सभासद्का पीए श्रीमती, छोरा, छोरी र आफन्त !
काठमाडौं । दुई वर्षअघि भृकुटीमण्डपमा सम्पन्न कार्यकर्ता भेलामा मात्र होइन, गत वर्ष हेटौंडामा सम्पन्न महाधिवेशनमा पनि एनेकपा माओवादीका शीर्ष नेताहरूमाथि स्वकीय सचिव (पीए)को विषयलाई लिएर कार्यकर्ताले निकै प्रहार गरे । कार्यकताको दबाब थेग्न नसकेपछि शीर्ष नेताको सचिवालय परिवर्तन गर्ने संस्थागत निर्णय भयो । नेता बाबुराम भट्टराईले निर्णय पालना नगरे पनि अध्यक्ष पुष्पकमल दाहालले लामो समयपछि भए पनि आफ्नो स्वकीय सचिव समीर दाहाललाई हटाएर उनको ठाउँमा चूडामणि खड्कालाई ल्याए । स्वकीय सचिवालयमै रहेका छोरा प्रकाशलाई पनि केही महिनाअघि त्यहाँबाट हटाइसकिएको छ ।
बाबुराम समूहलाई चित्त बुझाउन दाहालले बाबुरामकै गृहजिल्ला गोरखाका खड्कालाई पीए बनाए पनि पारिवारिक नाता–सम्बन्धको घेरा भने नाध्न सकेनन् । खड्का अध्यक्ष दाहालकी माहिली छोरी गंगाका नन्दे ज्वाइँ हुन् । शीर्ष नेता मात्र होइन, पार्टीका हरेक सभासद्ले पार्टीले सिफारिस गरेको व्यक्तिलाई मात्र पीए राख्नुपर्ने, आफन्तलाई राख्न नपाउने निर्णय नै गरेको छ, एमाओवादीले । पार्टी निर्णयकै कारण प्रभाव नभएका सभासद्ले चाहेर पनि आफन्तलाई पीए राख्न सकेनन् । तर, पार्टीमा प्रभाव र पहुँच हुनेहरूले पार्टीबाट निर्णय गराएरै आफन्तलाई पीए बनाएको बताइन्छ । रुकुमबाट सभासद् बनेका जनार्दन शर्माले वसन्तराज शर्मालाई पीए राखेका छन् । वसन्त, जनार्दनका आफ्नै काकाका छोरा हुन् ।
संसद् सचिवालयले हरेक सभासद्का लागि शाखा अधिकृतसरहको एक जना पीए राख्न पाउने व्यवस्था गरेको छ । करिब २२ हजार मासिक तलब पाउने भएपछि सभासद्को पीएप्रति आकर्षण बढी नै हुने गरेको छ । पार्टीले नै निर्णय गरे त बेग्लै भइहाल्यो नत्र आफन्तलाई पीए बनाएर सभासद्हरूले त्यो रकम पनि आफैं बुझ्ने गरेका छन् । प्रत्यक्षबाट निर्वाचन जितेर आएका अधिकांशले भूगोलको राजनीति नबिगार्न पार्टीकै कार्यकर्तालाई पीए राख्ने गरेका छन् । तर, प्रत्यक्षबाट जिते पनि आफन्त राख्नेहरू हुँदै नभएका होइनन् । समानुपातिकबाट सभासद् हुनेहरूका पीए त अधिकांश आफन्त नै छन् । छोरा, छोरी, साला, साली मात्र होइन, श्रीमतीलाई पनि पीए राखेर सबै रकम आफंै बुझ्ने गरिएको छ । त्यसो त पीएका लागि संसद् सचिवालयले पनि त्यस्तो कुनै कडा मापदण्ड बनाएको छैन । सभासद्हरूलाई आफ्नो पीएको नाम सचिवालयमा टिपाउन अनुरोध त गरिएको छ, तर अधिकांशले नाम टिपाएकासम्म छैनन् । सचिवालय स्रोतका अनुसार अहिलेसम्म करिब ३ सय ७० सभासद्ले पीएको नाम सचिवालयलाई दिएका छन् । सचिवालयलाई नाम नदिने सभासद्हरूले पनि पीएले पाउने पैसा भने बुझिरहेका छन् । आफन्तलाई पीए राख्नेहरूले त्यो रहस्य लुकाउनका लागि नाम नदिएको हुनसक्ने बताइन्छ । तर, रकम लिएर पीएको भर्पाइ सचिवालयलाई बुझाउँदा पनि पाइने हुनाले सबैले सचिवालयलाई नाम नदिएका हुन् ।
सचिवालयलाई नाम नदिनेको पीएमा कुनै न कुनै कैफियत छ भन्ने यसै पनि अनुमान लगाउन सकिन्छ । सचिवालयलाई नाम दिनेमध्ये पनि धेरैका पीए नातागोताभित्रकै छन् । चाहे ती कांग्रेसका सभासद् हुन्, चाहे एमाले, मधेसी दल वा अरू कुनै पार्टीका किन नहुन् । कांग्रेसका सभासद् अशोक कोइरालाले छोरी ईशा कोइरालालाई पीए राखेका छन् । कांग्रेसकै अर्का सभासद् यज्ञराज थापाकी पीए युवराज्ञी थापा पनि छोरी नै हुन् । उनी कास्की क्षेत्र नं १ बाट प्रत्यक्षमा जितेर सभासद् भएका हुन् । तर, पनि कार्यकर्तालाई पीए बनाएका छैनन् । कास्कीकै क्षेत्र नं २ बाट विजयी कांग्रेस सभासद् शारदा पौडेलले छोरा सरोज पौडेललाई पीए राखेकी छन् । बागलुङबाट सभासद् भएकी कांग्रेसकी ज्ञानुकुमारी छन्त्यालले पनि छोरा सागर छन्त्याललाई पीए राखेकी छन् । कांग्रेसकै नवलपरासीका सभासद् विक्रम खनालले श्रीमती नीरा भट्टराई, मिठू मल्लले छोरा रविप्रकाश मल्ल, दिलबहादुर घर्तीले छोरी ईशा घर्ती, जगदीश्वर नरसिंह केसीले भाइ पर्ने आमोद केसीलाई पीए राखेका छन् ।
आफन्तलाई पीए राख्नेमा एमालेका सभासद् पनि कम छैनन् । दैलेखबाट प्रत्यक्षमा जितेका दुवै सभासद्ले छोराछोरीलाई पीए राखेका छन् । लक्ष्मीप्रसाद पोखरेलका पीए योगेश पोखरेल छोरा हुन् भने अमरबहादुर थापाका पीए नीता थापा छोरी हुन् । बाँकेबाट सभासद् जितेका देवराज भारले श्रीमती विम्पीरानी पन्थी, नवलपरासीबाट सभासद् बनेका जीवन श्रेष्ठले साला चिरञ्जीवी जिसी, बैजनाथ चौधरीले छोरा विजय चौधरी, प्युठानबाट सभासद् बनेका धनबहादुर रायमाझीले छोरा वसन्त रायमाझी, उदयपुरबाट सभासद् बनेकी मन्जु चौधरीले छोरी रन्जना जसराजलाई पीए बनाएका छन् । त्यस्तै, एमालेकै सभासद् रामऔतार पासवानले छोरा चन्द्रदेव पासवान, शकुन्तला राजभण्डारीले भतिज सुधीर कार्कीलाई पीए बनाएका छन् । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद् जितेन्द्र देवले स्वकीय सचिवमा श्रीमती सन्धया मानन्धरलाई राखेका छन् ।
यी त आफन्तलाई पीए राख्ने केही प्रतिनिधिमूलक सभासद् मात्र हुन् । यीबाहेक सभासद्हरू केशरी धर्तीको पीए प्रकाश घर्ती, अनिता देवकोटा का पीए प्रज्ञा देवकोटा, मानबहादुर थारुका जयराम थारु, चन्द्रबहादुर गुरुङका जीना गुरुङ, सीताराम भण्डारीका शिल्पा भण्डारी, जीवनकुमारी घिमिरेका दिव्यकुमारी घिमिरे, प्रकाश पौडेलका दीपेन्द्र पौडेल, तुलसा रानाका जिन्ता राना, उषा गुरुङका विटु गुरुङ, चण्डी राईका विन्दादेवी राई, रञ्जना सरकारका यादव सरकार, ध्यानगोविन्द रञ्जितका युस्मीका रञ्जित, हरिप्रसाद उप्रेतीका सुदीपप्रसाद उप्रेती, धन पहरीका चन्दैराम पहरी, झुलबहादुर आलेका गीता आले, प्यारेलाल रानाका हरिदाश राना, कान्ता भट्टराईका लक्ष्मी भट्टराई, दुर्गा खुनाका विहारी खुना, महिन लिम्बूका सुनिता लिम्बू, ममता गिरीका सुनिता गिरी, हरि नेपालका सीता नेपाल, गणेशसिंह ठगुन्नाका दौलतसिंह ठगुन्ना, धु्रव वाग्लेका अनुराग वाग्ले, भेषकुमार राउतका मेघबहादुर राउत पनि नजिकका आफन्तभित्र पर्ने पीएहरू हुन् । त्यसैगरी, सभासद्हरू तप्तबहादुर विष्टका पीए मञ्जु विष्ट, महेन्द्रबहादुर शाहीका अर्गबहादुर शाही, तुलाराज विष्टका सुशील विष्ट, राजु थापाका सञ्जीव थापा, आनन्दी पन्तका शक्ति पन्त पनि नजिकका स्वकीय सचिव हुन् ।
राजधानी दैनिक पत्रिकाका मालिकसमेत रहेका सभासद् महेन्द्र शेरचनले सोही पत्रिकामा कार्यरत पत्रकार डिल्लीराम आचार्यलाई पीए राखेका छन् ।
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply