संसद् अवरुद्ध हुँदा सभासद्लाई खाजाकै पीर
काठमाडौं । विपक्षीहरूको अवरोधका कारण संसद् बैठक सरु हुन नपाउँदै बन्द हुने र फेरि बोलाउने क्रम चलिरहँदा त्यसको निकै असहजिलो मारमा सभासद्हरू परेका छन् । सभामुखले एक घन्टाका लागि बैठक स्थगित गरिदिँदा अचेल सभासद्हरूको भीड संसद् भवन वरपरका होटल तथा रेस्टुरेन्टहरूमा देखिने गरेको छ ।
सोमबार तीन बजेको बैठकको सुरुमै प्रतिपक्षीहरूको तर्फबाट समय लिएर संघीय समाजवादी पार्टीका सभासद् अशोक राईले बोले । उनले संसद् चल्न नदिने बताएपछि सबै प्रतिपक्षी आफू बसेको बेन्चबाट उठे । सभामुख सुवास नेम्वाङले १ घन्टाका लागि बैठक स्थगित गरे । समान्यतया खाजा खाने समय भइसकेको थियो, अब कहाँ जाने, सभासद्हरू रनभुल्लमा परे । संसद् बैठक चलिरहँदा त बैठकस्थल भन्दा संविधानसभाको क्यान्टिनमा भेटिने सभासद्हरू सोमबार भने धमाधम गेट बाहिर निस्के । कोही मिठाई पसल छिरे त कोही म:म पसलतिर ।
भित्र बैठक होस् वा नहोस् पछिल्ला चार दिनयता क्यान्टिनमा सभासद्हरू भेटिन छाडेका छन् । कारण हो, क्यान्टिन नै बन्द हुनु । गत शुक्रबार देखि संसद्को क्यान्टिनमा ताला लागेको छ । बाहिर एउटा फ्रिज र त्यहाँभित्र केही हल्का पेय पदार्थका बोतल त छन् । उखर्माउलो गर्मीमा सभासद्हरूले त्यतातिर आँखा डुलाउँछन् तर दिने कोही छैनन् । केही खानु पर्दा सभासद्को लोगो लगाएर बाहिरका होटल चहार्नु पर्दा असहजिलो हुने गरेको गुनासो सभासद्हरूको छ । नयाँ बानेश्वरस्थित संसद्को क्यान्टिन मात्र होइन, सिहंदरबारको संसद् सचिवालयको क्यान्टिन पनि चार दिनदेखि बन्द छ । यहाँ झन् सेवाग्राहीहरूको भीड लाग्थ्यो । दिनहुँ हुने संसद्का विभिन्न समितिहरूको बैठकमा जाने सभासद्देखि लिएर सचिवालयका सबै कर्मचारीले खाना, खाजाका लागि यही क्यान्टिन प्रयोग गर्थे ।
यी दुवै क्यान्टिन जयसुमन जनशक्ति सेवा प्रालि नामक संस्थाअन्तर्गत सञ्चालित थिए । गत असोजमा भएको बोलकबोलअन्तर्गत सबैभन्दा सस्तो दरभाउमा छानिएको यो क्यान्टिन सञ्चालनको स्वीकृत अवधि यही असार मसान्तसम्म थियो । त्यसपछि नवीकरणको प्रक्रियामा रहेको यो क्यान्टिनले गुणस्तरहीन, बासी रसडेगलेका खानेकुरा खुवाएको भन्दै सचिवालयले सञ्चालनमा रोक लगाएको हो । सचिवालयअन्तर्गत क्यान्टिन सञ्चालन शाखाका प्रमुख मदन पोखरेल भन्छन्– ‘सभासद्हरूबाट पहिल्यैबाट गुनासो आइरहेको थियो तर शुक्रबार सभासद्हरूकै पहलमा खाद्य गुणस्तरका प्राविधिकले आकस्मिक निरीक्षण गर्दा त्यो कुरा पत्ता लाग्यो ।’ प्रयोगशालाका परीक्षण गर्न लागिएको केही नमुना खानेकुराको रिपोर्ट अझै आइनसकेको पनि उनले बताए । तर, त्यो रिपोर्ट राम्रो आए पनि नराम्रो आए पनि यही कम्पनीलाई भने क्यान्टिन चलाउन भने नदिइने पनि उनले प्रस्ट पारे । पोखरेलले भने– ‘रिपोर्ट जस्तो आए पनि खानेकुरा अनहाइजेनिक छ भन्ने मुचुल्का भइसकेको छ, क्यान्टिन व्यवस्थापन समितिको ठहर पनि त्यही नै छ ।’ यही कम्पनीले जावलखेलस्थित स्टाफ कलेजको क्यान्टिन पनि चलाउँदै आएको छ । स्मरण रहोस्, अघिल्लो संविधानसभामा पनि बानेश्वरस्थित संसद्को क्यान्टिनमा खाना खाँदा फुड पोइजनका कारण झन्डै आधा दर्जन सभासद् बिरामी भएर अस्पताल नै लैजानुपरेको थियो ।
विपक्षीको अवरोध कायमै
सरकारले जथाभावी रकमान्तर गरेको भन्दै गत जेठ १६ बाट सुरु भएको संसद् बैठक अवरोध गर्ने काम विपक्षीहरूले अझै जारी राखेका छन् । सोमबारको बैठकमा विपक्षीहरूका तर्फबाट अशोक राईले आफ्ना भनाइ राखेपछि बैठक अवरोध भएको थियो । बोल्ने क्रममा राईले विगतमा भएको चारबुँदे सहमति पालनाका बारेमा संसदीय गरिमामा केही आँच आउने अभिव्यक्ति दिएपछि एमाले सभासद् विकास लम्साल नियमापत्तिका लागि उठेका थिए । तर, सभामुख नेम्वाङले ‘तपार्इंको नियमापत्तिको आधार छैन, बस्नुस्’ भनेपछि केहीबेर त लम्साल अक्क न बक्क भएका थिए । अगाडि बसेका एमालेका सभासद् भरतमोहन अधिकारी र राजेन्द्र पाण्डेले पनि पछाडि फर्केर हातको इशाराले बस्न आग्रह गरेपछि लम्साल बसेका थिए । अरू–अरू कुरा उठाउँदै आएका सभासद् राई नियमापत्ति हुन थालेपछि भने बजेटतिर मोडिएका थिए । जुन प्रवृत्ति अघिल्लो दिन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका विजय गच्छदारले देखाएका थिए । आइतबारको बैठकमा उनले प्रधानमन्त्री सुशील कोइराला, कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवालगायतले सारनाथमा गएर माला जपेर बसे हुने अभिव्यक्ति दिएपछि कांगेस सभासद्को हूल नै उठेर नियमापत्ति गरेको थियो । त्यसपछि उनी पनि बजेट र रकमान्तरतिर
मोडिएका थिए ।
रकमान्तरको विषय जति उठाए पनि गाँठो भने उच्चस्तरीय राजनीतिक समिति निर्माणमा अड्किएको बताइन्छ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई सो समितिको स्थायी अध्यक्ष दिने र समितिमा मधेसी दललाई पनि समेट्ने हो भने रकमान्तरको विषय पनि सेलाएर जाने र अवरुद्ध संसद् बैठक पनि खुल्ने बताइन्छ ।
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply