समृद्ध कथाशिल्प
विगत केही दशकयता परम्परागत सामाजिक व्यवस्थाभित्रका पुराना, जीर्ण र मरणासन्न पातहरू पहेँलिएर झरिरहेका छन् र निश्चित रूपमा परिवर्तनका नौला पालुवाहरू पलाएका छन् । तर, बदलिँदो परिस्थितिमा पनि नेपाली समाजमा महिलालाई हेर्ने दृष्टिकोण, भेदभाव र अवहेलनाका ‘ग्राफ’ भने अपेक्षाकृत रूपमा खस्किएको छैन । सामाजिक, पारिवारिक, सांस्कृतिक भेदभावका साथै आर्थिक रूपमा समेत नारीप्रति तल्लो स्तरको व्यवहार गर्ने परिपाटी उत्तिकै जीवित छ, जसरी विगतका समयमा हुने गर्दथ्यो ।
अग्रज कथासर्जक मनु ब्राजाकी नारीमाथि हुने भेदभाव, यौनहिंसा, पुरुषहरूमा व्याप्त यौन–दृष्टिकोणलाई बिनाहिच्किचाहट पस्किन चाहने स्रष्टा हुन् । हुन त, अर्थव्यवस्थाको केन्द्रमा कृषि व्यवसाय हुँदा नारीहरू तीव्र उत्पीडनको मारमा परेको यथार्थलाई स्वीकारिन्थ्यो तर अहिले नेपाली अर्थव्यवस्थाको केन्द्रीय स्वरूप परिवर्तित भइसकेको छ र त्यसको स्थान रोजगारीले लिएको छ । अर्थव्यवस्थाको केन्द्र परिवर्तन भए पनि नारीमाथि हुने विभेद, उत्पीडन र यौनजन्य हिंसाका घटनाक्रममा भने तात्विक फेरबदल आएको छैन ।
‘अन्नपूर्णाको भोज’ ब्राजाकीको एउटा यस्तो शक्तिसम्पन्न कथा हो, जसमा शिक्षित व्यक्तिहरूद्वारा नै नारीलाई व्यवहारगत रूपमा गरिने पक्षपातपूर्ण रवैयाको पर्दाफास गरिएको छ । एक जना व्यक्तिले आफ्ना साथीहरूलाई घरमै भोज दिने प्रबन्ध मिलाएका हुन्छन् । उक्त भोजमा अरू थुप्रै परिकारसहित माछा पनि पाक्दछ तर भोजमा सबै परिकार सकिन्छन् । र, अन्तिममा उक्त भोजको सम्पूर्ण भान्सा सम्हाल्ने त्यस घरका गृहिणीले भने माछा पकाएको कराहीको बिटमा जमेको फिँज चाटेर भोजको आनन्द लिन्छे । शिक्षित जमातभित्रै नारीमाथि हुने विभेदको यस्तो धमिलो तस्बिर, नेपाली समाजको फ्रेमबाट अझै हट्न सकेको छैन ।
‘अघिअघि नारी, पछिपछि पुरुष’ले एउटा पारिवारिक/सामाजिक जीवनभित्रका अन्तरद्वन्द्वलाई उतारेको छ । खासगरी, नेपाली समाजमा नारीले भोग्नुपरेका यातना, कष्ट र प्रताडनाको सजीव विम्ब यो कथामा भेटिन्छ । ‘एउटा अबलाको अभियान’ले हाम्रो समाज नैतिक रूपमा कसरी स्खलित हुँदै गइरहेको भन्ने पक्षलाई अत्यन्तै मिहिन रूपमा केलाइएको छ । कथानुसार, राजमार्ग छेउमा एउटा होटलमा काम गर्ने एउटी महिलालाई केही पुरुषहरूले आफ्नो कामबासना मेट्ने साधन बनाउँछन् । तर, त्यो महिला कल्कलाउँदो उमेरमा बेचिएर बम्बै पुगेकी हुन्छे र एड्स लागेर नेपाल फर्किन्छे । आफूलाई भोग्ने पुरुषहरूलाई सम्बोधन गरेको एउटा पत्र ती अबला महिलाले होटलमा छाडेर हिँड्नुअघि छाडेर जान्छे, जसमा आफूलाई एड्स भएको खुलासा गरेकी हुन्छे । उक्त केटीको पत्र पाएपछि उनलाई भोग्ने केटाहरू भयभीत हुन्छन् ।
विगतमा देशले सशस्त्र द्वन्द्वको सामना गर्नुपर्यो । विद्रोही र राज्य, दुवै पक्षले स्कुललाई समेत युद्धभूमिमा परिणत गरे । युद्धका बेला, स्कुलमा बम पड्किँदा एउटा बच्चामा परेको मनोवैज्ञानिक असर केलाउन ‘क्रोधित र भयभीत पिता र पुत्र’ कथा अग्रपंक्तिमा उभिएको छ । शान्ति नआई स्कुल नजाने छोराको अडानमा बाबु निरीह बनेको स्थितिबाट कथाले एकैचोटि व्यंग्य र करुणा पस्किएको भान हुन्छ । ‘भन्नु नभन्नु जम्मै’ चाहिँ सर्वथा अभाव झेलेर बाँचिरहेको एउटा परिवारभित्रको दारुण कथा हो । आर्थिक अभाव झेलेर बाँच्नुपर्दा के–कस्ता सामाजिक/व्यावहारिक समस्याको सामना गर्नुपर्छ ? यही सेरोफेरोमा कथा घुमेको छ ।
पचासको दशकमै चर्चित रहेको ‘भविष्य–यात्रा’ कथा पनि संग्रहमा समेटिएको छ । जनआन्दोलनअघि जेल परेर आन्दोलनको सफलतासँगै कारागारमुक्त भएका एक जना शिक्षकको तहननहसयुक्त जीवनकथा उतारिएको यो निकै मार्मिक, ग्रहणशील र सम्भवत: संग्रहभित्रकै ‘मार्बलस’ कथा हो । पचासकै दशकका अन्य चर्चित कथाहरू मूल्य, मान्यता र एकमुठी हरियो घाँस, हत्याको भूमिका, बन्द ढोकासामु, भुन्टीको भविष्य, नग्नता, घरेलु अर्थात व्यक्तिगत अर्थात् सार्वजनिक जस्ता कथाहरू पनि राखिएका छन् । मूलत: ब्राजाकीका अहिलेसम्म कृतिभित्र नसमेटिएका कथाहरूको सँगालो नै ‘अन्नपूर्णाको भोज’ हो । तथापि, पुस्तकभित्र ब्राजाकीका पुराना कथाहरू समेटिएका भए पनि हरेक पटक पढ्दा ताजा र नौला भने अवश्य नै लाग्छन्, उनका कथाहरू । हरेक पटकको अध्ययनमा ताजगीको आभास हुनु नै ब्राजाकीको कथाको विशिष्ट पहिचान हो ।
तिख्खर व्यंग्यचेत, परिस्कृत करुणाजन्य स्वर, मानवीय संचेतनाको भव्य उद्घाटन, सामाजिक र पारिवारिक उत्पीडनको मर्मस्पर्शी आवाज र स्खलित हुँदै गइरहेका नैतिक मूल्य र मान्यतामाथि सघन प्रहार गर्ने खुबी नै ब्राजाकीका कथाकारिताको उत्कृष्ट विशेषता हुन् । यिनै सबल पक्षहरूले नै नेपाली पाठकमाझ उनी एक शक्तिशाली, गहन चिन्तनधारी र समृद्ध कथाशिल्पीका रूपमा स्थापित छन् ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply