खनालको प्रश्नले अधिकारी छक्क
काठमाडौं । दलको कार्यालय अव्यवस्थित भएकै कारण नेकपा (एमाले) ले संविधानसभा तथा व्यवस्थापिका संसदका बैठकमा आफूलाई प्रभावकारी र हस्तक्षेपकारी रुपमा प्रस्तुत गर्न सकेको छैन । संविधानसभामा दोस्रो ठूलो शक्ति भए पनि दल नेताको अस्वस्थता र दल कार्यलयको अपूर्णताकै कारण एमालेको भूमिका अप्रभावकारी देखिएको गुनासो एमालेकै सभासद्हरुले गर्न थालेका छन् ।
दलको नेताका निर्वाचित भए लगत्तै विरामी परेका केपी ओली डेढ महिना लामो उपचार पछि बल्ल गत साता नेपाल फर्किएका छन् । उनकै अस्वस्थताको कारण देखाएर एमालेले न उपनेता चयन गरेको छ न त संसदको प्रमुख सचेतक, सचेतक नै । यो अवस्थामा पार्टी अध्यक्ष आफै सभासद् पनि भएकाले उनैले संसदीय र संबैधानिक काम कार्वाहीमा पार्टीको भूमिका शसक्त बनाउनु पर्नेमा त्यसो हुन नसकेको बताइन्छ ।
संविधानसभाले संविधान लेखनको कामलाई सहज र व्यवस्थित बनाउनका लागि पाँच समिति गठन गरेको छ । तर, ती समिति गठन भएको तीन हप्ता वितिसक्दा पनि समितिका सभापतिहरुको चयन हुन सकेको छैन । भएकामध्ये कुन समिति बढी महत्वको हो, पार्टीले कुन समितिको सभापतिमा आफ्नो दावी प्रस्तुत गर्नुपर्ने हो जस्ता विषयमा यो अवस्थामा अध्यक्षले नै भूमिका प्रदर्शन गनुपर्ने एमालेका एक सभासद्ले बताए । उनले भने– ‘तर यी सबै कुरामा उहाँलाई गम्भीर चासो नै देखिदैन ।’ हरेक समितिमा पार्टीका सभासद्हरुको भागवण्डा गरिएको छ तर दल नेता विदेश भएको, उपनेता, सचेतक नतोकिएको बेला भागवण्डाको त्यो काम कसले गर्यो भन्ने कुरा अरु त परै जाओस्, संविधानसभामा रहेका पार्टीका स्याथी समिति सदस्यले पनि कुनै पत्तो पाएनन् । ‘मलाई मस्यौदा समितिमा राखिएको रहेछ, सभामूखले नाम पढेपछि पो थाहा पाँए’– स्थायी सदस्य समेत रहेका सभासद् भरतमोहन अधिकारीले भने ।
अहिले संविधानसभामा गठित पाँच समितिमा हरेक दिन जसो सभापति छान्न बैठक बस्ने गरे पनि हरेक बैठक निरर्थक बनेका छन् । हरेक समितिमा जेष्ठ सदस्यले बैठकको अध्यक्षता गर्दै आएका छन् । राजनैतिक संवाद तथा सहमति समितिको सूर्यबहादुर थापा, नागरिक सम्वन्धन तथा सुझाव संकलन समितिको लिला कोइराला, मस्यौदा समितिको भरतमोहन अधिकारी, अभिलेखन अध्ययन तथा निक्र्यौल समितिको कुलबहादुर गुरुङ र क्षमता अभिवृदि तथा स्रोत व्यवस्थापन समितिको सिद्घिलाल सिंहले अध्यक्षता गर्दै आएका छन् ।
यीमध्ये सबैभन्दा महत्वपुर्ण समितिका रुपमा राजनैतिक संवाद तथा सहमति र मस्यौदा समितिलाई लिइन्छ । यी दुईमा एमाओवादी र कांग्रेसले दावी प्रस्तुत गरिसकेका छन् तर एमालेको प्रस्ट दावी नै छैन । एमाले का एक सभासद्ले भने –‘एमाओवादीले राजनीतिक संवाद समितिमा दावी गरेको छ, उसलाई संविधान लेखनको काममा सहयोगी बनाउन उक्त समितिको सभापति दिने हो भने पनि मस्यौदा समितिमा एमालेले दावी गर्नुपर्छ तर कांग्रेस दावी गरिरहेको छ, एमाले मौन छ ।’ राष्ट्रपति, प्रधानमन्त्री काँग्रेसको भएपछि संविधानको मस्यौदा लेखनको महत्वपूर्ण काममा एमालेले नेतृत्व गर्नुपर्ने अधिकांश सभासद्को भनाइ छ । तर, अचम्म त के छ भने, सभापति चयनमा सहमति नजुटेकाले निर्वाचनवाटै यसको छिनोफानो लगाउने तयारी भईरहेका बेला काँग्रेसका केही नेताले आफू फलानो समितिको सभापति भनेर स्वघोषणा गरिसकेका छन् । मस्यौदा समितिका रहेका काँग्रेसका रामचन्द्र पौडेलले सो समितिको बैठकमै ‘ अहिले भरतमोहनजीले अध्यक्षता गरेपनि यो समितिको सभापति मै हुँ’ भनेर घोषणा गरेका थिए । माधवकुमार नेपालले राजीनामा दिएपछि अवको प्रधानमनत्री मै हुँ भन्दै एमालेका विभिन्न नेताको घरमा पुगेर मन्त्रालय बाँडेका पौडेलले मस्यौदा समितिको बैठकमा आफूलाई आफैले सभापति घोषणा गर्दा हलका सदस्यले हाँसो थाम्न सकेका थिएनन् ।
महत्व हेरेर समितिको सभापतिमा दावी प्रस्तुत गर्नुपर्ने यो बेला चनाखो बन्नुपर्ने अध्यक्ष खनाललाई पार्टीका स्थायी समितिका नेता कुन समितिमा छन् भन्ने कुराको समेत पत्तो छैन । जेष्ठ सदस्यका नाताले भरतमोहन अधिकारीले मस्यौदा समितिका तीन वटा बैठकको अध्यक्षता गरिसकेका छन् । तर गत शुक्रवार पार्टी केन्द्रिय कमिटीको बैठक स्थगित गरेर बाहिरिदा अध्यक्षले अधिकारीलाई ‘तपाई कुन समितिमा हनुहुन्छ रे ?’ भनेर सोध्दा अधिकारी छक्क परेका थिए । यहि बैशाख १५ गतेभित्र सबै समितिले सभापति चुनिसक्नु पर्नेछ । त्यसका लागि दलहरुवीच सहमतिको प्रयास भए पनि त्यो सफल भएको छैन । सहमति नजुटेपछि अब निर्वाचन वाटै सभापति चयनका लागि कतिपय समितिले सभामुख समक्ष सिफारिस पनि गरिसकेका छन् ।
तर, अन्तिम सम्म पनि सहमतिको प्रयास भने भइरहने बुझिएको छ । सहमति बन्दा अहिलेसम्मको एमालेको निस्क्रियताले उसले अभिलेखन अध्ययन तथा निक्र्यौल समिति पाउने सम्भावना रहेको बताइन्छ । यो समितिको काम अघिल्लो संविधानसभामा भएका सहमति र असहमतिका बुादा केलाएर सिफारिस गर्ने मात्र हो । त्यसपछि यसको काम सिधिन्छ ।
बुढो हुनुको फाइदा
उमेर कम हुनु वा वढि हुनुको आ आफ्नै फाइदा हुँदोरहेछ भन्ने कुरा संविधानसभामा पनि देखिएको छ । सभापति चयनमा हुने असहमति र अलमलको फाइदा जेष्ठ सदस्यहरुले लिदै आएका छन् । संविधानसभाले अध्यक्ष चुन्नुअघि जेष्ठ सदस्य भएकै कारण झण्डै एक महिना संविधानसभा तथा व्यवस्थापिका संसदको अध्यक्षता सुर्यबहादुर थापाले गरेका थिए । अहिले पनि उनी बसेको राजनीतिक सहमति तथा संवाद समितिको अध्यक्षता गरिरहेका छन् । त्यस्तै अन्य चार बटा समितिमा पनि जेष्ठ सदस्य भएकैले अध्यक्षता गर्ने अवसर पाउनेहरुमा भरतमोहन अधिकारी, कुलबहादुर गुरुङ, लीला कोइराला र सिद्धिलाल सिंह छन् ।
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply