प्रखर व्यंग्यचेतले भरिपूर्ण
युवाकवि संगीतश्रोता आफ्ना सिर्जनामा तीव्र बजारीकरण, नारी–विमर्श र दलित चेतना र राजनीतिक चिन्तनमा देखिएको र्हासजन्य पक्षजस्ता वैचारिक संरचनालाई अत्यन्तै कुशलतापूर्वक उतार्न चाहन्छन् । सामाजिक, राजनीतिक, आर्थिक जीवनका विसंगत पक्ष र चरित्रहरूप्रति आलोचनात्मक दृष्टि राख्नु त उनको लेखनको मुख्य विशेषता नै हो । ‘म काठमाडौं आइपुगेँ’ भित्रका हरेकजसो कविताले सामाजिक जीवनका अन्तरकुन्तरमा टाँसिएर बसेका लेऊहरूलाई पखाल्ने संकल्पबोध गरेको सहज प्रतीत हुन्छ ।
पुँजीवादले हरेक चिजलाई वस्तुमा बदलिदियो । र, बजारीकरणको तीव्र चपेटामा हरेक वस्तुहरू पर्न थाले । मूल्य, मान्यता, नैतिकता, आदर्श, विचार, दृष्टिकोणहरू पनि बजारीकरण हुन थाले । कविले यो विसंगत स्थितिलाई धेरै निकट रहेर नियाल्न चाहेका छन्, ‘बजार’मा । उनी लेख्छन्–‘बलिदान बेच र कुर्चीमा बस/रगत बेच र कोकाकोला खाऊ/बुढ्यौली बेच र सुविधा माग/आस्था बेच र सत्ता किन/एक क्रान्तिका अभियन्ताहरू हो/राखिदेऊ अब क्रान्तिलाई नै हाटबजारमा/र, जपेर हिँड शान्तिको माला/छेलोखेलो छुट छ यो लोकतन्त्रमा/सबैथोक छ खुलाबजारमा ।’ वर्तमान विश्वलाई चलायमान गराउने शक्ति नै पुँजी भएकोतिर संकेत गरिएको उनको रचनाले पैसामा बिक्ने क्रान्तिकारी पात्रहरूप्रति कटाक्ष गरेको छ । जनतालाई अनेकांै आश्वासनका पुडियाहरू बाँडेर सत्तासीन हुन पुगेका नेताहरूले आफ्नो धरातल बिर्सिएपछि जनताको अवहेलनाको सिकार हुनु अचम्मको विषय होइन । ‘कुर्कुच्चा’ कविताले त्यही कुराको हेक्का गराउँछ । एकाध वर्षअघि विश्वका केही राजनेताहरूमाथि सार्वजनिक थलोमै जुत्ता प्रहार गर्ने क्रमले तीव्रता पाएको थियो । हाम्रै देशका पनि केही नेताहरूलाई कार्यकर्ताहरूले थप्पड हान्ने संस्कृति मौलाएको थियो । उक्त कविताले सिधै भन्छ– ‘मेरी आमासँग/कुर्कुच्चा मात्रै छन्/चर्चरी चिरिएका/प्रिय कमरेड/जुत्ता हान्ने खतरा छैन/जाऊ हाम्रो किरेडाँडातिर ।’
‘आमाको अन्तर्वार्ता’ ले राजनीतिक आडमा जनतालाई गद्दारी गर्नेहरूप्रति आक्रोशरूपी निशाना तेस्र्याएको छ । खासगरी, विगतमा युद्ध लडेर शान्तिपूर्ण राजनीतिमा पाइला बिसाएका नेताहरूले जनतालाई धोका दिएको र ती नेताहरू सत्तालोलुपताको सिकार भएकोतिर कविको आक्रोश व्यक्त भएको छ । ‘अचानक’मा पतनको बाटोतिर उन्मुख स्रष्टाहरूको बदलिँदो चरित्र र चिन्तनप्रति दु:खेसो व्याप्त छ । सत्ता प्रतिष्ठानमा निर्लिप्त सर्जकहरूप्रति व्यंग्यले भरिएको यो कवितामा बौद्धिक वृत्तमा आइरहेको र्हासको पनि सफल उद्घाटन गरिएको छ ।
नेपाली समाजका दलित र आदिवासी जनजातिहरू वर्षौदेखि अपहेलित हुँदै आएका छन् । सामाजिक विभेद र अत्याचारको सिकार बन्न ती वर्गका व्यक्तिहरू बाध्य छन् । ‘सभ्यता’ वर्षौंदेखि अन्याय, अत्याचार, अपमान र विभेदको साङ्लोमा बेरिँदै आएका ती वर्गप्रति समर्पित कविता हो । ‘हँसियाको अनुरोध’मा कम्युनिस्ट राजनीतिमा देखा परिरहेको विचलन, स्खलन, हराउँदै गइरहेको सिद्धान्तनिष्टता आदिप्रति तीखो आलोचना पोखिएको छ । कवि लेख्छन्– ‘अब त खिया लाग्न थाल्यो हथौडामा/मेरो धार पनि भुत्ते हुन थाल्यो/लैजाऊ कामीको आरनमा र अर्जाप/म काट्नेछु/अन्याय र अत्याचारका झार जंगलहरू/ठोकठाक पार्नेछ हथौडाले/विकृतिका कुरूप आकारहरू ।’ उनको ‘म काठमाडौं आइपुगेँ कमरेड’मा पनि बदलिएका कम्युनिष्ट नेताहरूप्रति नै धेरै कटाक्ष, आक्रोश र प्रश्नहरू तेस्र्याइएका छन् । हुन पनि, ग्रामीण भेगका सामान्य जनतालाई क्रान्तिको सपना बाँडेर, तिनै जनताका समर्थन र भोट पाएर काठमाडौंमा छिरेका थुप्रै नेताहरूले आफ्नो धरालत क्रमश: बिर्संदै गएको यथार्थ नेपालको वामपन्थी राजनीतिको अत्यन्तै कटु यथार्थ हो । यही पक्षलाई कविले मिहिन ढंगले उठाएका छन् ।
प्रखर राजनीतिक व्यंग्यचेत उनको लेखनको अर्को उल्लेख्य विशेषता मान्नुपर्छ । अधिकांश कविता तिख्खर व्यंग्यचेतले युक्त छन् । र, उनको व्यंग्य हिजोका दिनमा युद्ध गरेर आएका नेताहरूप्रति बढि मात्रामा लक्षित छ । ‘लेनिनको पत्र कमरेड किरणलाई’ मा उनी लेख्छन्–‘
कमरेड किरण †
रुसमा बाग्मती थिएन
भोल्गा थियो ।
भोल्गामा पानी थियो
पानीमा माछा थिए ।
के तपाईंलाई माछा मन पर्छ ?
माफ गर्नुहोला कमरेड किरण †
पठाउन सकिन यतिखेर आलो माछा
अक्टोबरका सिद्रा पठाएको छु
(सुनेको छु, नेपालमा जाडो बढेको छ)
चखाउनु होला सिद्राको तातो सुप
कमरेड प्रचण्डलाई पनि ।’
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply