समाज र समयको सल्यक्रिया
कथा–सर्जक दिलीप शाह दिक्–कालविहीन सर्जक होइनन्, उनका लेखनमा आफू बाँचेको समाज र समयको रोग, भोक र शोक व्याप्त छ । लेखनमार्फत् समाजभित्रका विसंगत पक्षहरूलाई सतहमा ल्याउन उनी सक्षम देखिएका छन् । उनका कथाकृति ‘मुर्दार काठमाण्डू’ले नेपाली समाज, अर्थव्यवस्था, राजनीतिक खिचातानी र कर्मचारीतन्त्रभित्रका विकृत पक्षहरूको शल्यक्रिया गर्न चाहेको छ ।
कुनै पनि सिर्जनाले आफ्नो परिवेश र घटना–प्रवृत्तिहरू उतार्न चाहन्छ । ‘कल्पवृक्ष’ले नेपाली राज्यव्यवस्थाको मूल चरित्र केलाउन खोजेको छ । नेपालको ग्रामीण भेगमा विकासको बहाव मूलत: बहुदलीय प्रजातन्त्रको स्थापना भएयता सुरु भएको हो । निरंकुशकालमा पनि विकास त हुन्थे नै तर त्यसले जनतालाई प्रत्यक्ष लाभ दिने हैसियत राख्दैनथ्यो । ‘विकास’लाई एक अद्भूत र कल्पनालोकको वस्तुजस्तै ठान्दथे, जनता पनि । तर, विकासका नाममा अहिले पनि राज्यका उच्च तहमा बस्नेहरूले जनतालाई मूर्ख बनाइरहेका छन्, झुक्याइरहेका छन् । यही पीडाजन्य तस्बिर उतार्न ‘कल्पवृक्ष’ सक्षम ठहरिएको छ । पुरुषको मनोदशा केलाउने दिशामा ‘अकस्मात्’ उभिएको छ । आफू विवाहित भए पनि राम्री र आकर्षक केटी देख्दा मन पग्लने र सम्बन्ध स्थापित गर्ने सोच प्राय: पुरुषहरूमा हुनुलाई अस्वाभाविक मान्न सकिँदैन । पुरुषकेन्द्रित मानसिकतामा उभिएको समाजभित्र यस्ता प्रवृत्ति अवश्य नै झ्यांगिन्छन् । कथाले त्यही पुरुष मानसिकताको खिल्ली उडाएको छ ।
विगत द्वन्द्वकालीन समयमा नेपाली समाज अनेक तीता प्रसंगहरूबीच गुज्रिनुपरेको यथार्थ आज पनि जीवितै छ । ‘अन्तिम इच्छा’ले त्यही द्वन्द्वकालीन समय देखाउन चाहेको छ । द्वन्द्वकालमा ग्रामीण क्षेत्रमा इमानदार, कर्तव्यनिष्ट रहेर काम गर्ने शिक्षकहरूलाई विद्रोही पक्षले दिने गरेको यातना, मानसिक तनाव र सफायाजस्ता हर्कतहरूबारे यो कथा बँेलेको छ । सामाजिक रूपान्तरणको दिशामा यात्रारत व्यक्तिमाथि विद्रोहीको कटु र निर्मम व्यवहारको चित्रमय प्रस्तुति उक्त कथामा छ । ‘खाडलभित्रको समस्या’ले मध्यवर्गीय नेपाली समाजको व्यथा ओकल्छ । आर्थिक हिसाबले आफूभन्दा सम्पन्न परिवारभित्र सम्बन्ध गाँस्दा त्यसले निम्त्याउने पारिवारिक, आर्थिक असन्तुलनको दायरा कति फराकिलो हुन्छ ? यही यक्ष प्रश्नको जवाफ दिन उक्त कथा सफल ठहरिएको छ । सहरिया धनाढ्य वर्गकी छोरीसित बिहे गरेका प्रकाश जस्ता पात्रहरू आफ्नो वैवाहिक जीवनलाई खाडलमा खसेको अनुमान लगाउँछन् । यो कथाले समान आर्थिक हैसियतबीचको सम्बन्ध नै सुमधुर हुने सन्देश दिएको छ । ‘नगद नारायण’ चाहिँ अलि फरक कथा हो । यो कथामा विद्यमान नेपाली गाउँ र सहरबीचको अन्तद्र्वन्द्व पर्गेल्न खोजिएको छ । ग्रामीण भेगबाट रोजगारी वा अन्य सरकारी कामका सन्दर्भमा सहर वा तराई झरेका व्यक्तिहरूमा गाउँमा पुन: फर्केर जीवनयापन गर्ने सोचको कसरी अन्त्य हुन्छ, भन्ने कुरा व्यक्त गर्न यो कथा सफल ठहरिएको छ । एउटा कर्मचारीको परिवारभित्रका अन्तर्विरोध केलाइएको यो कथाको मूलतत्व गाउँ र सहरबीच बढ्दै गइरहेको दूरी नै हो ।
‘मुर्दार काठमाण्डू’ कृतिकै सशक्त र प्रभावशाली कथा हो । मानिसहरूमा महानगरप्रतिको आकर्षण दिनानुदिन बढ्दो छ । महानगरभित्रका सुविधा, सम्पन्नता र सम्भाव्यताहरूका कारण पनि महानगरलाई रुचाइनु स्वाभाविक मानिन्छ । तर, महानगरभित्रको यान्त्रिक जीवनशैलीले व्यक्तिका सबै इच्छा, आकांक्षा र सपनाहरूलाई भने ध्वस्त पारिदिएको छ । व्यस्त जीवनशैली, बढ्दो ट्राफिक जाम, अस्वस्थ वातावरण, पारिवारिक विघटनजस्ता पक्षहरू सहरमा बस्ने व्यक्तिहरूका लागि टाउको दुखाइको विषय बनेको छ । कथासर्जकले सहरिया जीवनको सग्लो तस्बिर ‘मुर्दार काठमाण्डू’मार्फत उजिल्याउन चाहेका छन् ।
कृतिभित्रका सुरक्षाकवच, पहिचानको खोजीमा, प्रायश्चित, बगरे, संयोग, बाध्यात्मक पुकाराजस्ता कथाहरू आ–आफ्नो उचाइमा विद्यमान छन् । यसअघि मौनधारण, श्रद्धासुमन र जालो गरी तीन कथाकृति ल्याइसकेका सर्जक शाहको यो चौथो कथाकृतिले उनको लेखन क्रमश: शिखरतिर उन्मुख हुँदै गइरहेको सहजै अनुमान लगाउन सकिन्छ ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply