आठ न्यायाधीशमाथि ५३ उजुरी आर्थिक लेनदेनदेखि बहुविवाहसम्म
काठमाडौं । सर्वोच्च अदालतको स्थायी न्यायाधीशका लागि न्याय परिषद्ले सिफारिस गरेका आठ न्यायाधीशमाथि ५३ वटा उजुरी परेका छन् । व्यवस्थापिका संसद अन्तर्गतको संसदीय विशेष सुनुवाई समितिमा परेका ती उजुरीमाथि भोलि बिहीबार बस्ने समितिको बैठकले काम–कारवाहीको प्रक्रिया सुरु गर्ने भएको छ ।
समितिको बैठक बुधबार बस्ने भनेर समितिले समितिअन्तर्गतका सदस्यलाई पठाउने पत्र तयार पारे पनि अचानक एक दिन पर सारिएको छ । बिहीबार बस्ने बैठकमा समितिका सदस्यहरूलाई न्यायाधीशमाथि परेका उजुरीको कपी बाँडेपछि यसको कारवाही प्रक्रिया सुरु हुने बताइएको छ । उजुरीको पद्धति हेरी समितिले उजुरी उपर अध्ययन गर्न उपसमिति गठन गर्ने, आरोपित न्यायाधीशलाई बैठकमा डाकेर आफूमाथि लागेका उजुरीको प्रष्टीकरण दिने व्यवस्था छ । समितिका दुई तिहाई सदस्यले अयोग्य ठहर गरेमा मात्र परिषद्को निर्णय उल्टन सक्ने संसदीय नियमावलीमा व्यवस्था गरिएको छ ।
५३ उजुरीमध्ये सबैभन्दा बढी गोपाल पराजुलीमाथि परेका छन् । उनीमाथि आर्थिक लेनदेनदेखि बहुविवाहसम्मका उजुरी परेको छ । उजुरीकर्ताले उनले चारपटक विवाह गरेको उल्लेख छ । त्यस्तै उनीपछि सबैभन्दा बढी चोलेन्द्र शमशेर रानामाथि १०, वैद्यनाथ उपाध्यायमाथि सात, गोविन्दकुमार उपाध्यायमाथि चार, दीपकराज जोशी, देवेन्द्र गोपाल श्रेष्ठ र जगदीश शर्मा पौडेलमाथि तीन–तीन र ओप्रकाश मिश्रमाथि दुईवटा उजुरी परेका हुन् । अधिकांश उजुरी चिठी र फ्याक्स र केही टेलिफोनबाट दर्ता भएको संसद सचिवालयका सहसचिव धु्रव घिमिरेले बताए ।
समितिले उजुरीकर्ताका अपेक्षालाई २० वटा बुँदामा एकीकृत गरेको छ । ती अपेक्षाहरूमा सर्वोच्च न्यायाधीश हुन कम्तिमा कानुनमा स्नातकोत्तर हुनुपर्ने, सर्वोच्चमा साढे तीन वर्षदेखि स्थायी न्यायाधीश नियुक्त नभएको विषय जाँचबुझ गरिनुपर्ने, न्याय परिषद्ले गठन गर्नुपर्ने, पुनरावेदन अदालत जुम्लामा मुख्य न्यायाधीश एकराज आचार्यले दिएको राजीनामालाई दानविनको दायरामा ल्याइनुपर्ने लगायत छन् ।
के माथि के उजुरी ?
बैद्यनाथ उपाध्याय
१. वादी अजुद्धबहादुर र प्रतिवादी शोभा राई भएका अंश मुद्दामा ललितपुर जिल्ला अदालतको फैसला उपर पुनरावेदन अदालतमा न्यायाधीश वैद्यनाथ समेतले मुद्दा २०६६/१२/२९ मा फैसला गरेको उक्त फैसला उपरको मुद्दा निजले सर्वोच्चमा पनि हेरी गम्भीर आचरण उल्लंघन गरेको ।
२. निजले राजविराजमा रहँदा बालकृष्ण ढुंगेललाई सफाइ दिएर ठूलै धनराशी कुम्लाएको ।
३. ठमेलका व्यापारीलाई २० वर्षअघि सगरमाथा राष्ट्रिय निकुञ्जले फैसला गरी कैद गरेको मुद्दामा उक्त फैसला अन्तिम रहँदा रहँदै पनि गलत व्याख्या गरी बन्दीप्रत्यक्षीकरणबाट कैदी छाडेको ।
४. सिनियरसँगको इजलासमा आफ्नै राय नराख्ने गरेको (रिट नं. ०६७ ध्क् ०५७) ।
५. निर्णय गर्ने क्षमता नभएको (रिट नं. ध्क् ०५७) ।
६. सर्वोच्च अदालतमा अस्थायी न्यायाधीश रहँदा विशेष अदालतबाट फैसला भएका भ्रष्टाचार मुद्दामा दोहोरो मापदण्ड कायम गरी पूर्वाग्रह राखी फैसला गरेको ।
८. निजको फैसला विभेदकारी रहेको ।
गोपाल पराजुली
१. गोपाल पराजुलीले बहुविवाह गरेको तथा कारागार निरीक्षणको नाममा अपराधीलाई कानुनविपरीत छुटाएको ।
२. निजको प्रधान न्यायाधीशको रोल सुनिश्चित गर्नका लागि प्रकाश वस्तीलाई स्थायी नगरिएको ।
३. पुनरावेदन अदालतको न्यायाधीश रहँदा निज पटक पटक विवादमा परेको ।
४. निजलाई उक्त पदमा गरिएको सिफारिस कानुन, न्याय र चरित्रको हिसाबले अनुपयुक्त र गैरकानुनी रहेको छ ।
५. मिति २०७०/११/२२ गते विराटनगर पुनरावेदन अदालतको अनुगमनका लागि सर्वोच्च अदालतमा आउनुभएका न्यायाधीश वैद्यनाथ उपाध्याय समक्ष पुनरावेदन बार विराटनगरले आयोजना गरेको कार्यक्रममा लेखेर तथा बोलेर गोपाल पराजुलीको विरुद्धमा उद्धव केसीले उजुरी पत्र पेश गरेको ।
६. मिति २०७० साल चैत २६ गते विराटनगरको हुलाकमार्फत् न्यायपरिषद् सदस्य खेमनारायण ढुंगाना, न्यायाधीश रामकुमारप्रसाद साह र कानुन मन्त्री नरहरी आचार्यको नाममा उद्धव केसीले उजुरी पत्र पेस गरेको ।
७. निजले सुनसरी जिल्ला अदालतबाट फैसला भएको कीर्ते जालसाजीमा एक मानिसको मुद्दा १८ पटक आफ्नो इजलासमा पारी गलत निर्णय गरेको ।
८. नेपाल कम्पनी बजारमा अध्यक्ष किरण सिंह बस्नेतउपर निजको घरमा काम गर्ने उर्मिला राजवंशीको हत्याको अभियोग लागेका ज्यान मुद्दा हाल मोरङ जिल्ला अदालत विराटनगरमा कारवाहीयुक्त अवस्थामा छ । थुनछेकको क्रममा बस्नेतलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश भयो । तर न्यायाधीश गोपाल पराजुलीले थुनाबाट मुक्त गर्ने आदेश गरे । पराजुलीले गरेको उक्त आदेशलाई सर्वोच्चले बदर गरेको समाचार प्राप्त भएको छ । उक्त हत्याको घटनाले लामो समयसम्म विराटनगरलाई हलचल बनाएको थियो । हत्याको समाचार विराटनगरबाट प्रकाशित उद्धोष दैनिकले मिति २०६९ साल असोज २३ गते मंगलबार प्रकाशित गरेको थियो ।
९. विराटनगरबाट पाटनको पुनरावेदन अदालत जानेक्रममा पराजुलीलाई बिदाई गर्न राखिएको कार्यक्रममा निज असल मानिस होइनन् भनेर कानुन व्यवसायीहरूले गरेको विरोधको अर्को प्रमाण विराटनगरबाट मिति २०७० साल मंसिर २४ गते सोमबार प्रकाशित जनआस्था नामक समाचार पत्रको पहिलो पृष्ठमा छापिएको खबरबाट पनि पुष्टि हुन्छ ।
१०. निजले चार पटक विवाह गरेका रहेछन् । त्यसरी पटक–पटक विवाह गर्नुपर्ने कारण के होला ? त्यसरी पटक–पटक विवाह गर्ने व्यक्ति अदालतको कुनै पनि तहमा सामान्यतया बस्न अयोग्य ठहरिन्छ ।
११. पुनरावेदन अदालत पाटनका मुख्य न्यायाधीश गोपाल पराजुलीले मुद्दाको अनुसन्धान र विश्लेषण नै नगरी रेखा देवी मिश्रको स्त्रीधन नष्ट गरिदिएका ।
१२. निजको छवि अत्यन्तै विवादित भएको, निजले कार्य सम्पादन गरेका सबै स्थानमा घुस प्रकरणमा निज बदनाम भएको र स्थानीय वार एशोसिएसनसँग सदा खटपट भएको, नियुक्तिको सिफारिस हुनु अघि र पछि देवघाटलगायतका स्थानमा विवादास्पद कार्य गरेको भनी सार्वजनिक रुपमा प्रकाशित भएको सो समेत निजविरुद्ध न्यायपरिषद्मा परेका सम्पूर्ण उजुरी र निजको व्यक्तिगत फायलसमेत मगाई हेरी निजको नाम अस्वीकृत गर्नुपर्ने ।
१३. निजले पुनरावेदन अदालत पाटनबाट एकै विषय समावेश भएको एउटै खोलाको दुई अलग अलग हाइड्रोपावर सम्बन्धी मुद्दामा सम्वत् २०७० सालको निवेदन नं. ०५५२ मा अन्तरिम आदेश नदिने र २०७० सालकै रिट नं. ७७८ मा अन्तरिम आदेश जारी हुने भनी गरेको आदेशमा करोडौं आर्थिक चलखेल भएको हुनसक्ने देखिँदा उक्त दुवै मुद्दाको फायल मगाई हेरिनुपर्ने ।
१४. निजले पोखरा र विराटनगरमा रहँदा गरेका अन्य विवादास्पद निर्णयहरू र तत्सम्बन्धमा प्रकाशित तथ्यहरू समेत हेरी बुझ्नुपर्ने ।
१५. पुनरावेदन अदालत पाटनको बाणिज्य इजलासबाट फैसला भएको गोर्खा डेभलपमेन्ट बैंकसँग सम्बन्धित बैंक कसुर मुद्दा नं. १८०,१८२,१८३, १८५ लगायत मुद्दासँग सम्बन्धित फाइलहरू लामो समयसम्म आफ्नो नियन्त्रणमा राखी प्रतिवादीसँग मिलोमतो गरी बाणिज्य सम्बन्धी जानकारी नै नभएका न्यायाधीशहरूको इजलासमा पारेको ।
१६. निजले आफ्नो मितको पोखरा फुलबारी रिसोर्टको मुद्दा फैसला गरेको ।
१७. गोंगबुको मोहियानी लागेको जग्गा खरीद गरेर पदीय दुरुपयोग गरी मोही छुटाई अनुचित लाभ लिएको ।
१८. नियुक्ति सिफारिसको लगत्तै तीन जना प्रस्तावित न्यायाधीश गोपाल पराजुली, चोलेन्द्र शमशेर र जगदीश शर्मा पौडेलसहित प्रधान न्यायाधीश त्रिवेणीधाम तिर्थाटनका नाममा २०७१/१/११ मा चितवन नारायणगढमा गई होटल गंगोत्रीमा बसेको र त्यहाँको आतिथ्य कहलिएका दुई बिचौलियाबाट भएको ।
१९. २०७० चैतको राम नवमीमा दिन बारा, जीतपुरको आफूले स्थापित गरेको मीन्दर मोटर बाटोबाट गएका र सोही साधनबाट फर्कनेक्रममा रहेका वर्तमान प्रधानन्यायाधीशसहितको टोलीलाई सोही दिन हवाईजहाजबाट सिमरा पुगेका पुनरावेदन अदालत पाटनका मुख्य न्यायाधीश गोपाल पराजुली (हाल सर्वोच्च अदालतका लागि प्रस्तावित) ले टिकट काटी हवाइजहाजबाटै फर्काएको ।
२०. पुनरावेदन अदालत विराटनगरबाट मु.नं. ०४–०६७–०१२३४ नि.नं. २४० मा गैरकानुनी त्रूटिपूर्ण आधारहरू लिई निर्णय गरेको ।
२१. बलात्कार गरी ज्यान मारेको अभियोग लागेका किरण सिंह बस्नेत समेतलाई पुनरावेदन अदालत मोरङका न्यायाधीश हुँदा कानुनविपरीत गैरजिम्मेवारी तरिकाले अभियुक्तलाई थुनाबाट उन्मुक्ति दिएको ।
दीपकराज जोशी
१. न्यायाधीशका लागि सिफारिसमा परेका दीपकराज जोशी आफैंमा कारवाहीको लागि सिफारिस भएका, आर्थिक अपचलनको दाग बोकेका व्यक्ति भएको ।
२. २०६१ सालमा सर्वोच्चका न्यायाधीश भैरव लम्साल तथा बलराम केसीको इजलासले थुन्नुपर्ने लागू औषधको अभियुक्तलाई छाडिदिएको भन्दै त्यतिबेला इलाममा कार्यरत न्यायाधीश दीपकराज जोशीमाथि कारवाही गर्न न्यायपरिषद्लाई सिफारिस गरेको ।
३. परिषदका सदस्य तथा सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश रामकुमारप्रसाद साहले निजको नाम सिफारिस भएकामा असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका ।
गोविन्दकुमार उपाध्याय
१. पियनको तलव आफैं खाने गरेको, आफ्नो पदीय मार्यादा विपरीतका क्रियाकलाप गरेको ।
२. ताप्लेजुङ जिल्लान अदालतको ज्यान मार्ने उद्योगको मुद्दामा पुनरावेदन अदालत इलामबाट सर्वोच्चमा पुनरावेदन गर्दा १९४ नं. को सुविधा (कैद नबसिकन मुद्दा लड्न पाउने) नदिए उपरको निवेदनमा सर्वोैच्च अदालतका न्यायाधीश रामकुमार शाहको बेञ्चबाट १०४ नं. को सुविधा नदिने आदेश बदर गरी गम्भीर कानुनी त्रुटी भएको न्यायिक टिप्पणी भई आदेश बदर भएको ।
३. न्यायाधीश अनुकूल आचरण नगरेको, स्त्री जाती भनेपछि भुतुक्कै हुने ।
४. परिषद्का सदस्य तथा सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश रामकुमारप्रसाद साहले गोविन्दकुमार उपाध्यायको नाम सिफारिस भएकामा असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका ।
ओमप्रसाद मिश्र
१. निज राजविराज पुनरावेदन अदालतमा न्यायाधीश रहँदा आफ्नो पेट वकिलहरूमार्फत् झगडियाबाट रकमहरू लिई अकूत सम्पत्ति कमाएको ।
२. निज र निजका परिवारका नाममा विभिन्न बैंकमा रहेको बैंक खोता चेक गर्नुपर्ने ।
मुख्य न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठ
१. निज जिल्ला अदालत काठमाडौंमा न्यायाधीश हुँदा ७ क्विन्टल चरेश विदेश पठाउने नारायणगढको साहुसँग करोडौं रुपियाँ घुस खाएर तारेखमा छाडेको ।
२. यस सम्बन्धमा तत्कालिन पुनरावेदनका न्यायाधीश माधवराज थापाको नेतृत्वमा एक सदस्यीय छानविन समिति गठन गरी प्रतिवेदन तयार गरी न्यायपरिषद्मा राखिएको, सो छानविनको मिसिल झिकाई समितिले अध्ययन गर्नुपर्ने ।
३. पुनरावेदन अदालत विराटनगरबाट मु.नं. ०४–०६७–०१२३४ नि.नं. २४० मा गैरकानुनी त्रूटिपूर्ण आधारहरू लिई निर्णय गरेको ।
चोलेन्द्र शमशेर जवरा
१. न्यायाधीशका लागि सिफारिसमा परेका चोलेन्द्र शमशेर जवरा आफैंमा कारवाहीको लागि सिफारिस भएका, आर्थिक अपचलनको दाग बोकेका व्यक्ति भएको ।
२. सर्वोच्च न्यायाधीश सुशीला कार्की र तर्कराज भट्टको इजलासले २०६८ माघ ९ गते तत्कालीन सूचना तथा सञ्चारमन्त्री जयप्रकाशप्रसाद गुप्तालाई भ्रष्टाचारी ठहर गरेको फैसलामा राणालगायत तीन न्यायाधीशलाई कारवाही गर्न भनेको थियो । ‘…. न्याय सम्पादनको काममा विचलित भएको प्रष्ट देखिएको हुँदा ….’ उक्त फैसलामा उल्लेख छ । ‘….प्रचलित कानुन बमोजिम आवश्यक कारवाहीका लागि न्याय परिषद्लाई लेखिपठाउनु ….।’ राणा विशेष अदालतमा हुँदा उनी संलग्न इजलासले भ्रष्टाचारको अभियोग लागेकालाई सफाइ दिएको ।
३. न्यायाधीश सुशील कार्कीको इजलाशबाट निज चोलेन्द्र शम्शेरलाई कारवाही गर्नु भनी सिफारिस गरिएकोमा चोलेन्द्र शम्शेरलाई सर्वोच्च अदालतमा पठाउँदा सुशील कार्कीसँग बेञ्च गठन हुन सक्छ सक्दैन ।
४. न्यायपरिषद्ले गत वर्ष चोलेन्द्रलाई पुनरावेदनको मुख्य न्यायाधीश बनाउन अस्वीकार गरेको ।
५. हाल न्यायपरिषद् सदस्य श्री खेमनारायण ढुंगानाले चोलेन्द्र शम्शेर जवराकी आमाका हातबाट टिका लगाउँदै आएकोले समेत निजको सिफारिस हुनुमा खेमनारायण ढुंगानाको विशेष हात रहेको ।
६. चोलेन्द्रलाई सिफारिस गर्नका लागि न्यायपरिषद्का खेमनारायण लगायतका थप ३ जना (नरहरी आचार्यबाहेक सदस्यले २,२ करोड लिएको परिचर्चा भएको ।
७. निजको न्याय सेवामा प्रवेश नै दुषित र षड्यन्त्रबाट भएको ।
८. तासको म्यारिज खेललाई निजले जुवाभित्र पर्दैन भनी फैसला गरेको ।
९. काठमाडौं महानगरपालिकाको कानुन अधिकृत हुँदा नक्सा पासको लागि रु. ज्ञ५०० देखि रु. २०००।– सम्म पनि घुस खाने गरेको ।
जगदीश शर्मा पौडेल
१. जगदीश शर्मा पौडेल काठमाडौं जिल्ला अदालतमा हुँदा निजले आफ्नो छोरासँग मुद्दाको सेटिङ मिलाई लागू औषधका मुद्दामा आर्थिक अपचलन गरेकाले निजलाई काठमाडौं जिल्ला अदालतबाट हटाइएको ।
२. न्याय परिषद्ले गत वर्ष निजलाई पुनरावेदन अदालतको मुख्य न्यायाधीश बनाउन अस्वीकार गरेको ।
३. नियुक्ति सिफारिसको लगत्तै तीन जना प्रस्तावित न्यायाधीश गोपाल पराजुली, चोलेन्द्र शमशेर र जगदीश शर्मा पौडेलसहित प्रधानन्यायाधीश त्रिवेणीधाम तिर्थाटनका नाममा २०७१/१/११ मा चितवन नारायणगढमा गई होटेल गंगोत्रीमा बस्नु र त्यहाँका आतिथ्य कहलिएका दुई विचौलीयाबाट हुनु ।
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply