एमाले महाधिवेशनको प्रभाव
काठमाडौं । नेकपा (एमाले)को आसन्न नवौं महाधिवेशनको असर व्यवस्थापिका–संसद् र संविधानसभासम्म परेको छ । महाधिवेशन केन्द्रित गुटका भेला एवम् बैठकहरूमा सभासद् व्यस्त भएपछि संविधानसभामा उपस्थिति न्यून देखिएको छ । राजधानीमै भएका सभासद् पनि संविधानसभामा नजाने तर सोही दिन हुने व्यवस्थापिका–संसद्को बैठकमा भने उपस्थित हुने गरेका छन् ।
अहिले व्यवस्थापिका–संसद्मा आर्थिक वर्ष ०७१/७२ को प्रि–बजेट छलफल सुरु भएको छ भने संविधानसभामा अघिल्लो संविधानसभाका विभिन्न समितिमा सहमति भएका नभएका विषय प्रस्तुत गर्ने तथा सहमति भएका विषयलाई प्रारम्भिक मस्यौदाका लागि मस्यौदा समितिमा पठाउने र सहमति नभएका विषय छलफलका लागि राजनीतिक संवाद एवम् सहमति समितिमा पठाउने क्रम चलेको छ । संविधानसभाको बैठक प्राय: ११ बजे बोलाइने गरेको छ भने संसद्को मध्यान्ह तीन बजे । तर, व्यवस्थापिका–संसद्को बैठकमा सभासद्हरूको संख्या यति लाजमर्दो छ कि बोल्नका लागि नाम टिपाएका सभासद्समेत बोल्ने दिन उपस्थित हुने गरेका छैनन् ।
आइतबार संविधानसभा बैठकमा अध्यक्ष सुवास नेम्वाङले हरिचरण शाहको नाम पटक–पटक उच्चारण गरे । तीन पटकसम्म नाम बोलाउँदा समेत उनी नआएपछि कौशल साहको नाम बोलाए । उनको नाम पनि तीन पटकसम्म बोलाए । उनी पनि नआएपछि बल्ल अम्बिका बस्नेतको नाम बोलाए । हरिचरण र कौशल मात्र होइन, त्यस दिनको बैठकमा बोल्नका लागि नाम टिपाएर उपस्थित नै नहुने अर्का सभासद् थिए, फरमुल्लाह मन्सुर ।
सो दिनको बैठकमा राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले राष्ट्रिय हित संरक्षण समितिको प्रतिवेदन पेस गरेपछि यसअघि नै पेस भएको मौलिक हक अधिकार तथा राज्यका निर्देशक सिद्धान्तमाथि छलफल चलेको थियो । छलफलमा अम्बिका बस्नेत, रेवतीरमण भण्डारी, गगन थापा, उमेश यादव, एकनाथ ढकाल, रवीन्द्र अधिकारीलगायतका सभासद्ले भाग लिएका थिए । अधिकांश सभासद्ले नागरिकता दिँदा छोरा र छोरीमा विभेद गरिनु नहुने, मुआब्जा दिएर राज्यले सम्पत्ति अधिग्रहण गर्नुपर्ने र त्यस्तो सम्पत्ति सार्वजनिक हितका लागि प्रयोग गर्नुपर्नेलगायतका सुझाव दिएका थिए । एमाले सभासद् रवीन्द्र अधिकारीले सम्पत्तिको हकले डरलाग्दो अवस्था सिर्जना गरेको भन्दै त्यसतर्फ सजग हुनुपर्ने बताए । उनको भनाइ थियो– ‘जग्गा हुने मान्छेले कुनै अपराध गरेको छ भने ऊ त्यही जग्गा धरौटीमा राखेर छुट्छ तर नहुने मान्छे थुनामा पर्छ ।’
एमालेका दुई जना मात्र
बैठकको सुरुमा राष्ट्रिय धुन बज्दा एमालेका करिब दुई दर्जन सभासद् उपस्थित थिए । पहिलो हार पूरै खाली भए पनि एकछिन पछि विष्णु पौडेल पुगेका थिए । ४५ मिनेटपछि आइपुगेका अध्यक्ष झलनाथ खनाल १० मिनेट बसेर बाहिरिएका थिए । बैठकमा एमालेका २२ जना सभासद् उपस्थित थिए भने कांग्रेसबाट पनि त्यही हाराहारीमा थिए । कांग्रेसका शीर्ष नेता शेरबहादुर देउवा, रामचन्द्र पौडेल कोही बैठकमा गएनन् । शीर्षको प्रतिनिधित्व गोपालमान श्रेष्ठले गरेका थिए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि बैठकमा गएनन् भने नेता भट्टराई आफ्नो प्रतिवेदन पेस गरेपछि बाहिरिएका थिए । बैठक सुरु हुनुअघिसम्म आफ्नै सिटमा बसेका राप्रपाका सूर्यबहादुर थापा राष्ट्रिय धुन बज्न लागेपछि बाहिरिएका थिए । पार्टीको महाधिवेशन नजिक आएकाले एमाले सभासद्को उपस्थिति न्यून भएको बताइन्छ । असार ७ गते देशभर एकैदिन महाधिवेशन प्रतिनिधि चयन गर्नुपर्ने भएकाले त्यसको तयारीका लागि सबैजसो सभासद् जिल्ला बाहिर रहेको बताइन्छ । एमालेका भरतमोहन अधिकारी, युवराज ज्ञवाली, सिद्धिलाल सिंह, भानुभक्त ढकाल, केदार सञ्जेललगायत केही सभासद् भने प्राय: संविधानसभा तथा व्यवस्थापिका–संसद् बैठक नछुटाउनेभित्र पर्छन् ।
तालमेल नमिल्दा पनि समस्या
नयाँ बानेश्वरमा हुने संविधानसभा बैठकको समय र सिंहदरबारमा हुने विभिन्न समितिहरूको समयबीचको तालमेल नमिल्दा पनि यस्तो समस्या आएको बताइन्छ । समितिहरूको बैठक बिहान प्राय: ७ र ८ बजे डाकिने गरेको छ संविधानसभाको ११ बजे । समितिका बैठक बसेर ११ बजे संविधानसभा पुग्न नै नभ्याइने कतिपय सभासद्हरू बताउँछन् । त्यसैले भित्र बैठक चलिरहँदा १२–१ बजेसम्म पनि सभासद् आउने क्रम चलिरहेको हुन्छ । दिउँसो हुने व्यवस्थापिका–संसद्को बैठकमा संविधानसभा बैठकमा भन्दा उपस्थिति बढी हुनुले पनि यो कारणलाई प्रस्ट्याउँछ ।
अस्थायी क्यान्टिन सुरु
अखाद्य र गुणस्तरहीन खाने कुरा खुवाएपछि बन्द गरिएको यसअघिको क्यान्टिन नखुले पनि सोमबारबाट संसद् भवन परिसरमा अस्थायी क्यान्टिन सञ्चालनमा आएको छ । अल्फा हाउसले सञ्चालन गरेको यो क्यान्टिनमा हाल चिया, कफी र बिस्कुट मात्र उपलब्ध छ । बन्द क्यान्टिनको ढोका खोल्न नमिल्ने भएकाले यी चिज पनि गाडीबाट ओसारेर अस्थायी रूपमा सभासद्को आवश्यकता केही हदसम्म पूरा गर्न लागिएको बताइन्छ । पुरानो क्यान्टिन सञ्चालकलाई असार मसान्तसम्मको अनुमति दिएकाले त्यसअघि टेन्डर प्रक्रियामा जान नमिल्ने भएकाले अस्थायी क्यान्टिनको व्यवस्था गरिएको सचिवालय स्रोतले बतायो ।
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply