वायु सेवाभित्रका बेथिति
काठमाडौं । ५८ वर्षअघि स्थापित नेपालको एक मात्र राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको हालत दिनप्रतिदिन खस्किँदै गएको छ । संसारका मुख्य सहरहरूमा सेवा दिनका लागि आवश्यक पर्ने पर्याप्त जहाज र कुशल व्यवस्थापनको अभावका कारण निगम जीवन–मरणको दोसाँधमा पुगेको हो ।
निगमले अन्तर्राष्ट्रिय सेवाका लागि २५ वर्ष पुराना २ वटा बोइङ, ७ सय ५७ तथा आन्तरिक सेवाका लागि २५ देखि ४० वर्ष पुराना २ वटा ट्विनअटर विमान सञ्चालनमा ल्याइरहेको छ । बोइङको सिट क्षमता १ सय ९० छ भने पुराना २ ट्विनअटरको सिट क्षमता १९ रहेको छ । तथापि, पर्याप्त जहाजको अभावमा बजार हिस्सा गुमाउँदै गएको अवस्थामा चीनबाट आउन लागेको सहुलियत ऋण र अनुदानका जहाजहरू एवम् एयरबस कम्पनीसँग खरिद सम्झौता भइसकेर ४० प्रतिशत भुक्तानी समेत भइसकेको न्यारोबडी जहाजले गर्दा निगमका कर्मचारीहरूमा ऊर्जा भने थपिएको छ ।
हवाई सेवामा ५० वर्षभन्दा बढी उडानको अनुभव भएको र योग्य, अनुभवी तथा दक्ष जनशक्ति रहेको निगम व्यवस्थापनले विमान विस्तारतर्फ ध्यान दिनेभन्दा पनि भएका विमानहरूको पाटपुर्जा अनेक बहानामा बेचेर खाने गरेको हुँदा समस्या निम्तिन पुगेको हो ।
अहिले निगमको पुरानो जहाज बी ७५७ द्वारा मात्र अन्तर्राष्ट्रिय उडान भइरहेको छ । जबकि अन्तर्राष्ट्रिय कम्पनीद्वारा अति आधुनिक जहाज ए ३२१, ए ३३०, ए ३४०, ए ७७७, बी ७३७ ईआर जस्ता जहाजहरू प्रयोग भइरहेको छ ।
संंसारको धेरै गन्तव्यमा उडान अनुमति पाएको नेपाली राष्ट्रिय ध्वजाबाहक निगमले अहिले बजार विस्तार गर्न नसकेर सरकारको जमानीमा कर्मचारी सञ्चय कोषबाट ऋण लिएर आफ्ना कर्मचारीहरूलाई तलब खुवाउन बाध्य देखिएको छ ।
चीनको विमानले आशा बढायो
निगमले दुई दशकपछि बल्ल एउटा चिनियाँ जहाज भित्र्याएको छ । जहाज भित्र्याउने बेला निगमका कर्मचारी २ घन्टाअघिबाट नै पुजाको सामग्री लिएर विमानस्थलमा बसेका थिए । पञ्चेबाजा, पानीको फोहरा र मंगलधुनसहित स्वागत गरिएको सो जहाज आकाश भैरवको पूजा गरी निकै उत्साहपूर्वक भित्र्याइएको थियो । तर, उडानका पाइलट र इन्जिनियरलाई उचित तालिम दिन नसकेपछि विमान लामो समय त्यत्तिकै थन्किएर रह्यो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगम व्यवस्थापनलाई मिति नै तोकेर सुचारु गर्न आदेश दिएपछि बल्लतल्ल उडान त सुरु भयो, तैपनि बेलाबेला ग्राउन्डेड भएर बस्ने गरेको छ । यसले आन्तरिक उडानमा १ थान जहाज थपिए पनि यसलाई पर्याप्त मानिँदैन । उक्त जहाजले सुरुआतका दिनहरूमा केही आशा बढाए पनि अपेक्षाकृत प्रतिफल भने दिन सकेको छैन ।
पूर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्यले निगमबारे विस्तृत अध्ययन गरी १ वर्षभित्र निगममा १२ वटा विमान पुर्याउने लक्ष्य लिएका थिए । उनको सो योजनालाई महत्वाकांक्षी भनिए पनि उनले पूरा गराएरै छाड्ने वचन दिएका थिए । तर, आचार्यलाई बीचैमा एमालेका पूर्वअध्यक्ष झलनाथ खनालले मन्त्री पदबाट हटाएर आफ्ना आजन्म स्वकीय–सचिव दीपकचन्द्र अमात्यलाई मन्त्री बनाए । नयाँ मन्त्रीले कस्तो भूमिका खेल्ला ? त्यो त समयले नै बताउला ।
खुम्चिँदो कारोबार
विभिन्न आरोह–अवरोह पार गर्दै आएको निगमले सडकले नछोएका दुर्गम जिल्लाहरूमा उडान भरेर सेवा पुर्याउँदै आएको छ । नयाँ विमान खरिदपछि निगमलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक पार्ने पूर्वमन्त्री आचार्यको योजना थियो । त्यसका लागि हाल निगमसँग भएका विमानहरूबाट चुस्त, भरपर्दो र नियमित सेवा दिँदै यात्रुको मन जित्न जरुरी देखिन्छ । अहिले विश्व बजारमा ८० देखि ९० अर्ब रकम बराबर हवाई सेवाको कारोबार हुने गरेकोमा नेपाल वायुसेवा निगमको हिस्सा ४ देखि ६ प्रतिशत मात्र रहेको तथ्यांकले बताउँछ । महत्वाकांक्षी योजना अघि सारेका निवर्तमान मन्त्री आचार्यले ५ वर्षमा वायुयानको संख्या थपेर २२ वटा पुर्याउने लक्ष्य लिएका थिए ।
मन्त्री आचार्यले आफू पदबाट बिदा हुने केही दिनअघि मात्र नियुक्त गरेका सञ्चालक समिति अध्यक्ष शिवशरण न्यौपाने आफू निगममा विगतमा भएको विसंगति हटाउन सफल हुने बताउँछन् । ‘इन्जिनियरिङ, अप्रेटिङ र मार्केटिङ चुस्त दुरुस्त राख्यो भने केही समस्या छैन, मैले यो क्षेत्र विगत लामो समयदेखि बुझ्दै आएकाले कर्मचारीहरूको मनोबल उच्च राखेर म काम गर्न सफल हुन्छु’– उनले भने । निगमसँगै एकै समय सेवा सुरु गरेको थाई एयरवेजले अहिले विश्वका सय देशमा उडान भर्दै आइरहेको छ तर वायुसेवा निगमको उडान भने हङकङ, बैंककलगायत थोरै सहरमा मात्र सीमित छ ।
५ किसिमको विमान
संसारका विमान कम्पनीहरूले प्राय: एकै किसिमका विमान प्रयोगमा ल्याउने गरेका छन् । तर, आकार र नमुना फरक फरक भएपछि पाइलट व्यवस्थापनमा समस्या पर्ने गरेको पाइन्छ । जुन समस्या अहिले नेपाल वायुसेवा निगमलाई परेको छ । एकै किसिमका जहाज प्रयोगमा ल्याउँदा एकैखाले सीप र तालिम लिएका पाइलटहरूले सजिलै सबै विमान उडान गर्न सक्छन् ।
तर, नेपालमा भने ५ किसिमको जहाज प्रयोग हुँदै आइरहेको छ । आन्तरिक उडानका लागि निगमले पहिल्यैदेखि प्रयोगमा ल्याइरहेको १९ सिटका ट्विनअटर, बाह्य उडानका लागि १ सय ९० सिटको बोइङ, फ्रान्सेली कम्पनीले सन् २०१५ सम्ममा पठाउने गरी सम्झौता गरेको ५० सिटका एयर बस, चीनले केही महिनाअघि पठाएको ५६ सिटको एमई ६० र पठाउनका लागि तयारी हालतमा राखेको वाई १२ गरी नेपालसँग ५ किसिमका जहाज छन् ।
फरक किसिमका जहाज भएपछि एक किसिमको जहाज चलाउने पाइलटले अर्को किसिमको चलाउन नसक्ने र भिन्नभिन्न तालिमलगायतको आवश्यकता पर्दछ । एउटै पाइलटले फरक–फरक किसिमको जहाज चलाउन नसक्ने भएपछि संस्थालाई थप व्ययभार पर्ने देखिन्छ ।
समस्या चिनियाँ विमानमा बढी
चीनसित अनुदानमा २ वटा र सहुलियत ऋणमा ४ वटा गरी नेपाललाई ६ विमान दिने सम्झौता भएको छ । जसमध्ये एक एमई १६ आइसकेको छ भने एउटा वाई १२ तयार गरेर राखिएको महिनौं भइसक्दा पनि निगम व्यवस्थापनले नेपाल झिकाउने जाँगर देखाएको छैन । डा.बाबुराम भट्टराई प्रधानमन्त्रीे भएका बेला उक्त चिनियाँ कम्पनीसँग सम्झौता भएको थियो । प्रधानमन्त्री–पत्नी हिसिला यमीलगायत मन्त्रालय, नेपाल नागरिक उड्ययन प्राधिकरण र निगमका उच्च अधिकारीले समेत राम्रै कमिसन भेटेको चर्चा चलेको थियो । सो सम्झौता अनुसार चीनले अनुदानमा दिने भनिएको एक एमई ६० र एक वाई १२ दिइसकेको छ भने सहुलियत ऋणमा ४ वटा विमान दिन नै बाँकी रहेको छ । त्यसमा १ एमई ६० र अर्को ३ वाई १२ ए दिन बाँकी छ । तर, उसले दिएको पहिलो विमानमा नै निकै प्राविधिक समस्या आएको एक पाइलटले बताए । एमई १६ समेत ल्याएको केही दिनमै बिग्रिएको र फेरि सामान झिकाएर मर्मत गर्नुपर्दा १० दिन उडान स्थगित भएको थियो । त्यति मात्र होइन, ५६ सिट क्षमताको भनिए पनि तापक्रममा कारण ४० जना भन्दा बढ्ता यात्रु राख्न नसकिने बताइन्छ । सो विमान माउन्टेन फ्लाइटमा लैजाँदा पनि अनुपयुक्त हुने र चीनले दिएको वाई १२ भने पहाडी क्षेत्रमा समस्या दिने खालको रहेको बताइन्छ । सहुलियत दरमा दिए पनि मर्मत खर्च र अन्य हिसाब–किताब जोड्दा उस्तै पर्न जाने विज्ञहरू बताउँछन् । चीनसँग ६ वटा विमान लिने गरी तत्कालीन सरकारले हतारमा सम्झौता गरे पनि त्यसलाई सहज ढंगले परिचालन गर्न पुग्ने जनशक्ति नै अहिले निगमसँग नभएको बताइन्छ । साथै, सो जनशक्ति पूर्ति गर्नेतर्फ पनि निगमले ध्यान दिएको छैन ।
महाप्रबन्धकको अवधि गुजार्ने दाउ
निगमका महाप्रबन्धक मदन खरेल पनि सबै चुनौती मोलेर निगमलाई नयाँपन दिनेभन्दा पनि जागिरको ४ बर्से अवधि सकेर सहजै अवकाश लिएर कसरी सेवाबाट बाहिरिने भन्ने ध्याउन्नमा छन् । निगमको महाप्रबन्धक बन्ने रहर माओवादीलाई खुसी बनाएर पूरा गरिसकेकाले उनी भरसक चुनौती मोलेर विवादमा तातिन चाहँदैनन् । साथै, अख्तियारको नजरमा परिनेलगायतका कारण देखाएर विवादमा कम आउन खोजेका पनि छन् । निगम सुधार गरीसाध्य नभएकाले उनी कुनै नयाँ योजना ल्याउने होइन, चीनले दिन तयार गरेको विमान पनि लिन तत्पर छैनन् । ‘बेलामा जहाज नउडाई पदीय जिम्मेवारी पूरा नगरी अख्तियार दुरुपयोग गरेको भन्दै सचेत पारेपछि उनी फेरि विवादमा परिने हो कि भन्दै कुनै काममा हात हाल्न नै डराइरहेका छन्’– उनी निकट स्रोतले भन्यो । अवकाश भएपछि निगमले गर्दै आएको ग्राउन्ड ह्यान्डलिङको काम निजी क्षेत्रलाई दिने र त्यसमा साझेदारी गरी व्यावसायिक माध्यम मिलाउन उनी अहिलेदेखि नै लागिपरेको बताइन्छ । प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमन, पूर्वनिर्देशक गणेश ठाकुर र खरेलले समेत सेयर लिएर सो काम गर्न कम्पनीसमेत खडा गरिसकेको बताइन्छ ।
अध्यक्षद्वारा आफ्नो सुविधा तय
नवनियुक्त अध्यक्ष शिवशरण न्यौपानेले बोर्ड बैठक डाकेर आफ्नो सुविधा तय गराएका छन् । उनले निगमको हरेक युनिटमा हरेक दिन जति नै अनुगमन गर्नसक्ने अधिकारसहितको आफ्नै नेतृत्वमा १ सदस्यीय कमिटी बनाएका छन् । जसले प्रतिदिन २ हजार रुपियाँ भत्ता लिन सक्छ ।
सम्बन्धित समाचार
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- काठमाडौं महानगरका तीन कर्मचारी निलम्वनमा
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- शिक्षक रुपेश सर्राफ हत्यामा संलग्न ५ जना सार्वजनिक
- बारामा प्रिन्सिपलको हत्या प्रेमिकाकै ब्वाइफ्रेण्डबाट
- खाद्य व्यवस्थाले आजदेखि खसी, बोका र च्याङ्ग्रा बिक्री गर्ने
- सरकार र आन्दोलनरत शिक्षकबीच वार्तामा जुटेन सहमति
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- आज राष्ट्रिय विज्ञान दिवस
- नेम्वाङको निधनले मर्माहत भएँ : प्रधानमन्त्री
- खार्तूममा हवाई आक्रमण, २० सर्वसाधारणको मृत्यु
- गौरा पर्वका अवसरमा सुदूरपश्चिममा आज र भोलि सार्वजनिक बिदा
Leave a Reply