उज्यालो खोज्ने अभियान
हरेक मानिस आशाको त्यान्द्रोमा अल्झिएर बाँचेका हुन्छन् । विगत र वर्तमानमा जेजस्ता दु:ख, दुस्वप्न र संकटहरू झेल्नु परे पनि भविष्य सुखद् र आनन्दमिश्रित होस् भन्ने अपेक्षा र आशा प्राय: सबैले सँगालेका हुन्छन् । मानव जातिको विकासको लामो कडीलाई निरन्तर जोडिरहने/बचाइराख्ने तत्व नै सायद सुखद् भविष्यको परिकल्पना हो ।
युवाकवि रमेश श्रेष्ठ पनि त्यस्तै आशातित एवम् सुखद् भविष्यको स्वप्नमा मस्त स्रष्टा हुन् । वर्तमान विश्व हतियारको होडबाजीमा निमग्न छ । संसारको जुनसुकै कुना किन नहोस्, साना–तिना युद्धको उन्माद व्याप्त छ र एकले अर्कालाई समाप्त पार्नका लागि आफ्नो हतियारमा साँद लगाइरहेका छन् । तर, कवि श्रेष्ठ भने ‘अखबारको मुलढोकामा’ शीर्षक कवितामार्फत आशाको दीप जलाउँदै भन्छन्–‘तर पनि पर्खिरहेका छौं/पर्खदै पढिरहेका छौं हामी/अखबारको कुनै पानामा लेखिएको/पृथ्वीमा हतियारको विश्राम र/नयाँ युगको प्रारम्भ ।’
युवाकवि श्रेष्ठको पछिल्लो कविताकृति ‘कविताको उज्यालो’ भित्रका कविताहरू जीवनका मर्मस्पर्शी क्षण र लयहरू टिप्न सक्षम छन् । उनका कवितामा जीवन, मानवीय आकांक्षा र समाजका अनेक विम्बहरू व्यवस्थित रुपमा उभिन्छन् । र, विम्बसँग खेल्ने कविले आफ्नो पछिल्लो कृतिमा पनि विम्बको सघन र यथोचित प्रयोग गरेका छन् ।
‘घले गाउँकी चन्द्रकला’ एउटी ग्रामीण महिलाको जीवन कथा उतार्न अग्रसर कविता हो । सभ्यताको तीव्रतर विकासले समाजका कतिपय पुराना स्वरुपहरू फेरिए पनि ग्रामीण क्षेत्रमा श्रम गर्ने महिलाहरूको जीवन स्थितिमा भने कुनै परिवर्तन आएको छैन । जीवन निर्वाहका आधारशिलाहरू खोज्दै ग्रामीण नारीहरूका समय बित्ने गर्दछ । तर पनि गाउँकै सुगन्धमा मगमगाएर जूनझै मुस्कुराउन भने ग्रामीण महिला चुक्दैनन् । ‘म्युजियममा’ उनको अर्को सशक्त काव्य स्वर हो । म्युजियममा देशका शासक वर्गको सामग्रीहरूले ससम्मान स्थान पाए पनि पसिना चुहाउने सीमान्त वर्गका जनताको प्रतिनिधित्व नभएकोमा कविको चिन्ता पोखिएको छ । कवि लेख्छन्–‘म्युजियममा/वासुदेव चौधरीको सपनाको तस्विर छैन/छैन नागिलालको भोको पेटको इतिहास/मात्र जोगाउनुको नाममा/मरेका दिनहरूका लासको गन्ध/र/सम्झनाको अल्झिरहेको/अवशेष मात्र छ ।’
‘निरोको मुडमा’ ले शासकहरूको अपरिवर्तित स्वभाव र चरित्रलाई उजागर गर्न चाहेको छ भने ‘पहाडको गीत’मा स्वतन्त्रताको खोजीमा क्रियाशील अनुहारहरूका विम्ब भेटिन्छन् । कविले प्रेमलाई विविध आयाममा उनेका छन् । उनका प्रेमसम्बन्धी केही कवितामा देशप्रेम, माटोप्रेम र प्रकृतिप्रेमका गुन्जनहरू सुनिन्छन् । तर, मानवीय प्रेममा आहत हुनेहरूप्रति पनि उनले गुनासोयुक्त स्वर सार्वजनिक गर्न चाहेका छन्–‘जसका लागि मैले/आफ्नै हाडहरूका बाँसुरी/निर्ममतापूर्वक फुकेँ/उसैबाट म आरोपित–आरोपित भएँ ।’
‘तोरी बारीमाथि रातो घाम’ले मधेसका श्रमजीवि वर्गको अनुहारको प्रतिविम्ब उतार्ने चेष्टा गरेको छ । तोरी, मधेसको एक प्रमुख बाली हो । तर, पहेंलै फुल्ने तोरी र मधेसमा पसिना बगाउने र आफ्नै दु:ख, कष्टमा रमाउने सीमान्त वर्गका जनताबीच कुनै तादाम्य छैन । तथापि, तोरीले एउटा वर्गको तस्विर भने निश्चित रुपमा उतार्दछ । ‘माओ त्से तुङको जुलुसमा’ मा कुनै पनि महान् व्यक्ति जुलुसमा परिणत भइसकेको कटु यथार्थलाई अभिव्यक्त गरिएको छ । उनी कटाक्ष गर्दै लेख्छन्–‘माओ त्से तुङ स्वयंलाई थाहा थिएन/माओ त्से तुङ/मान्छेको भन्दा बढी/जुलुसको नाम भएको थियो/माओ त्से तुङको जुलुसमा ।’
‘माझी’ आफ्नै श्रम, सिप र अनुष्ठानमा निर्लिप्त एउटा मानव चेहराको बकपत्र हो । सदैव बल्छी, जाल र ढडियाहरूमा जीवन जिउने सूत्र पर्गेल्ने माझी नेपाली समाजको एउटा जिउँदोजाग्दो तस्विर हो । त्यसै त, उनी उद्घोष गर्दै भन्छ–म माझी हुँ/मलाई सपनीमा पनि/नदीको नृत्य मन पर्छ ।’ धेरै वर्षपहिले पोखराबाटै नेपाली आधुनिक काव्य क्षेत्रमा हस्तक्षेप जमाएका कवि भूपि शेरचनले आफैमाथि कविता लेखेका थिए । र, पोखराकै अर्का कवि श्रेष्ठले पनि आफैमाथि कविता ‘सेल्फ पोट्रेट’ कोरेका छन् । आफू एक उदास कविको संज्ञा दिँदै उनी खुलेका छन्, आफूप्रति–‘जीवनको दागमाथि उभिएर/दाग विरुद्ध विद्रोह गरिरहेको मौनता ।’
उज्यालो, सम्पूर्ण प्राणीको इच्छा, चाहना र आकांक्षा हो । र, संसारका हरेक प्राणी उज्यालोको खोजीमा क्रियाशील रहन्छन् सधैँ । तर कवि श्रेष्ठले भने कविताको उज्यालो खोज्ने जमर्को गरेका छन् । उनलाई थाहा छ, कविहरू सधैँभरि अँध्यारोको प्रतिरोधमा जुट्छन् र उज्यालो प्राप्तिलाई आफ्नो जीवनको लक्ष्य ठान्छन् ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply