लोकतन्त्र बुझ्ने आधार
लोकतन्त्र प्राप्तिको लडाइँमा नेपाली जनताले आफ्नो स्थान र तहबाट विशिष्ट योगदान अर्पण गरे । अब यो सत्यलाई कसैले पनि लुकाउन सक्दैनन् कि विगतदेखि नै लोकतन्त्रका लागि जनताले अनेक मूल्यसमेत चुकाउनुपर्यो । दक्षिणपन्थी र उग्र वामपन्थी धारवालाहरूले लोकतन्त्रलाई आघात पुर्याउने कार्यमा महारथ हासिल गरे पनि जनताले लोकतन्त्रको मार्गमा देखा परेका सबै प्रकारका षड्यन्त्र, उल्झन र खाल्डाहरूलाई बिनाहिचकिचाहट पुर्दै आए ।
नेपालमा लोकतन्त्र स्थापित हुनु आफैँमा एउटा राजनीतिक परिघटना थियो । तर, राजनीतिक दलहरूमा देखिएको आन्तरिक दुर्बलताका कारण अझै लोकतन्त्रले फस्टाउने मौका पाइरहेको छैन । यिनै पक्षहरूलाई केलाउने उद्देश्यले अहिले एउटा पुस्तक ‘नेपालमा दलहरूको लोकतन्त्रीकरण : चुनौती र समाधान’ आएको छ । खास गरी, राजनीतिक दलहरू किन लोकतान्त्रिक हुन सकेनन् भन्ने चिन्तनको सेरोफेरोमा रहेर राजनीतिककर्मी भेषराज अधिकारीले सम्पादन गरेको उक्त पुस्तकले दलहरूको लोकतन्त्रीकरणमा देखिएका समस्याहरूको छिद्र–छिद्र केलाउने हैसियत राख्छ । यद्यपि, यो पुस्तक नेपालका केही बुद्धिजीवी र नेताहरूले बेलाबखत व्यक्त गरेका विचार र कार्यपत्रहरूको संग्रहित रूप हो ।
लोकतन्त्र केही धूर्त, चलाख र बाठा नेताहरूको आम्दानीको स्रोतका रूपमा होइन, आमजनसमुदायको मर्म बुझ्ने माध्यम एवम् उनीहरूका मूल स्पन्दनका रूपमा स्थापित हुनुपथ्र्यो । तर, देश लोकतन्त्रको दिशामा अघि बढेको लामो समय बितिसके पनि अहिलेसम्म जनताले लोकतन्त्रको आभास पाउने कुनै स्पष्ट आधार फेला पार्न सकेका छैनन् । अझ, लोकतान्त्रिक आन्दोलनमा होमिएका दलहरूभित्र नै लोकतान्त्रिक संस्कार र पद्धतिको सर्वथा अभाव देखिन्छ । दलहरूमा देखिएको कमजोरी केलाउँदै वरिष्ठ संविधानविद् डा.काशीराज दाहालले गर्नुभएको यो टिप्पणी निकै नै सटीक छ– ‘राजनीतिक दलहरूको क्रियाकलाप स्वच्छ नभएसम्म आर्थिक–सामाजिक रूपान्तरण सहज हुँदैन । डन र धनले गाँजेको राजनीतिक गतिविधिबाट सुशासन दिने राज्य व्यवस्था निर्माण हुन सक्दैन । निर्वाचन महँगो हुँदै जानु, दलहरू मतदाताप्रति जिम्मेवार नबन्नु, वाचा र कवुल जे पनि गर्न तयार हुनु तर कार्यान्वयन गर्न उदासीन रहनु, दलहरूको आन्तरिक संगठनमा लोकतन्त्रीकरण नहुनु, नेतृत्वको संकट, कुशल व्यवस्थापनको समस्या, एकअर्काप्रतिको अविश्वास, कुरा संविधानमा सहमतिको, खेल सत्ताकेन्द्रित राजनीतिको, समानुपातिक निर्वाचन प्रणालीमा देखापरेका विकृति र विसंगति, भ्रष्टाचारको चक्रव्यूहमा फसेको राज्य प्रणालीको स्थिति रहे/भएसम्म बलियो राज्य र उत्तरदायीपूर्ण राज्य व्यवस्था निर्माण हुन सक्दैन ।’
पुस्तकमा एमाले नेता केपी शर्मा ओलीको ‘नेपालमा दल निर्माण : चुनौती र समाधान’, नेतृ विद्यादेवी भण्डारीको ‘लोकतन्त्र र नेतृत्व’, नेता शंकर पोखरेलको ‘द्वन्द्व व्यवस्थापनमा पार्टी जीवनको लोकतन्त्रीकरण’, नेता प्रदीप ज्ञवालीको ‘पार्टीगत द्वन्द्वको व्यवस्थापन र लोकतन्त्रको सुदृढीकरण’ विषयक लेखहरू समावेश छन् भने नेपाली कांग्रेसका नेता एन.पी. साउदको ‘नेपालमा राजनीतिक दलहरूभित्रको द्वन्द्व र लोकतन्त्रको सुदृढीकरण’, एमाओवादी नेता गिरिराजमणि पोखरेलको ‘पार्टीभित्र र पार्टीबाहिर हुने द्वन्द्वले लोकतन्त्रमा पर्ने असर’, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, हिक्मत कार्की, देवराज दाहाल र भेषराज अधिकारीका रचनाहरू पनि पुस्तकमा समेटिएका छन् ।
लोकतन्त्रमा द्वन्द्व हुनु स्वाभाविक कुरा हो । द्वन्द्वबिना कुनै पनि सामाजिक प्रक्रिया अघि बढ्न सक्दैन । वरिष्ठ पत्रकार दाहालले लेखेका छन्– ‘लोकतन्त्रमा द्वन्द्व हुने अति न्यून आधारहरू छन् । पहिलो आधार सिद्धान्तमा भिन्नता । यद्यपि, लोकतन्त्रको व्यापक मैदानमा खेलाडी भएर प्रस्तुत भएपछि भिन्न सिद्धान्त र विचारको खोजी गर्दै मतभेद सिर्जना गर्नु राजनीतिक बेइमानी हुनेछ । त्यस्तो बेइमानी अतिवादीहरूबाट प्राय: अविकसित राष्ट्रहरूमा भइरहेको देखिन्छ ।’
यद्यपि, पुस्तकभित्र समेटिएका विभिन्न बुद्धिजीवी र नेताहरूका विचार मननीय हुँदाहुँदै पनि कतिपय विचारको पुछारमा टिप्पणीकर्ताहरूको पुछ्रे–विचार राखिँदा कताकता किताबको वजन घटेजस्तो लाग्छ । टिप्पणीकर्ताहरूका विचारलाई पुस्तकमा बेग्लै खण्डमा समेटिएको भए पुस्तक अलि व्यवस्थित देखिन्थ्यो । साथै, सम्पादनको सर्वथा अभाव देखिनु पुस्तकको अर्को कमजोर पक्ष हो । सम्पादनमा देखिने कमजोरीले पुस्तकलाई हल्का बनाउन मद्दत पुर्याउँछ भन्ने तथ्यप्रति सम्पादक अधिकारी सायदै अनभिज्ञ हुनुहुन्छ होला ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply