मनमोहन–सुन्दरैया भेट

व.सं. २०४१ को कात्तिक (अक्टुबर सन् १९८४) मा म विराटनगरबाट काठमाडौं आएको थिएँ । म त्यसताका प्राय: टेक दाजु (टेकचन्द्र पोखरेल)कहाँ बस्दथें । हाम्रो दोहोरो नाता थियो । उहाँ मेरो मामा हिराबाबुको छोरा र उहाँको पत्नी राज्यश्री भट्टराई, पद्मकन्याको भाइस प्रिन्सिपल मेरो पत्नीको दिदी हुनुहुन्थ्यो । टेक दाजुलाई म जन्मेदेखि नै चिन्दथें भने राज्यश्री भाउजूलाई उहाँ अविवाहित रहँदै बनारस हिन्दू युनिभर्सिटीमा पढ्दादेखि चिन्दथें । उहाँ एमए पढ्दा म पनि त्यही आर्टस् कलेजमा बीए पढ्दै थिएँ ।
एक दिन म शम्भुराम श्रेष्ठसँग भेट्न जाँदै थिएँ । बाटोमा इन्द्रचोक नजिक पुग्दा रेडियो समाचार सुनें, इन्दिरा गान्धीको हत्या भयो । म एकछिन टक्क रोकिएर पसल अगाडि उभिएर समाचार सुन्न थालें । नेपाल रेडियोपछि पसल साहुजीले तुरुन्तै अलइन्डिया रेडियो लगाए । त्यसबाट पनि त्यही समचार प्रसारित भइरहेको थियो ।
अब म फटाफट हिँड्दै शम्भुरामजीकहाँ पुगें । शम्भुरामजी पनि रेडियोमा त्यही समाचार सुनिराख्नुभएको थियो । उहाँले म कोठामा पस्नासाथ उत्तेजित हुँदै भन्नुभयो– ‘इन्दिरा गान्धीलाई त मारेछन् नि, उनका आफ्नै बडीगार्डहरूले ।’
त्यत्तिकैमा मेरो नचिनेको एक जना दौरा सुरुवाल, कोट र टोपी लगाएको कर्मचारीजस्तो लाग्ने मान्छे त्यहाँ आइपुगे । पञ्चायतको अविश्वसनीय समय थियो । उनले कोठामा पस्नासाथ उत्तेजित हुँदै बोल्नथाले– ‘राजा त भाग्यमानी रहेछ । इन्दिरा गान्धीलाई उसकै शिख बडीगार्डहरूले घर कम्पाउन्डभित्रै मारेछन् ।’
मैले नचिनेको मान्छे । कुनै सीआईडी पनि हुनसक्छ भनी चुप लागेर केही नबोली सुनिराखें । त्यसपछि शम्भुरामजीले मतिर हेर्दै सोध्नुभयो– ‘कमलजी अबको प्रधानमन्त्री को होला इन्डियाको ?’
त्यो मान्छे पनि अब मतिर हेर्न थाल्यो । मैले एकछिन सोच्दै भनें– ‘खोइ म पनि भन्न सक्दिनँ । तर, अहिले क्याबिनेटमा प्रणव मुखर्जी सबैभन्दा सिनियर छन् । इन्दिरा गान्धी लोकसभामा कांग्रेसको संसदीय दलको नेता र प्रधानमन्त्री थिइन् भने प्रणव मुखर्जी राज्यसभामा नेता छन् ।’
शम्भुरामजी त्यसै पनि पहिले सन् १९७१ मा बंगलादेशको लडाइँ सुरु हुँदादेखि नै इन्दिरा गान्धीको कट्टरविरोधमा बोल्नुहुन्थ्यो । सिक्किम भारतमा गाभिएपछि त झन् बढी विरोधी हुनुहुन्थ्यो । विराटनगरमै रोजै भारतीय अखबारहरू र रेडियो सुनेर बंगलादेशको युद्ध प्रारम्भ हुँदै एक करोड जति शरणार्थी भारत पसेका समाचार र पूर्व पाकिस्तानमा बंगाली महिलाको व्यापक मात्रामा बलात्कार र पुरुषहरूको हत्याका समाचार भारतीय अखबारहरूमा पढेर म चाहिँ मनमनै तटस्थ भएको थिएँ । बाबा मातृकाप्रसाद कोइरालाचाहिँ बंगलादेश बन्नुपर्छ भन्नुहुन्थ्यो ।
सन् १९७१ मै बंगलादेश युद्ध सुुरु नहुँदै मनमोहनजीका साथ म त्यसबखत कलकत्तामा केन्द्रीय कार्यालय सरेको हुँदा रत्नलाल ब्राह्मण (दार्जिलिङका भारतीय संसदमा निर्वाचित नेपाली मूलका प्रथम लोकसभा सांसद माइला बाजे)ले त्यसबखतको भारतको माक्र्सवादी कम्युनिस्ट पार्टीका महासचिव सुन्दरैय्या र पश्चिम ब्रगलाका सचिव प्रमोद दास गुप्तासँग मिलाएको भेटघाट गर्न कलकत्ता पुगेको थियो ,
नक्सलवादीहरुको आक्रमण मुख्य रुपले माक्र्सवादी कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुमाथि हुँदा सुरक्षाको कारण ह्याण्डग्रनेडहरु फ्याक्न नसक्ने गरी त्यस कार्यालयको तीन तल्लामाथिसम्म फलामको जाली लगाइएको थियो । सुन्दरैय्या र उनको पत्नी त्यहाँ नै बस्दथे । त्यसैले उनीसँग चिया खाँदा, भात खाँदा पनि कुराकानी भइरहन्थे । सुरक्षाको कारण मनमोहनजी र मलाई पनि त्यही माक्र्सवादी हेडक्वार्टरको अलग–अलग कोठामा राखिएको थियो । प्रमोद दास गुप्ता भने साह्रै व्यस्त थिए र दिउँसो २ बजेतिर कुराकानी गर्न आई एकघण्टा जति वा त्यसभन्दा पनि कम बसेर जान्थे ।
मनमोहनजीलाई कुराकानी गर्न बोलाएको हुँदा म कुराकानीमा उपस्थित भए पनि चुपचाप बसेर सुन्दथें । र, कहिलेकाहीँ मनमोहनजीको कुरा अपुरो लागे केही थप्थें । एकदिन सुन्दरैय्यासँग उनको भान्सानजिक डाइनिङ टेबलमा बिहानको चिया खाँदाखाँदै मैले विराटनगरमा राधाप्रसाद घिमिरेले चाँडै भारत र पाकिस्तानमा युद्ध हुन्छ भनी ब्रिटिस नेपाल मेडिकल ट्रष्टको एकजना ब्रिटिस डाक्टरले भनेको कुरा सम्झँदै भनें– ‘के शरणार्थीहरुको यति ठूलो संख्या भारत आएको हुँदा भारत र पाकिस्तानमाझ युद्ध हुन्छ भनी नेपालतिर भन्छन् नि ?’ भने । सुन्दरैय्याले भने– ‘यो साम्राज्यवादसँग गहिरो सम्बन्ध भएको भारतीय दलाल पुँजीपतिहरुको सरकारले के लडाईं गर्छ ?’ तर म मनमोहन अधिकारीसँग विराटनगर फर्केको केही महिनापछि नै पूर्वी पाकिस्तानमा स्वतन्त्र बंगलादेश बनाउन चाहने बंगाली विद्रोहीहरुको मद्दतमा भारतीय सेना त्यहाँ युद्धरत भयो । कहिलेकाहीँ ठूलो सैद्धान्तिक पूर्वाग्रहले गर्दा ठूलाठूला नेताहरुको पनि निकट भविष्यकै मूल्यांकन गलत हुँदो रहेछ भन्ने कुरो मलाई सुन्दरैय्याको कलकत्तामा भनेका कुराकानीबाट लाग्यो ।
पोरपहार अमेरिकामा भेट भएका एकजना देहरादुनका नेपाली मुलका भारतीय कर्णेल मल्लको भनाइअनुसार उनले बंगलादेशको युद्धमा भारतीय मिल्ट्री युनिफर्म होइन, लुंगी लगाएर लडेका थिए ।
सम्बन्धित समाचार
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
भारतमा ९२ सांसद निलम्बित
-
चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
-
मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
-
विमानस्थलमै कुटाकुट गर्ने दुई पाइलटको लाइसेन्स निलम्बित
-
पक्राउ परे रिगल
-
एमाले नेता पौडेल मृत फेला
-
बझाङमा फेरी भूकम्प
Leave a Reply