जबजको विकासका आयाम
‘जनताको बहुदलीय जनवाद’ नेपालको कम्युनिस्ट आन्दोलनलाई जडताबाट मुक्त गरेर नयाँ ढंगले अघि बढ्न प्रेरित गर्ने सिद्धान्तका रूपमा हामीबीच लोकप्रिय रहेको छ । नेपाली कम्युनिस्ट आन्दोलनका एक जना प्रखर सिद्धान्तकार र विचारक कमरेड मदन भण्डारीले नेकपा (एमाले)को पाँचौं राष्ट्रिय महाधिवेशनमा ‘नेपाली क्रान्तिको कार्यक्रम : जनताको बहुदलीय जनवाद’ प्रस्तुत गरेपछि त्यसले नेपालको तत्कालीन राष्ट्रिय राजनीतिमा एउटा नयाँ तरंग नै उत्पन्न गर्यो । विभिन्न समूहमा विभाजित कम्युनिस्ट समूहले नेकपा (एमाले) माथि वैचारिक आक्रमण गर्दै संशोधनवादी भएको आरोपसमेत लगाए । तर, विचारलाई व्यवहारमा लागू गर्ने क्रममा ‘जनताको बहुदलीय जनवाद’ले आफ्नो औचित्यता सावित गर्दै आयो ।
कमरेड मदन भण्डारीको देहावसानपछि नेकपा (एमाले)ले जनताको बहुदलीय जनवादलाई व्यवहारमा लागू गर्ने क्रममा क्रमश: विकसित र समृद्ध बनाउँदै आएको छ । यसरी जनताको बहुदलीय जनवादलाई समृद्ध बनाउने अभियान सिद्धान्तलाई व्यवहारमा जाँच्ने प्रक्रियाका रूपमा समेत विकसित हुँदै आएको छ ।
जनताको बहुदलीय जनवाद हाम्रो पार्टीको सिद्धान्त, मार्गदर्शक विचार र कार्यक्रमका रूपमा समेत हाम्रा सामु रहेको छ । जबज नेकपा (एमाले)का साथसाथै नेपालको कम्युनिस्ट आन्दोलन र राजनीतिक–बौद्धिक क्षेत्रको समेत एउटा महत्त्वपूर्ण सैद्धान्तिक–वैचारिक उपलब्धिका रूपमा रहेको छ ।
नेकपा (एमाले)ले जनताको बहुदलीय जनवादको आधारमा आफ्ना सैद्धान्तिक–वैचारिक मान्यताहरूलाई हुर्काउने र अघि बढाउने गर्दै आएको छ । यसका लागि पार्टीका विचारशील नेता–कार्यकर्ताहरूको अनुभव र चिन्तनको समेत ठूलो योगदान रहेको छ । नवौं महाधिवेशनको संघारमा आइपुगेको यतिबेला हामीले यसको आरम्भ र विकासक्रमलाई सही ढंगले बुझेर भविष्यमा अझ समृद्ध बनाउँदै लैजानुपर्नेछ ।
१. पाँचौं महाधिवेशनको महत्त्व
पाँचौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित महासचिव कमरेड मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ हाम्रो पार्टीलाई आफ्नो दैनन्दिन जीवनमा निर्देशित गर्ने सिद्धान्त र मार्ग निर्देशक विचारधाराका रूपमा रहेको छ । कमरेड मदन भण्डारी हामीबीच नरहनु भएपछि ‘जनताको बहुदलीय जनवाद’लाई विकास र समृद्ध पार्ने काम मूलत: कमरेड माधवकुमार नेपालको नेतृत्वमा पार्टी केन्द्रले गर्दै आइरहेको छ ।
‘जनताको बहुदलीय जनवाद’ नेपालको कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिकरण गर्ने विचारका साथसाथै नेपालको समग्र राष्ट्रिय राजनीतिलाई समेत लोकतान्त्रिकरणको कार्यदिशातर्फ प्रभावकारी ढंगले अग्रसर गराउने सिद्धान्त र विचारका रूपमा स्थापित छ । पाँचौं महाधिवेशनमा मदन भण्डारीको अगुवाइमा नेकपा (एमाले)ले गरेको लोकतान्त्रिक अभ्यासले देशका अरू राजनीतिक दलहरूमा समेत लोकतान्त्रिक प्रक्रियालाई आफ्नो पार्टी जीवनमा कार्यान्वयन गर्न दबाब परेको थियो । आज देशको राष्ट्रिय जीवनमा लोकतान्त्रिकरण एउटा महत्त्वपूर्ण कार्यसूचीका रूपमा स्थापित भएको छ र यसको प्रभाव आम जनजीवनमा समेत व्यापक हुँदै गएको छ ।
आज लोकतान्त्रिकरण देशको राजनीतिक प्रणालीमा मात्र सीमित छैन । यसको अभ्यास हाम्रो आर्थिक, साामाजिक, सांस्कृतिक र पारिवारिक सम्बन्धहरूमा समेत विस्तार हुँदै गएको छ । मानव जीवनका समग्र पक्षहरूको लोकतान्त्रिकरण, मानव जीवनलाई पारदर्शी ढंगले अघि बढाउने, समृद्ध र सुसंस्कृत बनाउने एउटा अभ्यास हो । लोकतान्त्रिकरण भनेको निर्वाचन मात्र हो भनेर बुझ्न थालियो भने त्यो एकदमै अस्पष्ट र अधुरो बुझाइ हुन्छ ।
लोकतान्त्रिकरण गर्नु र लोकतान्त्रिक हुनु भनेको हाम्रो जीवनमा भिन्नताहरूलाई स्वीकार गर्नु, फरक–फरक विचारहरूबीच सह–अस्तित्व र सम्मानको वातावरण बनाउनु र तिनलाई मित्रतापूर्ण ढंगले हल गर्दै जानु पनि हो । तथ्यबाट सत्य खोज्ने वैज्ञानिक विधिलाई पालना गर्दै हाम्रो समाज र जीवनलाई अझ उन्नत र समृद्ध बनाउने आधारहरूको निर्माण गर्नु हो ।
‘जनताको बहुदलीय जनवाद’ले प्रतिस्पर्धालाई स्वीकार गर्छ । यो प्रतिस्पर्धा पार्टी बाहिर र पार्टीभित्र दुवैतिर हामीले स्वीकार र अभ्यास गर्दै आएका छौंं । माओले ‘सयौंंथरी फूल फुल्न देऊ’ त्यसै भनेको होइन । जसरी अनेकौंं थरी फूलहरू फुल्दा बगैंंचा सुन्दर र मोहक देखिन्छ त्यसरी नै विचारका क्षेत्रमा पनि विभिन्न कोण र प्रतिकोणबाट आउने तर्क र विचारहरूले हाम्रो चिन्तन र चेतनालाई उन्नत र अझ समृद्ध बनाउन मद्दत पुर्याउँछ ।
नेकपा (एमाले)को पाँचौं राष्ट्रिय महाधिवेशनको महत्त्व नेपालको राजनीतिमा ऐतिहासिक महत्त्वको हुनुका पछाडि ‘जनताको बहुदलीय जनवाद’को ठूलो भूमिका छ । नेपालको राष्ट्रिय राजनीतिमा नेकपा (एमाले)लाई निर्णायक रूपले बलियो लोकतान्त्रिक शक्ति र दलका रूपमा स्थापित गराउने वैचारिक आधारको निर्माण जनताको बहुदलीय जनवादले नै गरेको हो । लोकतन्त्रको झन्डा नेकपा (एमाले)का हातमा आज जति दृढताका साथ फहराएको छ त्यसका पछाडि ‘जनताको बहुदलीय जनवाद’को सैद्धान्तिक–वैचारिक आधार निर्णायक शक्तिका रूपमा रहेको छ ।
पार्टी भनेको सिद्धान्त र विचारका साथै संगठन पनि हो । सिद्धान्त र विचारका साथसाथै बलियो संगठनात्मक शक्ति बनेपछि मात्रै पार्टी बन्छ । सारमा सिद्धान्त र सङ्गठनको योग नै पार्टी हो । सिद्धान्त र संगठन भएको पार्टीले आफूलाई अघि बढाउन संघर्षमा सामेल हुनुपर्छ । संघर्षको नेतृत्व गर्नुपर्छ । यही भएर पुष्पलालले ‘तीन स’ अर्थात् सिद्धान्त, संगठन र संघर्ष भन्ने कुरामा जोड दिनुहुन्थ्यो ।
नेपालको कम्युनिस्ट आन्दोलनमा पाँचौं महाधिवेशनले सैद्धान्तिक–वैचारिक रूपमा एउटा ठूलो फड्को मारेको थियो र नेकपा (एमाले)का नेता–कार्यकर्ताहरूको चेतनास्तरलाई एउटा नयाँ उचाइमा पुर्याएको थियो । त्यही वैचारिक आलोकमा नयाँ जोशका साथ अघि बढेर जनतामा जाँदा नेकपा (एमाले)ले आफ्नो संगठन र आधारलाई जनस्तरमा समेत व्यापक बनाउँदै लान सफल भएको थियो । पार्टीको पुरानो र जड हुन थालेको सोच–विचारलाई ‘जनताको बहुदलीय जनवाद’ले झड्का दिएको थियो र नयाँ चेतनाको करेन्ट लगाएर झक्झकाएर जगाएको थियो ।
पाँचौंं महाधिवेशनबाट पारित ‘जनताको बहुदलीय जनवाद’ र त्यसको वैचारिक तेजलाई बोकेर अघि बढेको नेकपा (एमाले)को नेतृत्वको बढ्दो संगठनात्मक क्रियाशीलता र जनआधारकै कारण ०५१ सालको मध्यावधि निर्वाचनमा सबैभन्दा ठूलो दलका रूपमा नेकपा (एमाले) संसद्मा देखापर्यो । सबैभन्दा ठूलो दलको हैसियतमा यसले सरकार बनायो र नौ महिनाको अल्पावधिमा नै प्रगतिशील सुधार र लोककल्याणकारी कार्यक्रमहरू सञ्चालन गरेर लोकप्रिय बन्न पुग्यो ।
२. छैटौं महाधिवेशन र जबज
कमरेड मदन भण्डारी पाँचौंं महाधिवेशन सम्पन्न भएको केही समयपछि नै हामीबीच नरहनुभएपछि एकातिर पार्टीलाई एकताबद्ध र सक्रिय बनाउँदै राष्ट्रिय राजनीतिमा स्थापित गर्नुपर्ने चुनौती थियो भने अर्कोतिर ‘जनताको बहुदलीय जनवाद’माथि अन्य विभिन्न कम्युनिस्ट समूहबाट भइरहेको आक्रमणलाई परास्त गर्दै त्यसलाई समृद्ध बनाउँदै अघि बढाउनुपर्ने गम्भीर अभिभारा पनि थियो ।
माधवकुमार नेपालकै नेतृत्वमा सम्पन्न छैटौं महाधिवेशनले ‘जनताको बहुदलीय जनवाद’लाई अझ उन्नत र सामयिक ढंगबाट व्याख्या गर्दै अघि बढाउने काम गर्यो । त्यसले ‘जनताको बहुदलीय जनवाद’को सैद्धान्तिक र कार्यक्रमिक दुवै पक्षलाई अझ गहनताका साथ विश्लेषण गर्दै अघि बढाउन स्पष्ट मार्गनिर्देशन गर्यो । छैटौं महाधिवेशनले जबजको जुन सामयिक, विशिष्ट र महत्त्वपूर्ण व्याख्या र विश्लेषण गर्यो, त्यसले नेकपा (एमाले)लाई सैद्धान्तिक रूपले अझ समृद्ध र सशक्त बनायो र परिवर्तित परिस्थितिलाई सामना गर्दै अघि बढ्न सक्षम सावित गर्यो ।
छैटौं महाधिवेशनद्वारा पारित प्रतिवेदनमा भनिएको छ– ‘जनताको बहुदलीय जनवादले नेपाली क्रान्तिको कार्यक्रमको रूपरेखा कोर्नुका साथै नेपाली क्रान्तिलाई निर्देशित गर्ने मौलिक विशेषतासहित सिद्धान्त र कार्यदिशाको समेत निरुपण गरेको छ ।
कुनै पनि राजनीतिक सिद्धान्त र विचारको निर्माण रातारात हुँदैन । सिद्धान्त निर्माणका लागि मुलुकको समग्र वस्तुस्थिति, इतिहास, सामाजिक, आर्थिक र सांस्कृतिक विशेषतालाई राम्ररी बुझ्नसक्नु पर्दछ । यस सँगसँगै माक्र्सवादको वैज्ञानिक चिन्तनको आधारमा सिद्धान्त, विचार र नीतिहरूको निर्माण गर्न सक्नुपर्दछ । जनताको बहुदलीय जनवादको निर्माण यसरी नै भएको हो । यिनै कारणहरूले गर्दा जनताको बहुदलीय जनवाद नेपाली क्रान्तिको सिद्धान्तको रूपमा स्थापित भएको छ र कार्यक्रम एवम् कार्यनीति निर्धारण गर्ने मूल आधार बनेको छ । यसै आधारमा हामीले पाँचौं महाधिवेशनमा यथास्थितिको परिवर्तनका निम्ति क्रान्तिकारी विकल्पको कार्यक्रम पारित गरेका हौं । जसमा राज्यसत्ता प्रजातान्त्रिक ढंगले सञ्चालन गर्ने निश्चित विधिहरूलाई आत्मसात् गरिएको छ । हामीले यही सिद्धान्तको प्रकाशमा पार्टीको रणनीति, कार्यनीति, पार्टी निर्माण र सञ्चालनको विधिसमेत निश्चित गरेका छौंं । यसले हाम्रो दैनन्दिन चिन्तन प्रणाली, विचार र व्यवहारलाई समेत मार्गदर्शन गरिरहेको छ । (छैटौं महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदनको ८८ र ८९ पृष्ठ)
यसरी छैटौं महाधिवेशनले ‘जनताको बहुदलीय जनवाद’लाई सैद्धान्तिक रूपमा समृद्ध पार्दै जनताको बहुदलीय जनवादकै आधारमा पार्टीको रणनीति, कार्यनीति, कार्यदिशा, पार्टी निर्माण र सञ्चालनको विधिसमेत तय गर्नुपर्ने कुरामा जोड दियो ।
छैटांै महाधिवेशनले माधव नेपालको नेतृत्वमा ‘जनताको बहुदलीय जनवाद’को व्याख्या र विश्लेषणलाई अझ विस्तार गर्यो र गहिराइमा पुर्यायो । जनताको बहुदलीय जनवादको ऐतिहासिक पृष्ठभूमिलाई वर्तमानसँग जोड्दै सामयिक व्याख्या गर्यो । जनताको बहुदलीय जनवादको सार र त्यसले समाजको अग्रगामी परिवर्तनका लागि खेल्ने भूमिकाको संश्लेषण गर्दै यसरी निष्कर्ष निकाल्यो– ‘बहुदलीय जनवाद भनेको हाम्रो वैचारिक मान्यता र विश्वास हो । यो आधा शताब्दीको राजनीतिक आन्दोलन, संघर्ष, पराजय र विजयहरूको अनुभवको नवीनतम् निचोड हो । जनताको बहुदलीय जनवादको व्याख्या र विश्लेषण गर्दा यसमा समाहित फराकिलो वैचारिक सीमाभित्रका विभिन्न पक्षलाई ठम्याउन र बुझ्न सक्नुपर्दछ । यो अकस्मात जन्मिएको विचार नभएर नेपाली कम्युनिस्टहरूले समाज रूपान्तरणको लागि गरेको लामो संघर्षको क्रममा प्राप्त विचार, ज्ञान र अनुभवहरूको सार हो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा देखापरेका अनेकांैं नकारात्मक र सकारात्मक पक्षहरूको विस्तृत अध्ययन र विश्लेषण तथा राष्ट्रिय यथार्थताको ठोस परिस्थितिमा आधारित जनभावना अनुकूलको राजनीतिक सिद्धान्त र कार्यक्रम हो– जनताको बहुदलीय जनवाद । (छैटौंं महाधिवेशनद्वारा पारित प्रतिवेदन, पृष्ठ ९२–९३)
पाँचौं महाधिवेशनले ‘नेपाली क्रान्तिको कार्यक्रम : जनताको बहुदलीय जनवाद’ भनेर मूल रूपले त्यसलाई कार्यक्रमको रूपमा पारित गरेको थियो र पाँचौंं महाधिवेशनमा बढी छलफल त्यसको कार्यक्रमिक रूप र सारकै बारेमा भएको थियो । पाँचौंं महाधिवेशनद्वारा पारित प्रतिवेदनको ‘बहुदलीय प्रतिस्पर्धा भएको जनवादको सम्बन्धमा’ भन्ने उपशीर्षक अन्तर्गत पृष्ठ नं. ४९ देखि ५५ सम्म कार्यक्रमिक स्वरूप र केही सैद्धान्तिक पक्षको व्याख्या र विश्लेषण स्वयम् मदन भण्डारी कमरेडले गर्नुभएको छ । ती व्याख्या र विश्लेषणमा उहाँले कार्यक्रममाथि गरिएको वैचारिक आक्रमणको जवाफ दिनुभएको छ र जनताको बहुदलीय जनवादी कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको छ । कार्यक्रमका आधारभूत पक्ष र त्यसको पृष्ठभूमिबारे जानकारी दिँदै उहाँले त्यसको रूप र सारहरूको व्याख्या गर्दै भन्नुभएको छ– ‘… सामन्तवाद, साम्राज्यवादको उन्मूलनपछि कायम गरिने व्यवस्थामा पनि संविधानको सर्वोच्चता, बहुलवादी खुला समाज, बहुदलीय प्रतिस्पर्धाको प्रणाली, आवधिक आमनिर्वाचन, बहुमतको सरकार र अल्पमतको विपक्ष, कानुनअनुसारको शासन, मानव अधिकारको रक्षा, जनवादी व्यवस्थाको सुदृढीकरण, विकास र समाजवादमा संक्रमण गर्ने भौतिक तयारीसम्बन्धी ठोस दृष्टिकोणजस्ता राजनीतिक, सामाजिक र आर्थिक दृष्टिकोणले निर्णायक महत्त्वका विषयहरू थपेर पार्टीले अघि सारेको बहुदलीय पद्धतिसहितको जनवादको नीति समाज विकासको ऐतिहासिक चरणअनुरूप माक्र्सवादसम्मत, सामयिक र उपयोगी छ भन्ने बुझ्न गाह्रो पर्दैन । त्यसकारण सामन्तवाद र साम्राज्यवादको शोषण उत्पीडन अन्त्य गरेर कायम गरिने जनवादी व्यवस्थाको विशेष नामकरण जेसुकै गरे पनि आधारभूत रूपमा कुनै भिन्नता छैन । सबैमा निर्णायक र आधारभूत तत्त्व जनताको जनवाद हो र हामीले थपेको महत्त्वपूर्ण तत्त्व बहुदलीय प्रतिस्पर्धाको पद्धति हो । जनताको जनवादी व्यवस्थामा बहुदलीय पद्धति भएको जनवादको झन्डालाई अझ दृढतापूर्वक र अझ माथि उठाउनुपर्छ । हामीले आफ्नो कार्यक्रममा थपेको नयाँ विषय र विशेष जोड दिएर जानुपर्ने विषय भएकाले हामीले आफ्नो कार्यक्रमको शीर्षकमा बहुदलीयता जोड्नैपर्छ । यसर्थ, सारतत्त्व र स्वरूपलाई सटिक रूपमा संयोजन गरेर भन्ने हो भने जनताको बहुदलीय जनवाद भन्नु बढी सार्थक र उपयोगी पनि हुनेछ ।’ (पाँचौं महाधिवेशनद्वारा पारित ‘राजनीतिक प्रतिवेदन’ पृष्ठ ५४–५५)
यसरी मदन भण्डारी कमरेडले जनताको बहुदलीय जनवादको सैद्धान्तिक–कार्यक्रमिक पक्षको जुन व्याख्या गर्नुभएको छ त्यसलाई छैटौं महाधिवेशनले थप समृद्ध बनाएको छ । उहाँको रहस्यमय दुर्घटनामा भएको मृत्युले जनताको बहुदलीय जनवादलाई थप समृद्ध बनाउने अवसर उहाँलाई जुरेन । तर, उहाँको मृत्युपछि भएको छैटौं महाधिवेशनले ‘जनताको बहुदलीय जनवाद’लाई सिद्धान्त र मार्गनिर्देशक विचारकै रूपमा अघि बढाउने अठोट गर्यो ।
‘नेपाली क्रान्तिको कार्यक्रम : जनताको बहुदलीय जनवाद’ भनेर कार्यक्रम अगाडि सारेपछि त्यस कार्यक्रमलाई आधारभूत रूपले निर्देशित गर्ने सिद्धान्त पनि हुनुपर्छ र त्यो सिद्धान्त भनेको ‘जनताको बहुदलीय जनवाद’ले अंगीकार गरेका मान्यताहरू नै हुनुपर्छ भन्ने कुराको सारवस्तु पाँचौं महाधिवेशनद्वारा पारित प्रतिवेदन र कार्यक्रममा पाइन्छ । त्यो सारलाई छैटौं महाधिवेशनले मूर्त रूपले थप व्याख्यासहित अघि सार्यो । नेकपा (एमाले) को दैनिक जीवन र गतिविधिलाई समेत मार्गनिर्देशन ‘जनताको बहुदलीय जनवाद’ले नै गर्नेछ भन्दै त्यसलाई ‘मार्गदर्शक विचार’का रूपमा पनि स्वीकार गर्दै भन्यो– ‘जनताको बहुदलीय जनवाद आजको हाम्रो राजनीतिक व्यवहार र आचरणलाई निर्देशित गर्ने मार्गदर्शक विचार पनि हो । … यसरी बहुदलीय जनवाद जनतालाई आर्थिक, सामाजिक र राजनीतिक तिनै क्षेत्रमा अधिकार सम्पन्न बनाउने र जनताकै उन्नतिको लागि समाजलाई बुझ्ने, विश्लेषण गर्ने, रुपान्तरण गर्ने र त्यसलाई अग्रगतितर्फ लैजाने सिद्धान्त हो ।’
यसरी छैटौं महाधिवेशनले जनताको बहुदलीय जनवाद’लाई मार्गदर्शक विचार र सिद्धान्तका रूपमा पारित गर्दै जबजलाई समृद्ध पार्ने कामलाई ठोस ढंगले अघि बढायो ।
३. सातौं महाधिवेशनद्वारा थप जोड
२०५९ सालको माघ १८ देखि २३ सम्म जनकपुरमा सम्पन्न पार्टीको सातौं माहधिवेशनले ‘कार्यक्रम र कार्यनीतिको निरन्तरता’ भन्ने उपशीर्षकअन्तर्गत छैटौं महाधिवेशनले अघि सारेको निष्कर्षलाई थप जोड दिँदै ‘… जनताको बहुदलीय जनवाद नेपाली समाजमा सञ्चालित राष्ट्रियता र सामाजिक न्यायका आन्दोलनहरू, प्रजातान्त्रिक आन्दोलन, नेपाली कम्युनिस्ट आन्दोलन तथा आफ्नै पार्टीभित्र सञ्चालित विचारधारात्मक संघर्ष, पार्टीको प्रजातान्त्रिकरणका निम्ति चालिएका प्रयत्न र अन्तर्राष्ट्रिय कम्युनिस्ट तथा समाजवादी आन्दोलनका अनुभवहरूको विश्लेषणमा आधारित छ । यो माक्र्सवादलाई नेपाली समाजमा सिर्जनात्मक ढंगले प्रयोग गर्ने क्रममा विकसित भएको मौलिक सिद्धान्त हो भन्ने छैटौं महाधिवेशनको ठहर छ’ भन्दै जबजद्वारा निर्देशित कार्यनीतिले पार्टीको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको निष्कर्ष निकाल्यो । (सातौं महाधिवेशनद्वारा पारित प्रतिवेदन, पृष्ठ ८८) ।
सातौं महाधिवेशनले नेपालको कम्युनिस्ट आन्दोलनमा चलेको वैचारिक बहसलाई नेकपा (एमाले)ले अख्तियार गरेको जनताको बहुदलीय जनवादको सिद्धान्तले नयाँ उचाइमा पुर्याएको ठहर गर्यो । नेकपा (एमाले)ले जनताको बहुदलीय जनवादलाई अघि सारेपछि त्यसमाथि आक्रमण गर्नेहरु विस्तारै पछि हट्दै गएको तथ्य उल्लेख गर्दै सातौं महाधिवेशनको प्रतिवेदनमा भनिएको छ ‘.. सुरुमा बहुदलीय जनवादका कारण हाम्रो पार्टीमाथि तीव्र आक्रमण गर्न पुगेका कम्युनिस्ट आन्दोलनभित्रका विभिन्न घटकहरू समयक्रममा पछि हट्न र जनताको बहुदलीय जनवादलाई विरोध गर्न नसक्ने ठाउँमा आइपुगेका छन् । यी सबै घटनाले जनताको बहुदलीय जनवादको औचित्य, श्रेष्ठता र मौलिकतालाई नै पुष्टि गरिरहेका छन् । (सातौं महाधिवेशनद्वारा पारित प्रतिवेदन, पृष्ठ ८९)
सातौं महाधिवेशनले ‘जनताको बहुदलीय जनवाद’ले सिद्धान्त र मार्गनिर्देशक विचारका रूपमा खेलेको भूमिका र छैटौं महाधिवेशनमा अघि सारेको कार्यनीति र कार्यदिशासमेत ठीक रहेको निक्र्योल गरेको छ र कार्यनीति र कार्यदिशालाई समेत निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएको छ । ‘जनताको बहुदलीय जनवाद’लाई सिद्धान्त र मार्गनिर्देशक विचारका रूपमा र त्यसमा आधारित कार्यक्रम, कार्यनीति र कार्यदिशालाई कार्यान्वयन गर्नेक्रममा पार्टीले प्राप्त गरेका अनुभव र उपलब्धिहरूको विश्लेषण गर्दै भनेको छ– ‘पाँचौं र छैटौं राष्ट्रिय महाधिवेशनयताका अभ्यास र अनुभवको यही पृष्ठभूमिमा हामीले पार्टीको यो सातौं राष्ट्रिय महाधिवेशन आयोजना गरिरहेका छौं । हामीले यतिबेला पनि जनताको बहुदलीय जनवादलाई नेपाली क्रान्तिको मौलिक कार्यक्रम र सिद्धान्तका रुपमा पुन:पुष्टि गर्नु, यसलाई तदअनुरूप नै दृढताका साथ आत्मसात् तथा अनुशरण गर्नु र त्यसबाट निर्देशत भइरहनुपर्छ ।’ (सातौं महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदन, उही पृष्ठ ८९)
जनताको बहुदलीय जनवादको भु्रण चौथो महाधिवेशनले हुर्काएको थियो । ०४६ सालको भदौमा सम्पन्न चौथो महाधिवेशनद्वारा पारित नेपाली क्रान्तिको वर्तमान कार्यक्रम’को पृष्ठ १५ मा प्रस्ट रूपले ‘बहुदलीय जनवादी शासन प्रणालीको स्थापना गर्ने’ र आम जनतालाई लेख्ने, बोल्ने, छाप्ने स्वतन्त्रता दिने र सम्पूर्ण मौलिक र राजनीतिक अधिकारहरू प्रदान गर्ने उल्लेख गरियो । यसरी चिन्तनमा विकास गर्दै छैटौं र सातौं महाधिवेशनसम्म आइपुग्दा जनताको बहुदलीय जनवादलाई कार्यक्रम, सिद्धान्त र मार्गनिर्देशक विचारको उचाइसम्म पुर्याउन नेकपा (एमाले) सफल भयो । यसरी परिपक्व ढंगले क्रमिक रूपमा जबजलाई नेकपा (एमाले) ले निरन्तर समृद्ध बनाउँदै आइरहेको छ । त्यो क्रम आठौं महाधिवेशन र त्यसदेखि यता पनि जारी छ ।
सम्बन्धित समाचार
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
- निजगढमा विष्फोट हुँदा एकको मृत्यु, पाँच घाइते
- ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद
- एनसेल प्रकरण छानविन गर्न समिति गठन
- पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
- टिकटक प्रतिबन्धविरुद्धको रिटमा आज पूर्ण सुनुवाइ हुँदै
- रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजबाट फेरि शुरु
- भूकम्पबाट भएको क्षतिप्रति बेलायतका राजाबाट दुःख व्यक्त
- परिवारका चार जनाको हत्या घटनामा संलग्न शाहीलाई प्रहरीले आज सार्वजनिक गर्दै
- पक्राउ परे रिगल
- ओमानसँगको खेलमा नेपालले पहिले बलिङ गर्ने
- विपी प्रतिष्ठानका चिकित्सकले दिए सामूहिक राजीनामा
Leave a Reply