मैले कहिले बिगारेँ नेतालाई ?
प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष देवराज रिमाल एमाले मकवानपुरको महाधिवेशन प्रतिनिधि छनोटमा पराजित हुनुभयो । मकवानपुरमा स्थायी कमिटी सदस्य केपी शर्मा ओली पक्षधर हावी छन् । रिमालका विद्यार्थी राजनीतिका समकालीन शंकर पोखरेल, भानुभक्त ढकालहरू ‘गलेमिले’ दमालीहरू हुन् । तैपनि, शनिबार भएको प्रतिनिधि छनोटमा उहाँ पर्नुभएन । आइतबार बिहान फेसबुक च्याटमा उहाँले भन्नुभयो, ‘न ओलीको भइयो, न नेपालको, त्यसैले हारियो ।’ काठमाडौँकी इन्दिरा पौडेलले फेसबुकमै भन्नुभयो, ‘हामीले नेता बिगारेका हौँ कि होइनौँ ?’ उहाँलाई लागिरहेको थियो, ‘उहाँको आरोप मैले स्वीकारुँ र हो भनुँ ।’ खुलेर प्रतिवाद गरेँ, ‘मैले बिगारेको होइन, वरिपरि बस्ने चम्चाहरूले बिगारेका हुन्, म त कार्यकर्ता मात्र हुँ ।’ उहाँ सहमत हुनु भयो । नेताको वरिपरि बस्नेले हामीलाई पनि आलोचनाको पात्र बनाउने नै भए, कारण हामी पनि कुनै न कुनै नेतासँग नजिक छौँ । पौडेलले थप्नु भयो, ‘म ओलीको नजिक छु, तपाईं नेपालको, महाधिवेशनपछि पनि हामी साथी त हुन सक्छौँ नि ?’ उहाँको प्रश्नले निकै गम्भीर बनाएको छ । उहाँ एमालेको जिल्लास्तरीय नेता हुनुहुन्छ ।
प्रेस चौतारी नेपालले संविधानसभा चुनावताका ‘एक उम्मेदवार, एक पत्रकार’ भनेर २ सय ४० स्थानमै पत्रकार परिचालन गरेको थियो । त्यतिखेर एमालेलाई बल पुगोस् भनेर पत्रकारहरूले निकै धपेडी गरे । यो धामाधपेडी गरेबापत चौतारीका नेताहरूले के कति खर्चपानी नेताहरूबाट पाए, गुपचुप छ, आफू पनि एउटा नेता नै परेकाले नेताहरूको सीआरबिटी बनाउँदाको पूरै पैसा अझै तिर्न सकिएको छैन, खर्चपानी पाउने त कुरै छाडौँ । जिल्लामा ‘एक उम्मेदवार, एक पत्रकार’मा खटिएका पत्रकारहरूले मोबाइलको रिचार्जसम्म पनि नपाएको खबर त्यतिखेर साथीहरूले सेयर गरेकै थिए । एमालेको घोषणापत्र सार्वजनिक गरेकै दिन एमालेको हाइटेक चुनावी रणनीति अन्तर्गत अनलाइन चलाउने भनेर ‘रातोसूर्य डटकम’ तयार पारियो । एमाले अध्यक्ष झलनाथ खनालबाटै त्यसलाई लन्च गराइयो । देशभरिका साथीभाइले योगदान दिए । तर, तिनीहरूले दाम त के नामसमेत पाउन सकेनन् । आज त्यो साइट एकाएक स्थायी कमिटी सदस्य केपी शर्मा ओलीका पक्षमा निर्लज्ज भएर सञ्चालन भइरहेको छ । शंकर पोखरेल सञ्चारमन्त्री हुँदाका अवैतनिक प्रेस सल्लाहकार प्रमोद दाहालले त्यसलाई दुरुपयोग गरिरहेका छन् । प्रचार विभाग प्रमुख प्रदीप ज्ञवाली हाम्रा नेता नै होइनन् जसरी त्यो साइटको दुरुपयोगमा संरक्षक देखिनुभएको छ र प्रचार विभाग सचिव सूर्य थापाले पनि ‘अनदेखा’ गरेर बुझपचाइरहनुभएको छ । प्रेस चौतारीका संरक्षक, सल्लाहकारहरू पनि उहाँहरू नै हो । थाहा छैन, एक वचन प्रेस चौतारीमा सोधपुछ र छलफलबिना साइटलाई उपप्रधानमन्त्री वामदेव गौतमका छोरा हरिश र कर्मचारीका नाममा दर्ता गर्ने काम भएको छ । केही नेतालाई फकाइफुल्याई गरेर सिंगो प्रेस चौतारीको कार्यसमिति र चौतारीमा आबद्ध ओली पक्षबाहेकका एमाले नेता तथा पत्रकारको भावनामा ठेस पुर्याउने काम भएको छ । कुरा बाहिर ल्याउँदा जग हाँस्छ, बाहिर नल्याए हामीले जे गरे पनि हुन्छ भनेर यिनै ज्ञवाली, थापा र दाहालहरू हाँस्छन् । लाग्छ, हामीले यिनका चाकरीगान गाउन सकेका छैनौँ र यतिखेर माधव नेपाललाई माया गर्दा हामी त एमाले नै होइनौँ जस्ता भएका छौँ ।
विराटनगरमा प्रेस चौतारी नेपालको सातौँ राष्ट्रिय अधिवेशनमा अध्यक्ष पदमा पराजित विष्णु रिजाल पनि एमाले प्रचार विभागमा छन् । तर, ‘हिमाल’ खबरपत्रिकाले ‘करोडौँमा एक’ भनेर लेखेका हाम्रा श्रद्धेय नेता प्रदीप ज्ञवाली प्रधान सम्पादक भएको एमालेको मुखपत्र ‘नवयुग’मा यो एक वर्षका बीचमा प्रचार विभाग सदस्य विष्णु रिजाललाई एउटा लेखसमेत लेख्न आग्रह गरिएन । विराटनगरमै उहाँ पूर्वाग्रही देखिएको पछि मलाई ‘हिमाल’को कभरमा छापिएको उहाँको तस्बिर झल्झली याद आइरहेको थियो । उहाँको कुनै कमजोरी देख्दिनँ थिएँ, फगत ‘बालकोट शरणम्’बाहेक । उहाँजत्तिको मान्छे संविधानसभाको निर्वाचनमा गुल्मीबाट हार्दा दु:ख मनाउ गर्ने एउटा एमाले मनुवा म पनि हुँ । तर, न उहाँ मन्त्री हुँदा मैले एक कप चियाको आशा गरेँ, न चौतारीको सचिव उठ्दा उहाँको साथ मागेँ, बरू उहाँको निर्देशनमा सम्पादक सूर्य थापाले शक्तिखोरको रिपोर्टिङ गर भनेपछि दुई दिन धाएर हेटौँडा गएर ‘नवयुग’लाई रिपोर्टिङ गरेको थिएँ, त्यसबापत उहाँहरूले बल्खुतिर पुग्दा एक कप चिया त पिएर जाऊ भाइ भनेको सुनिएन । चौरमा बोल्नेबाहेक उहाँहरूसँग फुर्सद पनि थिएन । किनभने, हामी एमाले बनाउन लागेका थियौँ, उहाँहरू नयाँ नेपाल बनाउन लाग्नुभएको थियो । पछि चौतारीमा भेट भएर समीक्षा गरौँला भन्ने लागेको थियो, विराटनगरमा विष्णु रिजालको मान्छे भनेर उहाँहरूले नै छाप लगाइदिनुभयो, जबर्जस्त माधव नेपालको कोटेश्वरतिर धकेल्नुभयो । हिजो मात्र चितवनका मित्र रामप्रसाद न्यौपाने, जो मेरो कलेजताकाको कोठेसाथी हो, अभिभावक हो, अनेरास्ववियुमा मलाई चितवन जिल्ला कमिटीको नेता बनाउने साथी हो, उहाँले फोन गरेर भन्नुभयो, ‘अरे यार तिमी किन कोटेश्वरतिर लाग्यौ ? कसले तिम्लाई ओलीविरोधी बनायो ?’ मैले भनेँ, ‘अखिलका तीन अध्यक्ष राजेन्द्र राई, योगेश भट्टराई, हिक्मत कार्कीलाई हामीले कोठामा लगेर भात पकाएर खुवाएका थियौँ, आज उहाँहरूमध्ये कार्कीबाहेक राई र भट्टराई कोटेश्वरतिर हुनुहुन्छ र म पनि उतै लागेँ ।’ मुग्लिनको पुलमा अखिलको जिल्ला सम्मेलनको वाल पेन्टिङ गर्दा मेरा नेता यिनै थिए, म न ओलीलाई चिन्थेँ, न नेपाललाई ।
अहिलेसम्म हेर्दा मैले नेताको चाकरी गर्न सकिनँ कि भन्ने लाग्न थालेको छ । ०५४ सालमा नेपाल पत्रकार महासंघको सदस्य भएको मान्छे किन एमालेको संगठित सदस्यचाहिँ ०६४ सालतिर लिइएछ भन्ने लाग्छ कहिलेकाहीँ र कहिलेकाहीँ लाग्छ, धन्न मलाई सदस्यताचाहिँ दिए है † प्रेस चौतारी मकवानपुरको अध्यक्ष हुन संगठित सदस्यता चाहिने भएपछि देवराज रिमालले नै सिफारिस गर्नुभएको हो । एमाले मकवानपुर सचिव श्रीधर पोखरेलले सहयोग गर्नुभएको हो । पछि यिनै रिमाल र पोखरेलको बोलचाल बन्द भयो । पोखरेललाई रामबहादुर थापा ‘बादल’सँग भेटेको भनेर कारबाहीस्वरूप ६ महिना निलम्बन गरियो । त्यतिखेर ईश्वर पोखेरललाई यो रिपोर्टिङ गरेको थिएँ, फोन गर्दा उठेन, एसएमएस गरेँ । पछि उहाँले कलब्याक गर्नुभएको थियो । गगन विष्टले महासचिवको नम्बर दिनुभएको थियो । यी सबै घटनाक्रम पूर्वदीप्तिमा हेर्दा एक्लै हाँस्न मन लाग्छ । आज पोखरेल दाइ ओली पक्षका मकवानपुरमा बलशाली नेता हुनुभएको छ । गत साता हेटौँडा सिमेन्टको अध्यक्ष हुनुभयो, नम्बर खोजेर बधाई दिएँ । उहाँलाई कारबाही गर्दा चिन्ता गर्ने हाम्रा महासचिव इर्—श्वर पोखरेल र श्रीधर पोखरेल आज बालकोटको वैशाखीमा राजनीति गरिरहनुभएको छ । हामी बबुरो कार्यकर्ता भुइँमा न भाँडामा भएर नेताहरूलाई गाली गरिरहेका छौँ ।
राजनीति मन्दिरमा टाउको चढाइएको कुखुराजस्तै हुँदै गएको छ । पुजारीले टाउको निमोठेर देउतालाई चढाउँदै जीउ चौरमा फाल्दा बिचरो कुखुरो यस्तो रन्थनिन्छ कि उसलाई पत्तै हुँदैन, मेरो टाउको छ कि छैन । हो, पार्टीमा लागेका हामी कार्यकर्ता मात्र, जो न सञ्चारमन्त्री आफ्नो हुँदा कुनै सरकारी मिडियामा तीनमहिने नियुक्तिको लालसा गर्छ, मन्त्री हुँदा न प्रेस सल्लाहकारको जामा लगाएर हिँड्ने रहर गर्छ, न त कुनै राजनीतिक नियुक्तिको आशा गर्छ । खुरुखुरु एमाले बलियो होस् भनेर कामना गर्नेहरू यस्तै पुजारीले फालेका टाउकोविहीन कुखुरा भएका छौँ । पुजारी त तिनै भएका छन्, जो हामीजस्ता कार्यकर्ताको इमानको टाउको निमोठेर कहिले प्रधानमन्त्रीको सल्लाहकार, कहिले सभासद्को टिकटको आकांक्षी त कहिले केन्द्रीय सदस्य या राजनीतिक नियुक्तिको आशामा मन्दिर फेरेर पूजाको ठेक्का लिइरहेका छन् । उनीहरूलाई कार्यकर्ताको टाउको निमोट्ने ठेक्का पर्नु नै साम्यवाद लाग्दो रहेछ, आफू दाल र भात खाने भएपछि आर्थिक क्रान्ति भएजस्तो लाग्दो रहेछ । त्यति मात्र राजनीतिक ध्येय होइन कमरेड † एउटा सानो स्वार्थका लागि गुट फेर्नु हुँदैन भनेर मुकुन्द न्यौपानेहरूलाई हामीजस्ता कार्यकर्ताले सतिसाल भएर जवाफ दिनुपर्छ, जसरी योगेश भट्टराईले दिनुभयो । न्यौपानेले भन्नुभएछ, ‘मलाई ०५१ मै श्रममन्त्री बनाउने भनेर मनमोहनजीले नाम दिएको, माधवजीले काट्नु भयो ।’ योगेश भट्टराईले भन्नुभयो, ‘०५१ मै नेपालसँग रुष्ट तपाईं अहिलेसम्म किन पछि लागेको त ? ०७० मा समानुपातिकमा नपरेपछि नेपालको खोइरो खन्ने ?’ हो, न्यौपानेले आफ्नो पुस्तकसमेत नेपालबाट विमोचन गराएको कार्यक्रममा म पनि थिएँ, जहाँ न्यौपानेको किताब विमोचनको कार्यक्रम नै थिएन, जबर्जस्त उहाँ घुस्नुभएको थियो र समाचार लेख्ने म पनि थिएँ । आज उहाँहरू नै नेपालको खोइरो खनेर योगेश भट्टराईलाई भड्काउन खोजिरहनुभएको छ । प्रदीप नेपालहरू, जसको भूगोल स्पष्ट छैन, उहाँहरूको मात्र एमाले होइन, हाम्रो पनि हो । हिजो सीपी मैनालीहरू बाहिँरिदा ‘एमालेको लुतो पन्छियो’ भनेर खुसी हुने उहाँ नै हो । टुँडिखेलमा ‘वामदेव एक नम्बरका भ्रष्टाचारी’ भनेर घोषणा गर्ने पनि उहाँ नै हो । अहिले बाहिर भन्नलाई सल्लाहकार पद भनिए पनि उनै वामदेव गौतमका प्रमुख स्वकीय सचिव नै उहाँ हुनुहुन्छ ।
स्थानीय निकायको चुनावमा एमालेलाई जिताउन लाग्दा कोठेसाथी, दाजु लालबहादुर थापा मेरो गाविस अध्यक्ष हुँदा राति जुलुस निकालेर कांग्रेसीको मकैका हरिया विरुवा भाँच्दा भोलिपल्ट बुबाआमाकहाँ गुनासो आयो । त्यो गर्न हुने काम नै थिएन, पहिलो संविधानसभाको निर्वाचनमा एमालेलाई जिताउन मकवानपुरमा खटिँदा एमाओवादीका राता मण्डलेहरूले चारै सिट जितेपछि भनेका थिए, ‘अरू त त्यस्तै हो, एलनले चैँ अब के गरी खाला, सबै हामीले जित्यौँ ।’ उनीहरूले गीत नै गाएका थिए, ‘अरूले त जेसुकै गरुन्, एमाले चैँ झुन्डेर नमरुन् ।’ पत्रकार अरूण बरालले स्ट्याटस नै लेख्नुभयो, ‘०५४ मा ढुंगामाटो पनि एमाले, ०६४ मा एमाले ढुंगामाटो ।’ त्यतिखेर ख्याल मन दुखेको थिएन । यहाँसम्म आउँदा संगठित सदस्यता नवीकरण गरिएकै छ । भोट हालिएकै छ । बदलामा केही मागिएको छैन । पहिला भूगोलबाट टिकट माग्ने, पछि समानुपातिकमा दाबी गर्ने, त्यसमा पनि नपरेपछि २६ मा जोड गर्ने र त्यहाँ पनि सम्भावना नदेखेपछि प्रमुख स्वकीय सचिव पनि नछाड्ने या मुकुन्द न्यौपानेहरूले चित्त दुखेको २० वर्षसम्म माधव नेपाल बोक्न हुने, आफ्नो अञ्चलको नेता भएकाले मैले बोक्दा आफ्नै संगठन, साथीभाइ र सल्लाहकार, संरक्षकहरूको नजरमा म विष्णु रिजालको मान्छे भनेर पूर्वाग्रह राखेर पाखा लाग्नुपर्ने ? भन्नोस्, मैले नेता कहिले बिगारेँ ? देवराज रिमालले ओलीका पक्षमा यत्रो वर्ष राजनीति गरेको उपहार यही हो ? आउनुहोस्, खुलेर बहस गरौँ । तपाईंले पनि छातीमा हात राखेर भन्नूस्, ‘मैले नेतालाई कहिले बिगारेँ ?’ या हाम्रा टाउको गनेर नेताको वरिपरि बस्ने चम्चाहरूलाई अरू कतिदिन भुइँमा न भाँडामा हुन दिने ?
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply