हेलिकोप्टर कहिले भ्याइनभ्याई, कहिले खाली
० गत वर्ष पोखराका एक युवक दुलही लिन घरमै अन्मिएर हेलिकोप्टर चार्टर्ड गरेर चितवन पुगे । जबकि पोखरा–चितवन गाडीमा करिब चार घन्टाको यात्रामा पुगिन्छ ।
० अर्थमन्त्री भएका बेला एमाओवादी नेता वर्षमान पुन काठमाडौंबाट करिब ३० किलोमिटरको दूरीमा रहेको ललितपुरको लेले नजिकैको एक कार्यक्रममा हेलिकोप्टर नै लिएर पुगे ।
० हालै सिन्धुपाल्चोकको राम्चेमा गएको पहिरोका कारण बिचल्ली बनेका तीर्थयात्रीहरूलाई काठमाडौं ल्याउनमा विभिन्न कम्पनीका हेलिकोप्टरले दैनिक २३ उडान भर्दै आएका छन् । ती तीर्थयात्री तिब्बतको ल्हासा, मानसरोवरलगायतका स्थान भ्रमण गरेर फर्किएका थिए ।
माथिका यी केही दृष्टान्तले नेपालमा बढ्दो हेलिकोप्टरको प्रयोगलाई मजासँग दर्शाउँछ । प्राकृतिक विपत्तिमा हुने प्रयोग त आफ्नै ठाउँमा छ, व्यक्तिका चाहनाले पनि हैसियतअनुसार हेलिकोप्टर प्रयोगको मात्रालाई बढाएको छ । आर्थिक रूपमा सम्पन्न छ भने समाजलाई देखाउनकै लागि ‘शान’का रूपमा हेलिकोप्टरको प्रयोग गर्नेको संख्या पनि झिनो अवस्थामा रहेको पाइन्छ । नेपालजस्तो पहाडी भौगोलिक अवस्थाका कारण पनि हेलिकोप्टरको प्रयोग बढी हुने गरेको छ । भौगोलिक रूपमा विकटताको पाटो एकातिर हुनु, अर्कातिर ती स्थानमा राम्रो उपचारका लागि स्वास्थ्य केन्द्रहरू नहुनुले पनि बिरामी ओसारपसारमा पनि धेरैले हेलिकोप्टर नै प्रयोग गर्ने गरेका छन् ।
त्यसबाहेक नेपालको प्राकृतिक सौन्दर्यको अवलोकन गर्न आउने पर्यटकका कारण पनि यसको प्रयोग हुने गरेको छ । हिमाली क्षेत्रमा जाने पर्यटक ‘हाई अल्टिच्युट’का कारण बिरामी हुने गरेका थुप्रै दृष्टान्त छन् । तर, उनीहरू ‘उद्धारका लागि हेलिकोप्टर’ छ भन्ने भएपछि ढुक्कसँग घुमघाममा निस्कने गरेको हेलिकोप्टर व्यवसायीहरू बताउँछन् ।
साँघुरिँदो बजार
यति हुँदाहुँदै नेपालमा हेलिकोप्टरको बजार भने साँघुरिँदै गएको बताइन्छ । ग्रामीण सडक सञ्जाल विस्तारमा भएको विकाससँगै हेलिकोप्टरको बजार खुम्चिएको श्री एयरलाइन्सका प्रमुख वनवारीलाल मित्तल बताउँछन् । ‘पहिले–पहिले धेरैजसो खाद्यान्न ढुवानी र पुल–पुलेसा निर्माणका सामग्री ओसारपसारमा यसको प्रयोग हुन्थ्यो तर अहिले यसमा कमी आएको छ’– मित्तलले भने । खासगरी खाद्यान्न अभाव हुने तर सडक सञ्जाल नपुगेका पहाडी जिल्लामा खाद्यान्न पुर्याउने एउटै माध्यम हेलिकोप्टर नै थियो तर अहिले केही जिल्लामा मात्र यसको प्रयोग विद्यमान छ । तर, नेपाल राष्ट्र बैंकको पैसा विभिन्न जिल्लास्थित शाखामा पुर्याउने काम अझै पनि हेलिकोप्टरले नै गर्दै आएका छन् ।
बढ्दो सम्भावना
नेपालमा यो क्षेत्रमा करिब ६ अर्बको लगानी रहेको छ । खुम्चँदो बजार र व्यवस्थापकीय कमजोरीका कारण निजी क्षेत्रका धेरै हेलिकोप्टर कम्पनी बन्द पनि भइसकेका छन् । नेपाल एयरवेज, गोर्खा एयरवेज, एभरेष्ट एयरवेज, एसियन एयरवेज, कर्णाली एयरवेजजस्ता हेलिकोप्टर कम्पनी बन्द भइसकेका छन् । तर, बजारमा उकालो लाग्ने सम्भावना भने टरिसकेको छैन । मित्तल भन्छन्– ‘हाइड्रोमा लगानी भयो र जलविद्युत् केन्द्रहरू धमाधम निर्माण हुन थाले भने हेलिकोप्टरको बजार फस्टाउँछ ।’ अहिलेको बजार प्राकृतिक विपत्तिलाई अलग राख्ने हो भने पर्यटकले मात्र धानिदिएको छ । खासगरी, प्राकृतिक सौन्दर्य हेर्ने, खासा, तिब्बत–मानसरोवर जाने धार्मिक पर्यटक ओसार्ने, पर्यटक ‘रेस्क्यु’ गर्ने कामले नै बजार धानिएको छ । मागभन्दा हेलिकोप्टरको संख्या बढी भएकाले बजार पनि प्रतिस्पर्धात्मक छ ।
बजारमूल्य कम
नेपालमा अहिले ६ वटा हेलिकोप्टर कम्पनीसँग १९ वटा हेलिकोप्टर सञ्चालनमा छन् भने चाँडै ४ वटा नयाँ हवाइजहाज आउँदैछन् । अहिले श्री एयरलाइसन्ससँग छ वटा रसियन एमआई र २ वटा नयाँ मोडलका फ्रेन्च हेलिकोप्टर छन् । उसले चाँडै फ्रेन्च मोडलकै अर्को हेलिकोप्टर ल्याउँदैछ । त्यस्तै, माउन्टेन एयरसँग तीनवटा हेलिकोप्टर छन् । मनाङ एयरसँग एउटा सञ्चालनमा छ भने अर्को एउटा हिजो मात्रै ल्याएको छ । डाइनेस्टीसँग २ वटा सञ्चालनमा छन् भने अर्को एउटा थप्दैछ । त्यस्तै, सिम्रिकसँग दुईवटा हेलिकोप्टर छन् । धेरै हेलिकोप्टर भएका कारण प्रतिस्पर्धाले गर्दा बजारमूल्य ह्वात्तै घटेको छ । हेलिकोप्टर सञ्चालकहरूले विगतमा प्रतिघन्टा उडानको २ हजार ५ सय डलर रकम लिने गरेकोमा अहिले १ हजार ५ सय डलर मात्र लिने गरेका छन् ।
कस्ता–कस्ता हेलिकोप्टर
नेपालमा मूलत: तीन प्रकारका हेलिकोप्टर सञ्चालनमा छन् । पहिलो हो, रसियन एमआई । ३४ सिट क्षमताको यो हेलिकोप्टर निजी कम्पनीहरूमा श्री एयर लाइसन्ससँग मात्र छ । यस्तो हेलिकोप्टर भारतमा पनि निजी क्षेत्रसँग छैन । करिब १ अर्ब १५ करोड रुपियाँ पर्ने यो हेलिकोप्टर ठूलो हात्ती जस्तो सम्हाल्नै गाह्रो हुने श्री एयरलाइन्सका प्रमुख मित्तल बताउँछन् ।
दोस्रो हो, फ्रेञ्च मोडलको हेलिकोप्टर । अहिले प्राय: सबै कम्पनीसँग यही मोडलका हेलिकोप्टर छन् । ६ सिट क्षमताको यो हेलिकोप्टरको मूल्य २५ करोड रुपियाँ पर्छ । तेस्रो हो, वेल मोडलको हेलिकोप्टर । अमेरिकी कम्पनीको यो हेलिकोप्टर नेपालमा फिस्टेल एयरसँग छ ।
हेलिकोप्टरको ‘सिजन’
हेलिकोप्टरको माग जुनसुकै समय र अवस्थामा हुने गर्छ । यसको धेरैजसो माग प्राकृतिक विपत्तिमा निर्भर हुने गर्छ । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले हेलिकोप्टरबाटै सुत्केरी व्यथाले मुर्छित महिलालाई रुकुमबाट उद्धार गरेको दृष्टान्त पनि छ । अहिले कतिपय अस्पताल आफ्नो भवनको छतमै हेलिप्याड बनाउन थालेकाले हेलिकोप्टर प्रयोग गर्ने बिरामीको संख्या पनि बढेको बताइन्छ । यसबाहेक मौसमका हिसाबले अक्टोबरदेखि डिसेम्बरको पहिलो हप्तासम्म र फेबु्रअरीदेखि अप्रिलसम्मलाई हेलिकोप्टरको सिजनका रूपमा लिने गरिन्छ ।
को–को छन् मालिक ?
निजी क्षेत्रबाहेक नेपाली सेनासँग चारवटा हेलिकोप्टर छन् । यी निजी क्षेत्रका भन्दा पुराना हेलिकोप्टर हुन् । तर, त्यसभन्दा अघि रुसले तत्कालीन राजा महेन्द्रलाई उपहारस्वरूप हेलिकोप्टर दिएको थियो । नेपालको इतिहासमा त्यो नै पहिलो हेलिकोप्टर हो । निजी क्षेत्रले भने ०४६ पछि मात्र हेलिकोप्टर सञ्चालनमा ल्याएका हुन् ।
अहिले भएकामध्ये सबैभन्दा पुरानो कम्पनी एयर डाइनेस्टी हो र यसका मालिक फिन्त्सोओङ्दी लामा हुन् । श्री एयरलाइन्सका मालिक वनवारीलाल मित्तल, माउन्टेन एयरका देवजंग शेर्पा, सिम्रिकका क्याप्टेन रामेश्वर थापा, एयर मनाङका सत्तीस प्रधान र फिस्टेर एयरका मालिक क्याप्टेन विकास राणा हुन् ।
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply