वैचारिक प्रक्षेपण
धीर भण्डारी ‘मृतात्माको डायरी’ लिएर पाठकसामु देखापरेका छन् । यसलाई उपन्यास भन्ने कि अन्य कुनै संज्ञा दिने भन्ने जिम्मा उनले पाठकलाई नै छाडिदिएका छन् । यसमा अनेक मतवादको ठाउँ छँदैछ । यति हुँदाहुँदै पनि यो वैचारिक उपन्यास नै हो भन्ने आधार बलियो देखिन्छ । यथार्थलाई उपन्यासका उपकरणमा ढालेर प्रक्षेपण गर्दा पनि उपन्यासै हुन्छ, किनभने कुकुरको पुच्छर काटिदिँंदैमा त्यो न गाई बन्छ न त गधा, बरु कुकुरको कुकुरै रहन्छ ।
उपन्यासमा भण्डारीले २०१५ अझ भनौं भने ००७ देखि ०६९ सम्मको नेपाली राजनीतिका आभ्यन्तरिक पक्षको दुरुस्त फोटो खिच्ने प्रयत्न इमानदारीका साथ गरेका छन् । अध्यात्म साधनामा लागेको योगीले एक जना जिज्ञासु पत्रकारलाई आफ्नै बासस्थानको कुनै ठाउँ उत्खनन् गर्न लाउँदा फेला परेको डायरीबाट उपन्यासका पत्रपत्र खुल्दै र फैलिँदै गएर नेपालको ००७ सालदेखि ०६९ सालसम्मको राजनीति, व्यापार, दौत्यसम्बन्ध, परराष्ट्रनीति, दलका दलाली, दरबारको दोधारे चरित्र, लाल र तारे पार्टीका नेताको करनी र कथनीको दोधारे चित्र, तल्लाघरे र माथ्लाघरेको चरित्र र चियोचर्चोका पनि रंगीन फोटाहरू यस उपन्यासमा देख्न पाइन्छ । थालनी कुतूहलमय बनेकाले पाठकीय प्रविष्टिचेतमा उपन्यासकारको ध्यान गएको मान्न सकिन्छ ।
भोक्ता, द्रष्टा र अभिनेताको भूमिकामा रहेका विवेक, विजया, लीला दाइ
(लीलाराज), बा (मित्रसेन) जस्ता चरित्रले उपन्यासलाई यथार्थ धरातलमा उभ्याएका छन् । उपन्यासको मुख्य पात्र विवेक धेरै हदमा तटस्थ पात्रको रूपमा देखा पर्छ । उसैका जिज्ञाशाका माध्यमले उपन्यासले गति लिएको छ । अर्का पात्र लीलाराज
(लीला दाइ) मा चाहिँ व्यक्तिगत लाभ–हानिबाट माथि उठिसकेका नेपाली कांग्रेसका कुनै पुराना सुझबुझयुक्त नेताको प्रत्यारोपित झलक आभाषित हुन्छ । केही छद्म या काल्पनिक पात्रबाट उपन्यासलाई अगाडि बढाइएको भए पनि ०१७/१८ सालतिर आइपुग्दा नपुग्दै वास्तविक पात्रमा अवत्तीर्ण हुन पुग्दछ । यथार्थलाई लुकाउन सकिँदैन । यस उपन्यासमा अधिकृत, सहकारी र प्रासंगिक गरी तीन प्रकारका पात्रको श्रेणी रहेको देखिन्छ । अनावश्यक पात्रका भीडले पाठक हराउन दिएका छैनन् लेखकले । आख्यानको बनोट र बुनोटलाई हेर्दा यो उपन्यास मुख्य पात्र विवेकको सामाजिक–आर्थिक जीवन, नेपालको राजनीतिमा ००७ देखि ०६९ सालसम्म घटेका अनेक घटनाहरूका पाश्र्वचित्र, राजनीतिक विचार र दार्शनिक पक्ष मिसाएर आख्यानलाई अगाडि बढाएको देखिन्छ । पुस्तकको अन्तिम खण्ड र सुरुआत खण्ड अनि बीच–बीचका केही ठाउँमा योगका कतिपय पक्षसँग पनि सम्बन्धित भएर उपन्यास अघि बढेको पाइन्छ । यसमा साक्षीभाव, बोधभाव र मनोभञ्जनजस्ता कुराहरू योगशास्त्रबाट ग्रहण गरिएका छन् । कर्ममा कौशल र चित्तवृत्ति निरोध नै योगका परिचायक अभिलक्षण मान्न सकिन्छ छोटकरीमा । उपन्यासको अन्त्यमा योग साधनाका षडसोपानको प्रक्षेपण नै गरिएको छ । राजनीतिभित्रको राजनीतिका माध्यमले साधारण र विशिष्ट व्यक्तिका बीचको राजनीतिक बोधलाई प्रस्तुत गरिएको छ ।
राजनीतिमा असम्भव केही पनि हुँदैन/मानिँदैन । प्रेम र युद्धमा जे पनि सुहाउँदिला मानिन्छन् भने प्रायोगिक राजनीतिमा चाहिँ जे पनि हुन्छ/हुन सक्छ । यस उपन्यासले नेपालको यसै परिवृत्तलाई समातेर आख्यानीकरण गर्ने प्रयत्न गरेको छ । अग्रज लेखकसँग दाँज्ने हो भने कताकता यसले डायमनशमशेरको ‘सेतोबाघ’ र ‘माधवी’को झल्को दिन खोज्दछ । यसको आख्यान सूक्ष्म यद्वा झिनो छ । अज्ञेयको शेखरझै यसमा पनि विवेक र विजयाका विद्यालय जीवनदेखिका साहचर्य, आकर्षण, औत्सुक्य र प्रणयभावले रस प्रदान गरेको पाइन्छ । बा, झा सर, लीला दाइ र वासुदेव अनि योगीका सहारासूत्रबाट उपन्यासले विचार बीज उत्पन्न गर्दै गएको छ । लीला दाइका माध्यमबाट राजनीतिक, वैचारिक पक्ष उजागर हुन्छ भने बा र योगी मनोभञ्जकबाट आध्यात्मिक र दार्शनिक पक्ष उजागर हुन्छ ।
मूलमा मिल्ने छट्पटी जीव, पानी र अग्निमा सबैभन्दा बढी देखा पर्दछ । आत्मा र परमात्मा तत्त्वको पनि अवस्था यही नै हो । एकोऽहं बहुश्याम/सदेक विप्रा बहुधा वदन्ति । (ज्ञानीहरू सत्य एउटै देख्छन्, विज्ञानीहरू अनेक देख्छन् ।) बालुवाका कणमा पानीको भ्रमझै एकै सत्यमा अनेक भ्रमको उद्रेक बोध नै जीवभाव मानिन्छ पनि । आख्यानलाई खिपेर खिरिलो बनाउने यहाँ आवश्यकता नै नपरेकाले त्यसमा लेखकीय पानी जाँच्ने काम आवश्यक छैन । आख्यान तन्तु आद्योपान्त प्रसर्पित प्रवाहित छ ।
नेपालीमा यस प्रकारको उपन्यास लगभग लेखिएकै थिएन भने पनि हुन्छ । लीलाध्वज थापाको ‘शान्ति’ र ‘धन’ले ००७ पछिको नेपाली समाजमा आउन थालेको मानसिक सबलताका पक्षले बेहोर्नुपरेका कतिपय घात–प्रतिघातको संकेत गरे पनि निर्धक्कसँग राजनीतिक विचार प्रक्षेपणको न त लेखकहरूमा ल्याकत नै थियो, न त राज्य र समाजमा सहने क्षमता नै थियो । त्यसो भएकाले यस प्रकारको एउटा उपन्यासको खाँचो हामीलाई थियो नै । त्यो खाँचोलाई केही हदमा यस कृतिले पूरा गर्ने जमर्को गरेको छ ।
परिवेश चित्रणका दृष्टिले पनि यो उपन्यास अनन्य नै बन्न पुगेको पाइन्छ । परिवेशमा अन्तर्भूत हुने तीन तत्त्वमध्ये भूगोल नेपाल, भारत, सिंगापुर, मलेसिया, कोरिया, सर्वियाव्यापी रहेको छ । विशेषत: नेपालका ७५ जिल्लामध्ये सिन्धुलीको पूर्व–दक्षिण कोणमा अवस्थित आम्बोटे, जिनाखु, कमलाखुँज, धनुषाको गोदार, चिसापानी, जनकपुर, काठमाडांै, दिल्ली, सिंगापुर, क्वालालम्पुर, सिओल, बेलग्रेड पादस्पर्शित भू–भागका रूपमा आएका देखिन्छन् भने अन्य नामोच्चरित देश र स्थानहरू मनस्स्पर्शित भू–भागका रूपमा आएका छन् ।
०१५ सालदेखि नेपालका छातीमा नाचिएका मखुण्डी राजनीतिक नाच, त्यसका अभिनेताका चिन्तन र कर्तुतको छायाँछवि नै यसको कार्यपीठिका बनेको छ । बहुलवाद, निर्दल र पुन: बहुदलको प्राप्ति र त्यसले प्रदर्शन गरेका राम्रा–नराम्रा अभिलक्षण नै यस उपन्यासको कथ्य विषयका रूपमा प्रक्षिप्त रहेको देखिन्छ । विगत ६० वर्षका हाँसो, आँसु, प्राप्ति, अप्राप्ति, सुख, दु:खका अतिरिक्त नेपालीले सुखले, दु:खले, सकेर, नसकेर, चाहेर, नचाहेर, नुनिलो, पीरो र अमिलो मुख लाएर भोगेको भुक्तमान नै यस उपन्यासको वातावरण हो । यस अवधिमा नेपालीले आफ्नै देशमा आफैं निर्वासित भएर पनि बस्नुपर्यो । ज्यानमारालाई अदालतले दोषी करार गरेपछि पनि माननीय सभासद् भनेर सम्मान दिनुपर्यो । अदालतले भ्रष्टाचारी भनेर जेल पठाएको व्यक्ति छुट्ता पचासौं हजारको जुलुसले स्वागत गरेको पनि नेपालीले देख्न पाएकै हुन् । यी सारा कुरालाई जसरी कोलमा तोरी हालेर गोरु घुमाएर मियोद्वारा कोलका भित्तामा तोरीका दाना चेप्टिएर पेलिएपछि तेल एकातिर र पिना अर्कातिर झर्छ, त्यसरी नै परिवेशका कोलमा, घटनारूपी तोरी बोइरिएर पात्ररूपी जीवले घुमाउँदा वातावरणरूपी पिना र सन्देशरूपी तेल पाठकले प्राप्त गर्दछन् ।
समग्रमा यो उपन्यास वैचारिक उपन्यास बनेर प्रकट भएको छ । कुनै एक विचारलाई केन्द्रस्थ बनाउनुभन्दा बहुविचारका पक्षमा आफ्नो निर्णय दिन लेखक उद्यत रहँदा–रहँदै पनि आध्यात्मिक लाभ यसको मूल प्राप्ति भएर उपन्यास टुंगिएको छ । सामान्यतया यो उपन्यास पढेर पाठकले राणातन्त्रपछिको बहुलतन्त्र, पञ्चतन्त्र, (राजाको एकलौटी शासनाधिकार भएको) कांग्रेसतन्त्र (तारे पार्टी भनिएको), एमालेतन्त्र (लाल पार्टी भनिएको), एमाओवादी (माउपार्टी भनिएको)को विद्रोह, निर्दलतन्त्र र बहुलवाद आदिका बारेमा विशद् जानकारी प्राप्त गर्दछन् । लेखक सकेसम्म तटस्थ बसेर पात्रहरूबाट नै सबै कुरा व्यञ्जित गर्ने विधि अवलम्बित हुँदाहुँदै पनि मुख्य पात्रपात्रामा कताकति लेखकको जीवनवृत्त आभाषित हुन खोजेकाले पूर्ण तटस्थताको निर्वाह भएन
कि ? भन्न सक्ने स्थान देखिन्छ । प्रथम प्रयत्नमा नै भण्डारी यति सफल छन् भने उनलाई भविष्यमा अझै झर्झराउँदो रूपमा नेपाली उपन्यासले वरण गर्ने निश्चित छ ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply