राजनीतिक र वैचारिक प्रेरणाका स्रोत
कमरेड पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनका अग्रणी नेता हुनुहुन्थ्यो ।
उहाँसग संगत गर्ने मैले धेरै अवसर त पाउन सकिनँ । तर पनि उहाँ मेरा राजनीतिक गुरु मात्र नभई वैचारिक प्रेरणाको स्रोत पनि हुनुहुन्थ्यो । उहाँकै नाम सुनेर म विशेष गरी कम्युनिस्ट राजनीतिमा आकर्षित भएको थिएँ । ०२१/२२ साल जतिखेर म स्कुल जीवनमा थिएँ, त्यसैबेला मैले पार्टीको सदस्यता पाएको थिएँ । मलाई शुरुमा ‘पार्टी–सेल’मा संगठित गरिएको थियो । विद्यार्थी र किसानबीचको काम मेरो कार्यक्षेत्रमा पर्दथ्यो ।
परिस्थितिको परिवर्तनसँगै स्थानीय तहमा पार्टीहरूको पुनर्गठित हुनथाल्यो । यस्तो अवस्थामा पार्टीको नीति, कार्यक्रम र सम्पर्कको आवश्यकता पर्नथाल्यो । तर, निरंकुश पञ्चायती शासनकालमा नेताहरूसँगको भेटघाट त्यति सजिलो थिएन । पार्टी भूमिगत भएकोले गोपनीयताका धेरै पक्षमा
ख्याल राख्नुपर्दथ्यो ।
लामो प्रयत्नपछि ०२७ सालमा केही साथीहरूसहित हामीहरूले कमरेड पुष्पलालसँग भेटघाटको व्यवस्था मिलायौँ । भारतको दरभंगामा उहाँको एकजना मित्र डा. भिएन सिंह हुनुहुँदोरहेछ । उहाँकै घरमा हाम्रो भेट भएको थियो । दरभङ्गा आउँदा–जाँदा कमरेड पुष्पलाल प्राय त्यहीं बस्नु हुँदोरहेछ । उहाँका घर–परिवार पनि मिलनसार हुनुहुँदो रहेछ । घरमा डाक्टरको पिताजी पनि हुनुहुन्थ्यो । एकदिन हामीहरू खाना खाएर कोठमा आराम गरिरहेका थियौँ । पिताजी एक्कासी कोठामा आएर सोध्नुभयो– ‘क्या आप राजाको तख्ता उलट्नेको हिम्मत रख्ते हैं ?’ हामीले भन्यौँ ‘हँ, हम इसतरहका हिम्मत रखकर ही नेताजीको मिल्ने आय हैं’ बूढा मानिस ‘ठीक हैं’ भन्दै बाहिर निस्के ।
त्यो घरमा बसेको करिब एक हप्तापछि डाक्टरको श्रीमती माइतबाट फर्किनुभयो । उहाँले माइत मद्रास रहेछ । एक दिन हामीलाई डाक्टरको श्रीमतीले आफ्नै मैथिली भाषामा ‘यो तपाईंहरूको नेपालमा हुूदैन होला, धेरै छैन, थोरै मात्र छ । मद्रास मेरो माइतीबाट ल्याएको नयाँ कुरा हो चाखी हाल्नुस्’ भनेर दुई–दुई टुक्रा पुग्ने गरी एउटा प्लेटमा ‘तरुल’ जस्तो खानेकुरा दिनुभयो । आफूसँग भएका नौलो कुराहरू जति पुग्छ, बाँडचुँड गरेर खाने त्यो परिवारको राम्रो संस्कृति रहेछ । हामीले त्यसलाई बडो आत्मीयतापूर्वक मीठो मानेर ग्रहण गर्यौँ । त्यसको नाम भनिएको त थियो । तर मलाई सम्झना भएन । ०४० को नृशंस पिस्कर हत्याकाण्डपछि पार्टीले मलाई वाग्मती क्षेत्रबाट मेचीको कार्यक्षेत्र खटायो । त्यसपछि म झापा, इलाम र पाँचथरतिर पुग्दा त्यहाँका किसानहरूले खाजाको रूपमा ‘तरुल’जस्तो खानेकुरा दिनुभयो । तब मैले दरभंगामा पनि ‘सिमल तरुल’ खाएको थाहा पाएँ ।
पार्टीलाई सक्रिय बनाउने तथा आन्दोलनलाई गति प्रदान गर्ने उद्देश्यले ०२६ साल मंसिरमा सिन्धुपाल्चोक जिल्लामा नेकपाको पहिलो जिल्ला सम्मेलन भएको थियो । यो काम हामीले सरकारको आँखा छलेर अत्यन्त गोप्य रूपमा गरका थियौँ । पांग्रेटारको स्वाँरा भन्ने गाउँमा कमरेड शंकर नेपालको घरमा त्यो सम्मेलन भएको थियो । सम्मेलनले एउटा छरितो पार्टी जिल्ला कमिटी पनि निर्माण गरेको थियो । म त्यस जिल्ला कमिटीको एक जना सदस्य थिएँ । त्यसले हाम्रो उत्साह र सक्रियतालाई अझ बढाएको थियो ।
पार्टी जिल्ला कमिटी निर्माण भइसकेको र जनकपुर तथा वाग्मती अञ्चलका धेरै जिल्लाहरूमा सम्बन्ध–सम्पर्क विस्तार भएको र स्थानीय तहमा संगठनहरू बनेको परिप्रेक्ष्यमा पार्टी निर्माण तथा ग्रामीण वर्गसंघर्ष सञ्चालनलगायत धेरै विषयमा पार्टीका धारणाहरू बुझ्न हामीलाई आवश्यक थियो । त्यसका निमित्त हामी ‘पार्टी हेड क्वाटर’सँगको सम्पर्कको प्रयत्नमा थियौँ । यसैक्रममा ०२७ सालको पुस महिनामा कमरेड पुष्पलालसँग भेटघाट गर्ने चाँजो मिलाइयो । त्यसरी भेटघाट गर्नेमा काठमाडौँबाट विष्णु डंगोल, काभ्रेबाट लक्ष्मणसुन्दर सैंजु, सिन्धुपाल्चोकबाट जयराम पराजुली र म समेत चार जना थियौँ । जयराज शर्मा त्यसबेला पार्टीको जिल्ला सेक्रेटरी हनुहुन्थ्यो । अहिले उहाँहरू सबैको राजनीतिक अवस्थाबारे रूपमा यकिन भन्न नसके पनि त्यसबेला भने उहाँहरू पार्टी काममा क्रियाशील हुनुहुन्थ्यो ।
पार्टी काममा हिँड्दा खर्चपर्चको सधैँ अभाव हुने गर्दथ्यो । सहयोगीहरू अहिले जस्तो धेरै हुँदैनथे । त्यसो हुँदा सकेसम्म हामी कम खर्च गरेर काम चलाउँथ्यौँ । काठमाडौँबाट वीरगंज जाने बस त पाइन्थ्यो । तर, बसको भाडा बढी भएकाले हामीले बसमा नचढ्ने निधो गर्यौँ । बसभाडाको पैसाले हामीलाई बाटोको अन्य खर्च चल्दथ्यो । जनही तीन रूपैयाँ तिरेर काठमाडौँ कालिमाटीबाट ट्रक चढेर हामी साँझ वीरगंज पुग्यौँ । आफूले आदर गरेका तथा पार्टीका जिम्मेवार नेतासँग भेट्ने उत्सुकताले हाम्रो थकाइ हराएको थियो । त्यसै रात हामी रक्सौलबाट रेल समाती बिहान दरभंगा सम्पर्क बिन्दुमा पुग्यौँ । त्यो रेलयात्रा पहिलो र नौलो थियो ।
उहाँ अघिल्लो दिन नै बनारसबाट त्यहाँ आइसक्नु भएको रहेछ । केही प्रयत्नपछि हामी सम्पर्क स्थानमा पुग्यौँ । उहाँले उत्साहित मुद्रामा अत्यन्त खुशी हुूदै हामीसँग हार्दिकता र गरम जोसका साथ हात मिलाउनु भयो । सञ्चो–विसञ्चो, बाटो–घाटो यात्रा आदिका सामान्य कुराकानीपछि हामी निर्धारित आश्रयतर्फ लाग्यौँ । त्यसबेला उहाँलाई पार्टीमा ‘माइला दाई’ र ‘कमरेड गुरुङ’ भन्ने गरिन्थ्यो । माइला दाई उहाँको आदरणीय नाम भइसकेको थियो ।
मैले कम्युनिस्ट पार्टीको नेतासँग भेटघाट गर्न पाएको यो पहिलो अवसर थियो । हामीले देख्ने गरेका अरू नेताहरूभन्दा उहाँको आचरण र जीवनशैलीमा निकै ठूलो अन्तर थियो । मैले सोचेको थिएँ, उहाँको रहन–सहन र जीवनशैली विशेष प्रकारको होला । तर त्यस्तो थिएन । एकजना भूमिगत र कम्युनिस्ट नेताको जीवनशैली विलाशी हुने प्रश्नै थिएन । वास्तवमा उहाँ ज्यादै सरल र सादा जीनवशैली रुचाउने क्रान्तिकारी नेता हुनुहुँदोरहेछ । उहाँको बोलीचाली भाषाशैलि सरल र स्पष्ट थिए । कुराकानीका प्रत्येक पलमा उहाँले किसान जनसमुदायबीच पार्टी निर्माण गर्ने र सामन्ती शोषण विरोधी आन्दोलन उठाउने कुरामा जोड दिनुहुन्थ्यो । संगठनबिना कुनै कुरा हुन सक्तैन । उहाँको भनाइ थियो, ‘सामन्ती शोषणविरोधी स्थानीय आन्दोलनलाई उठाउँदै त्यसलाई राष्ट्रिय रूप दिनुपर्दछ । वर्गीय रूपमा जनतालाई नउठाई वास्तवमा केही हुँदैन । यसका निमित्त हाम्रा साथीहरूले किसानजस्तै सादा र सरल हुन सक्नुपर्दछ ।’
मेरो त्यो भारत भ्रमण पहिलो थियो । हामी निरंकुश पंचायती बन्द समाजबाट लोकतन्त्र भएको खुल्ला समाजमा पुगेका थियौँ । हामीले दरभङ्गा शहर घुम्दा कतिपय ठाउूमा हसिया–हथौडा अंकित पोष्टरहरू देख्यौँ । हामीलाई धेरै खुशी लाग्यो । हामीले माक्र्सवादी पुस्तक पसलहरू पनि हेर्यौँ । कतिपय पुस्तक मन परे पनि सीमानामा समस्या हुने हुँदा ल्याएनौँ । हामी कपाल काट्न एउटा ‘शैलुन’मा पसेका थियौँ । हामीलाई त्यहाँ लाने साथीले शैलुनका मानिससँग परिचय गराउँदै भने ‘यी अपन कमरेड छी’ त्यसपछि लालसलाम भन्दै जोशका साथ हात मिलाए । हामी त एकैछिन डराएजस्तो अनुभव गर्यौँ । त्यतिखेर हामीले आफू भारतमा छौँ भन्ने कुरा बिर्सेछौँ । कमरेड पुष्पलालसँग धेरै कुरा भए । गणतन्त्र नेपालको निर्माण गर्ने र समाजवादमा पुग्ने हाम्रो लक्ष्य हो । तर हामीले राजनीतिक स्वतन्त्रताका लागि लड्नुपर्छ । पार्टीलाई खुल्ला नगराएसम्म आम जनतालाई राजनैतिक रूपमा गोलबन्द गर्न सजिलो हुँदैन । उहाँ भन्नुहुन्थ्यो, ‘राजाले सीमित अधिकारको भए पनि ‘हाम्रो प्रजातन्त्र खोसेका छन् र संसदीय व्यवस्था खाइदिएका छन् ।’ तसर्थ हामीले ‘विघटित संसद्को पुन:स्थापना’को कुरा उठाएका हौँ । यो जस्तालाई तस्तै अर्थात भालुलाई ‘छेराउन’ खोज्नुजस्तै हो ।
उहाँसग धेरै संगत गर्ने मौका नपाए पनि हामीले त्यसबेला १४–१५ दिन बसेर जुन राजनीतिक र सैद्धान्तिक छलफलहरू गर्यौँ, त्यो हाम्रा निमित्त धेरै उपयोगी भयो । हाम्रो त्यो भेटघाटमा राष्ट्रिय अन्तर्राष्ट्रिय विषयका धेरै महत्वपूर्ण कुराहरू भए । समसामयिक राजनीतिक सैद्धान्तिक कुराबाहेक भूमिगत पार्टी निर्माण र वर्गसंघर्ष संचालनका रूप, तरिका, एकजना कम्युनिस्ट पार्टीका सदस्यले निर्वाह गर्नुपर्ने क्रान्तिकारी आचारण, शैली र व्यवहार तथा त्यसबेला नेपाली कम्युनिस्ट आन्दोलनको अवस्था एवम् विशेषगरी माझीपन्थी रुझानका विषयमा पनि धेरै छलफल भएका थिए । त्यसबाट हामीलाई नेपाली कम्युनिस्ट आन्दोलनमा देखापरेका गलत विचार र प्रवृत्तिबारे बुझ्ने राम्रो अवसर प्राप्त भएको अनुभूति भयो ।
पुष्पलालको व्यक्तित्व आकर्षक र व्यवहार धेरै सरल थियो । भेषभुसा सामान्य भए पनि सफा ढंगले बस्न रुचाउनु हुने रहेछ । कुराकानी गर्ने शैली अत्यन्त रोचक र प्रभावकारी थियो । उहाँका प्रत्येक प्रस्तुतिहरू अत्यन्त जोसिला हुन्थे । हामीले राखेका जस्तासुकै समस्या पनि उहाँ कुनै झिंझो–झर्को नमानी सुन्ने र पुस्तकको सन्दर्भ तथा ऐतिहासिक तथ्यसहित जवाफ दिने गर्नुहुन्थ्यो । उहाँको जोड थियो – समाजवादबिना राष्ट्र र जनताको समृद्धि हुन सक्तैन । त्यसैले सामन्ती राजतन्त्रलाई फ्याँक्नुपर्छ । जतिसुकै कष्टपूर्ण भए पनि पार्टी काममा निरन्तर लाग्दै जनआन्दोलनको आँधी सिर्जना गर्नुपर्दछ । राजा र राजतन्त्रप्रति उहाँको भनाइ थियो– नेपालमा राजनीतिक, आर्थिक एवम् सामाजिक विकासको अवरोध नै राजतन्त्र हो । राजतन्त्रकै कारण पार्टीहरू फुटे, फुटाइए र ००७ सालपछि प्राप्त ‘सीमित प्रजातन्त्र’ पनि गुम्न पुग्यो । तसर्थ, सामन्ती राजतन्त्र र यसको अधिनायकवादी पंचायती व्यवस्था विरुद्ध सम्झौताहीन संघर्ष गर्नुपर्दछ ।
कार्यकर्ता पार्टीका सम्पत्ति हुन् । आम जनतालाई जगाउने काम पार्टीका कार्यकर्ताको हो । छलफलको क्रमका पुष्पलालले जोड दिंदै भन्नुहुन्थ्यो, ‘पार्टीमा पेशेवर क्रान्तिकारी कार्यकर्ता अर्थात् पूर्णकालीन कार्यकर्ताको ठूलो खाँचो छ । कार्यकर्ता नभई पार्टीलाई गाउँ–गाउँमा पुर्याउन सकिंदैन । त्यसैले पार्टीमा क्रान्तिकारी सिद्धान्तले लैस आत्मबलिदानको भावनाले ओतप्रोत इमानदार र अनुशासित हजारौँ पेशेवर कार्यकर्ताहरू भर्ना गर्दै प्रशिक्षित गर्नुपर्छ । उहाँले त्यसमा बारम्बार जोड दिनुहुन्थ्यो र पूर्णकालीन बन्न हामीलाई प्रेरित गर्नुहुन्थ्यो । जनताको मुक्ति र प्रजातन्त्रका खातिर चिन्तित भएर उहाँले गरेको बारम्बारको आग्रह र अभिप्रेरणालाई हार्न नसकेर त्यसैबेलादेखि मैले आफ्नो सबै पठन–पाठन र घरायसी काम छाडी ‘पूर्णकालीन’ भएर पार्टी काम गर्ने संकल्प गरेको थिएँ ।
पुष्पलालको हँसिलो मुख–मुद्रा, ओजिलो व्यक्तित्वसँग दरभङ्गाको रमाइलो त्यो क्षण र राजतन्त्र पल्टाउने गम्भीर वार्तालापको स्मृति मेरो मनमस्तिष्कमा त्यतिकै ताजा रहेको छ । खाने–बस्ने र हामीले पालना गर्नुपर्ने रीतिथितिका सामान्य कुराकानीपछि हामी माइल्दाइसँग छलफलमा बसेका थियौँ । ‘पहाड–पर्वत, खोलानाला जग्गा–जमिन सक्यो, मालिक हामी दास बन्यौँ किन, हिस्सा सबमा सबको ।’ यही कवितालाई अत्यन्त मिठो र जोशिलो शैलीमा उच्चारण गर्दै उहाँले आफ्नो कुराको थालनी गर्नु भएको थियो । तमाम् वर्गीय शोषण, असमनता र विभेदको अन्त्य गर्दै गरिखाने कामदार वर्गको हित, प्रतिष्ठा र सम्मानको निमित्त संघर्ष गर्ने क्रान्तिकारी सपना हामीले उहाँका अनुहारमा झल्झली देख्दथ्यौँ । उहाँ भन्नुहुन्थ्यो, थोत्रो समाजलाई बदल्ने हिम्मत हामीले गर्नैपर्छ । लाछी र कायरहरूले समाज बदल्ने क्रान्तिको नेतृत्व गर्न सक्तैनन् । मेरो अनुहार हेर्दै र नारी छाम्दै भन्नुभयो, ‘पहाडको चिसो पानी पिएको जस्तो लाग्यो, आूत कतिको दह्रो छ ?’ मैले ‘आूत दह्रो भएर नै पार्टीमा लाग्ने संकल्प गरेको हो’ भन्ने जवाफ दिएपछि उहाँ धेरै खुसी हुनुभएको थियो ।
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको सम्बन्धमा त झन् छलफल नहुने कुरै भएन । त्यसबेला तत्कालीन समाजवादी देश सोभियत संघ र चीनबीच ठूलो विवाद चर्केको थियो । कसैले सोभियत संघ त कसैले चीन ठीक भन्थे । त्यसबेला सोभियत संघलाई ‘समाजवादी’ होइन, ‘सामाजिक साम्राज्यवादी’ भन्ने पनि विवाद थियो । त्यसको प्रत्यक्ष असर हरेक देशको कम्युनिस्ट आन्दोलनमा परेको थियो । यस्तै विवाद गरेर विश्वका धेरै पार्टीहरू फुटेका थिए । त्यस विषयमा पुष्पलालको धारणा थियो– अरूको कुरामा भन्दा आफ्नै विषयमा चिन्ता र चासो हुनुपर्यो । अर्काका कुरामा अनावश्यक विवाद गरेर हामीले केही फाइदा पाउन सक्तैनौँ । सोभियत कम्युनिस्ट पार्टीले केही भूल अवश्य गरेको छ । तर, त्यसलाई सच्याउने जिम्मा त्यहीँका कम्युनिस्टहरूको हो ।
कमरेड पुष्पलालको बारेमा मैले कतिपय नकारात्मक कुरा पनि सुनेको थिएँ, जस्तो कि पुष्पलाल ‘विलासी’ छन्, ‘घमण्डी’ र ‘जिद्दीवाल’ छन्, ‘नाम कमाउने रहरले भूमिगत बसेका हुन्’ ‘उनी पार्टी एकता चाहँदैनन्’ आदि । तर, त्यस भेटघाटपछि हामीलाई धेरै कुराहरू स्पष्ट भए । मानिसहरूले जीवनमा कुनै कमजोरी गर्दैनन् । उहाँका पनि कमजोरीहरू थिए होलान् । तर, उहाँ क्रान्ति र पार्टीबारे चिन्ता राख्ने एक समर्पित कम्युनिस्ट नेता हुनुहुन्थ्यो । कुराकानीको प्रसंगमा हामीले ‘तपाईं साथीहरूसँग त्यति मिल्न सक्नुहुन्न रे † त्यसैले गर्दा पार्टी एकजुट हुन नसकेको हो’ भन्नेजस्ता कुरा पनि उठायौँ । तर, उहाँ अलिकत पनि नरिसाईकन उठेका प्रश्नलाई प्रष्ट गर्ने प्रयास गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेताहरूमा इमान चाहिन्छ । हामीले झुठ्ठा कुरा गर्नुहुँदैन । पार्टीमा सबै नेताहरूलाई अटाउन र मिलेर काम गर्न धेरै प्रयास गरियो । तर, किन हो साथीहरू ठूलो घर छोडेर कोठा खोज्नतिर लाग्नुभयो । त्यसको अर्थ थियो, पार्टीमा गुटबन्दी र फुट । यो प्रसंगमा उहाँ अति गम्भीर र दु:खित हुँदै पार्टी र जनताको स्वार्थभन्दा ठूलो कुरा के छ र ? पार्टीलाई एकजुट नगरी कसरी लक्ष्यमा पुग्न सकिन्छ ? क्रान्तिकै लागि दु:ख खपेर, घरपरिवार छोडेर हामी भूमिगत बसेका छौँ । अहिले विभिन्न नेताहरूलाई एकै ठाउँमा जुटौँ भनेर सम्पर्क–सम्बन्ध जोड्ने प्रयास भएको छ । कतिपय मतभेद हुन सक्दछन् । मेरा आफ्ना पनि कमजोरी होलान् । अन्तरपार्टी छलफलबाट टुंगो लगाउन सकिन्छ । तर, यो प्रयास सम्भव भइरहेको छैन । एकजुट गराउन तपाईंहरूले पनि भूमिका खेल्नुपर्छ’ भन्ने उहाँको जोड थियो । तर, एउटा कुरामा भने कमरेड पुष्पलाल बारम्बार जोड दिनुहुन्थ्यो र आक्रोशपूर्ण मुद्रामा भन्ने गर्नुहुन्थ्यो, हामीले पार्टी एकताको नाममा ‘राजापरस्त माझीपन्थी लाइन’सँग कहिल्यै सम्झौता गर्नुहुँदैन । हामीले बुझ्नुपर्छ, ‘राजदरबार नै कम्युनिस्ट आन्दोलनमा विवाद ल्याउने जड कारण हो ।’ यो सत्यलाई बिर्सनुहुँदैन । उहाँका विश्लेषण साच्चै नै सही र सटिक थिए ।
जनवादी क्रान्तिका बारेमा छलफल गर्न आग्रह गर्दै उहाँले सिद्धिलाल सिंह र देवेन्द्रलाल श्रेष्ठ ‘काइँलाबा’लाई एउटा संक्षिप्त पत्र पनि लेख्नुभएको थियो । त्यो पत्र फर्कने बेला हामीलाई दिनुभएको थियो । त्यसबेला उहाँहरू पाटनमा हुनुहुन्थ्यो । पत्र हामीले कुनै स्रोतबाट उहाँहरूको हातमा पारिदिएका थियौँ । तर, त्यसको जवाफ पुष्पलालले पाउनुभयो वा भएन ? हामीलाई जानकारी भएन । पार्टीलाई एकजुट गराउनुपर्छ भन्ने पक्षमा हुनुहुँदोरहेछ भन्ने चाहिँ हामीलाई थाहा भयो ।
सम्बन्धित समाचार
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
अर्थ मन्त्रालयले तयार पार्यो १०० दिनको कार्ययोजना
-
‘नेपाल फर्स्ट’ परराष्ट्र नीतिको खाँचो
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन
-
राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply