सतहभन्दा पर ‘ह्वाइट केन’
रगतको रङ कस्तो हुन्छ ? हामी झट्ट भन्छौं– रातो । तर, रातो कस्तो हुन्छ ? भनेर कसैले सोध्यो भने त्यसको जवाफ के होला ? रङहरूको भेद तब हुन्छ, जब त्यसलाई हेर्ने दृष्टि हुन्छ । जन्मजात दृष्टिविहीनहरूका लागि यो प्रश्न स्वाभाविक छ । तर, दृश्यमा रमाउनेहरूका लागि यसको जवाफ स्वाभाविक छैन । यस्तै सहज प्रश्नको असहसज जवाफ खोजेको छ– ‘ह्वाइट केन’ले ।
ह्वाइट केन उपन्यासकार मनीषा गौचनको दोस्रो उपन्यास हो । ‘वल्लीको डायरी’ उपन्यासको सफलतापछि गौचनको यो उपन्यास आएको हो । यो उपन्यासले अनुभूतिजन्य धेरै कुरालाई सतहमा ल्याइदिएको छ । दृष्टिविहीनका अनुभूति, उनीहरूका संघर्ष र उनीहरूको सामाजिक जीवनका बारेमा उपन्यासले धेरै कुरा बोलेको छ ।
उपन्यासको प्रमुख पात्र भाष्वत जन्मजात दृष्टिविहीन हो । त्यसका अलावा ऊ जन्मजात अनाथ पनि हो । केन्द्रीय पात्रका यी दुई अवस्थाबाट उपन्यासको सिर्जना भएको छ । एउटी विदेशी महिलाको सहयोगमा ऊ एउटा बालगृहमा बसेर हुर्कन्छ, शिक्षित हुन्छ । यो उसको आवरण पक्ष हो । तर, अर्को पक्ष उसको दृष्टिविहीनता हो, जुन उपन्यासको केन्द्रीय पक्ष हो । यसले अनुभूतिका अनेक तहलाई खोतलेको छ ।
भाष्वत जब बच्चा हुन्छ, खेल्ने क्रममा उसको कलिला पाइतालाबाट तरर रगत चुहिन्छ । उसले स्पर्श गरेर त्यसको अनुभूति लिन्छ । कुनै तरल पदार्थ उसको गोडाबाट चुहिरहेछ । उसले थाहा पाउँछ त्यो रगत हो । रगत रातो हुन्छ भन्ने उसले सुनेको हुन्छ । तर, उसको मस्तिष्कमा एउटा प्रश्न जन्मिन्छ– रातो कस्तो हुन्छ ? रगत भन्नेबित्तिकै आम दृष्टिवालाहरूको दृश्यमा आउने कुरा हो रातो । तर, एउटा जन्मजात दृष्टिविहीनका लागि रातो भनेकै कस्तो हुन्छ ? भन्ने प्रश्न उब्जनु स्वाभाविक हुन्छ । उपन्यासको यो एउटा मार्मिक र अनुभूतिजन्य सन्दर्भ हो ।
कतिपय कुरालाई भाष्वतले स्पर्शले अनुभूति गर्छ । तातो–चिसो, ठूलो–सानो जस्ता कुरालाई उसले स्पर्शले अनुभूति गर्छ । यहाँ सम्मकि रुप र कुरुप पनि । उसकी प्रिय बालसखा बामोलीलाई उसले स्पर्शले कुरुप भएको अनुभूति सँगालेको छ । तर, रङलाई उसले त्यो पनि सक्दैन । कसरी छुट्याओस् उसले रङको भेद † दृष्टिविहीनलाई ऐनाको के प्रयोजन †
भाष्वत दृष्टिविहीन अवश्य छ, तर ऊ कमजोर छैन । उसको अनुभूति अझ सघन छ । ऊ आत्मबलमा पनि कमजोर छैन । ऊ शिक्षित छ । आममानिसले भन्दा राम्रोसँग उसले आफ्नो जिम्मेवारी निर्वाह गरेको छ । महिलाहरू ऊप्रति आकर्षित छन् । उनीहरूका यौनचाहना पूरा गर्न ऊ सक्षम छ । आममानिसको जस्तै उसको पनि प्रेम र यौनजीवन सक्षम र सबल छ । तर, पनि उसको त्यही दृष्टिविहीनतालाई लिएर समाजले उसलाई कृपापात्रका रुपमा लिएको छ । यही आम सामाजिक धारणाको सटिक जवाफ वा प्रतिवाद पनि हो– ह्वाइट केन ।
भनिन्छ, दृश्य सतही हुन्छ । दृष्टिवालाहरूलाई दृश्यले सतहमा सीमित गरिदिन्छ । जुन कुरा दृश्यमा आउँछ, त्यही अनुभूतिमा पनि । तर, दृष्टिविहीनहरूका लागि अनुभूति मात्रै एउटा यस्तो चिज हो, जसले गहिराइमा लिएर जान्छ । यसको सघन अनुभूति उपन्यास पढ्दा पनि हुन्छ ।
उपन्यासका अन्य पात्रहरू छन् जो अनुभूतिजन्य सघनताबाट सञ्चालित छन् । भाष्वतकी प्रेमिका सुलभा लेखिका हो, जसलाई बाहिरी संसारको दु:ख र पीडाले सांसारिक जीवनप्रति नै मोहभंग भएको छ । यही कारण ऊ भाष्वतलाई प्रेम त गर्छे, तर प्रेमिका भएर होइन, साथीमा रुपान्तरित भएर । अर्की पात्र जुनो जो पुरुषहरूको संसर्गले कुनै आकर्षित गर्दैन । ऊ सीमासँग प्रेमसम्बन्धमा गाँसिएर उसैसँग समलिंगी विवाह गर्छे ।
यो उपन्यास नितान्त फरक चिन्तनबाट सिर्जित छ । दृष्टिविहीनहरूप्रतिको सामाजिक धारणालाई बदल्न यो उपन्यास सक्षम छ । दृश्यले दृष्टिविहीन बन्न पुगेका मान्छेहरूका लागि यो दृष्टिविहीन भाष्वतको जीवन एउटा प्रेरणा बन्न सक्छ । त्यसैले त उपन्यासकारले यो पुस्तक तिनीहरूलाई समर्पण गरेकी छन्– जो मन र मस्तिष्कले संसार देख्छन् । उपन्यासकारले थुप्रै यस्ता सजीव पात्रहरूको अनुभव आफूभित्र मिसाएर यसको सिर्जना गरेको बताएकी छन् र उनले भनेकी छन्– ‘उपन्यास लेख्दा पटक–पटक आँखा चिम्लेकी छु ।’ र, आँखा चिम्लिनु भनेको मनको अतल गहिराइमा डुब्ने प्रचेष्टा हो, जो सतहभन्दा र दृश्यभन्दा निकै फरक हुन्छ ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply