अपरिचित आयोजकको सभामा वक्ता

२०१७ पुस १ गतेदेखि ०३६ जेठ १० गतेसम्म चलिरलहेको राज्य आतंकमा शान्तिपूर्वक राजनीतिक विचार राखेका कारणले मात्र पनि राजनीतिक दलका नेता–कार्यकर्ता आठ/आठ वर्ष दस–दस वर्ष लामो जेलयातना भोग्न बाध्य हुन्थे । चार महिना भन्दा पनि कम अघि भीमनारायण श्रेष्ठ र यज्ञबहादुर थापालाई ०३५ माघ २६ गते गोली हानी मृत्युदण्ड दिइएको घटना लगायतले नेपाली जनताको शान्ति साह्रै खोक्रो र दुर्वल रहँदै आएको थियो ।
त्यस्तो तानाशाही दमनको वातावरणले के गर्दो रहेछ भन्ने कुराको म वा हामीहरू त्यस समयका भूमिगत र निर्वासित राजनीतिक जीवन बिताउनेहरूलाई लामो अनुभव भयो । क्रूर तानाशाहीको लामो अस्तित्वले एकातिर जनतालाई साह्रै दमित र त्रसित बनाई कमजोर पार्छ भने अर्कोतिर तानाशाहीविरोधी प्रजातान्त्रिक नेता–कार्यकर्ताहरूमाझ पनि ठूलो नकारात्मक मनोवैज्ञानिक प्रभाव पार्दछ । त्यसमा तत्कालिक लक्ष्य एउटै लिएका व्यक्ति र नेताहरूबीच पनि सम्पर्कविहीनता हुन्छ । उनीहरू अलग–थलग रही एक अर्काप्रति घोर अविश्वासको वातावरण पनि उत्पन्न हुन्छ ।
एक नेताले अर्को समान लक्ष्य लिएको नेतालाई समेत गद्दार वा सिद्धान्तच्यूत मान्ने र प्रचार गर्ने वातावरण पनि सिर्जना गर्दो रहेछ । राजाको तानाशाहीका विरुद्ध तेस्रो महाधिवेशन गर्न एउटै अन्तरजोन सामानजस्य समितिमा रहनुभएका कमरेड पुष्पलाललाई मोहनविक्रम सिंहले ‘गद्दार’ बाँकी राख्नुभएन ।
त्यसैगरी एउटै तेस्रो महाधिवेशन आयोजकमध्ये रहेका निर्मल लामालाई हिक्मतसिंह भण्डारीले ‘षड्यन्त्रकारी फुटवाज’ मान्नु जस्तो वातावरण ०३६ जेठ अघिसम्म वामपन्थी आन्दोलनमा व्याप्त थियो ।
०३५ चैतदेखि सुरु भएको राष्ट्रव्यापी विशाल विद्यार्थी आन्दोलन पछि ०३६ जेठ १० गते बहुदलीय व्यवस्था पनि रोज्न पाइने र जेठ १६ गतेदेखि बहुदलका पक्षमा सभा र प्रचार गर्न पाइने तर राजनीतिक दल नै भने संचालन गर्न नपाइने घोषणा भयो । यो आंशिक खुलापन र आंशिक वाक र सभा गर्न पाउने स्वतन्त्रताले तुरुन्तै सम्पर्कविहीन र छिन्नभिन्न रहेका व्यक्तिहरूमाझ सम्पर्क स्थापित भयो र संवादविहीनताको वातावरण चिर्न थाल्यो ।
त्यतिबेला हामी नाम चलेका बहुदलीय प्रजातन्त्रका पक्षधरहरूको संख्या थोरै थियो ।
कम्युनिस्ट र कांग्रेस समर्थक विद्यार्थीहरूद्वारा संयुक्त रुपले आयोजित विराटनगर र धरानका बहुदल पक्षका आमसभाहरूलाई सम्बोधन गरेपछि म एउटा मुद्दाको सिलसिलामा धनकुटा क्षेत्रीय अदालत पुगेको थिएँ । तर, मसँग पहिले परिचय नभएका नेपाली कांग्रेसका सुशील कर्माचार्य र अरुहरूले भेटेर भने –‘हामीहरूले धरानमा बहुदलीय प्रजातन्त्र पक्षको आमसभामा तपाईंको भाषण सुनेका छौं । धनकुटामा पनि तपाईं आएको मौका छोपी हामीहरू बहुदल पक्षको आमसभा आयोजना गर्न चाहन्छौं । तपाईंले थप दुई दिन अझै यहाँ बस्नुपर्छ । बिहीबार हाटको दिनसम्म बस्नूस् ।’
धनुकटा क्षेत्रीय अदालतमा त्यस दिन मेरो काम सकिएपछि आमसभा आयोजना गर्ने प्रबन्धका लागि साँझ सुशील कर्माचार्यको घरमा धनकुटाका बहुदल पक्षधरहरूको बैठक राखियो । म बैठकमा पुग्दछु त, त्यहाँ त्यस समयका धनकुटा जिल्लाका न्यायाधीश, खानेपानीका प्रमुख हाकिमलगायत छन् । साथै, त्यो बैठकमा प्रतिबन्धित कम्युनिस्ट पार्टी र कांग्रेसका कार्यकर्ता हौं भन्ने अरु व्यक्तिहरू पनि छन् । मलाई जिल्ला न्यायाधीशले भने– ‘मेरो जिल्ला धनकुटा होइन । तर, म कुनै बखत अखिल नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेशनमा सक्रिय थिएँ ।’ अनेरावि नै अनेरास्ववियु भन्दा पहिले अघि नेपाल कम्युनिस्ट पार्टी समर्थक विद्यार्थीहरूको संगठन थियो, जसका महासचिव धनकुटाकै भरतराज जोशी थिए । खानेपानीका हाकिम त केही वर्ष उनी अघि धरानमा पढ्दा अनेरास्ववियुका सदस्य र पार्टी समर्थकका रुपमा परिचित थिए ।
धनकुटामा विहीबार हाटको दिन टुँडिखेलमा आमसभा गर्ने निधो भयो । पहाडको हाट टाढाटाढाबाट दुई घण्टा, तीन घण्टा, चार घण्टा हिँडेर हाट भर्न आउने र त्यसपछि त्यतिकै समय घर फर्कने लाग्ने हुँदा दिउँसो १२ बजे सभा सुरु हुने कार्यक्रम बन्यो ।
अबेर रातीसम्म विद्यार्थीहरूले पुराना अखवारहरूमा राता अक्षरहरूले टुँडिखेलमा बहुदल पक्षको आमसभा हुनेछ र त्यसलाई कमल कोइरालालगायत अन्य वक्ताहरूले सम्बोधन गर्नुहुनेछ भनी लेखेर पोस्टर बनाए । तर, उनीहरू बिहान पोस्टर टाँस्न भने डराए । ०१७ सालदेखिको राज्य आतंक र भर्खर चार महिना जति अघिमात्र यसै शहरका भीमनारायण श्रेष्ठलाई काठमाडौंको जेलबाट राती निकाली गोली हानी मारिएको पृष्ठभूमि ताजै थियो ।
मैले भनें– ‘सबैभन्दा पहिले थानाकै अगाडि पोस्टर टाँस्नूस्, म पनि त्यहाँ खडा हुन्छु ।’
विद्यार्थीहरू मेरा साथ हिँडे । आफू बक्ता हुने पोस्टर सबभन्दा पहिले आफैंले टाँसे । त्यसपछि उनीहरू अगाडि बढेर धनकुटा बजारभर टाँस्दै हिँडे । फेरि लेखेछन्, फेरि टाँसेछन् । पोस्टर टाँस्दा थानामा रहेका प्रहरीहरूले टुलुटुलु हेरिरहेको तर केही नगरेको देखेर उनीहरूको भय बिहानै हराएको थियो ।
अर्कोदिन एउटा कांग्रेसी विद्यार्थीले सुना अनुसार भीमनारायण श्रेष्ठकी पत्नीले भन्नुभएछ– ‘चार महिना मात्र बाँच्न पाउनुभएको भए यो दिन देख्नु हुने रहेछ ।’
कहिलेकाहीँ समय अचानक यस्तरी मोडिन्छ, जसको अन्दाज न शासकलाई हुन्छ, न त शासित जनतालाई नै । ०३६ जेठ १० र १६ नेपालको इतिहासका त्यस्तै दिनहरू भए । धनकुटाको पहिलो बहुदल पक्षीय आमसभाको समाचार काठमाडौंको साप्ताहिक मातृभूमिलगायतले प्रकाशित गरे ।
विराटनगर फर्केपछि मोरङका गाउँ ठाउँहरूबाट पहिले अपरिचित व्यक्तिहरू आई ‘हामी बहुदल पक्षको आमसभा गर्न चाहन्छौं, वक्ताको रुपमा आइदिनुपर्यो’ भन्न थाले । आयोजकहरू अपरिचित थिए तर मनमा विश्वास हुन्थ्यो– यिनीहरू पनि हामीहरूजस्तै बहुदल पक्षधर हुन् ।
सम्बन्धित समाचार
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
भारतमा ९२ सांसद निलम्बित
-
चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
-
मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
पक्राउ परे रिगल
-
एमाले नेता पौडेल मृत फेला
-
बझाङमा फेरी भूकम्प
Leave a Reply