22nd June 2018, Friday

E-budhabar

नेपाली नेता मारे २५ बिघा र नागरिकता



नेपाली नेता मारे २५ बिघा र नागरिकता

सन् १९६७ को फरवरी १७ देखि २१ सम्म (५ देखि ९ फागुन २०२३) भारतको लोकसभा र २७ वटा प्रान्तीय विधानसभाको एकसाथ चुनाव हुँदै थियो । मलाई बालकृष्ण गुप्ताका भाइहरूले भने कि तिमी पनि महाँघरमा एक्लै धुमधुम्ती बस्ने साटो रुपौली भवानीपुरको ग्रामीण इलाका चुनाव प्रचार कसरी सञ्चालित हुँदोरहेछ हेर ।
यसप्रकार म फार्वेसगन्जबाट पूर्णिया र त्यहाँबाट पनि कैयौं किलोमिटर पश्चिममा पर्ने भवानीपुर नरमको देहात क्षेत्रमाझको सानो बजारमा केही दिन बस्न पुगें । त्यहाँ र वरपर गाउँका डा. राममनोहर लोहियाको संयुक्त सोसलिस्ट पार्टीका तीसचालीस जनाको एउटा ठूलो पाल टाँगेर बासको बन्दोबस्त गरिएको थियो । त्यहीँ खाने बस्ने र दिनभर प्रचार गर्न गएर साँझ फर्कन्थे । त्यसप्रचार केन्द्रका लागि एउटा जिप पनि दिइएको थियो । यो जिप मोरङतिरको थियो । जिपको ड्राइभर र खलासी नेपाली थिए । दैनिक राम्रो भाडामा त्यो जिप लिइएको रहेछ । त्यस्तैगरी १०/११ ठाउँ १५/१५ किलोमिटर औसत फरक पर्ने गरी त्यो भारतीय लोकसभाको पूर्णिया, कटिहार र किसनगन्जसमेतको सहर र देहाती इलाकाहरू भएको विशाल चुनाव क्षेत्र थियो । बिहारबाट भारतीय लोकसभाको चुनाव क्षेत्रमा सायद २० लाखभन्दा कम मतदाता हुँदैन । दुईचार दिन त्यसरी भवानीपुरको चुनाव क्याम्पमा बसेपछि एक दिन मलाई त्यही भवानीपुर नामक बजारमा एउटा बेकरी चलाउने नागेश्वर आजाद नामक सोसलिस्ट कार्यकर्ताले भने, ‘अब चारपाँच दिन मात्र तपाईंंको बसाइ छ । मेरै घरमा खानुस्, बस्नुस् । यो क्याम्पको बसाइभन्दा सुविधा हुन्छ ।’
म नागेश्वर आजादको घरमा बस्न थालें । त्यसरी बसेको पहिलो रात हामीहरू अगलबगलको खाटमा सुत्न लाग्दा नागेश्र आजादले आफ्नो जीवनको एउटा घटना बताए । जो यसप्रकारको छ– केही वर्षअघि उनी एकपटक मोरङतिरबाट गाँजा ल्याउन लाग्दा पक्राउ परे । के भयो, कसो, ककसको माझ के–के कुरा भयो । तर, डीएसपीद्वारा मलाई अञ्चलाधीश दामोदर शमशेरकहाँ लगियो । त्यहाँ मैले नचिनेको एकजनाले दामोदर शमशेरकै सामु भने– ‘हामीहरू तिमीलाई छोडिदिन्छौं । तिमीले एउटा काम गरे तिमीलाई जीवनभर राम्ररी खानलाउन पुग्ने सम्पत्ति प्राप्त हुन सक्छ ।’ पक्राउ परेका नागेश्वर आजादको मनमा तुरुन्तै छुटकारा पाउने इच्छा थियो । साथै, त्यत्रो सम्पत्ति के गर्दा पाइन्छ भन्ने उत्सुकता भएर उनले सोधेछन्– ‘मैले के गर्नुपर्छ र कसरी जीवनभर खान लाउन पुग्ने धनी हुन्छ ?’
त्यो मान्छेले भन्यो– ‘तिमीले जोगबनी फार्वेसगन्जतिर निर्वासनमा बसेका कुनै एकजनालाई मारेर नेपाल आइहाल्नुपर्छ । त्यो गर्‍यौ भने तिमीले २५ बिघा जमिन, २५ हजार नगद, तिमी र तिम्रो परिवारले नेपालको नागरिकता पाउँछौ । यदि मञ्जुर गर्छौं भने हामी अहिले एउटा पेस्तोल दिएर छाडिदिन्छौं । तिमीले पहिले सुरक्षित हुन आफ्नो परिवारको मान्छेलाई नेपाल पठाऊ । अनि यो काम गरेर नेपाल आऊ ।’
मैले ‘हुन्छ, म गर्छु’ भनेपछि त्यो मान्छेले दामोदर शमशेरकै सामु पेस्तोल र त्यसको गोलीहरू देखाउँदै भने– ‘हामीहरू तिमीलाई सीमा कटाइदिने बेला यो दिनेछौं ।’ त्यसपछि मलाई एउटा जिपमा हाली जोगबनीछेउ पेस्तोल दिएर बिदा गरियो । म छुटेर पेस्तोल र गोली लिँदै भवानीपुर आइपुगें । पिताजीले सुन्नासाथ मलाई गाली गर्न थाल्नुभयो । मैले भनें– मैले केवल छुट्नका लागि उनीहरूको कुरामा मञ्जुरी गरेको हुँ । त्यसपछि बल्ल पिताजी चुप लाग्नुभयो । पछि उहाँले भन्नुभयो– म केही जग्गा बेच्छु, तँ त्यही पैसाले एउटा बेकरी खोलेर कारोबार थाल । मेरो तँ मात्रै एउटा सन्तान छस् । अब नेपालको सिमानातर्फ फर्केर पनि नजानू । त्यहाँदेखि म आजसम्म नेपालतर्फ गएको छैन । आज तपाईं नेपालतर्फको एउटा नेतासँगै मेरो घरमा छु । मेरो मनमा सन्तोष छ । तपाईंंलाई निद्रा लाग्यो होला, सुत्नू, म पनि सुत्छु । तर, म अझ केहीबेर सुत्न सकिनँ । कुनबेला फार्वेसगन्ज जोगबनीतर्फ पुगूँ र यो कुरा भनूँ । नागेश्वर आजादले मानेनन् तर अरू पनि हुन सक्लान् ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

दुग्ध उद्योगमाथि कारबाहीको तयारी

काठमाडौं । बालाजु क्षेत्रका दुग्ध उद्योगको गुणस्तरमा समस्या देखिएको पत्ता लागेको छ । सोमबार सरकारी टोलीले गरेको अनुगमनका क्रममा यस क्षेत्रभित्र खासगरी निजी क्षेत्रबाट सञ्चालित- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पल्टनघरका नारी स्रष्टाहरू

नेपाल अंग्रेज (इस्ट इन्डिया कम्पनी) युद्ध समाप्तिपछि ब्रिटिस सेनामा गोर्खा भर्ती सुरु भएको २ सय २ वर्ष भएको छ । गोर्खा भर्ती परम्पराले धेरै लामो यात्रा पार गरेको छ । यति लामो यात्रा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

मानिससँग संवाद

राधाकृष्ण भट्टराईको लेखन मान्छेको वरिपरि घुम्छ । मानिसभन्दा पर उनको लेखन–क्षितिज उज्यालिँदैनन् । मान्छेका पीडा, व्यथा, खुसी, उल्लास, दैनन्दिन क्रियाकलापहरूलाई सिर्जनाको आकाशमा- ...
पूरा पढ्नुहोस्

छोटकरीमा