18th November 2017, Saturday

E-budhabar

हल्का पानीमा विकास बैंकको रोपाइँ



हल्का पानीमा विकास बैंकको रोपाइँ

धेरै भएको थियो पाल्पा नगएको । आईएस्सी दोस्रो वर्षमा पढ्दापढ्दै पाल्पा टेकेको थिएँ । त्यतिबेला हामीले श्रीनगर डाँडामा पैदलयात्रा गरी त्यसैको तलतिरको फेदीमा कतै टेन्ट गाडी रात बिताएका थियौं । बिर्सिन खोजेर पनि सम्झिन मन लाग्ने स्मृति बिरुवा रोपिएको थियो त्यहाँ । सो बिरुवा रोपेको करिब ३३ वर्ष खासै गोडमेल भएन ।
यसपटक मलाई पाल्पा जान जु¥यो । सेवा विकास बैंकको सोह्रौं शाखा पाल्पा रामपुरमा उद्घाटन गर्ने कार्यक्रम तय भएछ । बैंकका प्रमुख कार्यकारी अधिकृत महेश काफ्लेजीलगायतका साथीले मलाई बोलाउनुभयो । गभर्नरबाट कार्यक्रममा जान अनुमति मिल्यो । फेरि पाल्पा टेकिने भयो भनेर म खुसी भएँ ।
सप्तरी घटनाको प्रकोप । मुलुकमा विखण्डनकारी, विध्वंसकारी सोच उत्ताउलिएको बेला । तराई क्षेत्र बन्दले घेरिँदै गएको परिवेश । बन्दबाट छलिन तथा चौतारी लघुवित्त संस्थासमेतको कार्यक्रममा सहभागी हुन म एक दिनअघि साँझमा भैरहवा पुगें । रूपन्देहीमा तराई पहाड दुवैको प्रभाव हुने गर्छ । विमानस्थलको एकाध किलोमिटर भागमा दिउँसोको बन्दले गरेको असर बेलुकीपख हामीले पनि स्पर्श ग¥यौं । सिर्जना काफ्लेको जापान बसाइको अनुभव सुन्दै म बुटवल पुगें ।
मार्च ८ अर्थात् श्रमिक महिला दिवस । करिब १५ महिनाअघि कारोबारको इजाजतपत्र पाएको चौतारी त्यही पर्वलाई उपयोग गर्ने गरी अघिल्लो दिनदेखि केन्द्र प्रमुखहरूको समीक्षा गोष्ठी आयोजना गरेको रहेछ । सो दिन बिहानै करिब ६ सय महिलाहरूले बुटवलमा ¥याली निकाले । ¥याली प्रभावकारी भएको चर्चा सुनियो । करिब ९ बजेदेखि केन्द्र प्रमुखहरूको वित्तीय साक्षरता बृहत् गोष्ठीको समुद्घाटन समारोह सुरु भयो । ठूलो हलमा भरिभराउ महिला सहभागीहरू । खाना खान नभ्याएका । तर पनि उत्सुक, जागरुक र चनाखा । कैयौं बालबच्चासहित उपस्थित भएका । सुखद भविष्य निर्माणमा चालिएका तिनका कदम साँच्चै अभिनन्दनीय लाग्यो मलाई । मलाई तिनको सचेतताले छोयो । कार्यक्रममा महिला अगुवाहरू भावना कोइराला, सिर्जना काफ्ले र रीता सिंह ठकुरीले सान्दर्भिक सवाल उठाउनुभयो । गोपाल पाण्डे, दिनेश रेग्मी, नवराज श्रेष्ठ, विनोद अकिञ्चन, विष्णु कुँवर, विनोद आत्रेय र जगत पोखरेलका मन्तव्य आ–आफ्ना सन्दर्भमा मननीय थिए । चौतारीकी कर्मचारी बिमाको कवितामा बजेको ताली र सभाको सभापति सल्यान, थारेमारे केन्द्रकी यशोदा अधिकारीको गीत तथा मन्तव्यमा सन्निहित मिठासले मेरो मनलाई झंकृत बनाइरह्यो । कर्मचारी तथा समूहको प्रतिबद्धता प्रस्तुति मननीय थियो । थोरै समयमा चौतारीले धेरै काम गरेछ । मैले प्रमुख अतिथिका रूपमा गरेको सम्बोधनमा बताएँ । मैले सहभागी केन्द्र प्रमुखहरूलाई बचत, मितव्ययिता, सुशासन, सहकार्य र पारदर्शितातर्फ सजग रहन अथ्र्याएँ । कर्जा सदुपयोग गर्न महिलालाई र समूहका महिलालाई अनेक तवरबाट सशक्त बनाउन, व्यवस्थापकीय ज्ञान तथा बजारीकरणका सूचना दिई सघाउन मैले कर्मचारीलाई अनुरोध गरें । उद्घाटनपछि त्यहाँ सीप विकास तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । जगत् पोखरेलको नेतृत्वमा यति थोरै अवधिमा करिब १२ हजार ग्राहकसामु सेवा विस्तार गर्ने चौतारीको यो प्रयत्न सार्थक लाग्यो मलाई । यस्ता काम गर्ने अरू धेरै होलान् । हामीले तिनलाई ‘क्याबात’ भन्न सकेका छैनौं । यसमा आफैंलाई शर्म लाग्छ । कैयौं साथीहरूको यस्ता प्रयत्न हामीले हेर्न, जान्न र देख्न भ्याएका छैनौं ।
भोलिपल्ट हामी रामपुर पाल्पा लाग्यौं । सेवा विकास बैंकको अध्यक्ष भीमप्रसाद तुलाचन, जगत पोखरेल र भोजप्रसाद श्रेष्ठ र म एउटा गाडीमा बस्यौं । दिन घमाइलो भए पनि कञ्चनपुरमा गोविन्द गौतमको सहादतले मन कोपरिरह्यो । दिनदहाडै विदेशी गोलीले नेपालीलाई मृत्युदान गर्ने ? मुलुकमा अभूतपूर्व संकटले स्पर्श गरेको अनुभूत भयो । मन उडे पनि गाडी गुड्यो । हामी भीरैभीर, बस्ती तथा कुइनेटो हुँदै रामपुर हुत्तियौं । बाटो मर्मत तथा विस्तारका सन्दर्भमा हाम्रो गाडी एकाध ठाउँमा रोकिनुप¥यो । हामीले त्यसलाई हिँड्ने अवसरका रूपमा उपयोग पनि ग¥यौं । यस यात्रामा हाम्रो फोक्सोले सफा हावा र धुलो दुवै प्राप्त ग¥यो । गाडीमा रहँदा विकास र वित्त व्यवस्थापनका सवालमा धेरै कुराकानी भए । कागतीडाँडाबाट रामपुर फाँट देखियो । उत्तुङ, फराकिलो र सुरम्य । कालीको तीरको सो बस्तीले अरूझैं मेरो मन तान्यो । विकासको धेरै सम्भावना बोकेको रामपुर उर्वरासमेत देखियो ।
सेवा विकास बैंक उद्घाटनको दिन । आकाशले बिहानै पानी खसाउन थाल्यो । हल्का वर्षाले भिज्यो रामपुर । घरि अँध्यारो घरि उज्यालो । खास कार्यक्रम सुरु हुँदा वर्षा रोकियो । अध्यक्षज्यूको सहयोगमा मैले पानसमा बत्ती बाली तथा बाँधिएको रिबन काटी शाखा उद्घाटन गरें । प्रमुख कार्यकारी अधिकृत महेश काफ्लेजीले बैंकको सफलताको कथा, कामना सेवा मर्जर समितिका मदन शर्माजीले कालीगण्डकीको सत्व र मर्जर यत्नको कथा, त्रिलोचन पौडेल, रामप्रसाद पोखरेल, भोजेन्द्रप्रसाद ढकाल, राजु श्रेष्ठ, जगत पोखरेलले रामपुरको व्यावसायिक महŒव, उद्यमशीलता, बैंकको ब्याज र बैंकसितको अपेक्षा र पूर्वसञ्चालक भोजप्रसाद श्रेष्ठले राजनीतिक दलका व्यक्तिहरू उत्पादनसित जोडिने सवाल तथा बैंक तथा वित्तीय क्षेत्रले वहन गर्न आवश्यक सामाजिक उत्तरदायित्व आदिको विषयमा गहन विचार राख्नुभयो । एक वक्ताले ‘बैंकले घाम लागेको समयमा छाता दिन्छ र पानी पर्दा माग्छ’ भनी निकै पेचिलो सवाल उठाउनुभयो । अर्काले भन्नुभयो– रानो मौरीजस्तै हो बैंक, समुदायमा बैंक आएपछि विकास र समृद्धि क्रमिक रूपमा वैरिन्छ । तरलता अभाव र ब्याजदरमा त्यसको प्रभावप्रति अधिकांश व्यवसायी चिन्तित भएको अवस्था देखियो । सहरोन्मुख पहाडी इलाकामा भएको कार्यक्रममा वक्ताहरूले उठाएका गहन सवालले सहरको चेतनालाई सहज चुनौती दिइरहेको मैले महसुस गरें । कार्यक्रम उद्घाटनको सो अवसरमा मैले विकास बैंक, खासगरी लुम्बिनी भेगमा स्थापित विकास बैंकको सक्रियता, वित्तीय पहुँचमा तिनले दिएको योगदान, औपचारिक वित्तीय प्रणाली, स्प्रेड दर, नयाँ ग्राहक खोज्ने विषय, व्यावसायीकरणमा बैंक तथा वित्तीय संस्थाको महŒवका साथै सुशासन एवं जोखिम व्यवस्थापनको सन्दर्भमा केही सवाल उठान गरें । वर्तमान तरलता अभावबारे त्यहाँ उठेको जिज्ञासालाई मैले सम्बोधन गर्नै पथ्र्यो, गरें । मेरो मन्तव्यको आखिरी समयमा फेरि हल्का जलवृष्टि भयो । अध्यक्ष भीम तुलाचनको सभापतीय सम्बोधनमा सुशासनप्रतिका मीठो प्रतिबद्धता झल्कियो ।
बैंक तथा वित्तीय संस्थाले सहरको घेरा तोड्न नसकेको हिजोको यथार्थ आज भत्किँदै छ । नयाँ–नयाँ ठाउँमा वित्तीय सेवा विस्तार हुँदो छ । वित्तीय पहुँचको घेरा क्रमशः फराकिलो हुँदै छ । यसैको दृष्टान्त हो, रामपुरमा सेवाको नयाँ शाखा स्थापना । यस विकास बैंकको रोपाइँ हो । तै त्यो दिन पानी प¥यो । म त्यसमा सहभागी हुन पाएँ । रोपो सायद सप्रिन्छ अब । त्यस रोपोमा सुशासन र गुणस्तरीय सेवाको पानी पटान भने जरुरी छ । करिब २ लाख जनतालाई सेवा पु¥याउन मिल्ने रामपुर शाखाले पाल्पा, स्याङ्जा, नवलपरासी र तनहुँका ग्राहकलाई कत्तिको सेवा दिन सक्छ, त्यहाँको ग्राहकलाई कत्तिको व्यवसायी बनाउन सक्छ र कत्तिको बचत परिचालन तथा उत्पादनशील कर्जा प्रवाह गर्न सक्छ, त्यो भने हेर्न बाँकी छ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

समग्र प्रदेशको बिकाशमा केन्द्रीत हुनेछ

  तपाई प्रदेश क्षेत्र नं ४ प्रदेश बाट उम्मेदवार उठ्नुकोे कारण के हो ? म २०४१ साल देखि अनेरास्ववियु मा संगठित रहदै राजनीतिमा लागेर हाल सम्म कुनै पेसा व्यवसाय नगरी निरन्तर जनता- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

किन पत्याइँदैनन् कलाकारहरुलाई ?

वर्षारम्भसँगै देश निर्वाचनको माहोलमा होमियो । वैशाख, असार र असोजमा देशका विभिन्न भूखण्ड स्थानीय तहको निर्वाचनले रङ्मगियो । अब मंसिर महिना पनि निर्वाचनमय बन्दै छ । लामो र बलिदानीपूर्ण- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

किशोर मनोविज्ञान छाम्ने प्रयत्न

एउटी शिक्षित, परिपक्व र समझदार युवती हुन् सृष्टि । पूर्वी नेपालको दमकस्थित एक सामान्य आर्थिक हैसियत भएको परिवारमा जन्मिएकी सृष्टिले विद्यालय र कलेजकालीन दिनहरूमा धेरै अनुभव- ...
पूरा पढ्नुहोस्

छोटकरीमा