भदौ २४ को बन्द

१९ वर्षको क्रूर दमन, लामा–लामा जेल जीवन र अलगथलग भूमिगत राजनीतिक संगठनहरूले गर्दा होला, विभिन्न राजनीतिक दलका नेताहरूका माझ त्यस्तै आपसी अविश्वास र एकअर्काप्रति शंकाको वातावरण जनमत संग्रह (२०३६) को घोषणा र बहुदलीय व्यवस्थाको पक्षमा सभाहरू गर्ने स्वतन्त्रता भएको विज्ञप्तिपछि पनि
कायमै थियो ।
वास्तवमा हामीहरूको सोचाइ के थियो भने ती मागहरूमध्ये सबै वा कम्तीमा सबै राजनीतिक बन्दीहरूको रिहाइ र पञ्चायतको माथिदेखि तलसम्म निलम्बन भएन भने पञ्चहरूको दबदबा गाउँघरमा रहिरहन्छ र बहुदलीय पक्षलाई धेरै प्रतिकूल वातावरण रहिरहन्छ ।
आपसमा अविश्वास मात्र होइन, वैरभाव राख्ने प्रवृत्ति पनि थियो । मैले वामपन्थी नेताहरूको प्रेस वक्तव्य वितरण गरेका भोलिपल्टैदेखि पञ्चहरूले सुनियोजित प्रकारले ‘कम्युनिस्टहरूले जनमत संग्रह भाँड्न आन्दोलन थाल्ने कुरा गर्दैछन्’ भनेर प्रचार थालेका थिए ।
प्रेस वक्तव्य जारी भएको पर्सिपल्ट भरतमोहन अधिकारी विराटनगरबाट काठमाडौं आइपुगेपछि हामीहरू बीपी कोइरालालाई भेट्न गयौं । हामीहरूले ‘यी पाँच पूर्वाधार भएन भने पञ्चायती सरकार र पञ्चहरूले सबै काम गरेर बहुदलीय व्यवस्था आउन दिँदैनन्’ भन्दा उहाँले उल्टै हामीहरूलाई भन्नुभयो– ‘यो तिमी कम्युनिस्टहरूको आत्मविश्वासको कमी हो ।’ बडो अनौठो तर्क समेत गर्दै उहाँले भन्नुभयो– ‘तिमीहरूले भने जस्तो अन्तरिम सरकार निष्पक्ष कसरी हुन्छ ? जब देशमा कि त बहुदल पक्ष छन् कि त निर्दल पक्ष छन्, कसको नेतृत्वमा कसरी निष्पक्ष सरकार बन्छ ? के राजाले जनतालाई छकाउन जनमत संग्रहको घोषणा गरेका हुन् ? के इन्दिरा गान्धीले चुनाव गराउँदा जर्ज फन्र्डान्डेज सोझै जेलबाट चुनाव जितेर मन्त्री भएका होइनन् ? इन्दिरा गान्धी आफैं हारेकी होइनन् ?’
बीपी कोइरालाको धारा प्रवाह ‘पाँच पूर्वाधार चाहिँदैन’ भन्ने कुरा सुनेपछि हामीहरू फर्कियौं । पहिला मनमोहनजी, हिक्मतजीहरूको र पछि बीपीको झपराइ सुनेपछि मैले बुझें– बहुदलको जितका लागि निष्पक्ष जनमत संग्रह गर्न जुन हामीले व्यापक जनआन्दोलनको आवश्यकता हामीहरूले सोचेका थियौं, त्यसका पक्षमा ठूला नेताहरू तयार छैनन् । तुलसीलालजी भर्खर निर्वासनबाट आउनुभएको थियो । तर, उहाँले पनि पत्रकारले सोध्दा ‘प्रस्तावित २४ गतेको संघर्षको कुनै आवश्यकता छैन, आफ्नै किसिमले संघर्ष गर्नेछौं’ भन्नुभयो ।
पछि मनमोहन अधिकारीले यतिसम्म चाहिँ भन्नुभयो– ‘२४ गतेको एकदिने संघर्ष ध्वंशात्मक हुनेछैन ।’ यसरी हामीहरू व्यापक जनआन्दोलनको आवश्यकताको सोचाइको पक्षमा रहे पनि अरूहरू तयार हुनुभएन ।
अब मलाई मनमनै चिन्ता भयो– कहीँ भदौ २४ गते हामीहरूले गरेको आह्वान हास्यास्पद हुने त होइन ?
मैले एकदिन चुपचाप भक्तपुर गएर नेमकिपाका साथीहरूका नाममा कमरेड रोहितले दरभंगामा दिएको पत्र दिएँ । उहाँले भन्नुभयो– ‘हामीहरू भक्तपुरमा जुलुस र सभा गर्नेछौं ।’
मैले भनें– ‘तपाईंहरूले काठमाडौंमा पनि अरू वामपन्थी साथीहरूलाई भन्नुहोला ।’ उहाँले भन्नुभयो– ‘हाम्रा पनि साथीहरू छन्, काठमाडौंमा । कमरेड रोहितको पत्रअनुसार हामी गर्छौं ।’
संक्षिप्त भेटघाटपछि म बिदा भएँ । तर, भदौ २४ गते त्यो आठ वामपन्थी नेताहरूको संयुक्त वक्तव्यलाई आधार मानी ती पाँच मागहरूको पक्षमा देशमा ठाउँ–ठाउँ जुलुस र सभाहरू भए । विराटनगरमा बिहानदेखि आधा दिन यातायात बन्द रह्यो । पुलिसहरू सादा भेषमा आई त्यस समय धरान जाने बस छुट्ने हिमालय रोडको ठाउँमा ड्राइभरहरू र कन्डक्टरहरूलाई खोज्न लागे र एउटा बसको खाली सिटहरूमा बसेर हामीहरूलाई धरान जानुछ, खोई ड्राइभर भनी हल्ला गर्न थाले । म, केशव गौतम र विद्यार्थीहरूले पुलिसको यो चाला देखेर बसका पांग्राहरूको हावा फुस्काइदियौं ।
दिउँसो हाम्रो जुलुस सुरु हुने ठाउँमा जम्मा हुँदै थियौं, जोरले पानी पर्न थाल्यो । तैपनि, हामीहरू चार पाँच सय जना निथु्रक्क रुझ्दै विराटनगर बजारको मेनरोड हुँदै नारा लगाउँदै सहिद मैदानतफै लाग्यौं । अगाडि र पछाडि पुलिसको डफ्फा पनि रुझ्दै हिँड्यो ।
सहिद मैदानमा मैले, भरतमोहन अधिकारी, मेघराज आचार्य (चौम), विद्यार्थी नेता भरत पोखरेल इत्यादिले सभा सम्बोधन गर्यौं । भोलिपल्ट भक्तपुर, हेटौंडा, पोखरा, जनकपुर, काठमाडौं इत्यादिमा पनि जुलुस र सभाहरू भएका खबरहरू पाउन थाल्यौं ।
सम्बन्धित समाचार
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
भारतमा ९२ सांसद निलम्बित
-
चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
-
मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
पक्राउ परे रिगल
-
एमाले नेता पौडेल मृत फेला
-
बझाङमा फेरी भूकम्प
Leave a Reply