संविधानसभाप्रति सुरुमै सभासद्को अरुचि
काठमाडौं । गत माघ १२ गते बसेको व्यवस्थापिका–संसद्को पहिलो बैठकमा अघिल्लो संविधानसभा अवसान भएको विषय कोट्याएर सबैभन्दा बढी आत्मालोचित हुने नेता थिए–एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल । अघिल्लो संविधानसभामा सबैभन्दा ठूलो आफ्नो दलले यस पटक नराम्रो पराजय भोग्नुपरेको पीडामिश्रित स्वरमा दाहालले पटक–पटक एउटै कुरा दोहोर्याएका थिए– ‘अघिल्लो पटक संविधानसभालाई हामीले पूरै बेवास्ता गर्यांै, सभासद्लाई थाहै नदिई संविधानसभा विघटन गर्यौं, यस पटक यस्तो गल्ती दोहोरिन नदिऔं ।’
तिनै दाहाल अहिले संविधानसभा तथा संसद्का बैठकमा यदाकदा मात्र झुल्कन्छन् । माघ ८ गते संविधानसभाको पहिलो बैठक बसेयता माघ र फागुनमा संविधानसभाका १० र व्यवस्थापिका–संसद्का १५ गरी २५ वटा बैठक बसिसकेका छन् । माघ महिनामा ८, १५, २२, २७ र २९ गते संविधानसभा र १२, १३, १४, १५, १९, २२, २४ र २७ गते संसद्को गरी जम्मा १२ बैठक बसेका थिए । त्यस्तै, फागुनमा ४, ६, ८, १४, २० र २९ गते संविधानसभा तथा २, ९, १२, १३, १९, २२ र २६ गते संसद् बैठक गरी जम्मा १३ बैठक बसेका थिए । माघमा बसेका जम्मा १२ बैठकमध्ये ९ मा हाजिर भएका दाहाल फागुनमा बसेका १३ बैठकमा ४ दिन मात्र उपस्थित भए ।
एमाओवादीकै अर्का नेता बाबुराम भट्टराई माघमा ९ दिन हाजिर भए भने फागुनमा १० दिन । टोपबहादुर रायमाझी फागुनमा जम्मा ५ वटा बैठकमा सहभागी भए भने हरिबोल गजुरेलले ३ वटा बैठकमा मात्र सहभागिता जनाए । माघमा भने गजुरेल ८ वटा बैठकमा गएका थिए ।
संसद् सचिवालयले हरेक महिनाको अन्तिममा सभासद्हरूको हाजिर रुजु गर्ने गर्छ । प्रत्येक महिनामा तलब सँगै बैठक भत्तालगायतका सेवा सुविधा पनि दिनुपर्ने भएकाले महिनाको अन्तिममा बैठकमा भएका हाजिरी रुजु गर्ने गरिएको सचिवालयले जनाएको छ । त्यसैले, अहिले सचिवालयसँग माघ र फागुन महिनाको मात्र रुजु गरिएको हाजिरी विवरण छ । सो हाजिर विवरण हेर्दा माओवादीबाहेकका राजनीतिक दलका शीर्ष नेताहरू संविधानसभा तथा व्यवस्थापिका–संसद्का बैठकप्रति संवेदनशील भएको पाइन्छ । नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल माघमा बसेका १२ मध्ये ११ मा र फागुनका बसेका १३ मध्ये १३ वटै बैठकमा उपस्थित छन् । त्यस्तै, वरिष्ठ नेता माधवकुमार नेपाल पनि माघमा ११ वटा बैठकमा उपस्थित थिए भने फागुनमा १३ वटै बैठकमा उपस्थित छन् । माघमा बसेका सबै दिनका बैठकमा उपस्थित संसदीय दलका नेता केपी शर्मा अस्वस्थताका कारण फागुनमा भने बैठकमा उपस्थित हुन सकेनन् । उनी फागुनमा जम्मा ३ वटा बैठकमा मात्र उपस्थित भएका थिए ।
नेपाली कांग्रेसका शीर्ष नेताहरू संसद् तथा संविधानसभा बैठकमा त्यति नजाने नेताभित्रै पर्छन् । प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता सुशील कोइरालाको उपस्थिति प्रधानमन्त्री भएपछि कम हुन थालेको छ । माघमा १० वटा बैठकमा हाजिरी गरेका उनको फागुनमा ५ वटा बैठकमा मात्र हाजिरी छ । संसद्मा सबैभन्दा कम देखिने नेता को हो ? भनेर सोध्यो भने हाजिरी नै नहेरी संसद्का कर्मचारीले शेरबहादुर देउवाको नाम लिन्छन् । माघमा ८ वटा बैठकमा संविधानसभा भवन पुगेका देउवा, प्रधानमन्त्रीमा सुशील कोइराला निर्वाचित भएपछि भने त्यहाँ जान पातलिन थालेका हुन् । फागुनमा उनी ६ वटा बैठकमा गए पनि त्यसयता झुल्किएकै छैनन् । बैठकमा नजाने अर्का नेता प्रदीप गिरी हुन् । उनी माघमा जम्मा १ वटा बैठकमा मात्र गएका थिए । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार दुवै महिनामा १०–१० वटा बैठकमा उपस्थित भए । संघीय समाजवादीका अध्यक्ष अशोक राई पनि संसद्का बैठकमा कमै देखिन्छन् । माघमा उनी ८ वटा बैठकमा मात्र उपस्थित थिए ।
बाबु–छोरा उदाहरण
राप्रपाका अध्यक्ष सूर्यबहादुर थापा संसद्का ज्येष्ठ सदस्य हुन् । ज्येष्ठ सदस्य भएकै कारण संसद्ले सभाध्यक्ष निर्वाचित नगरुन्जेल उनैले सबै बैठकको अध्यक्षता गरे । ८६ वर्षको उमेरमा पनि समय र जिम्मेवारीप्रति अत्यन्तै संवेदनशील देखिएका उनी कहिल्यै बैठकमा अनुपस्थित भएनन् । छोरा सुनिलले पनि बाबुको पदचाप पछ्याएका छन् । उनी पनि यी दुवै महिना एउटै बैठकमा पनि गयल भएका छैनन् ।
अरू पनि छन्, जो गयल छैनन्
केही राजनीतिक पार्टीका शीर्ष नेता संविधानसभा र संसद्का बैठकमा गयल हुने गरे पनि बैठकमा गयल नहुने सभासद्को संख्या पनि उल्लेख्य छ । फागुनका १३ बैठकमा गयल नै नहुने सभासद् ७१ जना थिए । सभासद्हरू अकवाल शाह, अनुराधा थापा, अशोक कोइराला, अमृत बोहरा, कान्ता भट्टराई, कमला दोङ, गंगा चौधरी, गोपाल दहित, गीता क्षेत्री, गणेशमान गुरुङ, खड्गबहादुर बस्याल, कृपासुर शेर्पा, केदार सञ्जेल, कुलबहादुर गुरुङ, टेकबहादुर बस्नेत, झलनाथ खनाल, जुठबहादुर खड्गी, जुनैद अन्सारी, जीवन परियार, जीवनबहादुर शाही, जयन्त चन्द, जयन्ती राई, चीनकाजी श्रेष्ठ, चन्द्रबहादुर गुरुङ, चन्द्र महर्जन, चण्डी राई, दीपशिखा ढकाल, दिलनाथ गिरी, तप्तबहादुर विष्ट, डिलबहादुर नेपाली, पेम्वा लामा, धना पहरी, नेजमा आलम, पदुमनारायण चौधरी, भरतमोहन अधिकारी, विक्रम पाण्डे, बलवीर चौधरी, फरमूल्लाह मन्सुर, प्रेमबहादुर सिंह, मानबहादुर विश्वकर्मा, माधवकुमार नेपाल, मधु शाही, मदन अमात्य, भानुभक्त ढकाल, भास्कर भद्रा, राज्यलक्ष्मी श्रेष्ठ, राजेन्द्र पाण्डे, राजेन्द्र केसी, रवीन्द्र अधिकारी, रवीन्द्रप्रताप शाह, यशोदा कुुमारी लामा, लक्ष्मी थापा पासवान, लक्ष्मण राजवंशी, ललिता रेग्मी, रुक्मीणी चौधरी, रुपा मर्हजन, रामहरि खतिवडा, रामेश्वर ढुंगेल, रामवीर मानन्धर, विष्णुमाया परियार, विनोद श्रेष्ठ, विदुर सापकोटा, सीता नेपाली, सीता लुइँटेल, सीता गुरुङ, सावित्रा चौधरी, शेखर कोइराला, शिवचन्द्र चौधरी, शिवजी यादव, शिवलाल थापा, हृदयराम थानी, श्रवण कुमार अग्रवाल, संगिता मण्डल, सुशील श्रेष्ठ र सुवास नेम्वाङ प्रत्येक बैठकमा उपस्थित थिए । तर, सभासद्हरू प्रेम आले, सुरेन्द्र चौधरी र शम्भु पासवान हजारी यो महिनामा एउटा मात्र बैठकमा उपस्थित थिए ।
सुरुमा आकर्षण
संविधानसभा तथा व्यवस्थापिकाका बैठकहरूमा सुरु–सुरुका दिनमा सभासद्हरूको आकर्षण धेरै भए पनि विस्तारै पछिल्ला दिनमा घट्दै जान थालेको देखिन्छ । फागुन महिनामा सबै बैठकमा उपस्थित हुने सभासद् ७१ जना भए पनि माघमा भएका सबै बैठकमा ३ सय १४ सभासद् उपस्थित थिए । कुल ५ सय ७१ सदस्य रहेको संविधानसभामा सुरुमा शीर्ष नेताहरूको उपस्थित पनि बाक्लै थियो ।
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply