मन्त्री र सभासद्द्वारा नै संसद्लाई बेवास्ता
काठमाडौं । गत बिहीबार सभासद्को गणपूरक संख्या नपुगेर स्थगित भएको संसद् बैठक सोमबार मन्त्रीहरू अनुपस्थित भएकाले स्थगित भयो । ११ बजे आह्वान गरिएको भए पनि ११:२० बजे सुरु भएको बैठकमा एक जना पनि मन्त्री उपस्थित नभएपछि सभाध्यक्ष सुवास नेम्वाङले आधा घन्टाका लागि स्थगित गर्दा सभाहल हाँसोले गुञ्जियो ।
सुपुर्दगी अध्यादेश ०६९, संगठित अपराध निवारण अध्यादेश ०६९, नेपाल स्वास्थ्य सेवा (चौथो संशोधन) अध्यादेश ०६९ र निजामती सेवा (तेस्रो संशोधन) अध्यादेश ०६९ निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको बैठकमा राष्ट्रिय धुन बजेर बस्न नभ्याउँदै नेपाली कांग्रेसका सभासद् रामहरि खतिवडाले ‘मन्त्रीहरू अनुपस्थित भएकाले बैठक सुचारु गर्न नमिल्ने’ भन्दै सदनको ध्यानाकर्षण गराएका थिए । खतिवडा पछि पनि आधा दर्जन जति सभासद्ले बोल्न हात उठाएका थिए । सभाध्यक्ष नेम्वाङले ‘मन्त्रीको अनुपस्थितिमा बैठक नै सञ्चालन हुँदैन भन्ने कुरा उठिसकेको अवस्थामा त्यसको टुंगो नलागी अरू बोल्न मिल्दैन’ भन्दै कसैलाई बोल्न अनुमति दिएनन् । तर, एमाओवादी सभासद् रामनारायण बिडारी सभाध्यक्षको कुरा सुन्दै नसुनी जुरुक्क उठ्दै भने– ‘एकजना मन्त्री उपस्थित भएर पनि हुँदैन, सम्बन्धित मन्त्री नै उपस्थित हुनुपर्छ ।’
सभासद् बिडारीले पनि कुरा राखिसकेपछि सभाध्यक्ष नेम्वाङले विगतको अभ्यासबारे सदनको ध्यानाकर्षण गराए । नेम्वाङले भने– ‘कुनै पनि मन्त्री उपस्थित नहुँदा बैठक सञ्चालन नहुने विगतको पनि अभ्यास हो, त्यसैले आधा घन्टाका लागि बैठक स्थगित भएको घोषणा गर्दछु ।’
दुई भूपू यथावत्
बैठक स्थगित भएपछि सबैजसो सभासद् जर्याकजुरुक उठे । कोही बैठक कक्षबाट बाहिरिए भने कोही सभाध्यक्षको ड्यास अगाडि खाली भागमा उभिएर गफिन थाले । समूह–समूहमा उभिएर गफिएका सभासद्को गफको विषय नै गणपूरक संख्या र मन्त्रीको अनुपस्थितिमा केन्द्रित थियो । तर, दुई पूर्वप्रधानमन्त्री– एमाले अध्यक्ष झलनाथ खनाल र राप्रपाका अध्यक्ष सूर्यबहादुर थापाले भने बैठक पुन: सञ्चालन नहुँदासम्म आसन छाडेनन् ।
एउटाका सभासद् अर्कोको कुर्सीमा
बैठक स्थगित भएको मौका छोपेर एउटा पार्टीका सभासद् अर्को पार्टीका सभासद् बसेको ठाउँमा पुगेर गफिएका थिए । एमालेका सभासद् नेपाली कांग्रेसको सभासद् बस्ने सिटमा बसेर कांग्रेस सभासद् मीनबहादुर विश्वकर्मासँग गफिएका थिए भने एमालेकै सभासद् सुशील नेपाल चाहिँ फोरम लोकतान्त्रिकका सभासद् बाबुराम पोखरेलसँग गफ गर्न पोखरेल छेउकै कुर्सीमा बसेकी थिइन् । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित मन्त्रीको कुुर्सी छाडेर एमाले सभासद् अष्टलक्ष्मी शाक्यसँग गफ गर्न उनी बसेकी नजिकको सिटमा बस्न पुगेका थिए ।
एकपछि लर्को
मन्त्री नआएकै कारण बैठक स्थगित भएको १० मिनेट पनि नबित्दै सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित बैठक कक्षभित्र प्रवेश गरेका थिए । उनीपछि युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, कानुनमन्त्री नरहरि आचार्य, वनमन्त्री महेश आचार्य, ऊर्जामन्त्री राधा ज्ञवाली, उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह, स्वास्थ्यमन्त्री खगराज अधिकारी बैठक कक्ष प्रवेश गरेका थिए ।
झुक्किए सभासद्
संसद् बैठक सुरु हुनुअघि सभाध्यक्ष आफ्नो ‘चेयर’मा आइपुग्नासाथ राष्ट्रिय गीत बजाइन्छ । राष्ट्रिय गीत बज्दा सबै उठ्नुपर्ने हुन्छ । कोही भित्र प्रवेश गर्दै छ भने जहाँ आइपुगेको छ, त्यहीँ ठिंग उभिनुपर्छ । तर, सुरु भएर स्थगित भई फेरि सुरु हुने बैठकबारे नयाँ सभासद्को अनभिज्ञता देखिन्थ्यो । आधा घन्टापछि बैठक सुरु गर्न सभाध्यक्ष आउँदा सभासद् बसेको आसनबाट मात्र उठेनन्, राष्ट्रिय गीत बज्ने पर्खाइमा पनि रहे । तर, सभाध्यक्ष नेम्वाङले ‘यो अघिकै बैठकको निरन्तरता हो’ भनेर प्रस्ट्याएपछि सभासद्हरू आ–आफ्नो आसनमा बसेका थिए ।
ढ्याप–ढ्यापमा पाँच
सोमबारको बैठकको ढ्याप–ढ्याप समयमा पाँच जना सभासद्ले बोलेका थिए । तीन मिनेटको समयमा नेपाली कांग्रेसकी डिना उपाध्याय, एमालेका वैजनाथ चौधरी, माओवादीकी गोमा कुँवर, फोरमका अकवाल अहमद र राप्रपाकी कुन्ती शाहीले बोलेका थिए । उपाध्यायले सिरहामा आगो लगाएर जलाइएकी नजराना खातुन प्रकरण र चौधरीले नवलपरासीमा बढ्दो भारतीय हस्तक्षेपप्रति सदनको गम्भीर ध्यानाकर्षण गराएका थिए । उपाध्याय बोल्दा ध्यानपूर्वक सुनेका कांग्रेस नेता शेरबहादुर देउवाले उनको बोली सकिनासाथ टेबुल ठोकेको दृश्य हेर्नलाकय थियो ।
‘कथित’मा नियमापत्ति
एमाओवादी सभासद् कुँवरले विशेष समयमा बोल्नेक्रममा ‘पृथ्वीनारायण शाहले गरेको कथित एकीकरण’ भन्ने शब्द उल्लेख गरेपछि एमाले सभासद् केशव बडालले नियमापत्ति गरेका थिए । सभासद् अमृत बोहराले दिएको माइक समात्दै ‘नेपालको ‘एकीकरण जस्तो विषयलाई ‘कथित’ भन्न पाइँदैन’ भन्दै बडालले आपत्ति गर्दा कुँवरको ओठ मुख सुकेको थियो । संसदीय अभ्यास थाहा नभएकी कुँवरले ‘शब्द चयनमा त्रुटि भयो’ भन्दै माफी मागेकी थिइन् ।
शून्यमा २१ लाई पालो
सोमबारको शून्य समयमा २१ सभासद्ले बोलेका थिए । नेपाली वर्णानुक्रम अनुसार बोलेका कौशल साह, गगन थापा, गणेश पहाडी, गीता राणा, गुरु बुर्लाकोटी, गौरा प्रसाईं, चित्रबहादुर केसी, चूडामणि जंगली, जगदीश्वरनरसिंह केसी, जनार्दन ढकाल, जयन्त चन्द, जयन्तीदेवी राई, जितु गौतम, जीवनबहादुर शाही, झुलबहादुर आले, टेकबहादुर बस्नेत, डिम्पलकुमारी झा, डिल्लीप्रसाद काफ्ले, तप्तबहादुर विष्ट, तारिणीदत्त चटौटमध्ये अधिकांशले आ–आफ्नो क्षेत्रको समस्या उठाएका थिए । प्राय: महिला सभासद्ले नजराना खातुन प्रकरण उठाएका थिए । सभासद् जगदीश्वरनरसिंह केसीले भने विश्वकप क्रिकेट र एसएलसीको समयमा लोडसेडिङमुक्त गर्न माग गरे । चित्रबहादुर केसीले सत्ताधारी दलको गाइजात्रा के हो भन्दै सदनका प्रश्न उठाएका थिए । ‘बन्दुकधारीलाई पक्राउ गर्दा उल्टै सडकमा तमासा देखाएर सत्ताधारीहरूले के गाइजात्रा गरेको ?’– केसीको प्रश्न थियो ।
कोही घोक्ने, कोही पढ्ने
फोरम लोकतान्त्रिकबाट सभासद् बनेकी गीता राणा ग्यालेक्सी स्कुलकी प्रिन्सिपल हुन् । विद्यार्थीलाई ‘होमवर्क’ दिने र ‘होमवर्क’ पूरा नगरे सजाय दिनु विद्यँलयमा राणाको कर्तव्य पनि हो तर उनी संविधानसभामा भने विद्यार्थीकै जस्तो भूमिकामा देखिइन् । सोमबार शून्य समयमा १ मिनेट बोल्ने मौका पाएकी उनी बैठक सुरु हुनुअघि बाहिर चउरमा कागजको चिर्कटोमा लेखेको कुरा घोक्दै थिइन् । भन्दै थिइन्– ‘आज बोल्ने समय छ, तयारी त गर्नैपर्यो नि †’ पति अनिल झाले हारे पनि समानुपातिकबाट सभासद् बनेकी संघीय सद्भावनाकी डिम्पल झा पनि सदनमा बोल्दा चिठी पढे जसरी पढेर बोल्छिन् । श्रीमान्ले लेखेर दिएको कुरा हुबहु पढ्ने गरेको चर्चा संविधानसभा परिसरमा व्याप्त भइसकेको छ ।
‘हिरो’ बन्न हतार
संविधानसभामा दुई जना यस्ता सभासद् छन् जो बढी बोलेर आफू लोकप्रिय हुने वा चर्चामा आउने दौडमा छन् । ती हुन्– कांग्रेसका रामहरि खतिवडा र एमाओवादीका रामनारायण बिडारी । अरू खास विषय नपाए साना मसिना प्राविधिक कुरा उठाएर भए पनि आफूलाई ‘छुट्टै हुँ’ भन्ने देखाउन यी दुई सभासद्को बैठकमा सधैं तँछाड–मछाड हुने गरेको टिप्पणी सभासद्हरूबीच हुने गर्दछ । सदनमा उठाउनै नपर्ने परिचयपत्रका कुरा हुन् वा सचिवालयका साधन–स्रोतसँग सम्बन्धित विषय हुन्, बेला–कुबेला यिनीहरूले उठाएको अरू सभासद्को टिप्पणी हुने गर्दछ । एक सभासद् भन्दै थिए– ‘यस्त विषयमा सचिवालयका साथीसँग सल्लाह गर्दा पनि हुन्छ, तर संसद्मै उठाइदिन्छन्, खै के पारा हो ?’
खोज्दा खोज्दै टुप्लुक्क
काठमाडौं । ‘होइन, यो के भइरहेको छ ?’– सोमवार संसद बैठकमा एक घण्टा ढिलो प्रबेश गरेका उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतम दृष्य देखेर शुरुमा त छक्क परे । आफ्नो सीटवाट पछाडी फर्केर उनले पछिल्लो हारमा बसेका मन्त्रीहरुलाई सोधे– ‘मैले त कुरै बुझिनँ ।’
बनमन्त्री महेश आचार्य र सामान्य प्रशासन मन्त्री लालवावु पण्डितले विषय प्रसंग उल्लेख गर्दै ‘तपाईकै खोजी भईरहेको हो’ भनेपछि बल्ल गौतम बसेको सीटवाट सभामुख आसनतर्फ फर्किए । छक्क पनि किन नपरुन् ? उनी बैठककक्ष प्रबेश गर्दा स्वास्थ्यमन्त्री खगराज अधिकारी रोष्ट्रममा उभिएका थिए । उनलाई बोल्न दिइएको थिएन । मन्त्री अधिकारी बोल्नुपर्ने समयमा एमाओवादीका सभासद् रामनारायण विडारी चर्को स्वरमा वीच वीचमा ‘वामदेव गौतम चाहियो, अरुले बोलेर कहाँ हुन्छ ?’ भनिरहेका थिए ।
एकजना मन्त्री पनि उपस्थित नभएपछि आघा घण्टा स्थगित गरेर शुरु गरेको बैठकमा अरु मन्त्री आएपनि गौतम आएका थिएनन् । बैठकको कार्यसूचीको शुरुमै गृहमन्त्रीका हैसियतले उनैले सुपुर्दगी सम्वन्धी अध्यादेश पेश गर्नुपर्ने थियो । आफू ढिलो हुने भएपछि उनले स्वास्थमन्त्री अधिकारीलाई अध्यादेश स्वीकृतिका लागि अनुमति दिएर पठाएका रहेछन् । बैठक शुरु हुनासाथ सभाध्यक्ष सुवास नेम्वाङले गृहमन्त्री गौतमको स्वीकृतमा अध्यादेश पेश गर्न मन्त्री अधिकारीलाई रोष्ट्रमा बोलाएका थिए । रोष्ट्रममा उभिएर अधिकारी बोल्न मात्र के आँटेका थिए सभासद् विडारीले टेबुल ठोकिहाले । ‘के भो माननीय ज्यू ?’– सभामुखले गरेको रुलिङलाई अटेर गर्दै विडारीले सम्वन्धित मन्त्री नै उपस्थित भएर अध्यादेश पेश गनुपर्ने भन्दै भाषण शुरु गरे । उनी गृहमन्त्री चाहियो भनेर भाषण गरिरहेका थिए गृहमन्त्री गौतम टुप्लुक्क आइपुगे । गौतमलाई बैठक कक्षमा छिर्दै गरेको देखेपछि भाषण छोट्याएका विडारीलाई ‘मन्त्री स्वयं उपस्थित भइसकेकाले उहाँको उपस्थितिमा अर्को मन्त्रीले पेश गर्न मिल्छ’ भन्दै सभाध्यक्षले भनेपछि बल्ल स्वास्थ मन्त्री अधिकारीले अध्यादेश स्वीकृतिका लागि पेश गरेका थिए । सुपुर्दगी अध्यादेश बहुमतले स्वीकृत भएको थियो ।
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply