्यस्तो गर्न सम्भव नभएको जस्तो गरेर अन्धविश्वासी बाटो हिँड्नुमा सामयिक भएको लाग्दैन ।
सम्बन्धित समाचार
-
हाई-प्रोफाइल चोरी: चोरीका गहना किनेर गलाउने न्यूरोडका व्यवसायी पक्राउ
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
Leave a Reply