सजीव पात्रका अनुभूति
प्रतिमा विवश राई साहित्य सिर्जनामा निरन्तर लागिरहने प्रतिभा हुन् । मूलत: कविता विधामा क्रियाशील उनले त्यसबाहेक गीतमा पनि उत्तिकै जमेर कलम चलाउने गरेकी छन् । पत्रकारितामा समेत दख्खल राख्ने उनका अहिलेसम्म एउटा कविता र एउटा गीतिकृति बाहिर आएका छन् । ‘आकाश, धर्ती र सपनाहरू’ उनको गीति–लेखनको चिनारीस्वरूप आएको कृति हो ।
गीति–लेखन सहज कार्य होइन । सीमित शब्दमा एउटा सिंगो इतिहास नै अथ्र्याउनुपर्ने हुन्छ, गीतमा । अझ, शब्दहरू यति मीठास, कोमल र हृदयस्पर्शी हुनु आवश्यक पर्दछ, जसले कठोर हृदय भएकाहरूलाई पनि पगाल्ने क्षमता राख्न सकोस् । तसर्थ, कोमल हृदय र भावना भएकाले मात्रै गीत लेख्न सक्छन् । सायद, राईले पनि गीति–लेखनमा त्यही कोमल भावनालाई प्रश्रय दिएकी छन् । हुन त, आमालाई सम्बोधन गरेर धेरै सर्जकले गीति–सिर्जना गरेका छन् । आमा, त्यस्तो महान् शब्द हो, जसमा भावुकता, ममता र कोमलताका हजारौं तरंगहरू एकै पटक उब्जिन्छन् । आमाप्रति समर्पित गीतमा उनी लैख्छिन्–‘आमा तिम्रो छातीभित्र संसार अटाउँछ/तिम्रो माया सधैँ तिम्रै त्यागले बताउँछ/दुखीलाई सुखी दिनै घाइतेलाई दबै/तिम्रा लागि ठूलासाना बराबरी सबै/भोक होइन सन्तानको पीरले सताउँछ/तिम्रो माया सधँै तिम्रै
त्यागले बताउँछ ।’
आफूले टेकेको माटोप्रति प्राय: सबैमा श्रद्धाभाव हुन्छ । र, जसले माटोलाई प्रेम गर्छन्, त्यही मानिस नै महान् र पुजनीय हुन्छन् । तर, माटोलाई गद्धार गर्नेहरू भने ढिलो–चाँडो पतनको बाटो समात्न बाध्य हुन्छन् । उनले आफ्ना गीतमा देशको माटोप्रति स्नेह अर्पण गर्न चाहेकी छिन् । र, देश खोज्ने मानिसहरूले माटोलाई टीका लगाउने गरेको प्रसंग उल्लेख गरेकी छन् । त्यस्तै, आफू जन्मिएर हुर्किएको परिवेशलाई पनि उनले ‘मेरो धरान’ मार्फत् यसरी व्यक्त गरेकी छन्– ‘मेरो धरान गर्व गर्छ आफ्नै परिवेशमा/पहाडको टोपी लाउँछ खुल्छ दामी भेषमा/गहना हुन् बूढासुब्बा अनि दन्तकाली/पहाडतिर उक्लेका छन् बाटै नागबेली/हरियाली चारैतिर यहाँका वनपाखा/स्वर्गसँगै मिलेको छ विजयपुर डाँडा ।’
नेपाली समाजभित्र नारीहरूले झेल्नुपरिरहेको वेदना, पीडा र वास्तविक तस्बिरलाई पनि उनले केही सिर्जनामा स्थान दिएकी छन् । खासगरी, नारीहरूले उमेरको एउटा निश्चित घेरामा टेक्न थालेपछि आफू जन्मिएको घरआँगन त्यागेर अर्कै व्यक्तिको घरभित्र प्रवेश गर्नुपर्ने हुन्छ । बिहे नाम दिइएको उक्त सामाजिक रीतिथितिमुनि बाँचिरहेका नारीहरूले भोग्नुपरेको पीडाको खाडल कति कहालीलाग्दो छ भन्ने कुरा उनका दुई गीतहरू ‘डोली चढी’ र ‘जाँदैछिन् उनी’ले प्रस्ट्याएका छन् ।
उनका अधिकांश गीतमा भने बिछोड, घात–अन्तर्घात, नारीप्रतिको अवमूल्यन, बेखुसी र पीडाका तरंगहरू अनुगुन्जित हुन्छन् । धेरै नै उदास शब्दहरू खर्चेकी छन् उनले । लेख्छिन्– ‘जिन्दगीको कथा लेख्ने आँसु मेरो मसी भयो/साँचेको त्यो मीठो स्वप्न सिसासरी फुटिगयो/बादलजस्तै फाटिजाने अधुरो यो साथ पाएँ/यति ठूलो नाताभित्र मैले मात्रै घात पाएँ ।’ केही मानिसहरू प्रेममा सफल हुन्छन्, केही असफल । र, केहीले जिन्दगीभर बिर्सन नसक्ने धोका मात्रै पाएका हुन्छन् । उनका गीतहरू पनि एउटी नारीले जिन्दगीमा सँगालेका धोका र अवहेलनाको दस्तावेजजस्ता बन्न पुगेका छन् । र, तिनै धोकाहरूको चंगुलमा फस्दा उनका अधिकांश गीतहरूमा उदास–विम्ब खुलेरै आएका छन् । उनी लेख्छिन्– ‘प्रेमको नाममा विश्वासघात गर्नेलाई/अमृत भनी विष पिलाउनेलाई/छैन गुनासो अब मेरो तिमीलाई ।’
जीवनमा घात–अन्तर्घात, व्यथा, छट्पटी जतिसुकै सँगाले पनि आशाको एउटा त्यान्द्रो कहिँकतै अल्झिएर भने रहेकै हुन्छ । राईले आफ्ना अधिकांश सिर्जनामा बिछोड, विश्वासघात र पीडाका तस्बिर खिचे पनि आशावादलाई पनि उत्तिकै पछ्याएकी छन् । लेख्छिन्–‘तिम्रो जीवन सजाउन शिरमा फुलिदिन्छु/सुवास छरी तिम्रा निम्ति खुसी बनिदिन्छु ।’
राईका गीतहरूमा मानवीय भावना, ऊष्मा र वेदनाका अन्तरध्वनिहरू छरपस्टै पोखिएका छन् । त्यही कुरा महसुस गरेर नै होला, उनले पनि आफ्नो गीतिलेखनबारे यसरी स्वीकारोक्ति जनाएकी छन्– ‘आफूलाई मैले समाजको एउटा फराकिलो धरातलमा उभ्याएर सजीव पात्रहरूका विविध अनुभूति र जीवन भोगाइका कथा र व्यथाहरूलाई आत्मसात् गर्दै शब्द–शब्दको थुंगा गाँसेर गीत बनाउने कोसिस गरेकी छु । ती भोगाइ र भावनाका तरंगहरूमा आफ्ना अनुभूति र कल्पनाका रङहरू थप्दै जीवन्त बनाउनलाई सक्दो प्रयत्न गरेकी छु ।’
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply