नेताबिनाको बैठकमा मन्त्री हराएकोदेखि बिहेसम्मका कुरा
काठमाडौ । संसदीय दलको नेतामा निर्वाचित भएलगत्तै केपी ओली बिरामी परेपछि एमाले संसदीय दल अस्तव्यस्त छ । आजसम्म उपनेता, प्रमुख सचेतक, सचेतक कसैको पनि टुंगो लागेको छैन । चार वटा बैठक बसिसके तर दलका नेता ओलीले एउटा बैठकको पनि अध्यक्षता गर्न सकेका छैनन् । बैठक बस्नुपर्ने आवश्यकता भए पार्टी अध्यक्ष झलनाथ खनालले दल बैठकको पनि अध्यक्षता गरिदिएका छन् भने कहिलेकाहीँ उपाध्यक्ष वामदेव गौतमले पनि दल बैठकको अध्यक्षता गर्ने रहर पूरा गर्ने अवसर चुकाएका छैनन् ।
दलको नेता बिरामी छन् भने सभासद्का जिज्ञास मेटाउनुपर्ने मन्त्रीहरू समेत दलको बैठकमा नजाँदा सभासद् हैरान भएका छन् । सभासद् ‘फेस’ गर्नपर्ने डरले गत शुक्रबारको बैठकमा पार्टीको तर्फबाट सरकारमा नेतृत्व गरेका उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम जाँदै गएनन् । व्यस्तताको कारण नगएको भनिए पनि दलको बैठक सकिनासाथ सुरु भएको व्यवस्थापिका–संसद्को बैठकमा भने उनी सुरुमै पुगेका थिए ।
सभासद्को हंगामा
कार्यक्रमको सञ्चालन गरिरहेका सभासद् राजेन्द्र पाण्डेले बैठकको अध्यक्षता गर्न पार्टी अध्यक्ष झलनाथ खनाललाई बोलाउँदासम्म चुपचाप बसेका सभासद् अध्यक्षले अध्यक्षता ग्रहण गर्नासाथ ठूलो स्वरले कराउन थालेका थिए । बैठकमा एक जना पनि मन्त्री नदेखेपछि सबले टेबुल ठोक्दै मन्त्री उपस्थित नभएसम्म बैठक अगाडि नबढाउन माग गरेका थिए । त्यो दिनको बैठकमा बजेटका सम्बन्धमा पार्टीको तर्फबाट राष्ट्रिय योजना आयोगमा सदस्य बनाइएकाहरूलाई पनि जानकारीका लागि डाकिएको थियो । सञ्चालक पाण्डेले ‘मन्त्रीहरूलाई सम्पर्क गर्न कोसिस भइरहेको तर सम्पर्क हुन नसकेकाले पहिला योजना आयोगका सदस्यलाई बोल्न दिउँm’ भनेर मनाउने प्रयास गरेका थिए । तर, सभासदले मान्दै मानेनन् । सभासद्हरूको भनाइ थियो– ‘दलको कार्यालय यस्तो अस्तव्यस्त छ, सरकारमा पार्टीको उपस्थिति लज्जास्पद छ, पहिला हामीले बोल्न पाउनुपर्छ तर मन्त्री नआएसम्म हामी बोल्दैनौं ।’ यसो भनेर कराइरहँदा सभासद्हरू झन्डै मञ्चसम्मै पुगेका थिए । ‘हामी पार्टीका अनुशासित सिपाही हांै’ भन्दै पाण्डेले घुमाउरो र दबाबमूलक पाराले ‘कभिन्स’ गरेपछि बल्ल बैठक सुरु भएको थियो । बैठकको सुरुका आयोगका सदस्यले बजेट निर्माणका सन्दर्भमा आफूहरूसँग कुनै सरसल्लाह नभएको जानकारी गराएका थिए ।
मन्त्री खोज्न प्रहरी पठाउने कुरा
योजना आयोगका सदस्यहरूले बोलिसक्दा नसक्दै तीन जना मन्त्री आएका थिए । मन्त्रीहरू भीम आचार्य, पुरषोत्तम पौडेल र दलबहादुर राना बैठकमा पुगे पनि खासगरी उपप्रधान तथा गृहमन्त्री नआएपछि सभासद् यज्ञराज सुनुवारले भने– ‘गुटको भेलामा घन्टौं बिताउने तर दलको महत्त्वपुर्ण बैठकमा नआउने मन्त्री खोज्न पुलिस पठाउनुपर्छ ।’ १०औं नम्बरमा बोलेका उनले एमालेले गर्ने गरेका निर्णयको पनि खुलेर आलोचना गरे । एमालेका निर्णय ‘केटाकेटी आए, गुलेली खेलाए, मट्याङग्राको नाशझैं हुने गरेको’ भन्दै उनले भने– ‘नयाँ संविधानसभाबाट राष्ट्रपति चुन्ने भन्यौं, चुनेको चुनकै भो, भ्रष्ट न्यायाधीशको नियुक्ति रोक्ने भन्यौं, रोकेको रोकेकै भो, अहिले पनि एकलौटी ढंगले बजेट तयार हुँदैछ, हामी हेरको हेरेकै मात्र छांै ।’ उनले यो सरकारले कुनै उपलब्धि हासिल नगरेको चर्चा गर्दै व्यग्यांत्मक शैलीमा भने– ‘बूढेसकालमा भए पनि महानायक राजेश हमालको बिहे भयो, त्यसैलाई यो सरकारको उपलब्धि भन्नुबाहेक अरू केही काम भएको छैन ।’
नाम ४७ को बोल्ने १०
सो दिनको बैठकमा बोल्नका लागि ४७ जना सभासद्ले नाम लेखाए पनि १० जनाले मात्र बोलेका थिए । नाम टिपाउने बाँकी सभासद्लाई अर्को बैठकमा बोल्न समय दिने बताइएको छ । सो दिन बोल्ने सभासद्हरूमा गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, भीम रावल, जीवन श्रेष्ठ, पार्वत गुरुङ, श्रीमाया थकाली, विकास लम्साल, दीपक कार्कीलगायत थिए । विष्टले जथाभावी भइरहेको बजेट निकासा र दलको अस्तव्यस्तताबारे कुरा उठाएका थिए भने लम्सालले राज्य व्यवस्था समितिमा रहेका एउटै व्यक्ति अन्य महत्त्वपूर्ण समितिमा पनि रहेकोमा असन्तुष्टि जनाएका थिए । उनको निशाना सभासद् रवीन्द्र अधिकारी, शेरधन राई लगायतमाथि केन्द्रित थियो ।
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply