पुष्पलालमाथि थप कृति
नेपाली कम्युनिस्ट आन्दोलनका शिखर–व्यक्तित्व पुष्पलाल श्रेष्ठको संघर्षशील जीवनका पाटाहरूलाई उजिल्याउने अभिप्रायस्वरूप उनका समकालीन, कम्युनिस्ट राजनीतिमा आबद्ध व्यक्तिहरू र चिन्तकहरूले बेलाबखत कलम चलाउँदै आएका छन् । र, उनको राजनीतिक जीवन–सन्दर्भलाई लिएर केही कम्युनिस्ट नेताहरूले आलोचनाको वर्षा पनि बर्साएका छन् । र, उनको नाम पछाडि अनेक विश्लेषण जोडेर आलोचना पनि हुने गरेको थियो, कुनै समय । तथापि, कुनै पनि व्यक्तिको मूल्यांकन गुण–दोषको आधारमा हुने यथार्थलाई पछ्याउँदै नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालबारे पनि दुवै कोणबाट लेखिएका छन् । त्यही शृंखलामा एमालेका पूर्व केन्द्रीय सदस्य नेत्रप्रसाद पन्थीद्वारा लिखित पुस्तक ‘पुष्पलाल : जीवन, कृतित्व र शिक्षा’ पुष्पलाललाई थप बुझ्न सघाउ पुर्याउने कार्यमा केन्द्रित छ ।
राजनीति गर्नेहरूको वैचारिक प्रतिबद्धतामा धमिरा लाग्न थालेको धेरै भइसक्यो । झन् नैतिकता त दिनदिनै क्षयीकरणको दिशातिर उन्मुख छ । कम्युनिस्ट विचार र चिन्तन बोक्नेहरूमा नै निम्न पुँजीवादी प्रवृत्ति हावी छ । तर, पुष्पलालले जीवनभर आफूलाई एक नैतिकवान्, प्रतिबद्ध कम्युनिस्ट योद्धाका रूपमा स्थापित तुल्याए । सम्भवत: पुष्पलालको सबभन्दा ठूलो सम्पत्ति नै त्यहीँ हुनुपर्छ । पन्थी लेख्छन्– ‘पुष्पलाल मुटुको रोगले आक्रान्त हुनुभयो । उपचार गर्न आर्थिक अभाव रह्यो । तर, उहाँ कस्तै अवस्थामा पनि नझुक्ने व्यक्तित्व हुनुहुन्थ्यो । २०३५ साल श्रावण ७ गते नयाँ दिल्लीस्थित गोविन्द बल्लभ पन्त अस्पतालमा उपचार गर्दागर्दै उहाँको निधन भयो । निरंकुश पञ्चायतले उहाँको शव नेपाल ल्याउन दिएन । तर, उहाँको अस्तु काठमाडौंमा ल्याई विशाल जुलुसका साथ शोभा भगवतीमा विसर्जन गरियो ।’ बाँचुन्जेलसम्म शासकहरुको कहर काटेका पुष्पलालले मृत्युपछि पनि कहर काट्न बाध्य भएको प्रसंग पुस्तकमा उल्लेख छ ।
दाजु गंगालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड दिएपछि सामाजिक परिवर्तनको सपना देख्दै राजनीतिक गोरेटोतिर पाइला सोझ्याएका पुष्पलाल तत्कालीन शासकहरूको कोपभाजनमा पर्नु अनौठो रहेन, न त समृद्ध बन्दै गइरहेको कम्युनिस्ट पार्टीलाई विभाजित तुल्याएर शासन गर्ने मनस्थितिबीच उभिएका तत्कालीन शासकहरूसित भिड्न असहजता नै महसुस गरे । बाह्य रूपमा प्रजातन्त्र नचाहने शासकहरूसित र पार्टीभित्र चाहिँ अवसरवादी, निम्न पुँजीवादी प्रवृत्तिले ग्रस्त व्यक्तिहरू एवम् घुसपैठियाहरूसित उनको संघर्ष बाँचुन्जेल चालु रह्यो । ०१७ सालमा राजा महेन्द्र संसदीय व्यवस्थाको घाँटी निमोठेर निरंकुशतन्त्र भित्र्याउन थालेको पूर्वाभ्यास पुष्पलालले पाइसकेका थिए । उनले लेखे पनि– ‘संसदीय व्यवस्थालाई खत्तम गर्ने षड्यन्त्रको आभास पाएको हुनाले संसदीय व्यवस्थाको सुरक्षाका निम्ति समस्त जनवादी शक्तिहरू एकताबद्ध हुनुपर्दछ भनी नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले अपिल गरेको थियो । नेपाल कम्युनिस्ट पार्टीको यस समयोचित अपिलप्रति यथोचित ध्यान दिनुको साटो नेपाली कांग्रेसका नेताहरूले उल्टै कम्युनिस्ट खतराको हौवा उठाउन थाले ।’
पुस्तकमा पन्थीले पुष्पलालका रचनाहरूको सान्दर्भिकताबारे पनि कोट्याउने प्रयास गरेका छन् । अहिले पनि पुष्पलालको रचनाहरूको सान्दर्भिकतामा कुनै कमी नआएको उनको जिकिर छ– ‘नेपाली समाजका अन्तरविरोधलाई राम्रोसँग बुझ्न र वर्गसंघर्षको मुख्य कडी पत्ता लगाउन आज पनि पुष्पलालका रचनाहरूले मार्गदर्शन गरिरहेका छन् । तत्कालीन परिस्थितिको विश्लेषणका निम्ति लेखिएका रचनाहरूबाट पनि त्यस समयको जटिल स्थितिमा कसरी पुष्पलालले सही नीति निर्धारण गर्नुभएको थियो भन्ने कुरा बुझ्न सकिन्छ ।’
पुष्पलालको जीवनवृत्त, कृतित्व र शिक्षामा केन्द्रित भनिएको उक्त पुस्तकको सुरुआत माओवादी जनयुद्धबाट गरिनुलाई त्यति आत्मीय लाग्दैन । नेपालको कम्युनिस्ट आन्दोलनको चर्चा गर्ने क्रममा माओवादी जनयुद्धले स्थान त पाउँछ नै, तर पुष्पलालमाथि लेखिएको कृतिको आरम्भ नै माओवादी जनयुद्धको औचित्यहीनतामा केन्द्रित हुनु त्यति सान्दर्भिक लाग्दैन ।
पुस्तकमा कतै–कतै सिलसिला टुट्न जाँदा पाठकहरूलाई असहज महसुस हुन्छ । पृष्ठ २५ मा दोस्रो कम्युनिस्ट इन्टरनेसनलबारे चर्चा चलाइरहँदा एक्कासि माक्र्स र एंगेल्सको मृत्युको प्रसंग उल्लेख गरिएको छ । एउटा कुराको चर्चालाई बिट नमार्दै किन हतार–हतार अर्को प्रसंग उल्लेख गर्न खोजिएको हो ? त्यस्तै, भाषिक त्रुटिहरूले यथेष्ट स्थान पाएको हुँदा पाठकहरूले खल्लो महसुस गर्नु स्वाभाविक देखिन्छ । लेखक पन्थीले राम्रोसितले सम्पादन गरेर मात्रै यो पुस्तक बजारमा ल्याएको भए र त्रुटिविहीन बनाउनतिर ध्यान दिएका भए पाठकले निराश हुनुपर्ने अवस्था आउँदैनथ्यो । तथापि, पुष्पलालको जीवनका संघर्षशील पक्षहरूलाई बुझ्न भने यो पुस्तकले पक्कै पनि सघाउ पुर्याउनेमा कुनै दुईमत छैन ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply