भिन्न–भिन्न स्वाद
विश्वव्यापी रूपमा उत्पन्न तनाव, युद्ध र अनेकखाले संकटहरूले ठूला वर्गलाई मात्र आहत तुल्याउँदैन, एउटा सानो सहरमा बसोवास गर्ने निम्न वर्गको परिवारलाई समेत तीव्र असर पुर्याउँछ । विश्वव्यापी रूपमा उब्जिने समस्याबँट कुनै पनि तह र तप्का असम्पृक्त छन् । अग्रज कथाकार किशोर पहाडीको नयाँ कथाकृति ‘मुग्ध सिम्फोनी’भित्रको एउटा कथा ‘अन्तिम श्लोक’ले विश्वव्यापीकरणको फैलिँदो जालोले तेस्रो विश्वका देशहरू र जनतालाई एकतर्फी रूपले बेरिरहेको देखाउन चाहेको छ ।
मूलत: ‘अन्तिम श्लोक’ सहरमा बसोवास गर्ने एउटा निम्न वर्गको कथा हो । करिब डेढ दशकअघि अमेरिकाको ‘ट्विन टावर’माथि हमला भएपछि अमेरिकाले इराकमाथि निशाना साँध्यो । ग्यास र तेलको अथाह भण्डार रहेको इराकमाथि आक्रमण सुरु भएपछि विश्वभर पेट्रोलियम पदार्थको अभाव हुने स्थिति देखा पर्यो । तर, यो कथामा सहरमा बस्ने एउटा निम्न वर्ग मट्टितेल नपाइने र स्टोभ नजल्ने चिन्ताले आतुर छन् । त्यही चिन्ताले ग्रस्त एउटा परिवारले मट्टितेलको जोहोमा लाग्दा झेल्नुपरेको तनावलाई कथाले केन्द्रीय विषय बनाएको छ ।
‘शाश्वत आँशु’ले विगतको द्वन्द्वकालीन नेपाली समाजतिर डोहोर्याउँछ । द्वन्द्वका बेला समाजले भोग्नुपरेको कहर अत्यन्तै दर्दनाक थियो । यो कथामा द्वन्द्वको बेला सेनासित सामान्य भलाकुसारी गरेका एक जना सामान्य व्यक्तिलाई माओवादी छापामारहरूले सुराकीको आरोप लगाएर दिएको यातनाबारे उल्लेख गरिएको छ । विगतमा द्वन्द्वले नेपाली समाज र निर्दोष व्यक्तिहरूलाई कसरी थिल्थिलो तुल्याएको थियो ? त्यही पक्ष उजागर गर्न चाहेको छ । ‘वाल्मीकि’ चाहिँ नैतिक, चारित्रिक रूपले पतित एक जना व्यक्तिमाथि केन्द्रित कथा हो । ०४६ सालअघिको परिवेशमा लेखिएको यो कथाले सहरमा दलाल, ठग मनोवृत्तिका व्यक्तिहरूले सोझो र सामान्य मानिसहरूलाई अनेक बहाना बनाएर ठग्ने गरेको देखाउन चाहेको छ । रत्नाकर नाम गरेका ती ठग व्यक्तिले परिवर्तनपछि विभिन्न पत्रपत्रिकाहरूमा अरूलाई नैतिक उपदेश दिने रचना छपाउन थालेपछि कथाकारले उनलाई ‘वाल्मीकि’को संज्ञा दिएका छन् ।
एउटा सामान्य विषयवस्तु उठान गरिएको कथा हो–‘उत्कण्ठा ।’ यो कथाले सहरिया मध्यम वर्गको स्थिति, पीडा र छट्पटी देखाउने प्रयत्न गरेको छ । खासगरी, एउटा परिवारभित्र छोराले मोटरसाइकल चढ्ने इच्छा व्यक्त गरेपछि उसलाई मोटरसाइकल किनिदिएको तर छोराको काठमाडौं बँहिर जागिर भएपछि मोटरसाइकल त्यत्तिकै थन्किने स्थितिमा पुगेपछि आफ्नै सालाले चढ्न थाल्छ । तर, पछि त्यो मोटरसाइकल बेच्दा सालाचाहिँले मन कुड्याएको प्रसंग कथामा उल्लेख छ । ‘कोही नभएको ऊ’मा सहरका होटलहरूमा कार्यरत श्रमजीवीहरूको अनुहारको विम्ब उतारिएको छ । होटलका श्रमजीवीले कार्यस्थलमा भूलवश कुनै गल्ती गर्दा मालिक वर्गबाट पाइने यातना, तनाव र कष्टहरू कस्ता हुन्छन् ? उनीहरू कसरी पिल्सिइरहेका छन् ? यही पक्षलाई देखाउन चाहेको छ ।
‘खलनायक’ले नेपाली चेलिबेटी बेचबिखनको समस्या उठाउन चाहेको छ । ग्रामीण क्षेत्रका किशोरीहरू कामको खोजीमा राजधानीका गलैंचा कारखानाहरूमा आएर काम गर्ने र गलैंचा कारखानाबाटै दलालहरूको फन्दामा परेर भारतका वेश्यालयहरूमा बेचिने क्रम धेरै पहिलेदेखि चल्दै आएको हो । चेलिबेटी बेचबिखनको प्रवृत्तिलाई उजिल्याउन चाहे पनि यो कथामा कुनै नौलोपन भने झल्किँदैन । किनकि, यो विषयमा यसअघि पनि धेरै साहित्य लेखिइसकेका छन्, चलचित्र र वृत्तचित्रहरू पनि निर्माण भइसकेका छन् । तसर्थ, विषयवस्तुका हिसाबले यो बासी कथा बन्नपुगेको छ ।
‘मुग्ध सिम्फोनी’ मूलत: नेपालको सुदूरपश्चिमी पहाडी क्षेत्रको एउटा यथार्थ व्यथामा लेखिएको सिर्जना हो । अहिले पनि सुदूरपश्चिमका मानिसहरू रोजगारको सिलसिलामा भारतका विभिन्न सहरहरूमा जान्छन् र कतिपयले एड्स लिएर फर्किन्छन् । यो सुदूरपश्चिमको आम समस्या हो । यो कथामा एड्सका कारण आमाको मृत्यु भएपछि र बाबुको पनि कुनै अत्तोपत्तो नभएपछि एउटा परिवारका सदस्यहरूले भोग्नुपरेको बिचल्ली देखाउन खोजिएको छ । र, पिछ्डिएको ग्रामीण समाजका व्यक्तिहरूले भोग्नुपरेको मार्मिक, कटु र क्रुर यथार्थ यो कथामा अभिव्यक्त भएको छ । यसबाहेक उनका मसालाडोसा, मुस्कान, राजधानी, समय सहचर र संज्ञाजस्ता कथाहरू आ–आफ्नो विषयवस्तु र प्रस्तुतिका हिसाबले जमेका छन् ।
सामान्य विषयमा पनि कथा लेख्ने क्षमता भएका पहाडीले केही कथाहरूको टुंग्याउनीमा भने नीतिकथाको झल्को दिने गल्ती गरेका छन् । कुनै पनि नीति/बोधकथाको अन्तिममा कथाले भन्न खोजेको कुरा दिइने चलन छ । पहाडीले ‘अन्तिम श्लोक’मा कथा टुंगिसकेपछि पनि एउटा वाक्य थपेर कथालाई बौर बनाएका छन् । उनले लेखेका छन्–‘यसरी नै आफ्नो घरको समस्या सुल्झेपछि सबैको सुल्झ्यो भनी सोच्छन् मानिसहरू ।’ पुलाउको स्वाद लिइरहँदा अन्तिम–अन्तिमतिर दाँतमा ढुंगा लाग्यो भने के हविगत हुन्छ ?
तथापि, कथालेखनमा स्थापित स्रष्टा पहाडीको यो कथाकृति पूर्ववर्ती कथाकृतिहरूको तुलनामा केही कमजोर रहेको हो कि ? यस्तो प्रतीत हुनु स्वाभाविक लाग्छ । ‘मुग्ध सिम्फोनी’भित्रका केही कथाहरू पढ्दा यो कथा ‘बिशु दाइ’ लेख्ने कथाकारले लेखेका होइनन् भनी सोच्न बाध्य तुल्याउँछ ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply