वामदेवलाई र्याखर्याख्ती, लालबाबुलाई सहानुभूति
काठमाडौं । व्यवस्थापिका संसद्अन्तर्गतको राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री वामदेव गौतमलाई सभासद्हरूले विभिन्न विषयमा स्पष्टीकरण मागेर हैरान खेलाए भने सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितप्रति भने सहानुभूति देखाएका छन् ।
समितिले प्रत्येक बैठकमा एक जना मन्त्रीसँग अन्तक्र्रिया गर्ने गरेका छन् । गत बिहीबारको बैठकमा गृहमन्त्री गौतम पुगेका थिए । बैठकमा सभासद्हरूले एकपछि अर्को गर्दै शान्ति सुरक्षाका विषयमा स्पष्टीकरण सोधेर हैरान खेलाएका थिए । सभासद्का हरेक जिज्ञासाको गौतमले भने घुमाउरो पाराले जवाफ दिएका थिए । बैठकमा एमाले सभासद् यज्ञराज सुनुवारले आफ्नो जिल्ला ओखलढुगांका घटना सुनाउँदा सबै सभासद् स्तव्ध बनेका थिए । ‘मेरो जिल्ला यस पटक दुईटा घटनाले चर्चामा रह्यो’ भन्दै कुरा सुरु गरेका सुनुवारले भने–‘एउटा, १३ वर्ष लगाएर १४ करोड रुपियाँ सिध्याइसकेको सुनकोशीमा निमार्णाधीन पुल हावाहुरीले भत्कियो, दोस्रो, मारिएको भनेको मान्छे ६ महिनापछि घर फर्कियो ।’
उदयपुरको घुर्मी र ओखलढुगांको हर्कपुर जोड्ने पक्की पुल हावाहुरीले भत्कियो भनेर प्रचारबाजी भएकोमा उनले त्यसको कटाक्ष गरेका थिए । त्यसमा कमिसनको खेलको आशंका उनले गरेका थिए । त्योभन्दा मृत भनिएको मान्छे ६ महिनापछि जीवितै घर फर्केको विषय बढी संवेदनशील थियो । ओखलढुंगाकै पलापु गाविस नवलपुरका ज्ञानबहादुर माझी गत कात्तिकबाट एकाएक बेपत्ता भए । उनको हत्याको आशंकामा प्रहरीले एमाले युवा संघका जिल्ला सदस्य मिलन माझी, उनका बुबा चित्रबहादुर माझीलगायतलाई पक्राउ गर्यो । प्रहरीको कुटाइका कारण चित्रबहादुरको कानको जालीसम्म फुटालियो । कुटाइको पीडा सहन नसकेपछि उनीहरूले ज्ञानबहादुरलाई मारेको कुरा स्वीकारे । दोषी भनिएकाहरू जेलमा रहेकै बेला मारिएका भनिएका ज्ञानबहादुर नयाँ वर्षको पहिलो दिन टुप्लुक्क घरमा देखा परे । भारतको कालिङपोङमा पैसा कमाएर फर्कंदा उनी लाज छोप्न गर्मीमा पनि मुखुण्डो लगाएर आएका थिए । यो घटनाको पर्दा पछाडि कांग्रेसको चुनावी रणनीतिको रहस्य विस्तारै खुल्दै आएको छ । जसमा स्थानीय विद्यालयका प्रधानाध्यापक तथा शिक्षक युनियनका जिल्ला सदस्य हरि भण्डारी र कांग्रेस सभासद् रामहरि खतिवडासमेतको संलग्नताको आशंका गरिएको छ । बैठकमा सुनुवारले घटनाको वृत्तान्त सुनाइसकेपछि गृहमन्त्री गौतमले चुनावको सम्मुखमा विरोधी सिध्याउने योजनाअन्तर्गत यो घटना भएको हुनसक्ने भन्दै यसमा प्रहरीले पनि राम्रो अनुसन्धान गर्न नसकेको र प्रहरी प्रशासनलाई चुस्त बनाई शान्ति सुरक्षाको प्रत्याभूति गारउन आफू लागिपरेको स्पष्टीकरण दिएका थिए ।
त्यसलगत्तै सभासद्हरूले ‘दुई–चार जना गुण्डा समाउँदैमा शान्ति सुरक्षा हुन्छ र ? भन्दै अर्को प्रश्न तेस्र्याएका थिए । यसको जवाफ घुमाउरो पाराले दिँदै उनी काठमाडौं एसएसपी रमेश खरेलमाथि खनिएका थिए । ‘केही प्रहरी अधिकृत प्रोपोगन्डामा रमाउने गरेका छन्, प्रहरीको काम प्रचारमुखी हुने होइन, काम गरेर देखाउने हो’ खरेललाई इगिंत गर्दै गौतमले भने । भारतीय सीमा सुरक्षाका बारेमा भने समितिअन्तर्गतका सभासद्हरूको मत नै बाझिएको थियो । तराई मूलका सभासद् सीमामा तैनाथ नेपालको प्रहरीले दु:ख दिएको बताइरहेका थिए भने पहाडीया सभासद्ले भने भारतीय प्रहरीले दु:ख दिएको गुनासो पोखेका थिए । सभासद् अमरेशकुमार सिंह, लक्ष्मणलाल कर्णलगायतका मधेसी सभासद्ले सीमामा खटिएका सशस्त्र प्रहरीले जनतालाई दु:ख दिएको र असुली धन्दा मच्चाएको बताएका थिए । प्रत्युत्तरमा गौतमले भने– सीमा प्रहरी जनतालाई शान्ति सुरक्षा दिनकै लागि हो, राम्रो काम गर्नेले उनीहरूबाट डराउनु पर्दैन ।’
त्यस्तै, गत सोमबारको समितिको बैठकमा भाग लिन आएका सामान्य प्रशासनमन्त्री पण्डितले भने सभासद्हरूको सहानुभूति पाएका थिए । खासगरी पीआर, ग्रिनकार्ड र डीभीवाला कर्मचारीलाई कारबाही गर्ने उनको कदमको प्रशंसा गर्दै सभासद्हरूले त्यो कदमबाट पछि नहट्नसमेत सुझाव दिएका थिए । त्यस्ता कर्मचारीलाई कारबाही गर्ने काममा सरकार लचिलो हुने हो कि भनेर केही दिनयता सञ्चार माध्यममा आएका समाचारबारे सभासद्ले मन्त्री पण्डितसँग जवाफ मागेका थिए । जवाफमा उनले भने–‘म पदमा भए पनि नभए पनि सास रहुन्जेल यो कदमबाट पछि हट्दिँन ।’ बोल्दाबोल्दै आवेगमा आएका मन्त्री पण्डितले अगाडि भने–‘यो काममा म सफल भएँ भने मेरो लासमा राष्ट्रको झन्डा ओढाउनू, सकिनँ भने मेरो लासलाई कतै फ्याँकिदिनू ।’
कर्मचारी प्रशासनमा देखिएका विकृतिबारे पनि उनले समितिलाई जानकारी गराएका थिए । जहाँतहीँ ट्रेड युनियनहरूको दबदबा रहेको उल्लेख गर्दै मन्त्री पण्डितले भने– ‘यस्तै हालत रहने हो भने मन्त्रीले ट्रेड युनियनको आदेश मान्नुपर्छ ।’ दुर्गमबाट प्रतिनिधित्व गर्ने सभासद् समेत त्यहाँका कर्मचारीलाई सुगममा सरुवा गरिदिनुपर्यो भन्दै आउने गरेको उल्लेख गर्दै उनले भने– ‘त्यस्ता सभासद्लाई दुर्गमका भन्ने कि सुगमका, म नै रनभुल्लमा पर्छु ।’ अहेबले समेत ‘तनाव भयो, रिल्याक्सका लागि पनि आफूलाई भन्सारमा सरुवा गरिदिनुपर्यो’ भन्ने गरेको बताए पनि उनले त्यस्ता कर्मचारीको नाम भने खुलासा गरेनन् ।
समितिमा प्रतिनिधित्व गर्ने सबै पार्टीका सदस्यले ट्रेड युनियनको विरोध गरेका थिए । विरोध गर्नेहरूमा कांग्रेसका हृदयराम थानी, आरजु देउवा, गोपालमान श्रेष्ठ, एमालेका रामेश्वर फुयाल, गंगालाल तुलाधर, तुलाराज विष्ट, गौरी ओली, राप्रपाका विक्रम पाण्डेलगायत थिए ।
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply