सीमान्त वर्गको आवाज
सीमान्तकृत तप्काको जीवन–संघर्षलाई केन्द्रीय विषयवस्तु बनाएर नेपाली साहित्यमा कमै उपन्यास लेखिएका छन् । जति लेखिएका छन्, त्यसमा यथार्थको गहन प्रतिविम्बनको सर्वथा अभाव खट्किन्छ । किनकि बुर्जामा चढेर हेरिएको यथार्थ र धरातलमै भिजेर बटुलिएको यथार्थबीच धैरै अन्तर हुन्छ । कारण प्रस्ट छ, आजका अधिकांश स्रष्टा र सीमान्तकृत वर्गबीचको दूरी निकै लामो छ । र, लेखनमा जसले जुन परिवेश र वर्गको स्थितिबोध गरिरहेका हुन्छन्, त्यसैलाई नै शब्दबद्ध गर्ने हुन् । मूलत: अचेलका स्रष्टाहरू सहरकेन्द्रित छन्, उनीहरूका आकांक्षा, स्वप्न र समस्याहरूसमेत सहरमै झुन्डिएका छन् र उनीहरू सहरीया माहोलमा चुर्लम्मै डुबेका छन् । त्यस्ता स्रष्टाहरूबाट सीमान्तवर्गको पीडा, संघर्ष र वर्तमान सभ्य समाजमा उनीहरूको अस्तित्वको क्रिया–प्रतिक्रियाबारे लेखिनु दुर्लभ पक्ष मान्नु अन्यथा नहोला ।
तर, लामो समयदेखि पत्रकारितामा आबद्ध रामकुमार एलनको उपन्यासकृति ‘स्याउली सिम्फोनी’ भने अपवादमा दरिएको छ, जसले सीमान्तवर्गको आवाजको प्रतिनिधित्व गर्ने हैसियत राखेको छ । उपन्यासमा पहिलो पाइला राखेका एलनमा वर्तमान सामाजिक, राजनीतिक, आर्थिक स्थितिप्रति छट्पटाहट रहेको दह्रो प्रमाण ‘स्याउली सिम्फोनी’ बन्नपुगेको छ ।
मकवानपुरको पश्चिमी भेग स्याउली बजार वरिपरि नै उपन्यासको सिंगो कथावस्तु ओहोरदोहोर गर्दछ । यो त्यस्तो बजार हो, जहाँ अपहरित सपनाहरूको मात्रै बिस्कुन लाग्ने गर्दछ । र, स्याउली बजारसँगै वर्षौेंदेखि आर्थिक अभाव झेलेर बाँचिरहेका सोझा, गरिब र निम्छरा तामाङ जातिको दह्रो पकड पनि उपन्यासमा देखिन्छ । शिक्षा, स्वास्थ्य र राजनीतिक पहुँचलगायत हरेक हिसाबले पछि पारिएका तामाङहरू आफ्नै मौलिक भाषा, भेष, संस्कृति र पहिचानमा समृद्ध त छन् नै, तर उनीहरू कहिल्यै पनि उँभो लाग्नेगरी चेतनशील हुन पाएनन् । यही नियति पस्किन उपन्यास अग्रसर देखिएको छ ।
स्याउली बजारसँगै वरपरका ग्रामीण बस्ती कालिकाटार, भार्ता, सिउरानी, मनहरी खोला, हाँडीगाउँ, पदमपाखा, लालझाडी, चुरेमाई, मनाचुरीहरूमा रहेका तामाङ जातिका नारीहरूले भोग्नुपर्ने दर्दनाक पक्षलाई उपन्यासले मुख्य रूपमा उभ्याउन चाहेको छ । उक्त समाजका छोरीहरू कि त वेश्यावृत्ति गर्न मुम्बई पुर्याइन्छन्, कि त भारतका विभिन्न सहरहरूमा सर्कस खेल्न जान्छन् र कि त काठमाडौंमा गलैंचा बुन्न जान्छन् । उनीहरूलाई अनेक प्रलोभन, बिहेको बहानाबाजी र अन्य कारणहरू तेस्र्याएर फसाइन्छ र नारकीय जीवन–यात्राका साक्षी बनाइन्छ । मूलत: तामाङ समाजभित्र नारीहरूको अवस्थिति कस्तो छ भन्नेमा उपन्यासले पूरै खोतलखातल गरेको छ ।
तामाङ जाति र समाजलाई परिवर्तनका बाछिटाहरूले क्रमश: भिजाउँदै लगेको दृश्य–विम्बहरूले पनि ‘स्याउली सिम्फोनी’ लाई झनै समृद्ध तुल्याएको छ । खासगरी, माओवादी जनयुद्धले तामाङ समाजमा पुर्याएको असर र त्यसले चेलिबेटी बेचबिखन, सर्कस र गलैंचा बुन्ने कार्यमा गाउँका सोझासीधा तामाङ केटीहरूलाई लगिने गरिएको परम्परामा पूर्णत: सुधार आएको देखाउन पनि उपन्यास सक्षम ठहरिएको छ । त्यसै त नेपाली समाजमा नारीहरू हरेक हिसाबले पछाडि पारिएका छन्, अझ न्यून सामाजिक चेतना भएका, गरिबीले थिल्थिलो तुल्याएका र वर्षौंदैखि उत्पीडनको मार झेलिरहेका तामाङ समाजमा महिलाहरू कस्तो स्थिति बँेकेर बाँचिरहेका छन् ? उपन्यास यिनै पक्षहरू केलाउन समक्ष देखिएको छ ।
उपन्यासको केन्द्रीय पात्र पिचुर माओवादी जनयुद्धमा सामेल हुन्छ । तर, ऊ कुनै सैद्धान्तिक रूपले परिपक्व भएर होइन, समाजका उच्च वर्गद्वारा सताइएका कारण युद्धमा लाग्न बाध्य हुन्छ । अर्थात्, सबै सम्भावनाका दैलाहरू थुनिएपछि विद्रोहबाहेक अरू विकल्प नदेखेको उसले परिवर्तनका लागिभन्दा पनि बदला लिने भावनामा बन्दुक बोकेको हुन्छ । पिचुरजस्ता पात्रले विगतमा माओवादी युद्धमा सामेल केही त्यस्ता व्यक्तिहरूको प्रतिनिधित्व गर्दछ, जो बाध्यकारी लडाकु हुनपुगेका थिए । उपन्यासकी अर्की पात्र अर्थात् पिचुरकी प्रेमिका म्हेन्दो चाहिँ मुम्बईको कोठीमा आफ्नै पतिद्वारा बेचिएकी हुन्छे । मुम्बईमा बेचिएको धेरै वर्षपछि आफ्नै गाउँमा फर्किएर चेतनाको वीजारोपण गर्ने कार्यमा ऊ सम्बद्ध हुन्छे ।
उपन्यासको अन्त्यमा पिचुर र म्हेन्दोबीचको सुखद् सम्बन्ध पुन: जोडिएको छ, उनीहरू वैवाहिक जीवनमा बाँधिन्छन् ।
तसर्थ, परम्परागत मूल्य, मान्यता, ढाँचा र पीडाहरूबीच बाँचिरहेको एउटा सीमान्तकृत वर्ग र समाजभित्रका दरिद्र र समृद्ध पाटाहरू उधिन्न ‘स्याउली सिम्फोनी’ सफल भएको प्रतीत हुन्छ । र, उक्त समाज कसरी परिवर्तनको दिशातिर उन्मुख हुँदै गइरहेको छ ? भन्ने देखाउन पनि उपन्यासले निर्णायक भूमिका खेलेको छ । तथापि, उपन्यास केही हिसाबले ठेट्नो मकैजस्तो पनि बन्नपुगेको छ । किनकि, उपन्यासमा पात्रहरूभन्दा लेखक नै बढी अभिव्यक्त भएका छन् । पात्रहरूलाई उभ्याएर, उनीहरूबीचको सम्वाद/विमर्शहरूमार्फत नै कथावस्तुलाई गतिशीलता दिनुभन्दा लेखक नै बढी मुखरित भएका छन् । लामो समयदेखि पत्रकारितामा कलम चलाइरहेका एलनले मीठा, सरल र छोटा वाक्यहरूका छरितो भाषा प्रयोग गरे पनि कताकता उपन्यास लेख्दा उनले पत्रकारिताको शैलीलाई पनि पछ्याएको हो कि भन्ने अनुभूत गर्न सकिन्छ । उनको यो पहिलो प्रयत्न हो । उनले साहित्यमा कलम चलाइरहे भने आफूलाई दिग्गज लेखकको दर्जामा उभ्याउन चाहनेहरूका निम्ति उनी ‘घाँडो’ बन्न सक्छन् ।
स्याउली सिम्फोनी
विधा : उपन्यास
लेखक : रामकुमार एलन
प्रकाशक : बिएन पुस्तक संसार प्रा.लि.
मूल्य : २९९।–
पृष्ठ : ९+२६२
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply