जनमतसंग्रहको परिणाम सुन्दा आश्चर्य

हामी इलाम पुग्यौं । साथीहरू हामीलाई लिन कुरिरहनुभएको थियो । पुगेको केही बेरमै खाना खान होटलमा लिएर जानुभयो र भन्नुभयो– ‘मञ्च बनेर तयार छ । केही पर त्यही मैदानमै निर्दलवादीहरूले पनि सभा गर्ने भएका छन् तर हुलहुज्जत गर्ने आँट भने गर्ने छैनन् । किनभने, बजारमा बहुदल पक्षको बढी संख्या छ र बाहिरबाट पञ्चहरूले ओसारेका जनता पनि हामीले भाषण थाल्नासाथ सुन्न हाम्रै सभातर्फ ओइरिनेछन् ।’
पञ्चहरूका तर्फबाट गाउँफर्कका डीपी अधिकारी प्रमुख वक्ता थिए । मनमोहन अधिकारी र डीपी अधिकारी कुनै समय एकसाथ नेपाल कम्युनिस्ट पार्टीको पोलिटब्युरो सदस्य हुनुहुन्थ्यो । विराटनगरमा डीपी अधिकारीको भाषण मनमोहन अधिकारीको तुलना निरस र फिका रहने गरेको अनुभव मसँग थियो ।
इलामका झलनाथ खनाल र झापाकी कलिली केटी गौरा प्रसाईं पनि २०३७ वैशाखमा भर्खर जेलबाट छुटेको कुरा हामीले सुनिसकेका थियौं । तर, उहाँहरू कहाँ हुनुहुन्छ, केही थाहा थिएन ।
पञ्चहरूले हामीभन्दा पहिले सभा सुरु गरिसकेका थिए । तर, त्यसमा कुनै जोशका भाषण थिएनन् र हुने सम्भावना पनि थिएन । हामीहरूको सभा पनि प्रारम्भ भयो । हामीहरूको सभा सुन्न राम्रो संख्यामा मान्छेहरू जम्मा थिए ।
१९ वर्षदेखि पञ्चहरूसँग राजाका चाकडी, निर्दलको पक्षपोषण र बहुदलवादीहरूलाई अराष्ट्रिय विदेशी दलाल भन्नेबाहेक कुनै नयाँ कुरा थिएन । हाम्रा सभाका श्रोता त पहिलेदेखि नै बसेकै थिए । हामीहरूको सभा सुरु भएपछि विस्तारै निर्दलको सभामा ल्याइएका मान्छेहरू पनि हाम्रो सभा सुन्न आउन थाले । मनमोहन अधिकारी भन्दा पहिले मेरो सम्बोधन गर्ने पालो थियो । मैले कड्केर भनें– ‘१९ वर्षदेखि हामी जनताको मुख थुन्ने ? आफूलाई राष्ट्रवादी भन्ने पञ्चहरूको पाखण्डको पोल म अब तपाईंहरूसमक्ष भण्डाफोर गर्छु ।’ यति भनेर जनताको ध्यान तान्न बोलेझैं सम्बोधन के थालेको थिएँ, मेरो चर्को आवाज माइकले झन् चर्को पारेर प्रसारित गर्दा निर्दल पक्षका सभा सुन्न बसेकाहरू जर्याकजुरुक गर्दै उठेर हाम्रो सभातर्फ आउन थाले ।
मनमोहन अधिकारीको नाम ००३ सालको मिल हड्तालदेखि नै चलेको थियो र जनताले ३३ वर्षदेखि सुन्दै आएका थिए । मनमोहन अधिकारीले सम्बोधन गर्ने घोषणा हुनासाथ त झन् निर्दल पक्षको सभामा पहेंलो झन्डा बोकेका मात्रै बाँकी रहे, बाँकी सबै यता ओइरिन थाले ।
त्यो आमसभा जनमत संग्रह अगाडि सम्बोधन गरेका ठूलो आमसभामध्ये मेरो अन्तिम थियो । त्यसपछि जनमत संग्रह नजिकिँदै जाँदा म मोरङमै बढी केन्द्रित भएँ ।
ड्ढथ्सभा सकेर भोलिपल्ट इलामबाट फर्कंदा इटहरी पुगेपछि हामीलाई थाहा भयो– मोरङमा हतियारधारी पञ्चहरूले लखेटेर आक्रमण गर्दा घाइते हाम्रो पार्टीका केदार भट्टराईको कोसी अस्पतालमा मृत्यु भएछ । शवयात्रा विराटनगर, दुहबी, इटहरी हुँदै उनको गाउँतर्फ लगिँदै रहेछ । साथीहरूका साथ मनमोहन अधिकारी, म र सुरेश अधिकारीले इटहरी सडक किनारमा उभिएर फुल चढायौं र ट्रक हिँडेपछि हामी विराटनगरतर्फ लाग्यौं ।
२०३७ वैशाख २० गते मतदान सकियो । मतदानपछि मोरङमा बहुदलको पक्षमा भारी मात्रामा मतदान भएको र त्यसैगरी सुनसरीको धरान, इटहरी आदिमा पनि मतदान भएको खबर प्राप्त भयो । रातिदेखि नजिकका र विराटनगर सहरका मतपेटिकाहरू वीरेन्द्र सभागृहमा जम्मा हुन थाले ।
हामीले एक वर्षदेखि बहुदलीय व्यवस्थाका पक्षमा प्रचारसभा र प्रदर्शनहरू गरिरहेका थियौं । मतदानपछि प्राप्त उत्साहपूर्ण खबरहरूले हामी प्रसन्न थियौं । भोलिपल्टै मनमोहन अधिकारीलगायत हामीले जनता, कर्मचारी र प्रहरीलाई धन्यवाद दिँदै लिखित वक्तव्य दियौं । बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाले पनि सबैलाई धन्यवाद दिएका वक्तव्य दिनुभयो । ६० देखि ७० प्रतिशतसम्म बहुदलीय व्यवस्थाका पक्षमा परेका समाचारहरू साप्ताहिकहरूमा प्रकाशित भए । विराटनगर, मोरङ, धरान, सुनसरीका मतदानका प्रत्यक्ष जानकारी हुँदा हामीले जाने–देखेका कुराहरूबाट बहुदलले जित्छ–जित्छ भन्ने विश्वास भएको थियो ।
तर मन्त्री, अञ्चलाधीश र सीडीओहरू भने निर्दल पक्षले जित्छ भन्दै थिए । ज्योतिषीहरूले धेरै पहिलेदेखि नै निर्दल पक्षको जित हुने भविष्यवाणी गरिसकेका थिए । मतदान सकिएको १२ दिनपछि २०३७ जेठ १ गते चुनाव आयोगका अध्यक्ष भगवतीप्रसाद सिंहले २४ लाख मत पञ्चायती व्यवस्थाका पक्षमा र २० लाख मत बहुदलीय शासन व्यवस्था स्थापना गर्ने पक्षमा परेको घोषणा गरेको सुन्दा हामी स्तब्ध भयौं । हामी बहुदलीय शासन व्यवस्थाका स्थापना गर्न कार्यरत नेता–कार्यकर्ता सबैले सोचेको र विश्वास गरेको भन्दा विपरीत परिणाम घोषणा भएको थियो ।
अञ्चलव्यापी रूपमा हेर्दा बहुदलले १४ मध्ये कुनै एक अञ्चलमा पनि नजितेको कुरा सुनियो । कोसी अञ्चलको मोरङ र सुनसरी, सगरमाथाको सिरहा र उदयपुर, जनकपुरको सर्लाही, बागमतीको काठमाडौं, ललितपुर र भक्तपुर, नारायणीको चितवन र रौतहट, गण्डकीको तनहुँ र कास्की, लुम्बिनीको रूपन्देही र पाल्पा, राप्तीको दाङ, भेरीको बर्दिया र सुर्खेत, सेतीको डोटी, महाकालीको कञ्चनपुर र डडेल्धुरा गरी ७५ जिल्लामध्ये २० जिल्लामा मात्र बहुदल पपक्षको बहुमत देखाइएको परिणाम घोषित गरिएको थियो ।
विश्वेश्वरप्रसाद कोइरालाले ‘जनमत संग्रहको घोषित परिणाम जस्तोसुकै अप्रत्यासित र व्याख्या गर्न नसकिने भए तापनि म स्वीकार गर्दछु’ भन्नुभयो । तर, गणेशमान सिंहले ‘यो परिणाम सरकारी पक्षको निर्लज्जताका साथ गरिएको सत्ताको दुरूपयोगको कारणले हो’ भन्नुभयो ।
सम्बन्धित समाचार
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
भारतमा ९२ सांसद निलम्बित
-
चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
-
मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
पक्राउ परे रिगल
-
एमाले नेता पौडेल मृत फेला
-
बझाङमा फेरी भूकम्प
Leave a Reply