संसद्को शून्य समयमा गीत, श्लोक र व्यंग्य !
काठमाडौं । आफ्नो क्षेत्रका समस्या, स्थानीयका दु:ख, पीडा आदिबारे सरकार र सदनको ध्यानाकर्षण गराउने संसद्को शून्य समयमा सभासद्हरूले गीत गाउने, श्लोक भन्ने र व्यंग्य प्रहार गर्ने काम सामान्य जस्तै भएको छ । भाका हाली–हाली गीत र श्लोक गाउँदा सबैको ध्यान आफूतिर तान्न सकिन्छ भन्ने भएकाले पनि सभासद्ले समस्यालाई पनि मनोरञ्जनात्मक रूपमा प्रस्तुत गर्ने गरेका छन् ।
‘५२ को घर भाडा छ बैठक भत्ता उही
६ सय १ जना मिलौं संविधान बनाऔं उही’
सोमबारको बैठकमा जनताका नभई सभासद् तप्तबहादुर विष्टले गीतमार्फत् आफ्नै समस्या सदनमा अवगत गराए । ०५२ सालमा सभासद्लाई घर भाडा र बैठक भत्ता जति दिइन्थ्यो, अहिले पनि त्यति नै दिने गरेको तर्फ इंगित गर्दै उनले संविधान पनि ६ सय १ जना मिलेर ०४७ कै बनाउने हो कि’ भन्दै प्रतीकात्मक व्यंग्य गरेका थिए ।
अघिल्लो हप्ता ‘एक–एक मिले सय हुन्छ’ बोलको गीत गाएर सभासद्लाई मनोरञ्जन गराएका सभासद् जुठबहादुर खड्गी (जेबी टुहुरे)ले सोमबारको बैठकमा पनि गीत गायनलाई नै निरन्तरता दिए । पञ्चायती कालमा गाउँ–गाउँमा जनता जागृत गर्न ‘गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ’ भन्ने गीत गाउँदै हिँडेका टुहुरेले सोमबार त्यही गीत गाए । उनले माग गरे– ‘जनवादी गीतलाई राष्ट्रिय गीतका रूपमा परिणत गर्नुपर्यो ।’
राप्रपा नेपालकी सभासद् कान्ता भट्टराईले विशेष समयमा पाएको तीन मिनेटमा ६ वटा त श्लोक भट्याइन् । पहिला राजाका बडा गुरुज्यू माधव भट्टराईकी पत्नी उनले श्लोक भाका हालेर गाएर पार्टी लाइनअनुसार हिन्दू धर्मको संरक्षणमा ध्यानाकर्षण गराइन् । प्रत्येक जिल्लामा गुरुकुल स्थापना गर्नुपर्ने र भएका गुरुकुल संरक्षण गर्नुपर्नेदेखि लिएर जनकपुरको जानकी मन्दिरमा महन्थका विषयमा उत्पन्न विवादको समाधान खोज्न उनले सरकारको ध्यानाकर्षण गराइन् ।
गीत र श्लोकमात्र होइन, सभासद्ले सरकारका कार्यशैलीप्रति चोटिला व्यंग्य प्रहार गर्न पनि बाँकी राखेका छैनन् । आफ्नो पार्टीका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाप्रति तिखो कटाक्ष गर्दै नेपाली कांग्रेसका सभासद् गगन थापाले भने– ‘हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यू, प्रधानमन्त्रीय पद्धति बलियो बनाउने कुरा गर्नुहुन्थ्यो, तर यो सदनले नचिनेका मान्छेलाई मन्त्री बनाउनुभयो भन्ने सुनिँदैछ ।’ थापाले सदनमा मन्त्रीहरूको परिचयात्मक कार्यक्रम राख्न पनि माग गरे । खासमा उनको यो प्रहार एमालेमाथि थियो । कांग्रेसले मन्त्री बनाएका सबै सभासद् हुन् भने एमालेले १० मा ६ जना गैरसभासद्लाई मन्त्री बनाएको छ ।
सोमबारको बैठकमा शून्य समयमा सभासद्हरू कौशल साह, कृपाराम राना, कृपासुर शेर्पा, कृष्ण धिमाल, कृष्णभक्त पोखरेल, गगन थापा, गणेशमान गुरुङ, गीता क्षेत्री, गौरा ओली, चन्द्र महर्जन, प्रा.डा. चन्द्रमोहन यादव, चित्रबहादुर केसी, चूडामणि जंगली, जगदीशनरसिंह केसी, जनार्दन ढकाल, जयन्त चन्द, जानकीकुमारी साउत, जीवनबहादुर शाही, जुनैद अन्सारी, डिम्पलकुमारी झा, डोरप्रसाद उपाध्याय, जुठबहादुर खड्गी, तप्तबहादुर विष्ट, तुलबहादुर गुरुङलगायतले बोलेका थिए ।
अझै पढाउँदै सभामुख
संसद्मा प्रयोग हुने समयबारे बैठक अवधिमै सभासद्हरूलाई पढाउने र सिकाउने कामबाट सभामुख सुवास नेम्वाङ अझै मुक्त हुनुभएको छैन । सोमबारको बैठकमा ढ्याप–ढ्याप समय लिएर बोलेका सभासद्हरूले अघिल्ला बैठकमै उठेका कुरा बारम्बार उठाएपछि सभामुख नेम्वाङले ढ्याप–ढ्याप समयको महत्त्वबारे पढाउनुभयो । ‘कृपया शून्य र विशेष समय पनि पर्खन नसक्ने जरुरी विषयमा ध्यानाकर्षण गराउन यो समय उपलब्ध गराइएको हो, कृपया पर्खन सकिने विषयका लागि यो समय नलिई दिनुहोला’– नेम्वाङको आग्रह थियो ।
सोमबारको बैठकमा शून्य समयभन्दा अघि नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले ढ्याप–ढ्याप समय लिएर अनशनरत नन्दप्रसाद अधिकारी दम्पतीको समस्या सदनमा सुनाउँदै ती समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । त्यसपछि एमाओवादीका जनार्दन शर्माले त्यसको प्रतिकार गर्दै सत्य–निरूपण तथा मेलमािलप आयोग गठन गरेर अधिकारी दम्पतीको समस्या समाधान गर्नुपर्ने बताएका थिए ।’ ढ्याप–ढ्याप समयमा एमालेकी सुशीला नेपालले केही दिनअघि लगनखेलमा भएको आगलागीका पीडितलाई राहतको माग गरेकी थिइन् ।
उपसभामुख असिन–पसिन
विशेष समय लिएर नेकपा (एमाले)का भरतमोहन अधिकारीले बोल्न थालेपछि सभामुख नेम्वाङले उपसभामुख ओनसरी घर्तीलाई अध्यक्षको ‘चेयर’ दिनुभएको थियो । उपसभामुख निर्वाचित भएपछि पहिलोपटक बैठकको अध्यक्षता गरेकी घर्ती सोमबार बैठकमा पहिलो वक्ता अधिकारीबाटै हायल–कायल मात्र बनिनन्, असिन–पसिन नै भइन् ।
तीन मिनेटको समय पाएका अधिकारीले बोल्दै गर्दा घर्तीले ‘तपाईंको समय सकियो’ भनिन् । तर, अधिकारीले मानेनन् । उठेकै ठाउँबाट ‘आफ्ना कुरा त सबै राख्न पाउनुपर्यो नि’ भन्दै अधिकारीले बोलिरहे । घर्ती मगरले फेरि रुलिङ गरिन्– ‘समय सकियो ।’ अधिकारीले भने– ‘अब छोट्याइहालें ।’ तर अधिकारी बोलिरहे । बैठक सञ्चालनको अनुभव नभएकी घर्तीले एकछिन संसद् सचिवालयका दुई–तीन जना कर्मचारीसँग साउती गरिन् र चुपचाप बोल्न दिइन् । अधिकारीले झन्डै १० मिनेटमा आफ्ना कुरा राखे । अधिकारीले ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन गर्ने कुरा मात्र गरेर भएन भन्दै अब बस्ने मन्त्रिपरिषद् बैठकले मिति नै घोषणा गर्न माग गरे । त्यस्तै, लगानीमैत्री वातावरण बनाउन तदनुरूपमा कार्यक्रम ल्याउन पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।
बधाई लिन परिक्रममा
कसैले केही रामो काम गरेको छ वा राम्रो उपलब्धि हासिल गर्यो भने उसलाई बधाई दिनु कुनै नौलो कुरा भएन । तर, बधाई थाप्न आफैं सबै बसेको ठाउँमा पुग्नु भनेको चाहिँ अलिक असुहाउँदो कुरा हो । एमालेबाट सामान्य प्रशासनमन्त्री बनेका लालबाबु पण्डित बधाई लिन सोमबार बैठक कक्षको आफंैले परिक्रमा गरे । बैठक सुरु हुनुअघि मन्त्री बस्ने आश छाडेर कांग्रेस र एमाले सभासद् बस्ने पुरा पंक्ति फेरो लगाएर बधाई ग्रहण गरेका उनी छेउको पंक्तिमा पुगेर मधेसकेन्द्रित दलका सभासद्बाट पनि बधाई लिन भुलेनन् । कांग्रेसका अर्जुननरसिंह केसीबाट सुरु भएको उनको बधाई लिने क्रम फोरम लोकतान्त्रिकका बाबुराम पोखरेलसम्म पुगेपछि बैठक सुरु हुने घन्टी लागेपछि रोकिएको थियो ।
उपसभामुखलाई महिलाको घेरा
गत हप्ता उपसभामुखमा निर्वाचित ओनसरी घर्तीलाई बैठक कक्षमा प्रवेश गर्नासाथ मर्यादापालकले बस्ने आसन देखाएका थिए । मन्त्रीहरू बस्ने लाइनको पहिलो हारको देब्रे छेउमा बसेकी उपसभामुख घर्तीलाई बधाई दिन भने उनी बसेकै ठाउँमा सभासद्हरूको भीड लागेको थियो । खासगरी, महिला सभासद्हरू झुम्मिएर घर्तीलाई बधाई दिइरहेका थिए ।
थापालाई हात दिँदा…
सोमबार बैठक सुरु हुनुभन्दा २० मिनेट अगाडिदेखि नै राप्रपाका सूर्यबहादुर थापा आफ्नो सिटमा बसिरहेका थिए । छोरा सुनिल थापाभन्दा ठीक अगाडिको सिटमा बसिरहेका थापालाई बैठक कक्षको दाहिने ढोकाबाट प्रवेश गर्नेहरू ‘नमस्कार’ गर्दै आफ्नो सिटतिर गइरहेका थिए । उनकै पार्टीका दीपक बोहरा पनि झुकेर नमस्कार गर्दै उनकै छेउमा बसे । बाबुराम भट्टराई पनि नमस्कार गर्दै आफ्नै सिटमा बसे । छोरा सुनिललाई बोलाएर बैठक कक्षबाट निस्कन लाग्दा एमालेका विष्णु पौडेलले पनि सूर्यबहादुर थापालाई परैबाट नमस्कार गरे । तर, बैठक कक्ष छिरेका एमालेका अर्का सभासद् विकास लम्सालले एक हातले अभिवाद गर्दै अर्को हात मिलाउनका लागि सूर्यबहादुर थापातिर तेस्र्याए । थापाले अप्ठ्यारो मानी हात दिएको दृश्य दर्शकदीर्घामा बस्नेले समेत रोचक रूपमा लिएका थिए ।
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply