के थियो बीपीको सपना ?

बीपी कोइरालाको शवयात्रा ‘बीपीको सपना साकार पार्छौं–पार्छौं’ र ‘बीपी कोइराला अमर रहुन्’ भन्ने नारा लगाउँदै नगर परिक्रमा गरी आर्यघाटमा पुग्यो । उहाँको पार्थिव शरीरमा तीन छोरा प्रकाश, श्रीहर्ष र शंशांकले दागबत्ती दिए । तर, उनीहरूले कपाल खौरेनन् । कान्छा भाइ गिरिजाप्रसाद कोइरालाले पनि कपाल खौरनुभएन । सबै परिवार र छोराहरूलाई थाहा थियो– बीपी कोइराला स्वयम्ले आफ्ना पिता कृष्णप्रसाद कोइरालाको मृत्यु हुँदा कपाल खौरिनुभएको थिएन र कुनै किरियाकाज–दानदातव्य गर्नुभएको थिएन । कृष्णप्रसाद कोइरालाको मृत्यु राणाहरूको थुनामै भएको बेला विक्रम सम्बत् २००१ (सन् १९४५) मा भएको थियो । त्यतिबेला बीपी भारतको ब्रिटिस शासनका बखत छुट्नुभएको थियो । उहाँलाई पिताको मृत्युको खबर विराटनगर नजिक भारतको जोगबनीबाट एक्सप्रेस टेलिग्रामद्वारा दिइएको थियो । तर, समाजवादी भौतिकवाद मान्ने बीपीले भारतीय समाजवादीहरूले झैं धार्मिक कर्मकाण्ड नगर्ने कुरा अनुशरण गर्नुभयो ।
तर, विराटनगरमा मातृकाप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला घरभन्दा केही पर बारीमा परालको कटेरो बनाई किरिया बस्नुभयो । उहाँहरू दिनदिनै सिंघाई नदीमा नुहाउनुहुन्थ्यो । त्यतिबेला आजजस्तो नेपालमा हवाईजहाज चल्ने युग आइसकेको थिएन । त्यसैले उहाँहरू पिताको शव बोक्न काठमाडौं पुग्न सक्ने अवस्था थिएन । कृष्णप्रसाद कोइरालाका पाँचमध्ये एक छोरा केशवप्रसाद कोइराला र पत्नी मोहनकुमारी अनि दिव्यकुमारी मात्रै काठमाडौं त्रिपुरेश्वरस्थित बाग्मती किनारको जुद्ध धर्मशालामा किरिया बस्नुभयो ।
बीपीले सम्पूर्ण जीवनमा कोही मर्दा एक पटक कपाल खौरनुभयो । त्यो पनि धर्मभन्दा त्यस समयको राजनीति र अनावश्यकताका कारण गर्नुभएको थियो । ०११ सालमा राजा त्रिभुवनको शव आइपुग्दा उहाँ काठमाडौंमै हुनुहुन्थ्यो । त्यस समय नेपाली कांग्रेस, प्रजापरिषद्, गोरखा परिषद्, राष्ट्रिय प्रजा पार्टी, राष्ट्रिय कांग्रेस आदि पार्टीका सबै नेताहरूले कपाल खौरेका थिए । टंकप्रसाद आचार्य, मातृकाप्रसाद कोइराला, डिल्लीरमण रेग्मी, मृगेन्द्रशमशेर, भद्रकाली मिश्रलगायतले पनि कपाल खौरेका थिए । भर्खर ००७ सालमा राणा शासन ढलेर आंशिक बहुदलीय व्यवस्था कायम भएको चार वर्ष भएको थियो । त्यस समय र माहौलमा जतिसुकै नास्तिक भए पनि बीपीका लागि कपाल खौरनु अनिवार्य थियो ।
०११ मा १५/१६ वर्षको म र मेरो साथी मदन रेग्मीलाई कपाल काट्न कसैले भनेको थिएन तर सहरमा मुडुलै मुडला पुरुषहरू देख्यौं । हामीले कपाल त खौरेनौं तर टोपीले कपाल ढाकिने तर अरूले देख्दा खौरेको देखिने गरी कनपट्टी र पछाडिको कपाल खौरेको जस्तो देखिने पारेका थियौं ।
त्यसबखत गोर्खा परिषद् र बीपीका विरोधीहरूले बाबु मर्दा टाउको नखौरिने बीपी अहिले जनमत हेरी पाखण्ड गर्दैछन् भन्ने चर्चा चलाएका थिए ।
०११ र ०३९ बीचका २८ वर्षमा चोभारबाट बाग्मतीको पानी धेरै बगिसकेको थियो । बीपीका छोराहरूले कपाल नखौरदा खासै चर्चा भएन ।
बीपी कोइरालाको दाहसंस्कार भएको भोलिपल्ट डिल्लीबजार, पुतलीसडक र बागबजारको बीचमा सोफिया रेग्मीसँग भेट भयो । उनी रेडियो नेपालमा काम गर्थिन् । उनले सोधिन्– ‘हिजो जुलुसले बीपीको सपना पूरा गर्छौं–गर्छौं भनी नारा लगायो । के हो यो बीपीको सपना भनेको ?’ हडबडमा, त्यो पनि फुटपाथमा लामो छलफलको वातावरण हुँदैन । मैले एकछिन सोचेर अड्कँदै भनें– ‘बीपीको सपना भनेको ०१५ सालको जस्तो जनताले निर्वाचित गरेको प्रतिनिधिसभा र संसदीय प्रजातन्त्र हो ।’
सोफियाले भनिन्, ‘त्यो त नियर फ्यूचरमा होला जस्तो लाग्दैन ।’
मैले भनें– ‘सपना हो । सपना नै नदेखे त पूरा हुने कुरा नै हुँदैन ।’
त्यति कुरापछि हामीहरू आ–आफ्ना गन्तव्यतिर लाग्यौं ।
आज यो लेख लेख्दा पनि रत्नपार्क, भोटाहिटी, खुलामञ्च र रानीपोखरीबीच पर्ने चौबाटोमा बनेको आकाशे पुलमा एउटा सेतो कपडाको तुलमा लेखिएको छ– ‘बीपीको सपना पूरा गर्छौं–गछौंं ।’
मेरो विचारमा बीपीको सपना ०१५ को जस्तो जनताद्वारा निर्वाचित प्रतिनिधिसभा भएको दुई सदनात्मक संसदीय व्यवस्था ०४६ मा विशाल देशव्यापी जनआन्दोलन गरी फर्काइएको थियो । तर, ०५१ को प्रतिनिधिसभाको चुनाव बहिष्कार गरेर ०५२ सालमा हतियार उठाएर माओवादी, राजा वीरेन्द्रको मृत्यु भएपछि राजा भएका ज्ञानेन्द्र र कट्टर राजावादीहरूले ०४७ को संविधान प्रतिकूल र त्यसको बर्खिलाप गएर ०१७ जस्तै ०५९ मा जनताद्वारा निर्वाचित प्रतिनिधिसभा र संसदीय प्रजातन्त्र लोप पारे । यसरी ०५९ मा बीपीको सपना फेरि आन्तरिक र बाह्य षड्यन्त्रहरूले उडायो । जनताले फेरि विशाल जनआन्दोलन गरेर राजा ज्ञानेन्द्रलाई उनले भंग गरेको प्रतिनिधिसभा फर्काउन बाध्य पारे । तर, फेरि प्रधानमन्त्री हुन पुगेका गिरिजाप्रसाद कोइरालाले प्रचण्ड र अँध्यारामा रहेका शक्तिहरू मिली अन्तरिम संसद् भन्दै ०४७ को संविधानको अक्षर र भावना दुवै विपरीतको एउटा मनोनीत संसद् खडा गरे ।
०४७ को संविधान समाप्त पारियो । स्पष्ट रूपले मेरो विचारमा आज जनताद्वारा निर्वाचित प्रतिनिधिसभा हराएको र जनताको आफूद्वारा निर्वाचित प्रतिनिधिको सरकार बनाउने अधिकार लोप पारेर जनतालाई शक्तिहीन पारिएको एउटा वर्णशंकर संविधानसभा छ जसमा जनताद्वारा निर्वाचित उनका प्रतिनिधिहरूको संख्या अल्पमतमा उनीहरूद्वारा निर्वाचितभन्दा अन्य प्रकारले सभासद् बनाइएकाहरूको प्रचण्ड संख्याले संविधान कोर्दैछ । बीपीको सपना मात्र होइन, २००७ फागुन ७ गतेको जनताद्वारा निर्वाचित प्रतिनिधिहरूले तर्जुमा गरेको संविधानको वचनबद्धता पनि हराएको छ ।
सम्बन्धित समाचार
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
भारतमा ९२ सांसद निलम्बित
-
चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
-
मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
पक्राउ परे रिगल
-
एमाले नेता पौडेल मृत फेला
-
बझाङमा फेरी भूकम्प
Leave a Reply