भारतीय विदेश नीतिको ऐना
३१ वर्ष भारतीय परराष्ट्र सेवा रहेर तीन देशको राजदूत भएपछि पाँच वर्ष सेवा अवधि बाँकी रहँदै सन् १९८४ मा राजीनामा दिएर कांग्रेस (आई) को राजनीतिमा संलग्न कुँवर नटवर सिंह अहिले स्वतन्त्र छन् । जवाहरलाल नेहरूका पालादेखि नेहरू परिवारसँग निकट सम्बन्ध रहेका र पछि इन्दिरा गान्धी, राजीव गान्धी हुँदै सोनिया गान्धीको विदेश मामिलासम्बन्धी विश्वासपात्र रहेका सिंह कांग्रेस आईका तर्फबाट दुई पटक लोकसभामा निर्वाचित भएका थिए भने पटक–पटक विदेश मन्त्रालयसमेत सम्हालेका थिए । तर, सन् २००५ मा राष्ट्र संघले गठन गरेको भोल्कर आयोगले इराकमा खाद्यान्नका लागि तेल कार्यक्रमअन्तर्गत त्यहाँको सरकारबाट लाभ लिनेमा कांग्रेस पार्टी र उनको नाम उल्लेख गरेपछि विदेशमन्त्रीबाट राजीनामा दिनुका साथै आफूमाथि अनावश्यक आरोप लगाइएको भन्दै कांग्रेस र राज्यसभा दुवैबाट राजीनामा दिएका सिंहले हालै आफ्नो आत्मकथा बजारमा ल्याएका छन्– ‘वान लाइफ इज नट एनफ ।’ विदेश मामिलाका ज्ञाता र भारतीय विदेश नीतिका आाधिकारिक जानकार मानिने सिंहले पुस्तकमा आफ्नो जन्मदेखि भोल्कर प्रतिवेदनमाथिको आफ्नो सफाइसम्मलाई पुस्तकमा समेटेका छन् ।
व्यक्तिगत रूपमा नटवर सिंहले भोगेका अनुभव प्रत्येक मानिसका जस्तै आफ्नै प्रकारका छन्, तिनमा केही टिप्पणी भएन । तर, एक कूटनीतिज्ञका रूपमा इन्दिरा गान्धी र राजनीतिकर्मीका रूपमा राजीव गान्धी अनि सोनिया गान्धीसँग काम गर्दाका उनका अनुभव वास्तवमा महत्त्वपूर्ण छन् । खासगरी, चीन र पाकिस्तानमा कूटनीतिज्ञ भएर बस्दा उनले गरेका अनुभव र त्यस आधारमा गरिएको भारतको नीति विश्लेषणले भारतीय विदेश नीतिको अन्तर्य बुझ्न सघाउँछ । आजीवनमा नेहरू–गान्धी परिवारप्रति वफादार रहेका सिंहले आफूलाई सोध्दै नसोधी भोल्कर प्रतिवेदनका आधारमा हट्न बाध्य बनाइएकोमा बाहेक जीवनप्रति खासै गुनासो गरेका छैनन् । भारत स्वतन्त्र भएयता
त्यसले पार गरेका आरोह–अवरोहका एक साक्षी नटवर सिंहको सौभाग्य भन्नुपर्छ, उनले ठूला मानिसहरूसँग संगत गर्न पाए र ठूलै जिम्मेवारी पनि पाए । मोरारजी देसाई प्रधानमन्त्री हुँदाबाहेक उनले सधैंभरि रोजेको र चाहेको जिम्मेवारी पाएका छन् । आफ्ना समृद्ध अनुभवहरूका आधारमा उनले निष्कर्ष निकालेका छन्– चीन र पाकिस्तानसँग सम्बन्ध अघि बढाउनमा कतै न कतै भारतबाट त्रुटि भएको छ । पाकिस्तानबाट छुट्याएर सन् १९७१ मा बंगलादेशको निर्माण गरेजस्तै श्रीलंकाबाट तामिल बहुल जाफ्ना छुट्याउने भारतको प्रयास कसरी विफल भयो र पहिला आफैंले आर्थिक र राजनीतिक सहयोग गरेका तामिलका विरुद्ध पछि भारतले कसरी लड्नुपर्यो भन्ने कथा पनि उनले सार्वजनिक गरेका छन् । श्रीलंकाको मामिलामा भारतीय नीति पूरै असफल भएको निष्कर्षका साथ सिंहले त्यसबाट भारत कुनै उपलब्धि हासिल नभएको उल्लेख गरेका छन् ।
भारतीय विदेश नीति सञ्चालनमा खुफिया एजेन्सीको प्रयोगलाई नटवर सिंहले गलत भनेका छन् । प्रधानमन्त्री कार्यालय, विदेश मन्त्रालयका अतिक्ति ‘रअ’ले अलग्गै विदेश सम्पर्क गर्दा एक पटक श्रीलंकाका राष्ट्रपति होइन, तिम्रो देशका कतिवटा निकायसँग हामीले डिल गर्नुपर्छ भनेर सोधेको पनि उनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।
पुस्तकको सबभन्दा महत्त्वपूर्ण पक्ष भनेको नटवर सिंहले आम पाठकहरूको सहजै पहुँच नहुने र धेरैका लागि जिज्ञासा हुने ‘प्रिभिलेज्ड कम्युनिकेसन’ सार्वजनिक गरेका छन् । एउटा राष्ट्रपति र राजदूतका बीचमा कस्तो संवाद हुन्छ ? अझ भारत र पाकिस्तान जस्ता परस्पर विरोधी मुलुकका राष्ट्रपतिसँग भारतीय राजदूतको कस्तो संवाद हुन्छ होला भन्ने थाहा नपाउनेहरूका लागि उनले नयाँ सामग्री दिएका छन् ।
सन् २००४ मा कांग्रेसलाई पुन: सत्तामा फर्काउने सोनिया गान्धीले आफ्नो अन्तस्करणको आवाजका कारण प्रधानमन्त्री पद त्यागेको नभई उनका छोरा राहुलको धम्कीका कारण प्रधानमन्त्री नबनेको खुलासा उनले गरेका छन् । मनमोहन सिंह, सोनिया गान्धी, उनकी छोरी प्रियंका, राहुल र आफू बसेको ठाउँमा राहुलले २४ घन्टाको म्याद तोकेर निर्णय लिन र नत्र आफू जे पनि गर्न तयार रहेको घोषणा गरेको नटवरले उल्लेख गरेका छन् । त्यही कारण सोनिया अन्तिम बेलामा प्रधानमन्त्री बन्न असमर्थ रहेको उनको खुलासा छ । यही कारणले उनको पुस्तक भारतमा निकै विवादित पनि भएको छ । नटवरले पुस्तकमा जवाहरलाल नेहरू, इन्दिरा गान्धी र राजीव गान्धीको धेरै सराहना गरेका छन्, साथसाथै केही कुरामा कमी रहेको पनि उल्लेख गरेका छन् । कांग्रेस अध्यक्ष सोनिया गान्धीले कांग्रेसलाई पुन:जीवन दिएकोमा प्रशंसा गर्दैै उनले पछिल्ला दिनमा के कारणले हो, आफूसँग सम्बन्ध बिग्रिएकोमा गुनासो गरेका छन् । सोनिया र आफ्ना बीचमा हार्दिक सम्बन्ध रहेको र साना–साना कुरा पनि आफूहरूबीच आदान–प्रदान हुने गरेको कुरा गौरवका साथ उनले उल्लेख
गरेका छन् ।
आफू एक वर्षभन्दा बढी मन्त्री भएको मनमोहन सिंह सरकारले अवलम्बन गरेको विदेश नीतिको उनले कडा आलोचना गरेका छन् । नटवरले मनमोहन सिंह सरकारको विदेश नीति नै नभएको निष्कर्ष निकालेका छन् । पुस्तकमा चीनसँगको सन् १९६२ को युद्ध, सन् १९७१ को बंगलादेश मुक्तिको आन्दोलन, पाकिस्तानसँगको सन् १९९९ लगायत पटक–पटकको गोलाबारी, सोभियत संघसँगको विशेष सम्बन्ध, ल्याटिन अमेरिकी देशमा भारतको प्रभाव, अफ्रिकी देशहरूसँगको सम्बन्धलगायतका विषयमा पुस्तकमा जानकारीमूलक रूपमा उल्लेख गरेका छन् । उनले कुनै पनि विषयलाई तन्काउनुका साटो सानो प्रसंग उल्लेख गरेर त्यहीं सकिदिएका छन्, जसबाट पाठकको पूरै खुल्दुली मेटिँदैन । समग्रमा भारतको विदेश नीति, कर्मचारीतन्त्र, राजनीति र कूट
सम्बन्धित समाचार
- एमालेको संकल्प यात्रा अभियान लुम्बिनीमा प्रवेश
- एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा तीन जनाको दाबी
- पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको ‘रिग क्षेत्र’
- पेरुको पहाडमा बस दुर्घटना, १३ जनाको मृत्यु
- झपक्कै फुल्यो आँप
- Golanjor
- चितवनमा कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड
- खाना पकाउने ग्यासको छिट्टै दुई थरी मूल्य
- ज्ञानेन्द्र शाहीले गरे राप्रपामा प्रवेश
- राष्ट्रपति भण्डारीले पहिलो सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गर्दै
- जिन्दगीसँग सवालजवाफ
- संस्कृतिविद्को परिचयवृत्त
Leave a Reply