झोला, डायरी र कलम बोकेर सभासद् टाप
‘संसद सचिवालयले यो के नाटक गरेको होला ?’
गत शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सभासद्हरूबीच निकै गाइँगुइँ चल्यो । शनिबार सांसदहरूको परिचयात्मक कार्यक्रम भनेर खबर पाएका सभासद्हरूले सचिवालयको कार्यशैलीको बाहिर चौरमा खुलेरै आलोचना पनि गरे । ‘पाँच महिनापछि आएर परिचयात्मक कार्यक्रम राख्ने, यस्तो नाटक पनि गर्ने ?’ सांसदहरूको आलोचनामा पनि दम थियो । सचिवालयले बोलाएपछि आउनै पर्यो । भोलि अर्थात् ११ बजे भेटौंला भन्दै पाँच–सात किलो तौलका अध्ययन सामग्री बोकेर त्यस दिन सबै आ–आफ्नो गन्तव्यतिर लागे ।
अघिल्लो संविधानसभाले गरेका सम्पूर्ण कामको स्वामित्व यो संविधानसभाले लिने निर्णय भएकाले शुक्रबार नै सबै सभासद्लाई सोतो झोलामा हालेर अध्ययन सामग्री दिइएको थियो । अघिल्लो संविधानसभामा के–के काम भयो ? कुन–कुन समितिले के–के काम गरे ? के–केमा सहमति जुट्न सकेको छैन ? लगायतका सम्पूर्ण सामग्री त्यहाँ थिए । प्रत्येक समितिका प्रतिवेदन समावेश गरिएको थियो । मधेसीमूलका एक सभासद् भन्दै थिए– ‘बैठकमा नआई घरमै बसेर पढ्दा पनि एक महिना भन्दा बढी लाग्ला जस्तो छ ।’ झोला निकै गहु्रंगो भएकाले कतिपय नेपाली कांग्रेसका सभासद्का सामग्रीको पोका सभासद् सीता गुरुङले आफ्नो गाडीमा हालेर लगिदिएकी थिइन् ।
परिचयात्मक कार्यक्रम भनेको आफ्नो परिचय दिने अरूको परिचय लिने वा सुन्ने हो । आफ्नो नाम, निर्वाचन क्षेत्र, प्रतिनिधित्व गर्ने दलको नाम भन्ने मनस्थिति बनाएर शनिबार संविधानसभा पुगेका सभासद्हरू नराम्रोसँग जिलिल्ए । परिचय दिन गएका सभासद्ले परिचय दिन पाएनन् बरु उल्टै चार घन्टा लामो प्रशिक्षण सुनेर फर्किए । खासमा परिचयात्मक कार्यक्रम भनेर सचिवालयले प्रशिक्षण कार्यक्रम राखेको थियो । प्रशिक्षण कार्यक्रमलाई उद्घाटन सत्र र बन्द सत्र गरी दुई खण्डमा विभाजन गरिएको थियो । सभाध्यक्ष सुवास नेम्वाङको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन सत्रलाई उनीसहित उपाध्यक्ष ओनसरी घर्ती, संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई, प्रवक्ता मुकुन्द शर्माले सम्बोधन गरेका थिए । सभासद्लाई दुई समूहमा विभाजित गरिएको थियो । नेपाली वर्णानुक्रम अनुसार ३ सयसम्म क्रमसंख्या भएकालाई त्यसैदिन दुई समूहमा विभाजित गरेर दुईवटा हलमा छुट्टाछुट्टै प्रशिक्षण दिइएको थियो भने ३ सयभन्दा पछि क्रमसंख्या भएकालाई भोलिपल्ट अर्थात् आइतबार त्यसरी नै दुई समूहमा बाँडेर प्रशिक्षण दिइएको थियो । कार्यक्रममा संसद्को काम कारबाही चाहिँ तपाईहरूलाई परिचय गराउन खोजिएको हो भनेर जानकारी गराएपछि सभासद्हरू मुखामुख गरेका थिए ।
सचिवालयले आयोजना गरेको कार्यक्रम पनि अस्तव्यस्त थियो । उद्घाटन कार्यक्रममा आधा सभासद्ले सहभागी हुन नै पाएनन् । ३ सय १ भन्दा पछि क्रम संख्या भएकालाई आइतबार मात्र बोलाएकाले उनीहरू अघिलो दिनको कार्यक्रमा गएनन् । एमाले सभासद् विशाल भट्टराईले भने– ‘हामीलाई अघिल्लो दिन बोलाइएकै थिएन, हामीले सभाध्यक्षको भाषण नै सुन्न पाएनांै । कि अघिल्लो दिन पनि बोलाउनुपथ्र्यो कि भोलिपल्ट पनि उद्घाटन कार्यक्रम राखिनुपथ्र्यो ।’ यसबारेमा सचिवालयमा पहिले नै गुनासो पुगेको पनि थियो । सचिवालय स्रोतले भन्यो– ‘यो कुरा हामीले सभाध्यक्षलाई जानकारी गराएका पनि हौं, त्यसपछि यसमा केही परिमार्जित पनि भएको थियो तर परिमार्जित सूचना राम्ररी प्रवाह हुन सकेन । ‘इच्छुक’ शब्द राखेर सबैलाई उद्घाटमा बोलाउनुपथ्र्यो ।’ त्यस्तै, सभासद्लाई कार्यक्रममा आउन सचिवालयले एउटा पत्रसमेत नकाटेकोमा पनि सभासद्हरू सन्तुष्ट थिएनन् । शुक्रबारको संसद् बैठकमा कार्यसूचीसँगै सानो सूचना जस्तो चिर्कटो मात्र दिइएको थियो । त्यहाँ सभासद्लाई सम्बोधनसम्म गरिएको थिएन । यसबारेमा संसद् सचिवालयका कर्मचारीलाई सोध्दा आफूहरूबाट कमजोरी भएको स्वीकारे । सचिवालका एक उच्च अधिकारीले भने– दुई दिनको ग्यापको समय उपयोग गरौं भनेर हतारमा कार्यक्रम राखियो, त्यसमा गल्ती भएकै हो, यसलाई आगामी दिनमा सच्याउँदै जानुपर्छ ।’
सभासद्हरूलाई संविधानविद् विपीन अधिकारी र कानुन मन्त्रालयका सहसचिव टेकप्रसाद ढुंगानाले प्रशिक्षण दिएका थिए । संविधानसभा भनेको के हो ? संविधानसभाले कसरी काम गर्छ ? विगतमा संविधानसभाले के–के काम गर्यो, के–के गर्न बाँकी छ ? बाँकी काम किन हुन सकेन ? संविधानसभाको बाहिरी देशको अभ्यास कस्तो छ ? कुन–कुन मुलुकमा संविधानसभा सफल भएको छ ? कहाँ–कहाँ असफल भयो ? असफल भएका ठाउँमा के कारणले असफल भयो ? सचिवालय कसरी चल्छ ? समितिहरू कतिवटा हुन्छन् ? कुन समितिले के काम गर्छन् ? भन्ने जस्ता विषयमा ढुंगानाले प्रशिक्षण दिएका थिए भने अधिकारीले खासगरी व्यवस्थापिका–संसद्सँग सम्बन्धित विषयमा जानकारी गराएका थिए । प्रत्येक समूहमा करिब चार घन्टा चलेको प्रशिक्षणमा १ घन्टा सभासद्सँग प्रश्नोत्तर गरिएको थियो । अधिकांश नयाँ सभासद्ले प्रशिक्षकसँग संविधानसभा कहाँ–कहाँ सफल भयो, कहाँ–कहाँ असफल भयो ? नेपालमा विगतमा किन असफल भयो ? भन्ने जिज्ञासा राखेका थिए । प्रशिक्षण सकिएपछि केही सभासद्ले प्रशिक्षकको आलोचना पनि गरेका थिए । जेमा पनि आफंैलाई मात्र जान्ने जस्तो गरी प्रस्तुत हुने एनेकपा माओवादीका सभासद् रामनारायण बिडारीले संविधानविद् विपीन अधिकारीको आलोचना गरेका थिए । बिडारीले आफ्ना साथीहरूका बीच अधिकारीको कटाक्ष गर्दै भने– ‘यो मान्छे प्रेसिडेन्सियल व्यवस्थाको विरोधी रहेछ, पार्लियामेन्टियल व्यवस्थाको पक्षपाती रहेछ ।’
दोस्रो दिन क्रम संख्या ४ सय ५० देखि माथिका सभासद्हरूको प्रशिक्षणमा केही सभासद्ले ‘ककस’ को पूरा नाम सोधेर प्रशिक्षक ढुंगानालाई हैरान पारेका थिए । ‘कोट’ को पूरा नाम के हो ? त्यस्तै हो ककस भनेको भन्दै हलकै केही सभासद्ले सहकर्मीको जिज्ञासा मेटाएका थिए ।
प्रशिक्षण कार्यक्रममा केही सभासद्ले कार्यक्रमको विषयवस्तु भन्दा बाहिर गएर केही आफूहरूलाई दिइएको ट्याक्सी भाडा, घर भाडा, पत्रपत्रिका खर्च कम भएको गुनासो प्रशिक्षकसामु गरेका थिए । यस्तो गुनासो गर्नेहरूमा एमालेका शेरबहादुर तामाङ, सुवासचन्द्र ठकुरीलगायत कांग्रेस र मधेसवादी दलका केही सभासद् थिए । प्रशिक्षकहरूले ‘यो हाम्रो सरोकारको विषय होइन, त्यो लागू गर्ने छुट्टै प्रक्रिया हुन्छ, त्यो निकायमा हामी छँदा पनि छैनौं’ भनेर आएका गुनासो सम्बोधन गरेका थिए ।
प्रशिक्षण कार्यक्रममा सहभागी सभासद्लाई संसद्को बैठकका दिन जस्तै उपस्थितिमा हाजिरी गराइएको थियो । हाजिर गर्ने सभासद्लाई झोला, डायरी र कलम बाँडिएको थियो । तर, कार्यक्रममा सभासद्को उपस्थिति न्यून थियो । दुई दिनमा चार समूहमा विभाजित गरेर चलाइएको कार्यक्रममा प्रत्येक समूहमा १ सय ५० हाराहारीमा सभासद्लाई बाँडिएको थियो । तर, एउटा समूहमा उपस्थित सभासद्को संख्या करिब ७०–८० जनाको हाराहारीमा मात्र थियो । त्यसमध्ये पनि कतिपय त झोला, डायरी र कलम पाएपछि बाहिरिएका थिए । सचिवालयका ती सदस्यले भने– ‘हामीले सबैलाई बोलाए पनि पुराना सभासद्लाई त्यहाँ दिइएको प्रशिक्षण लिनु खासै जरुरी थिएन । हामीले करिब साढे तीन सय जनाको उपस्थितिको अपेक्षा गरेका थियौं । सिक्ने कुरा सम्बन्तिध व्यक्तिको चाहनामा निर्भर हुने कुरा हो, त्यसमा अरू के भनांै ?’ सहभागीहरूलाई दिउँसो खाजाको व्यवस्था गरिएको थियो । प्याकेटको खाजामा स्याउ, निम्की, मिठाई, स्यान्डविच र फ्रुटी राखिएको थियो ।
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply