जनमतसंग्रहका लागि पूर्वाधार माग

वि.सं. २०३६ जेठमा उन्नाइस वर्षहरु पछि वाक स्वतन्त्रता र सभा गर्न पाइने स्वतन्त्रताले बहुदल पक्षधरहरुमा एउटा रमाइलो राजनीतिक बसन्त विहारको छाएको थियो । देशभर बहुदल पक्षका नेताहरुले ठूला साना आमसभाहरु सम्बोधन गर्न थाले । तर राजनीतिक दल वा दलगत राजनीति चलाउन नपाइने बन्देज राखिएको थियो । साप्ताहिक पत्रपत्रिकाहरुले पनि खुलेर बहुदलका पक्षमा लेख्न थाले । सुरु सुरुमा केही सरकारी कर्मचारीहरु पनि बहुदलका पक्षमा खुलेर आउन थाले । तर तुरुन्तै सरकारले त्यसो गर्न नपाइने व्यवस्था गर्यो । पञ्चायतको विभिन्न तहहरुमा लागेका व्यक्तिहरु पनि बहुदलका पक्षमा आउन थाले । पञ्चायतमा मन्त्री भइसकेका विश्वबन्धु थापाले सोझै एकपटक राजाले बहुदलीयताका घोषणा गर्नुपर्ने माग गरे । काठमाडौं नगर पञ्चायत र पाटन नगर पञ्चायतका प्रधानपञ्च भएका बासुदेव ढुंगाना र बुद्धिधर बज्राचार्यले पदबाट राजीनामा गरे । ठाउँठाउँ पञ्चहरुले राजीनामा गर्न थाले । जसमा राष्ट्रिय पञ्चायत सदस्यदेखि जिल्ला र नगरका प्रधानपञ्च र पञ्चहरु थिए । तर सरकारले गाउँका प्रधानपञ्चहरुका लागि तलबको व्यवस्था गरी त्यस क्रमलाई रोक्ने प्रयास थाल्यो ।
एकातिर देशभर कोही नेता कही, कोही नेता कहीँ भई देशमा बहुदलका पक्षमा शहरदेखि परपरका गाउँहरुमा समेत बहुदलको पक्षका सभाहरु सम्बोधन गर्न थाले । मनमोहन अधिकारी, वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, साहना प्रधान, शम्भुराम, हामीहरु भरतमोहन अधिकारी, सिद्धिलाल सिंह, विष्णुबहादुर मानन्धर, हिक्मत सिंह, चित्रबहादुर गुरुङ इत्यादि सधैं बहुदल पक्षमा लड्दै आएका सबै वामपन्थीहरुका साथै टंकप्रसाद आचार्य, के.आई. सिंह, डिल्लीरमण रेग्मीहरु मात्र होइन, हामीहरु तेस्रो महाधिवेशनमा राजावादी केही निस्कासित गरेका रायमाझी र अरुहरु पनि बहुदल पक्षमा सभाहरु गर्न र बोल्न थाले । संक्षेपमा अहिले यति भनौं, २०३६ जेठपछि सम्पूर्ण देशमा ठूला साना गरी रोजै सयभन्दा कम आमसभाहरु भएनन् । सभाहरु धेरै तर नाम चलेका नेता र वक्ताहरु कम भएको स्थिति भयो । कोही कतै, कोही कतै बाँडिएर जानुपर्ने स्थिति भयो ।
झापाको दमकमा बहुदल पक्षको पहिलो आमसभा गर्ने कार्यक्रम लिएर त्यस समयसम्म अपरिचित केही व्यक्तिले मलाई भन्नुभयो । मैले स्वीकार नगर्ने कुरै थिएन । ठूलो डफ्फा लिंदै हिँड्ने र चन्दा उठाउने समय पनि प्रारम्भ भइसकेको थिएन । आफनै खर्चमा जानुपर्ने स्थिति थियो । दमक जान झापा भद्रपुर जाने बसमा सबेरै हिँडे । तर पैंतीस छत्तीस वर्ष अघि आजको जस्तो गाडीहरु प्रचुर मात्रामा र तेज हिँड्दैन थए । फेरि ठाउँठाउँ पुलहरु बनी नसकेर निर्माणाधीन थिए । दमकमा त्यो हाटको दिन थियो । तर आयोजकहरु अपरिचित भए पनि धनकुटाका निलम श्रेष्ठ, पुराना कम्युनिस्ट कार्यकर्तालाई त्यहाँ देखे । उहाँ राम्रो पेन्टर पनि हुनुहुन्थ्यो । बहुदलका पक्षमा र पञ्चहरुका भ्रष्टाचारका कार्यहरुको व्यंग्यात्मक कार्टुन र पोस्टरहरुको उहाँको प्रदर्शनी पनि आयोजित थियो । टाढा टाढाबाट आएका मान्छेहरु चाँडै चाँडै फर्कने हुँदा म पुग्नासाथ सभाको कार्यक्रम सरु हुने स्थिति भयो । मेरो र अरुहरुको सम्बोधन सकियो । भद्रपुरबाट विराटनगरसम्म जाने लास्ट बस ४ बजे दमकबाट छुट्दथ्यो । छिट्टै सभा सकिने भन्दा भन्दै पनि झन्डै चार बज्यो । सभा विसर्जन हुँदा बस देखा पर्नासाथ मान्छेहरु लास्ट बस पक्रन दौडे । म पनि दौडें । तर बसको छानासमेत टनाटन भर्नासाथ बस चालकले बहस हाँके । मेरो सामू अरु उपाय थिएन । म दौडदै बसको छाना चड्ने सिंडीमा झुन्डिए ।
अब बसमा हल्ला भयो– ‘कमल कोइराला पछाडि लट्केको हुनुहुन्छ ।’ हाटको भीडबाट केही पर हुनासाथ बस रोकियो । कन्डक्टर र प्यासेन्जरहरुले मलाई भित्र लगेर बस्नठाउँ छाडे । श्रोता प्यासेन्जरहरु पनि दंग थिए र म वक्ता पनि दंग थिएँ । बसको टिकट काट्न खोज्दा कन्डक्टरले मसँग पैसा लिनै मानेनन् । रात पर्दा म मख्ख हुँदै विराटनगर पुगेँ ।
२०३६ को जेठ र असारमा यसरी बहुदल पक्षका नेताहरु, कार्यकर्ताहरु र पक्षधर जनतामा उत्साह र उमंगको वातावरण बढ्दै थियो । तर ०३६ को साउन लागेपछि बेलाबेला शंकास्पद र चिन्ता लाग्दा कुरा पनि भए । ०३६ को साउनको सुरुमै ठाउँठाउँ अञ्चलाधीशहरु फेरिए ।
कोशी अञ्चलमा शत्रुघनप्रसाद सिंह आउनासाथ उनले पञ्चहरु र मण्डलेहरुलाई बहुदल प्रचारको प्रतिरोध गर्न उचाल्न थालेका कुराहरु सुनिन थाले ।
जेठ र असारमा मोरङ र सुनसरी बहुदलका सभाहरु कम्युनिस्ट र कांग्रेसका नेताहरु र कार्यकर्ताहरुले प्रशस्त सम्बोधन गरिसकेका थिए । मनमोहन अधिकारीका साथ हाम्रा पार्टी समर्थकहरुले साउन ४ गते धरानमा आयोजित आमसभा मैले र सिद्धिलाल सिंहले पनि सम्बोधन गरेउँ । झापाको बिर्तामोडमा साउन ११ गते पनि मैले मनमोहन अधिकारीका साथ आमसभा सम्बोधन गरिसकेको थिएँ । एकपटक भरतमोहन अधिकारी र मलाई मोरङको इटहरा भन्ने गाउँमा बहुदल पक्षको सभामा सम्बोधन गर्न बोलाइयो । बसबाट उत्रेपछि पनि डेढ घण्टा जति पैदल हिँडेर सभा गर्ने ठाउँ पुगिने थियो । केही बेर हिँडेपछि हामीले एउटा दुकानमा चिया खायौं । हामी हिँड्न थालेपछि एकजना पछि लाग्दै आएर भने– ‘इटहरामा तपाईंहरुको सभा हुन नदिन हुलहुज्जत गर्ने कुरा सुनेको छु । सावधान रहनुहोला ।’
सभा गर्न हामी नजाने सवालै थिएन । तर हामी आशंकित र सावधान चाहिँ भएउँ । हामीहरु त्यहाँ पुग्दा स्कुलको चौरमा माइक र लाउडस्पीकर टाँगिएको थियो । हामीहरु स्कूलको फाटकबाट भित्र पस्न लाग्दा केही व्यक्तिहरुले छेक्दै भने– ‘पञ्चायती व्यवस्था मुर्दावाद †’ भन्न पाइदैन्, यो सबैले पढ्ने स्कूल हो । सरकारले चलाएको । यो कसैको जिन्दावाद र मुर्दावाद गर्ने ठाउँ होइन ।’
हामीहरु पहिले नै सावधान थियौं । हामीहरुले भनेउँ– ‘ठिक छ स्कूलमा नगरौंला तर राजाले बहुदल पक्षमा प्रचार र सभा गर्ने स्वतन्त्रता दिएकोमा तपाईंहरु सभा गर्नबाट चाहिँ रोक्न सक्नुहुन्न ।’ हामीहरुले अपरिचित बहुदल पक्षको सभाका आयोजक युवाहरुलाई भनेउँ– ‘ठिक छ, हामी सामुन्ने सडक पारी रुखमा ढाङ्ग टागौं र उभिएर तल माइबाट सम्बोधन गरौं ।’ स्कूलबाट निकालेर आयोजकहरुद्वारा रुखमा ढवाङ्ग टाँगियो र तल मञच बनाउन एउटा चियाको दुकानबाट टेबुल र बेञ्च ल्याउँदै थिएँ । त्यतिकैमा पर खेतको आलीमा १०/१२ जना भर्खरका युवाहरु आउँदै देखेउँ । अब हाम्रो सभाको आयोजकहरुमध्ये एकजनाले मेरो कानमा भने– ‘अब मण्डलेहरु डराउँछन् । ती आउनेहरु नक्सलवादी समर्थक ठिटाहरु हुन् । कसै–कसैले यहाँको कुरा सुनी लुकाएर पिठ्यूँमा खुकुरी पनि कमिज भित्र लुकाएर बाँधेका छन् ।’
सम्बन्धित समाचार
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
भारतमा ९२ सांसद निलम्बित
-
चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
-
मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
पक्राउ परे रिगल
-
एमाले नेता पौडेल मृत फेला
-
बझाङमा फेरी भूकम्प
Leave a Reply