24th June 2018, Sunday

E-budhabar

सिकन्दरको जवाफ र वाम एकताको मिति



सिकन्दरको जवाफ र वाम एकताको मिति

एकपटक विश्वविजेता सिकन्दरलाई कसैले सोध्यो, ‘तपाईंले यत्रो विशाल संसार कसरी जित्न सफल हुनुभयो ?’ सिकन्दरले मुस्कुराउँदै उत्तर दियो, ‘ढिलो नगरीकन !’ हो, यो ढिलोचाँडोको प्रश्न राजनीतिमा अक्सर आत्यन्तिक महŒवको बन्दो रहेछ । अहिले त्यस्तै भइरहेको छ ।
राष्ट्रिय राजनीतिमा प्रतिस्पर्धाको स्थितिमा रहेका दुई प्रमुख वाम दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई मुलुकको ऐतिहासिक र वस्तुगत परिस्थितिले एक ठाउँमा ल्याइदियो । उनीहरूले वाम गठबन्धन निर्माण गरी संयुक्त रूपमा प्रदेश र प्रतिनिधिसभा चुनाव फेस गर्ने र छरिएर रहेका सबै सानाठूला वाम पार्टीहरूलाई गोलबद्ध गर्दै देशमा एउटै कम्युनिस्ट केन्द्र गठन गर्ने संकल्पसहितको सार्वजनिक उद्घोष गरे । यसैले, कम्युनिस्ट पार्टीहरूका बीच विगत ५५ वर्ष अर्थात् तेस्रो महाधिवेशनदेखि जारी रहेको फुट र विभाजनको शृंखलामा सशक्त क्रमभंग ग¥यो र मुलुकका वाम बहुल प्रगतिशील र देशभक्त मतदातामा बेग्लै उत्साहको सञ्चार ग¥यो । निःसन्देह, यसले राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय जगत्मा समेत ठूलै तरंगहरू ल्यायो । कैयौं आशंका र अन्योलका बीचमा पनि मतदाताले वाम गठबन्धनको पक्षमा झन्डै दुई तिहाइ अभिमत जाहेर गरे । राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र मुलुकको स्वाभिमानमाथि हुने गरेका अवाञ्छित बाह्य षड्यन्त्रहरूलाई चिर्दै राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिको मार्गचित्र कोर्न र मुलुकको स्वाभिमान र राष्ट्रिय एकतालाई एउटा नयाँ उचाइमा विकास गर्न ‘सबै वाम एक ठाम’ र यसको प्रस्थान बिन्दुका रूपमा एमाले–माओवादी पार्टी एकता जनताको चाहना मात्र नभएर समयको अनिवार्यता पनि हो । हालै सम्पन्न चुनावका जनादेशमा स्पष्ट रूपले यही भावना अभिव्यक्त भएको छ र वाम पक्षधर जनता, शुभचिन्तक तथा दुवै पक्षका कार्यकर्ता पंक्तिमा एकताको पक्षमा एउटा गजबको माहोल बनेको छ ।
तर, यस्तो व्यग्र प्रतीक्षा रहेको प्रस्तावित एकता किन हो, परपर सर्दै छ र अन्योलग्रस्त बन्दै छ । सुरुमा चुनावअघि नै घोषणा हुने भनिएको पार्टी एकता सर्दासर्दै चुनावपछि सरकार गठनअघि अनि फागुन ७ प्रजातन्त्र दिवसको अवसर र ओलीजीको भारत भ्रमणअघि भन्दाभन्दै अन्तिमपटक वैशाख ९ गते पार्टी स्थापना (?) दिवस र लेनिन स्मृति दिवसको अवसरलाई पर्खिएको बताइन्छ । तर, सो मितिमा समेत एकताको घोषणा भइहाल्ने विश्वसनीय आधार देखिन्न । आखिर किन सरिरहेको छ एकता घोषणा मिति र किन भइरहेको छ यो अनपेक्षित विलम्ब ?
हो, फरक शैली र भिन्दै पहिचान बोकेका र कम्युनिस्ट पार्टीबीचका वैचारिक, सैद्धान्तिक, राजनीतिक बेमेलहरूलाई निफन्दै सांगठनिक समस्या निम्त्याएर एउटै प्रवाहमा प्रवाहित हुनु निश्चत नै चुनौतीपूर्ण र जटिल कुरा हो । कम सकस अवश्य छैन । नेताहरूले पुल तोडेर अघि बढिसकेको र अब कुनै लाइफलाइन बाँकी नरहेको बताउँदै एकताका पक्षमा आफ्ना प्रतिबद्धता दोहो¥याउने गरेका छन् । एकता प्रक्रियालाई अन्यथा असर पर्ने गरी वा यो सम्भव भएन भन्ने आशयका अभिव्यक्ति जिम्मेवार व्यक्ति वा पदाधिकारीबाट आएको सुनिएको छैन । तथापि, कहीँ न कहीँ समस्या रहेको अनुमान गर्न गाह्रो छैन ।
हो, दुवै पार्टी सहकार्य र एकताको प्रक्रियामा धेरै अगाडि बढिसकेको देखिएको पनि छ । संघीय र प्रदेशसभाका निम्ति दुई पार्टीबीच परस्पर मान्य हुने तवरले सिटको भागबन्डा, आआफ्ना घरभित्र विश्वास तथा समझदारीको विकास र साझा उम्मेदवारका पक्षमा पार्टीपंक्तिको परिचालन अवश्य कष्टसाध्य कुरा थियो, जो बडा सहज ढंगले फत्ते भइसकेको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रदेश र संघीय संसद्का लागि सभामुख÷अध्यक्षलगायतका विशिष्ट पदहरूमा कायम सहमतिलगायत केन्द्रीय र प्रादेशिक मन्त्रिमण्डलमा विवादरहित पावर सेयरिङ निश्चय नै प्रशंसनीय कुरा हुन् । अझ ठूलो कुरा, शान्तिपूर्ण र बहुदलीय प्रतिस्पर्धात्मक तरिकाले जानुपर्छ भन्ने मूल स्पिरिटमा सहमत भई माक्र्सवाद–लेनिनवादलाई पार्टीको मूल निर्देशक सिद्धान्त मान्ने र समाजवादी क्रान्तिको राजनीतिक कार्यदिशा अपनाउने सहमति दुवै तर्फबाट जुटेको छ । गहिरिएर हेर्दा अब रणनीति, कार्यनीति, कार्यदिशा र कार्यक्रमिक विवादहरू बाँकी देखिन्नन् र नीति, सिद्धान्त र दृष्टिकोणका भिन्नताहरू मिलाउने काम एकप्रकारले टुंगिइसक्यो । खासमा सारपक्ष उही भए पनि रूपमा भिन्न लाग्ने ‘बहुदलीय जनवाद’ र ‘२१औं शताब्दीको जनवाद’का कार्यक्रमको शब्द चयनको जो कुरा छ, यसलाई थाती राखेर समेत स्वागतयोग्य मान्नुपर्छ । एकताका वैचारिक, सैद्धान्तिक र राजनीतिक आधारहरूको मोटामोटी खाका राजनीतिक कार्यदलको प्रतिवेदनमा समेटिसकिएको बताइन्छ ।
तर, १० वर्षे जनयुद्धलाई पार्टी विधानमा कसरी संश्लेषण गर्ने र चुनाव चिह्न सूर्य राख्ने वा यसको सट्टा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको प्रतीक ‘हँसिया हथौडा’को प्रयोग गर्ने भन्ने विवाद विधान कार्यान्वयनमा देखियो र सहमति जुट्न सकेन । यसका अलावा पार्टीका हरेक तह र निकायमा संगठनात्मक संरचना वा खाकामा सहमति भईकन पनि त्यसमा दलीय भागबन्डाको अनुपातमा गएर हलो अड्किएको बुझ्न सकिन्छ । यी तीनै विषय आधारभूत रूपले प्राविधिक चरित्रका हुन् र यिनै दुवैतर्फका व्यक्तिगत वा समूहगत पद, प्रतिष्ठा, अहं र अवसरसँग जोडिन आउँछन् । यस्तो बेलामा यो वा त्यो दलको अर्घेल्याइँ देखाएर विवादलाई मलजल गर्नुभन्दा बढी गम्भीर, जिम्मेवार र दूरदर्शी सोंचका साथ दुवै पक्षका लागि जित–जित र मान्य समाधान पहिल्याउनु आवश्यक हुन्छ । यसका लागि दल विशेषको दृष्टिबाट मुक्त हुनैपर्छ ।
निष्पक्ष भएर हेर्ने हो भने आज अब ‘जनयुद्ध’ भन्ने शब्द प्रयोगमा कसैले पनि कञ्जुस्याइँ गर्नुपर्ने वा पूर्वाग्रह पाल्नुपर्ने छैन । सही हुन्, यो गलत आजका सबै परिवर्तन, जसलाई हामी अग्रगमन भनिराखेका छौं, सबै १० वर्षे जनयुद्धको जगमा खडा भएका हुन् । दोस्रो जनआन्दोलन र १२ बुँदे समझदारी मूलतः यसैका उपज थिए । कार्यदलबाट एकता संयोजन समितिसमक्ष सर्वसम्मतिबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमा उचित भार दिई ‘जनयुद्ध’ भन्ने पदावली प्रयोग भएको र यो एउटा ऐतिहासिक यथार्थ हो भनेर हामी मान्छौं भने यसलाई पार्टी विधानमा प्रयोग गर्नमा फेरि किन परहेज ? दोस्रो विवाद छ, चुनाव चिह्न ‘सूर्य’ कि ‘हँसिया हथौडा’ ? हो, सूर्य चिह्न नेकपा (एमाले) को ‘टे«डमार्क’ बनिसकेको छ र जनताका बीचमा लामो समयदेखि स्थापितसमेत भएर आएको छ । अर्कोतर्फ ‘हँँसिया हथौडा’ चिह्न किसान मजदुर र उनीहरूको एकताको प्रतीक हो र अन्तर्राष्ट्रिय कम्युनिस्ट मुभमेन्टको चिनारी र पहिचान पनि हो । वाम आन्दोलन र कम्युनिस्ट पहिचानको निरन्तरताको कुरा गर्ने हो भने दुवै चिह्नलाई संयोजन गरेर जान न गाह्रो हो, न कसैलाई आपत्ति हुनुपर्ने विषय हो । जसले जे भने पनि गत्यावरोधको मुख्य पाटो विभिन्न तहमा निर्धारित सांगठनिक ढाँचाभित्र दलीय भागबन्डाको अनुपात नै हो भनेर बुझ्न गाह्रो छैन । पार्टी एकीकरण, सम्भव भएसम्म दुवैका निम्ति सम्मानजनक, समानताका आधारमा र बराबरीको सिद्धान्तमा टेकेर होस् र यसले भावनात्मक अन्तरघुलन ल्याओस्, अति उत्तम ! यस्तो एकता दिगो, चिरस्थायी परिणामदायी र सुखद पनि हुन्छ । तथापि, दलहरू मुलुकको सर्वोपरि हित र जनताको दुरवस्था हटाउन साँच्चै दत्तचित्त र कृतसंकल्पसाथ नयाँ एकीकृत पार्टी निर्माणको महाअभियानमा होमिएका हुन् । यदि भने संख्या ठूलो कुरा हुँदै होइन । यस्तोमा मेरो–तेरो नै रहन्न र कसैमा अहंकार, आशंका वा हीनताबोध हुनैपर्दैन । फेरि नेता विशेषका पद, प्रतिष्ठा, संकीर्ण स्वार्थ, महŒवाकांक्षा र कसको हात माथि वा तल प¥यो भन्ने कुरा उनीहरूको सरोकारको विषय होला, तर मुलुक र जनताभन्दा ठूलो कुरा होइन, हुन सक्दैन । जनताले यही एकताका निम्ति ६ दशक कुरिसके, अरू धैर्य हुन सक्तैन । प्रस्तावित एकता अब जनताको सम्पत्ति भइसकेको छ र यो अनिवार्य छ, अवश्यम्भावी छ । एउटा नभए अर्को निमित्त नायक खडा हुन्छ र यो ऐतिहासिक कार्यभार सम्पादन हुन्छ, जो जनभावनाको एन्टिकरेन्ट हिँड्छ र एकता प्रक्रियामा बाधक बन्छ, जनताबाट निश्चित रूपले तिरस्कृत हुन्छ र किनारा लाग्छ । समयले कसैलाई पर्खिन्न, माफ गर्दैन र यो आफ्नै गतिमा अघि बढ्छ, त्यत्रा गौंडा छिचोल्दै र नाघ्दै अघि बढेको एकता यात्रामा आएका अप्रत्यासित व्यवधानहरूले कतै ‘साउथ फ्याक्टर’ले काम गर्न थालेको त होइन भन्ने आशंका पैदा भएको छ । आशा गरौं, दुवैतर्फको नेतृत्वपंक्ति यसबारे पूर्ण रूपले सजग र सतर्क छ र यस्ता कुनै पनि षड्यन्त्रलाई परास्त गर्दै गठबन्धन घोषणाकै माफिक अठोट दृढता र दूरदृष्टिका साथ घोषित मितिमै एकता सम्पन्न गर्नेछ ।
र अन्त्यमा कसैले पनि कुनै प्रकारको दम्भ वा अल्पमतको कुण्ठा पाल्नुपर्ने कुनै कारण छैन । पार्टी एकतापछि यस्तो एउटा शक्तिशाली प्रवाह बन्नेछ, जसमा स्थायी बोल्सेविक र मेन्सेविक पहिचान रहनेछैनन्, क्षमतावान्का लागि नयाँ शक्ति सन्तुलन, समीकरण र सम्भावनाका तमाम नयाँ ढोका खुल्नेछन् । अहिले विश्वभर वाम आन्दोलन रक्षात्मक अवस्थामा छ । त्यसैले पनि नेपालको यो वामपार्टी धु्रवीकरणलाई सारा संसारले बडो अभिरुचिका साथ हेरिरहेको छ । के हाम्रा पार्टीहरू यो परीक्षामा खरो उत्रिएर एकतालाई हरहालतमा सफल पार्दै विश्वकै लागि एउटा सुखद सन्देश दिन सक्छन् ?

Leave a Reply

... र यो पनि ...

चक्रपथ

दुग्ध उद्योगमाथि कारबाहीको तयारी

काठमाडौं । बालाजु क्षेत्रका दुग्ध उद्योगको गुणस्तरमा समस्या देखिएको पत्ता लागेको छ । सोमबार सरकारी टोलीले गरेको अनुगमनका क्रममा यस क्षेत्रभित्र खासगरी निजी क्षेत्रबाट सञ्चालित- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

पल्टनघरका नारी स्रष्टाहरू

नेपाल अंग्रेज (इस्ट इन्डिया कम्पनी) युद्ध समाप्तिपछि ब्रिटिस सेनामा गोर्खा भर्ती सुरु भएको २ सय २ वर्ष भएको छ । गोर्खा भर्ती परम्पराले धेरै लामो यात्रा पार गरेको छ । यति लामो यात्रा- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

मानिससँग संवाद

राधाकृष्ण भट्टराईको लेखन मान्छेको वरिपरि घुम्छ । मानिसभन्दा पर उनको लेखन–क्षितिज उज्यालिँदैनन् । मान्छेका पीडा, व्यथा, खुसी, उल्लास, दैनन्दिन क्रियाकलापहरूलाई सिर्जनाको आकाशमा- ...
पूरा पढ्नुहोस्

छोटकरीमा