एउटा सेनापतिमाथि ‘कोर्टमार्सल’
‘निधारमा जे लेखियो, लेखियो नारायण, लेख्नेले पनि मेट्न सक्दैन ।’
झट्ट सुन्दा ५० वर्षअघि एउटा फकिर (जोगी) का मुखबाट सुनेको वाक्यलाई जीवनदर्शन बनाउने रुकमांगद कटवाल भाग्यमा विश्वास गरेर बस्दारहेछन् जस्तो लाग्छ । तर, ‘रुकमांगद कटवाल आत्मकथा’ पढ्दा उनले जे जति आर्जन गरे, त्यो कडा मिहिनेत, साधना र तपस्याका कारण प्राप्त भएको रहेछ भन्ने देखिन्छ । नेपाली सेनाका पूर्वप्रधानसेनापति कटवालले आफ्नै बारेमा रहेका मिथकहरूलाई पनि खुलस्त पारेका छन् : उनलाई राजा महेन्द्रले ओखलढुंगा भ्रमणका बेला आठ वर्षको हुँदा नै काठमाडौं ल्याएका हुन् तर उनले एक रात पनि दरबारमा बिताएका होइनन् । राजाको निगाहमा सरकारी छात्रवृत्ति पाएर फर्पिङ स्कुलमा पढ्ने शौभाग्य पाएका कटवालले आफ्नो कारुणिक बाल्यकाल, जण्ड किशोर अवस्था, रोमान्टिक युवा अवस्था र जिम्मेवारीले किचिएको बाँकी जीवनका विविध पाटाहरू पुस्तकमार्फत सार्वजनिक गरेका छन् ।
आत्मकथा भएका कारण स्वाभाविक छ– केन्द्रमा उनी आफैं छन् । हरेक घटनाहरूलाई कटवालले आफ्नो नजरबाट हेरेका छन् र त्यसमा आफ्नो दृष्टिकोण दिएका छन् । कटवाल मात्र होइन, आत्मकथा लेख्ने हरेक लेखकले यस्तै गर्छ । तर, एउटा कुरा निश्चित हो, त्यस्तो लेखकले आफूलाई अनुकूल हुने सूचना वा प्रसंगहरू बढी ‘सम्झिन्छ’ र अलि प्रतिकूल हुने सन्दर्भहरू ‘बिर्सिदिन्छ’ । कटवाललाई नजिकबाट चिन्ने–जान्नेदेखि आम पाठकले पनि पुस्तक पढ्दा पनि त्यो अनुभूति गर्छ । यसलाई लेखकीय कमजोर भन्नुभन्दा सीमा भन्नु राम्रो हुन्छ होला ।
रुकमांगद कटवाल नेपाली सेनाका अहिलेसम्मका एक मात्र सेनापति होइनन् । उनीभन्दा अघि पनि प्रशस्त योग्य सेनापति थिए र पछि पनि होलान् । तर, कटवाल दुई कारणले नेपालको इतिहासमा अरू सोपतिभन्दा भिन्न छन्, अर्को प्रकारले विवादित–ओलोचित छन् र फेरि त्यही कारणले काफी मात्रामा प्रशंसित र चर्चित पनि छन् ।
पहिलो, राजाको कृपा पाएर जीवनको उज्यालो बाटो समाएका रुक्मांगद कटवालले त्यही राजतन्त्रको अन्त्य हुँदा पनि ‘केही गर्न’ सकेनन् । यसकारणले दरबारप्रति सहानुभूति राख्ने, उनलाई नजिकबाट चिन्ने र काठमाडौंको सम्भ्रान्त तप्काले कटवालको कठोर आलोचना गरिरहन्छ । पुस्तक पढ्दा थाहा हुन्छ– उनी राजतन्त्र जोगाउन कति चिन्तित रहेछन् † तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालादेखि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसम्मलाई ‘कन्भिन्स’ गर्न उनले अनेक उपाय निकालेका रहेछन् । तर, संविधानको छिद्रको दुरुपयोग गरेर दलहरूको हातबाट आफ्नो हातमा सत्ता लिने ज्ञानेन्द्र नातिका लागि पनि गद्दी छोड्ने रुचि नदेखाउँदा उनको निकै चित्त दुखेको रहेछ । माघ १९ को असंवैधानिक कदमका पक्षमा राष्ट्रिय/अन्तर्राष्ट्रिय जनमत तयार पार्न सक्रिय कटवाललाई पनि म्याद सकिएका, जनाधार नभएको, पार्टी र समाजबाट बहिष्कृतलाई मन्त्री बनाएपछि शंका लागेको रहेछ । उनले बारम्बार राजालाई सत्ता दलहरूको हातमा सुम्पिन आग्रह गरेका रहेछन् र त्यही कारण नै ज्ञानेन्द्रसँग आफ्नो कुरा नमिलेको पनि उनले उल्लेख
गरेका छन् :
नभन्दै एक दिन अचानक ज्ञानेन्द्र सरकारका एडीसी विनोज बस्नेतले फोन गरे । ‘कटवाल बढ्ता जान्ने हुने होइन, आदेशअनुसार काम गर्ने, दायाँबायाँ नगर्ने’ उनले राजाको हुकुम भन्दै मलाई सुनाए । (पृष्ठ ३२९)
‘सरकार, सेवकले केही बिन्ति चढाउन पाऊँ’, मैले नजिक गएर अनुमति मागें ।…..‘दलहरूलाई टाढा राखेर राजतन्त्रको भलो छैन सरकार’ मैले जिज्ञासा राखें, ‘सरकारको उद्देश्य के हो ?’
‘आई एम नट गोइङ टु टेल यु द्याट नाउ’, उहाँले यत्ति जवाफ दिएर कुरा टुंग्याउनुभयो । (पृ्ष्ठ ३३१)
राजसंस्थाका पक्षमा जनमत बनाउन देशी–विदेशी भेट्नेदेखि अनेक उपाय र तर्क गर्नमा कटवालले कुनै कसर बाँकी राखेका छैनन् । दरबार र दरबारका श्रीहरूले भनेका हरेक कुरा उनले शिरोपर गरेका छन् ।
तर, परिस्थिति यस्तो बन्दै गयो, नेपाली सेना वा कटवालले चाहँदैमा राजसंस्था रहने अवस्था नभएपछि भने उनले दरबारबाट आएको एउटा आदेश मानेका छैनन् । त्यो हो– संविधानसभाको निर्वाचनपछि गणतन्त्र घोषणा गर्नका लागि बस्न लागेको संविधानसभाको पहिलो बैठकमाथि आक्रमण । उनी लेख्छन्– ‘जनप्रतिनिधिको सभाले २०६५ जेठ १५ गते गणतन्त्र घोषणा गरेपछि मैले त्यसको अवज्ञा नगरेकै हो ।……व्यक्तिगत रूपमा मलाई पनि ठूलो चोट लाग्यो । मुलुकको सेनापति भएको नाताले जनप्रतिनिधिले एक स्वरले गरेको निर्णय मैले सहर्ष स्वीकार्नैपथ्र्यो । रुकमांगदलाई गणतन्त्र चित्त नबुझ्न सक्छ तर जनप्रतिनिधि संस्थाको निर्णयमा अन्यथा सोच्ने छुट सेनापतिलाई हुँदैन ।’ (पृष्ठ ३९९)
राजतन्त्रको उन्मूलन र गणतन्त्रको स्थापनामा नेपाली सेनाको भूमिकाको उच्च प्रशंसा पनि सायद यही कारणले गरिएको हुनुपर्छ । स्पष्टै छ, त्यसका स्वाभाविक हिस्सेदार रुकमांगद कटवाल हुने नै भए ।
दोस्रो, एमाओवादी नेतृत्वको सरकारले अवैधानिक रूपमा निहुँ खोजेर सेनापतिबाट अवकाश दिएपछि रुकमांगद कटवालले जुन अडान लिए, त्यसबाट उनी चर्चाको चुलीमा पुगेका हुन् ।
त्यतिबेला अहिले जस्तो दाह्रा–नंग्रा खिइसकेको ‘भेजिटेरियन’ माओवादी थिएन । संविधानसभाको निर्वाचनमा पहिलो पार्टी भएपछिको दम्भ, नक्कली लडाकुलाई शिविरमा राखेर मुलुकमा दुई सेना भएको दाबी, कन्टेनरमा हतियार, अन्तर्राष्ट्रिय समुदायको सहानभूतिको जगमा उभिएको माओवादीले कटवाललाई हटाएर कुलबहादुर खड्कालाई प्रधानसेनापति बनाउने, आफ्ना १३ हजार लडाकु एकमृष्ट सेनामा हुल्ने, सेनाको दोस्रो वा तेस्रो वरीयतामा आफ्ना लडाकुका नेतालाई पदस्थापन गर्ने र नेपाली सेनालाई कब्जामा लिएर सबलाई ठेगान लगाउने सपना देखेको थियो । तर, कटवालले त्यसलाई स्वीकार गरेनन् । बालुवाटार बोलाएर गरिएको राजदूत वा सुरक्षा सल्लाहकारको अफरलाई पनि मानेनन् र उनकै शब्दमा ‘प्रजातन्त्र, प्रजातान्त्रिक पद्धति र व्यावसायिक सेना’ का लागि उनले वैधानिक प्रधानमन्त्रीसँग पौँठेजोरी खेल्ने हिम्मत गरे । फलस्वरूप, माओवादी पछि हट्न बाध्य भयो र अहिले उसका नेताहरू खुलेआम रूपमा स्वीकार गर्छन्– ‘तीन महिना पदमा बस्न दिएर कटवाललाई स्वाभाविक रूपमा घर जान दिएको भए केही बिग्रिने थिएन । गल्ती भयो ।’ आजको दिनमा आएर हेर्दा के देखिन्छ भने एमाओवादीले गल्तीको त्यही विन्दुबाट यस्तो यात्रा सुरु गर्यो, जहाँ एकपछि अर्को गल्ती गर्दै गयो । विदेशी प्रभुको अनावश्यक डंका अफापसिद्ध भयो, नागरिक सर्वोच्चताको बेलुन कतै आकाशमै हरायो, अनिश्चितकालीन आम हडतालले आफैंलाई थला पार्यो, कठपुतली शब्द स्वयम् आफ्नै लागि घाँडो भयो र यसैगरी संविधानसभाको दोस्रो निर्वाचनसम्ममा आइपुग्दा यो पार्टी आफ्नो वास्तविक धरातल हेर्न बाध्य भयो । यस आधारमा हेर्दा कटवालले माओवादीसँग लिएको टक्करले नेपाली सेनालाई त बचायो नै, प्रकारान्तरले मुलुकको लोकतान्त्रिक पद्धतिलाई नै बलियो बनायो भन्ने निष्कर्ष निस्किन्छ ।
सैनिक जीवनका आरोह–अवरोहका बारेमा कटवालले केही गम्भीर, केही पीडादायी र केही रोचक प्रसंगहरू सार्वजनिक गरेका छन् । जतिसुकै अन्याय गरे पनि आफूभन्दा माथिका हामिकका बारेमा बोल्न नमिल्ने सेनामा विभेद कम गर्न सिपाहीहरूसँग घुलमिल हुन आफूले गरेका प्रयासका बारेमा कटवालले सविस्तार व्याख्या गरेका छन् । सैनिक तालिम, अनुशासन र कर्तव्यमा कठोर रूपमा प्रस्तुत हुँदै कटवालले त्यसभित्र केही सुधारहरू पनि गरेका रहेछन् भन्ने पुस्तकमा उल्लेख छ ।
तर, केही प्रसंगहरूलाई रुकमांगद कटवालले आवश्यक नठानेर हो वा जानाजान हो छुटाएका छन्, केहीलाई छोए पनि अत्यन्त संक्षिप्तमा चर्चा गरेका छन् ।
जनआन्दोलनका सन्दर्भमा उनले साह्रै कम प्रसंग उल्लेख गरेका छन् । जबकि, नेपालको इतिहास राजतन्त्रको समाप्ति र गणतन्त्र स्थापनाको जग त्यही आन्दोलनले तयार गरेको हो । मलाई थाहा भएसम्म त्यतिबेला दलहरू र राजाका बीचमा मध्यस्थता गर्न कोसिस गरिएको थियो । यूएनडीपीका नेपाल प्रमुख म्याथ्यु कहानेलगायतले सेनाको त्यो प्रयासलाई अघि बढाएका थिए र प्रमुख नेताहरूसँग भेटघाट गरेका थिए । भारतबाट पनि त्यसबेला निकै चासो प्रकट भएको थियो, जुन सेनामार्फत नै थियो । सेनाको ‘सेकेन्ड म्यान’ रहेका कटवाललाई के यी प्रसंगहरू थाहै थिएनन् त ? किन हो, उनले उल्लेख गरेका छैनन् ।
पुष्पकमल दाहालको सरकार ढलेपछि माधवकुमार नेपालको नेतृत्वमा सरकार बन्दा पनि सायद रुकमांगद कटवाल त्यति सन्तुष्ट थिएनन् । एमाओवादीसँगको गोदावरी बैठकपछि सम्भवत: उनलाई एक महिनाभन्दा कम अवधि बाँकी रहँदा राजीनामा दिन भनिएको थियो, जुन कुरा उनले स्वीकार गरेनन् । त्यस प्रसंगमा पनि कटवाल मौन बस्न चाहेका छन् ।
कटवालको आत्मकथा पठनीय छ । यसले इतिहासका त्यस्ता पानाहरू खुला गरेको छ, जसमा आधारित भएर कैयौं खोज गर्न सकिन्छ । जहाँसम्म पुस्तकमा समाविष्ट कुरा कत्तिको साँचा वा झूटा छन् भन्ने प्रसंग छ, त्यहाँ उल्लिखित गिरिजाप्रसाद कोइरालालगायतका सीमित पात्रबाहेक अरू सबै जीवितै छन् । झूटा कुरा रहेछन् भने खण्डन पनि होला । अझ भनौं, अरूलाई पनि पुस्तक लेख्नका लागि मौका मिल्ला ।
समग्रमा, पुस्तकले जनरल रुकमांगद कटवालको सैनिक व्यक्तित्वलाई राजनीतिक अवतरण दिएको छ ।
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply