मोदीमय संविधानसभा
काठमाडौं । अरू दिन भित्र बैठक चल्दा बाहिर क्यान्टिनमा चिया–खाजा खान र चौरमा गफिनमा व्यस्त रहने सभासद्हरू सोमबार भने संविधानसभाको बैठक सुरु हुनुअघिदेखि नै धैर्यपूर्वक बसे । उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बोधन उत्सुकतापूर्वक सुने र सम्बोधन नसकिउञ्जेलसम्म ताली पिटिरहे ।
सभासद्हरु मात्र होइन, दुई–चार जना पत्रकार देखिने दर्शकदीर्घा पनि उत्तिकै खचाखच थियो । विशेष अतिथि मोदीको सम्बोधन हुने भएकाले सबैलाई दिउँसो साढे तीन बजे नै आसनग्रहण गर्न सचिवालयले पहिल्यै निर्देशन दिएको थियो । निर्देशनबमोजिम सभासद्हरू तोकिएकै समयमा बैठकस्थल पुगेका थिए । भारतीय प्रम मोदी साढे चार बजे संविधानसभा भवन प्रवेश गरेका थिए । सिमसिम पानीमा मोदीलाई हेर्न व्यग्रतापूर्वक रुझ्दै पर्खिबसेका सर्वसाधारणलाई समेत मोदीले निराश बनाएनन् । संसद् भवनभन्दा केही मिटर परै गाडीबाट ओर्लेर सर्वसाधारणसँग हात मिलाउँदै संसद् भवन प्रवेश गरेका मोदीको स्वागतका लागि एक दिन पहिल्यै सचिवालयले सबै तयारी पूरा गरिसकेको थियो ।
काठमाडौं महानगरपालिकाले मीनभवनमा बनाएको स्वागतद्वार छेवै संसद्को दक्षिण गेटबाट संसद् भवन छिरेका मोदीको स्वागतमा संसद् भवन परिसरमा ध्वजापताका टाँगिएको थियो । यो काम संसद् सचिवालयको आन्तरिक शाखा र नेपाली सेनाबीचको सहकार्यमा भएको थियो । ‘सेनाको बन्दोबस्ती कार्यदलले हाम्रो सहयोग लिएर ध्वजापताका सिँगार्ने काम गरेको हो’– संसद् सचिवालय आन्तरिक शाखाका प्रमुख आनन्द अधिकारीले भने ।
वर्षमा एक–दुई पटक, राष्ट्रपति आउँदा र यस्तै विदेशी पाहुना आउँदा सिँगार्नुपर्ने भएकाले धेरै झन्झटिलो नहुने पनि उनले बताए । भित्रको पुष्प सजावटको काम भने सचिवालय आफैंले गरेको हो । अधिकारीले भने– ‘त्यो काम सचिवालयले नै गरेको हो तर स्वागतमा राखिएका ती फूल कहाँबाट ल्याइन्छ र त्यसको लागत कति पर्छ भन्ने चाहिँ ठ्याक्क थाहा भएन ।’
भित्री सुरक्षामा पुरानै दस्ता
भारतीय प्रधानमन्त्री मोदीको सुरक्षाका लागि सरकारले बाहिर जे–जस्तो सुरक्षाको बन्दोबस्त गरे पनि संसद्मा भने संसद् सचिवालयले अलग्गै सुरक्षाको बन्दोबस्त गरेको थिएन । नियमित सदनमा जे–जति सुरक्षादस्ता थियो, त्यही जनशक्ति प्रयोग गरिएको जनाइएको छ । सदनमा करिब ९० जनाको सुरक्षादस्ता नियमित काममा रहने गर्छ ।
४५ मिनेट सम्बोधन
संसद् भवनपरिसरमा १५ मिनेट अगाडिबाटै रुझ्दै बसेका सभामुख सुवास नेम्वाङले मोदीको स्वागत गरेका थिए । स्वागतपछि सभामुखकै कार्यकक्षमा सभामुख नेम्वाङ र भारतीय प्रम मोदीबीच केहीबेर छलफल भएपछि दुवै जना बैठक कक्ष प्रवेश गरेका थिए । बैठक कक्षभित्र बाटो देखाउने काममा सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई खटिएका थिए ।
नेपाली भाषाबाट सम्बोधन सुरु गरेका मोदीले सम्बोधन नसकिउञ्जेलसम्म सदनको ताली पाइरहे । उनले गौतम बुद्ध नेपालमै जन्मेको बताउँदा सबैभन्दा बढी तालीको गडगडाहट भएको थियो । सम्बोधनका क्रममा मोदीले नेपालको समृद्धि र विकासमा भारत जोडिन चाहेको कुरा पटक–पटक दोहोर्याए । करिब ४५ मिनेटको आफ्नो सम्बोधनमा भारतीय प्रधानमन्त्री मोदीले नेपालले तय गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको यात्राप्रति पूर्ण समर्थन जनाए । एक खर्ब सफ्ट लोन दिने, छात्रवृत्ति कोटा वृद्धि गर्ने, बिजुली खरिद गर्ने, सार्क स्याटलाइट स्थापना गर्ने, एक वर्षभित्र पञ्चेश्वर परियोजनाको काम अगाडि बढाउनेलगायतका घोषणा उनले सम्बोधनका क्रममा गरेका थिए ।
को–के भन्छन् ?
भारतीय प्रधानमन्त्री मोदीको सम्बोधनलाई विभिन्न राजनीतिक दलका सभासद्हरूले सकारात्मक रूपमा लिएका छन् । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले मोदीको सम्बोधन मर्मस्पर्शी रहेको, नेपालीको भावना आत्मसात् गरेको र सहयोगको खुला हात बढाउन चाहेको बताए । ‘शस्त्रबाट होइन, शास्त्र र विधिबाट नै शान्ति र संविधान निर्माण हुने उहाँको उद्घोष सकारात्मक छ’– केसीले भने– ‘बुद्धको जन्मभूमिबाट उहाँले त्यसो भन्नु हाम्रा निम्ति गौरवको कुरा हो ।’ विकास निर्माणका सन्दर्भमा पनि सफ्ट लोन दिने, एक वर्षभित्र पञ्चेश्वर परियोजनाको काम अघि बढाउने जस्ता सकारात्मक घोषणा भएको चर्चा गर्दै केसीले भने– ‘अब हामीले तदनुरूप राष्ट्रिय हित र आवश्यकतालाई केन्द्रमा राखेर गृहकार्य गर्नुपर्छ ।’
एमाले नेता राजेन्द्र पाण्डेले पनि मोदीको सम्बोधनले केही कुरालाई प्रस्ट पारेको बताए । ‘गौतम बुद्धको जन्मस्थलका बारेमा जुन भ्रम सिर्जना गर्न खोजिँदै थियो, त्यसलाई उहाँले प्रस्ट पारिदिनुभएको छ’– पाण्डेले भने– ‘ठूला कुनै परियोजना आउन नसके पनि दुई देशबीचको सम्बन्धमा नयाँ आयाम दिने काम यो सम्बोधनबाट भएको छ ।’ मोदी आएपछि राजतन्त्र फर्कन्छ भन्नेहरूलाई पनि उनले आवश्यक उत्तर दिएको पाण्डेले बताए ।
एमाओवादीका नेता जनार्दन शर्माले पनि मोदीको सम्बोधनलाई सकारात्मक रूपमा लिएको बताए । उनले खुलेर दुई देशबीचको सम्बन्धको कुरा गरेको चर्चा गर्दै शर्माले भने– ‘विगतका कतिपय विवादित विषय प्रस्ट पार्नेदेखि हाम्रो हित हुने गरी विद्युत् व्यापार गर्नेसम्मका कुरा आएका छन् । हेरौं, भोलि व्यवहारमा के हुन्छ ?’
हात मिलाउन छिनाझप्टी
सम्बोधन सक्नासाथ मोदी सभामुखको आसनबाट दायाँतर्फ राखिएको कुर्सीमा गएर बसेका थिए । उनी बसेको केही मिनेटपछि बल्ल सभामुखले बस्नका लागि अनुरोध गरेका थिए । सदनबाट बाहिरिनेक्रममा कुन बाटो जाने भन्नेमा अल्मलिएका मोदीलाई सचिवालयका महासचिव भट्टराईले ‘गाइड’ गरेका थिए । दायाँ लबीबाट ओर्लेका उनले सुरुमा त्यही लबीको सुरुको हारमा बसेका मधेसी नेतासँग हात मिलाएका थिए । विजयकुमार गच्छदार, उपेन्द्र यादवलगायतसँग हात मिलाएपछि उनी अरु नेता बस्ने पंक्तिमा आएका थिए । त्यहाँ पहिलो हारमा बसेका सबैसँग हात मिलाएका उनले दोस्रो हारमा बसेका भरतमोहन अधिकारीसँग पनि हात मिलाएका थिए । त्यसपछि नेपाली कांग्रेस, मन्त्री, माओवादी र साना दलका पंक्तिको पहिलो हारमा बसेकासँग हात मिलाएका थिए । कांग्रेस सभासद् र मन्त्री बस्ने पंक्तिको बीचबाट बाहिरिने क्रममा दायाँ र बायाँ बसेका सभासद्हरूको मोदीसँग हात मिलाउन छिनाझम्टी परेको थियो ।
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply