16th July 2018, Monday

E-budhabar

के यसरी सार्थक र दिगो एकता होला ?



के यसरी सार्थक र दिगो एकता होला ?

लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ६९औं स्थापना दिवसको अवसरमा माओवादी र एमालेले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा जुन घटना भयो, यसले नेपालका कम्युनिस्ट पार्टी र तिनका नेता–कार्यकर्ता कति उल्लु र संकीर्ण रहेछन् भन्ने तथ्य उजागर भएको छ । उक्त कार्यक्रममा अरू थुप्रै कुरा उजागर भएका छन् ।
पार्टी एकता र फुटको कीर्तिमान बनाउदै आएका कम्युनिस्ट पार्टीहरूमध्ये अहिलेका सबैभन्दा ठूला दुई पार्टीबीचको एकता प्रयासले सबै न्यायप्रेमी नेपालीहरूलाई अभूतपूर्व उत्साहित बनाएको छ । दलहरू स्वार्थका लागि फुट्ने तर विकास र समृद्धिका लागि माखो नमार्ने नियतिबाट वाक्क भएका नागरिक यो एकताबाट पुलकित हुनु स्वाभाविक थियो । तर, २२ अप्रिलका दिन राष्ट्रिय सभागृहमा भएको घटनाले नागरिकको मन अमिलो भएको देखिन्छ ।
माओवादी र एमाले पार्टी एकताको अन्त्यतिर पुगेको र यही वैशाख ९ गते अर्थात् अप्रिल २२ तारिखमा लेनिनको जन्मदिन र नेकपाको स्थापना दिवस पारेर पार्टी एकताको घोषणा गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेको थियो । पार्टी एकताका लागि साझा दस्तावेजहरू लेखिसकिएका छन् । साझा विधान लेखन कार्य सकिएको बताइएको छ । तर, सांगठनिक प्रतिवेदन लेखनमा नेतृत्व र सदस्य संख्याका विषयमा विवाद उत्पन्न भएपछि एकता प्रक्रियामा फेरि अन्योल पैदा भएको छ । एकता महाधिवेशनअघि र पछिको नेतृत्व, माथिदेखि तलसम्मका सबै संगठनमा बराबरी संख्यामा सहभागिता र परिवर्तनको नेतृत्व गरेको विचार, विधि र इतिहासलाई दस्तावेजीकरण गर्ने विषयमा सोचाइको विविधताका कारण एकता अन्योल भएको बताइएको छ । यसैमा अन्तरनिहित छ सबैले बुझेको तर उजागर गर्न नसकेको मनोवैज्ञानिक पाटो, जुन पार्टी एकता नहुने कारण बन्यो भने अन्यथा नमाने फरक पर्दैन ।
२०४८ सालको एकता महाधिवेशनबाट जन्मिएको पार्टी हो, एमाले । त्यसपूर्व यसका नेता र तिनका संगठन विविध थिए, संघर्षको इतिहास विविध थियो, यो धरैपटक चर्चा भइसकेको छ । त्यसपछि यो पार्टी विशुद्ध कानुनसम्मत चल्ने, चुनाव लडेर सरकारमा गएर, सुधारका काम गरेर राजतन्त्रको अन्त्य गर्न सकिन्छ, नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन सकिन्छ, सबैलाई अधिकारसम्पन्न बनाउन सकिन्छ र देशमा राष्ट्रिय समृद्धि हासिल गर्न सकिन्छ भनेर दृढ विश्वास राख्ने वैचारिक मान्यता भएको पार्टी हो । मदन भण्डारीले युरो कम्युनिज्मलाई नेपालीमा उल्था गरेको जबजमा पनि यही कुरा समेटिएको पाइन्छ । अर्थात्, राजालाई खुसी पारेर, राजाको निगाहमा संसद्को चुनाव लडेर, बहुमत ल्याएर, सरकार बनाएर, राम्रो काम गरेर संवैधानिक राजतन्त्र र बहुदलीय व्यवस्थाबाट मात्रै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन सकिन्छ भन्ने दर्शनमा आँखा चिम्लिएर विश्वास गर्ने र त्यसलाई अम्मल गर्ने पार्टी हो । आखिर राजाको मन जितेर निगाहमा गणतन्त्र ल्याउने एमालेको योजनाभन्दा जनताको आन्दोलन अग्रगामी साबित भयो । यसमा म फेरि पनि जोड्न चाहन्छु, २०४८ सालपूर्व एमालेमा जोडिएका कुन नेताको पूर्वपार्टी र सिद्धान्त के थियो, त्यो तपसिलको विषय बनिसकेको थियो । यसकारण, राजासँग नजिकिएर नेपाली कांग्रेसविरुद्ध र नेपाली कांग्रेससँग मिलेर माओवादीविरुद्ध प्रयोग भइरहनु एमालेको २०४९ सालदेखि २०७० सालसम्मको नियति बन्यो । यस अवधिमा उसको कुनै विचार, सिद्धान्त, कार्यदिशा वा राजनीतिक तथा विकासका एजेन्डा जनताले थाहा पाएनन् । मनमोहनको सरकार भएका बेला सुरु गरिएको वृद्धभत्ता र बजेट स्थानीय निकायमा विनियोजन गर्ने परम्परा सकारात्मक थियो, जनप्रिय बन्यो र त्यसको ब्याज एमाले आजपर्यन्त खाँदै छ ।
सरकारमा गएका बेला सरकारका सबै अंगको प्रयोग गरेर र नगएका बेला पेसागत संगठनका माध्यमबाट संगठनलाई दीर्घकालीन रूपले सुदृढ पार्न सफल एमाले २०६४ सालसम्म माओवादीका कारण संगठनमा रक्षात्मक अवस्थामा पुगेको उसैका दस्तावेजले स्वीकार गरेका छन् । प्रचण्डजस्तो चामत्कारिक व्यक्तित्व भएको नेता पार्टीमा नभएका कारण, पार्टीको आफ्नै स्पष्ट लाइन, विचार र नीति नभएका कारण यसरी झिनो जनमतका साथ तेस्रो स्थानमा खुम्चिनुपरेको समीक्षा गर्न बाध्य भएको थियो । २०६३ सालपछि परिवर्तनको नेतृत्व गरेको पार्टी माओवादीसँग नेपाली जनताको धेरै ठूलो अपेक्षा थियो । जनयुद्धकालमा चामत्कारिक कुरा र कामको कीर्तिमान बनाउने माओवादीसँग विकास र समृद्धिको आशा पनि चामत्कारिक ढंगले गरिनु अस्वाभाविक थिएन । माओवादीले आफ्नो अथवा जनताको सरकार आए रातारात कायापलट गरेर नेपाललाई समृद्ध र स्वर्ग बनाइदिने काल्पनिक कथाका पहाड बनाएको थियो । शान्तिप्रक्रियामा आएपछि माओवादीलाई ती पहाड घाँडो साबित भए । उनीहरू सरकारमा त गए । तर, आफ्ना योजना लागू गर्न स्पष्ट बहुमत नभएको र अरू दलसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यताका कारण आफूले बाँडेका सपना योजनाका रूपमा लागू गर्न सक्ने अवस्था बनेन । माओवादीले आफ्ना राष्ट्रिय समृद्धिका योजना लागू गर्ने कोसिस गर्नासाथ लौ माओवादीले सत्ता कब्जा गर्न लाग्यो भनेर संसार थर्काउने गरी हल्ला गरिन्थ्यो । यसबाट माओवादी डराउँथ्यो र पछि हट्थ्यो । एमाले–कांग्रेस जितको जुँगा ताउ लगाउँथे । पहिलो संविधानसभाबाट संविधान बनाउन नदिनु पनि माओवादी ठूलो दल भएका कारण माओवादी हावी हुने र जस पनि माओवादीलाई नै जाने त्रासका कारण त्यसलाई अनिर्णयको बन्दी बनाइएको थियो । संविधानसभाको दोस्रो चुनावमा माओवादीलाई मजाले खुइल्याएर, केही आफ्नै निकम्मापनका कारण खुइलिएर जनतामा तिरस्कृत अवस्थामा पुगेपछि तेस्रो स्थानमा पु¥याइयो । असाध्यै धेरै अपेक्षा गरिएको ठाउँबाट असाध्यै थोरै परिणाम पाउँदा जनता रिसाउनु स्वाभाविक थियो । माओवादी पुड्को भइसकेको थियो । चुनावले जम्मा ८३ सिटका साथ तेस्रो स्थानमा लगेर थन्क्याइदियो । कांग्रेस पहिलो बन्यो, एमाले दोस्रो । अनि बल्ल उनीहरू संविधान बनाउन लागे, त्यो पनि २०४७ सालकै संविधानलाई थोरै संशोधन गरेर जारी गर्ने तयारीसाथ । यसमा सानै भए पनि ताजाताजा सशस्त्र संघर्षको भट्टीबाट आएको माओवादीको सशक्त प्रतिरोधका कारण प्रतिगामी संविधान बन्नबाट त रोकियो, तर जनताले चाहेका धरै कुरा संविधानमा सम्बोधन हुन सकेनन् । जति लेखियो, त्यो युग परिवर्तनका लागि पर्याप्त थियो । यति लेख्न पनि सदन, सरकार र सडकमा धेरै ठूलो आन्दोलन र प्रतिरोध गर्नुपरेको सबैलाई थाहै छ । कांग्रेसका नेता राष्ट्रपति संसद् भवनमा संविधान घोषणा गर्न आउन पाइलै नसार्ने, उता एमालेका नेता सभामुख सुवास नेमाङ विभिन्न बहाना बनाएर सदनमा मस्र्यौदा पेस हुनै नदिने । फ्रिक्वेन्सी असाध्यै मिलेको थियो । यसलाई जोड्ने काम विदेशी शक्तिकेन्द्रले गरेका थिए । माओवादीसँग जनताले जे अपेक्षा गरेका थिए, त्यो पूरा नभएपछि त्यसको रिसमा जनताले कांग्रेस र एमालेलाई रोजेका थिए, न कि एमाले प्रगतिशील भएर । संविधान घोषणा भएपछि माओवादीको समर्थनमा बनेको ओली सरकारविरुद्ध मधेस आन्दोलनको कभरमा भारतले लगाएका नाकाबन्दीका कारण एमालेमा चमक आयो । भारतले चाहेको जस्तो गर्न सक्ने अवस्थामा एमाले थिएन । किनकि, उससँग बहुमत थिएन । भारतको नाकाबन्दीको सामना गर्नुको अर्को उपाय नभएको नकारात्मक फाइदा उसलाई राष्ट्रवादीको संज्ञा मिल्यो जुन एमाले र केपी ओली स्वयंले अपेक्षा गरेका थिएनन् । नाकाबन्दीबाट एमालेलाई अभूतपूर्व उपलब्धि हासिल भयो । महाकालीलगायत सन्धिमा राष्ट्रघात गरेको भनेर एमाले सचिव योगेश भट्टराईले किताबै लेखेका छन् । त्यो कलंकसमेत यो नाकाबन्दीले धोइदियो । कूटनीतिक पहलमा असफल भएर नाकाबन्दीको सामना गर्नुपरेको र महिनौंसम्म नाकाबन्दीका कारण मौलाएको कालाबजारीको मार खेपेका जनताको समस्या समाधानमा माखो मार्न नसकेका प्रधानमन्त्री ओली एकाएक राष्ट्रवादी कहलिए । कांग्रेस भ्रष्ट हुनु, माओवादी आन्तरिक कलह, फुट र अकर्मण्यताका कारण छियाछिया हुनु पनि एमालेका लागि यो काल स्वर्णकाल बन्यो । तीव्र आन्तरिक कलहका बाबजुद उसले असाध्य मिहीन ढंगले पार्टी, संगठन र नेतृत्वलाई सुदृढ पार्न सक्यो । यसमा उसले अन्तरपार्टी प्रजातन्त्रको अभ्यासलाई मजबुत बनाउनु सबैभन्दा मजबुत हतियार साबित भयो । संविधान निर्माणपछि भएका स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनावमा आएको परिणाम पनि यिनै परिघटना र नियतिको उपज मान्न सकिन्छ ।
यसरी काकताली र मौकाको उपयोग गर्दै माओवादी र कांग्रेसका बीचमा बसेर सधैं सत्ता र सरकारको वरिपरि गोलचक्कर काटिरहने पार्टी एमाले अहिले माओवादीले राम्रो गर्न नसकेको र कांग्रेस बिग्रिएको लाभ लिइरहेको छ, ऊ आफू सुध्रिएको कदापि होइन । तर, उसमा जनताले असाध्यै माया गरेर, मन पराएर र ऊ असाध्यै प्रगतिशील भएर जनताले ठूलो पार्टी बनाएको भन्ने भ्रम दिन खोजिरहेको छ । यो भ्रम ओलीको भारत भ्रमणबाट सुरु भएर मोदीको नेपाल भ्रमणसम्म पुग्दा समाप्त हुने देखिन्छ । यसको पटाक्षेप पाँचवर्षपछि हुने चुनावमा हुने स्पष्ट छ ।
अब नेपाली जनताका लागि नेपालमा एमालेबाहेक अर्को पार्टी छैन, एमाले सबैको भाग्य र भविष्य विधाता हो, उसले सबैको भाग्य लेख्ने अधिकार र जिम्मेदारी पाएको छ भन्ने भ्रम अहिले एमालेका नेताहरूमा मसक्कै देखिन्छ । तर, यो उनीहरूको सपना हो । यही निद्रा र घमण्डले माओवादी र कांग्रेस ओरालो लागेका छन्, एमाले नलाग्ने कुरै आउँदैन । किनकि, सबैको भाग्य र भविष्यको फैसला गर्ने विधाता एमाले होइन, नेपाली जनता हुन् ।
अब एमालेलाई कसैले हल्लाउन सक्दैन, बाँकी अरू सबै पार्टी र तिनका नेता त वामपुड्के हुन् भन्ने मैमत्ता मनोरोग पालिरहेको छ एमाले, जसरी २०६४ सालमा माओवादीले पालेको थियो । त्यसैले, एमालेमा सबै वामपन्थी ठूलो चुम्बकवरिपरि साना चुम्बक उफ्रिएर टाँसिन पुगेझैं टाँसिन पुग्नेछन् वा पुग्नुपर्छ भन्ने मनोरोग पालिरहेको देखिन्छ । माओवादीसँगको पार्टी एकता प्रक्रियामा उसले गरेका व्यवहार र अभिव्यक्तिले यही पुष्टि गरिरहेका छन् ।
एकता संयोजन समितिको आयोजनामा दुई पार्टीको संयुक्त कार्यक्रम भनेर आयोजना गरेपछि एमालेको झन्डामा एमालेका नेताहरूको फोटोमुनि प्रचण्डको फोटो हेलापूर्वक टाँसेर लेनिनको नामोनिसान मेटाउने काम भूलवश नभएर योजनामै गरिएको कुरा आयोजकमध्येका एक कृष्णगोपाल श्रेष्ठले कुनै पनि हालतमा ब्यानर बदल्न नसकिने भनेर दीपशिखालाई बिहानै दिएको जवाफ र ओलीले प्रचण्डलाई त्यही ब्यानरमा कार्यक्रम गर्न दिएको दबाबले प्रस्ट पार्दैन र ?
परिस्थितिजन्य विशिष्टताका कारण दलहरू कसैले धेरै सिट र कसैले थोरै सिट जित्ने कुरा बहुदलीय प्रतिस्पर्धामा स्वाभाविक प्रक्रिया हो । एमाले विगत चार–पाँचवटा चुनावदेखि लगातार सबैभन्दा ठूलो पार्टी बन्दै आइरहेको होइन । भर्खरै भएको चुनावमा मात्रै उसको बहुमत पनि होइन, २०६४ सालमा माओवादीको जस्तो धेरै सिट मात्रै आएको हो । त्योबेला माओवादीको त प्रत्यक्षमा बहुमतै आएको हो । अब अर्को चुनावमा एमाले तेस्रो र माओवादी पहिलो पनि त हुन सक्छ । यही चुनावी परिणामलाई अघि सारेर माओवादीलाई एकतामा थोरै र एमालेलाई धेरै सदस्य संख्या भन्नुमा इमानदार आशय अन्तर्निहित देखिँदैन । माओवादी द्वन्द्वकालीन घटना, मुद्दा र अन्तर्राष्ट्रिय अदालतको त्रासका कारण एमालेमा मिसिन आतुर भएको निष्कर्षमा एमाले आन्तरिक रूपमा पुगेको हो कि भन्ने आशंका पनि जन्मिएको छ । माओवादी एकताका लागि बढी नै आशक्त देखिनु र एमाले तर्किंदै भाग्न मात्रै खोज्नुले माओवादीलाई झुकाएर, सुकाएर, निरीह बनाएर, निर्णय प्रक्रियामा निर्णायक बन्न नसक्ने हैसियत बनाएर मात्रै विलय गराउने मनशायमा रहेको स्पष्ट पारिरहेको छ । एकताको पहल गर्ने माओवादी र एमालेका नेताहरू यस्ता घटनाबाट यतिखेर आहत भएका छन् ।
विगतमा एमाले वर्तमानको राजनीतिक एजेन्डा मन नपराउने अवस्थामा भए तापनि, विगतमा माओवादी र एमालेको सम्बन्ध नकारात्मक नै भए पनि, वर्तमान अवस्थामा यी दुवै पार्टीले परिवर्तनको मर्मलाई आत्मसात् गरेको, स्वीकार गरेको सन्दर्भमा, दुवै पार्टी कम्युनिस्ट भएका कारण, अब दुवै पार्टीको साझा एजेन्डा भएकाले एकताबद्ध भएर एकै ठाउँबाट राष्ट्रिय समृद्धिको नेतृत्व गर्ने सफा नियत र मनशायले एकता हुन जरुरी छ । एकता असाध्यै राम्रो कुरा हो । फुट र विभाजन असाध्यै अप्रिय घटना हो । तर, एकताका लागि सबै पक्ष सफा मनशाय र नियतका साथ पेस हुन आवश्यक छ । दम्भ र घमण्डले ग्रस्त एकता, कसैलाई सिध्याउने मनशायका साथ मञ्चन गरिने नाटकीय एकता, अन्ततः आफ्नै लागि पासो नबन्ला भन्न सकिन्न ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

ललितपुरका यौन अखडामा प्रहरी रमिते

काठमाडौं । पछिल्लोपटक ललितपुर क्षेत्रमा प्रहरीको संरक्षणमै यौन धन्दा खुलेआम भइरहेको छ । तर, प्रहरीले भने थाहा नपाएझै गरेर कुनै कारबाही चलाएको छैन । काठमाडौं प्रहरीले केही दिनअघि- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

आत्मकथाको बाढी

स्वतन्त्र र स्वच्छन्द जीवन बाँच्नेमा पर्थिन्, अमृता प्रितम । हिन्दीका गिनेचुनेका नारी स्रष्टा प्रितमले लेखेकी आत्मकथा ‘रसिदी टिकट’ आजपर्यन्त रुचिपूर्वक पढिने आत्मकथाको लहरमा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

सपनाहरूको कोमल दस्तावेज

सरल, बोधगम्य र शालीन शब्दहरू बिछ्याउँदै कविता लेख्नेमा पर्दछन्, बोधराज पौडेल । काठमाडौं वा अरू सहर–बजारमा बस्ने कविहरू कविताको खेतीभन्दा धेरै ‘पब्लिसिटी’ को धन्दामा निर्लिप्त- ...
पूरा पढ्नुहोस्

छोटकरीमा